रामप्रसाद अर्याल ‘अविराम’छकपरे बाहुन
पेपरै ध्यान दृष्टिले देख्न त देख्दैन ? “हिङ नभए पनि हिङ बाँधेको टालो” त्यसै भनिएको होइन । सबै बराबरी भनेर देखाउन बाहुनहरूले बँगाली छाँटेका छन् दारी जुँगा काटेका छन् । नाकै काट्ने कुरा त भएन नि !

रामप्रसाद अर्याल ‘अविराम’ :
उँधो गति उँधै मति । अचेल बाहुन बाजेहरूको हविगत यस्तै हुन गएको छ । घरी टिठ लाग्छ घरी हाँसो लाग्छ, त घरी रिस पनि उठ्छ । “ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ” भनेझैँ भएको छ । मनमा अनेक तर्फ-वितर्क आउँछन्, जान्छन् । उत्साहित हुन्छु र अठोट गर्न खोज्छु कि बाहुनवाद जिन्दावादको नारा लगाऊँ । कमजोर जातको उत्थान गर्नु परम कर्तव्य पनि त हो, हैन र ?
हिजोसम्म औँसी र पुर्ने, श्राद्धे र तिथिमा बोलावट भएपछि टुप्लुक्क गइटोपल्ने बाउन बाजेहरू आज आफ्नै घर आँगनभित्र जुठाभाँडा माझेको स्थितिमा छन् । सुत्केरा उम्काउनु परे जुठो धुप्याउनु परे, बिहा जोर्न बर्तन गर्न परे, नयाँ घरको प्रतिष्ठा गर्नु परे यिनीहरू नभै नहुने । त्यसो त गउँत चटाउन र नौग्रह कटाउन यिनीहरू नै काम लाग्छन् ।
तर के गर्नु दैवदशा लागेपछि कसको पो उन्नति हुन्छ र ? त्यसैले यिनीहरू हेलाका पात्र भएका छन् । रिस उठेकी बुहारी बासी आटो खा, साहुको मेला जा, भने जस्तै ।
हिजोसम्मको स्थिति कस्तो चहचह थियो । टाढैबाट कसैले देखिहाले पाउलागी बाजे भन्थे । आज यता आउला कि बाजे भन्न थालेका छन् जजमानहरू हिजोसम्म हलुवा, पुरी, सेल र फुरौलाको नौबेतले नै आँत भरिन्थ्यो । पायस खाँदा खायस पर्दैनथ्यो । अहिले आन्द्राभुँडी छुत्ती खेल्न थाल्दासमेत दुई मुठी जाउली सारङ्गी भुँडीमा हुत्तिँदैन । बिहानदेखि साँझसम्म रातिदेखि दिउँससम्म, डाँडीमा सुत्नेदेखि लिएर कोपरामा सु गर्नै सम्मकाले गाली नगरेको दिनै हुँदैन । अहिले कस्तरी हेपिन पुगे सबैबाट । जात र भातको आड लिएर बाहुन क्षेत्रीको ढाड सेक्दो छ दुनियाँ ।
बाहुनको काम भनेको बैतरणी तार्ने र कुनाबाट उतार्ने न हो । शिक्षा दिएर भिक्षा लिँदा के अन्याय गरे हँ बाहुन बाजेहरूले ? काम पर्यो बोलायो अनि टपरे भनेर धज्जी उडायो ।
आफैले टपरो दिने अनि टपरे पन्नित, टपरे बाजे भन्ने । यो कुरा अलि मिलेन कि कसो ? दानदिनु पर्ने वस्तुहरू सुनकै थलियामा दिए त “सुनौला” पण्डित थलिया बाजे भन्न पाइहालिन्थ्यो नि ? दिने बेलामा जाबो सालको पात र तीतेपाती, कुरा छाँट्ने बेलामा नानाभाँती ।
यी बबुरा पिलन्धरे बाहुनहरूले कसैसँग जबरजस्ती के मागेर लिए हँ ? कि कसैको कर्कलो काटे वा खोरिया खोर्सन पुगे ? यो त डबल रोल भएन र ? अहिलेका सांसदको जस्तो । समर्थन पनि विरोध पनि सडकमा जाने टायर बाल्ने । सदनमा जाने भत्ता खाने । फकाईफकाई लग्यो चिमोटीचिमोटी मार्यो । बाहुनको जातलाई हत्तुहैरान पार्यो । कत्तिको अख्खनी गर्नु पर्या होला ? यो लोकतन्त्र आको बेलामा पनि ।
सप्ताहमा आइदिनु पर्यो, पण्डितजी पुरान लाइदिनु पर्यो, पण्डितजी । नाम जुराउनु पर्यो पण्डितजी । वेदको गुह्य अर्थ फुराउन पर्यो पण्डितजी । काम गराउँदा भने फकाईफकाई गराउने पछिबाट दोष खेप्नुपर्ने नानाथरी । सप्ताहमा राम्रो बाँच्यो- “वाचन शिरोमणि”, वाक्कला त मान्नैपर्छ वा । बोली पनि ललिते रैछ । श्रोतालाई हँसायो । श्रोतीलाई रुलायो । धराङ्गनालाई नचायो । भक्तलाई तार्यो । आयोजक संस्थालाई आर्थिक सङ्कटबाट उतार्यो । प्रशंसा सर्वत्र सुनिन्छ ।
अब विरोध पनि सुरु हुन्छ । देशै रोएको बेला मान्छेलाई हँसाउने । हतियार बोकेर आन्दोलनमा होमिनुपर्ने बेला युवा-युवती नचाउँने । समाजै भाँड्यो यसले । पुरान बाँच्छ-बाहुन । राम्रो अर्थ लाइदिन्छ बाहुन । ए यल्ले धेरै दान र दक्षिणा माग्यो लोभी बाहुन । भएको अर्थ यथार्थ बताएन यसलाई अर्थ खुल्दो रैन छ ।
ढङ्ग नभएको बाहुन । पापीलाई नरकबाट उतार्ने, मृत्युहुँदाका बखत वैतरणी तार्ने काम गरेकै त छन् नि । कुरो उठ्ला त्यो त दान दक्षिणा कुम्लयाउन गरेका हुन् । म भन्छु सित्याईं कुन महापुरुषले काम गरेको छ र ? अहिलेको लोकतन्त्र आएपछि त झन् “कामअनुसार दाम योग्यता अनुसारको काम” हुनुपर्ने होइन र ?
नेपाल सरकारका राष्ट्र सेवक कर्मचारीले त तलब भत्ताले नपुगेर पान सुपारी पचाउन खोज्छन् भन बबुरो बाहुनले “जतना शक्ति, ततना भक्ति” भन्दै बन्दी खामभित्र राखेको मोहर दाम लिने त हुन् ।
त्यो पनि ऐच्छिक । करकापको कुरा छैन । गाईको नाममा “कानेदुनो लतार्ने न हुन् । ल भैहाल्यो कुनै दानी पुरुषले बेत बसेकी वा सिङ फुक्लेकी लक्ष्मी गाई दान दियो रे । ती गौमताको बजार भाउ एउटा कुखुरीकी चल्लाको जति पनि पर्दैन् अनि त बाहुन विचल्ली नपर्ने कुरै भएन । पाल्न र फाल्नका दुःखले बाहुनलाई तर लाउने त हुन् । उडेको सातु पितृका नाउँमा !
उतिबेला यी बाहुन सोझा छन् । पाप र धर्मको पूरा ख्याल राख्छन् । राष्ट्र र अन्तराष्ट्रमा यिनैको ठुलो मान पनि छ । राष्ट्रको शान पनि छ । देशै हाँक्ने जिम्मेवारीको विशाल भारी यिनै बाहुनहरूलाई बोकाउनुपर्छ भन्ने । अहिले यिनै बउरा बाहुनको लित्ती कसेर खोइरो खन्ने । मजासँग सत्ताको साझेदारी गरेर सघाउ पुर्याउनु त कहाँ हो कहाँ भए नभएका बखेडा खडा गरेर, स्टेरिङको रिङ अन्यत्रै मोड्न खोजेपछि बिचरा बाहुनले के गरुन् त ?
धन्न गाडी दुर्घटना हुन दिएका छैनन् ।
अर्कोकुरा बाहुनले बाहुनवाद लादे रे । गोरेले-गोरेवाद, कालेले-कालेवाद, देशीले-देशीवाद, विदेशीले-विदेशीवाद लाग्ने भएपछि बाहुनले बाहुनवाद किन नलाद्ने ? बाहुनवाद लाद्नु मनासिबै हो ।
काल्पनिक स्वर्गका देउतादेखि लिएर वास्तविक धर्तीका भेउतासम्मले अर्तीबुद्धि लिने बाहुनसँग नै हो । इतिहास भैसकेका राजा महाराजाले तन्त्र-मन्त्र गरेर राज्य सञ्चालन गर्ने यन्त्र बाहुनबाटै सिकेका हुन् । सल्लाहकार बाहुन गुरु पुरोहित बाहुन र मन्त्री पनि बाहुन नै खोजी-खोजी राख्थे, उहिले सत्य जुगमा । त्यतिखेर बाहुन नभए धनुमा वाण घाँटीमा गाँड र मुखमा माड लाग्न सक्तैनथ्यो ।
अहिलेको असत्य युगमा पनि द्रव्य शाहलाई राजा बन्न सल्लाह दिने बाहुन नै थिए । राजाका पछिपछि सति जाने र काट्टो खाने पनि बाहुन नै हुन् । भ्रष्टाचारीका मुखारविन्दबाट सदाचारका अमृतमय वाणी वर्षिए झैँ बाहुनवादसँग तर्सिँदो छ दुनियाँ सधँैभरि सबैलाई गुन लगाउन त सकिँदैन नि । बाहुनले यो जमानालाई प्रगतिपथमा ल्याउन ठुलो गुन लगाएकै हुन्, तापनि यो दुनियाँ बाहुनवादको घाउमा लगाउँदो छ ।
कागतीको चुक, खुर्सानी र नुन । मलाई लाग्छ त्यसै भएर “बैगुनीलाई गुन, गहुँलाई घुन र कुखुरालाई नुन भनिएको हो” । बाहुनले संविधान संशाेधन गराउन गराउन सकेनन् रे। संविधानको विधानै बन्न सकेको छैन त कसरी संशोधन होस् भन्ने बित्तिकै यहाँ कुन कुरा भएको छ र ? संशोधन हुने । भन्ने बित्तिकै त बुढाले भनेको बूढीले र बूढीले भनेको बूढाले मान्दैनन् ।”यो सालको जाडोले मार्नै आट्यो एक जोर जडाउरी हाल्देउन बुढा” बुढीले भनिन् भने बुढाले झट्ट जवाफ फर्काउँछ “देशले गणतन्त्रमय भएर काँचुली फेरेको छ र ? तैँले जडाउरी फेर्ने ? बुढो तर्किन्छ ।” मेरो शरीरैभरि जुम्राका ढाडी रगरगाए यसो भाल्देउन बुढी”- बुढाले भने- बुढीले जवाफ दिन्छिन्” देशैभरि जुम्रा परेको बेला तिम्रो शरीर कसरी जोगिन सक्छ ? बुढीको नजर अन्यत्रै फर्किन्छ ।
बाहुनको काम भनेको पूजा-पाठ, बलि-वासुदेव, गायत्री जप्नु न हो । गायत्री रेडियोले जपेकै छ । पूजा र पाठ अरु जातिले गरेर परिपाठ पारेकै छन् । त्यो पनि पुरानो जमानादेखि । दसी प्रमाणको एउटा सिलोक तपाईंलाई सुनाउँछु ।
“त्यो रुम्झाटारको कोदाको खोले-गुन्द्रुकको दाउन, धर्म र कर्म गुरुङले गरे छकपरे बाहुन ।”
आफ्नो देशभित्र जब नपाइने भएपछि जप गर्नैपर्ने कुरा भएन । बाहुनले धर्म छाडे रे । त्यसो होइन । धर्मले नै बाहुन छाडेको हो । अरुले धर्म-कर्म गर्दा बाहुनहरू किन छक पर्थे ? पर्दैनन् यो सिलोक कुनै ज्ञानी दिलदासले बनाए कि?अज्ञानी विन्दासले बनाए ? तपाईं आफैँ सोच्नुहोस्, नौग्रह बिग्रेको बेला नौथोक, दशग्रह बिग्रे दशथोक हुन्छ, भने झैँ अहिले बाहुनहरूको ग्रहदशा बिग्रेको छ । देश गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा आफू पनि समावेशी चरित्रको हुनुपर्यो भन्ने ठानेर भात-भान्सा सरोवर गराए । माँसमदिरा मन पराए । ठुलै कसला काटेर त्यसो गर्दा पनि आरोप आउन थाल्छन् “हाम्ले खाने चिज बाहुनहरूले खाइदिएपछि के को भाउ नबढोस्”। भाउ बढाउने व्यापारी दोष पाउने बाहुन “धानखाने मुसा चोट पाउने भ्यागुतो” । हिजोसम्म झोलीका देउता आज खोलीका भेउता बाहुनहरूले भक्षे अभक्षे चिज सेवन गर्नुको अर्को पनि कारण छ । त्यो के हो भने-बाहुन अरुले बनाएर मान्दिएर मात्रै बाहुन भएका हुन् । यसो भन्दा के बिर्सिनु हुँदैन भने जति खेप जात गए पनि बाहुन बाहुनको बाहुनै रहन्छन् ।
म भन्दै थिएँ बाहुनलाई बोलाएर गिलास भरिभरि पञ्चामृत दिने हो भने कोदामृत सुरुप्प पार्ने थिएनन् । पञ्चामृत दिने बेला एक चम्ची, त्यतिले आँत नभरिएपछि दाँत रङगाएर मात्र हुने रहेनछ ।
धर्म र कर्म बाहुनको मात्र पेवा हो र ? आ-आफ्नो धर्म र कर्म सबैले गर्ने पर्छ । अरुले धर्म गर्दा बाहुनहरू त झन् खुसी हुन्छन् । आफ्नो काम अलि हल्का त भयो भनेर । पहिलेपहिलेदेखि नै गोरस बढी सेवन गरेर हो कि ?
बुद्धि भने बाहुनको मान्नैपर्छ बा । त्रिकालदर्शी बाहुनै हुन्थे । त्यसै भएर त अहिले पनि लोकसेवा आयोग, शिक्षासेवा, भनौँ न भिक्षासेवासम्म जाँच पास गर्नुपर्यो भने बाहुनै पास हुन्छ । पेपरै ध्यान दृष्टिले देख्न त देख्दैन ? “हिङ नभए पनि हिङ बाँधेको टालो” त्यसै भनिएको होइन । सबै बराबरी भनेर देखाउन बाहुनहरूले बँगाली छाँटेका छन् दारी जुँगा काटेका छन् । नाकै काट्ने कुरा त भएन नि !
सर्वमान्ने नेताले बाहुनवाद मूर्दावादको नारा लगाएर राजनीतिबाट सन्यास लिए पनि बाहुनवादमा कमी आएको थिएन । पिलन्धरे बाहुनहरूलाई पढेर नजिते पनि लडेर जितिन्थ्यो भनेर चित्त शान्ति लिइन्थ्यो । हामी तपाईं बाहुनहरूको विरोधी होइनौँ बाहुनवादका विरोधी हाैँ भनेर मुख मिलाइन्छ । तल्ला तहका बाहुनहरू सबै नेपाली जनता सरह तलतल झरेर हिँडे पनि प्रमुख पार्टीहरूमा बाहुनहरूको वर्चस्वमा कमी आएको छैन । छक्क पर्ने त तपाइँ र हामी नै हो।यदि तपाइँ हामीहरू छक्क परेनौँ भने बाहुनहरू छक्क पर्ने छन् ।
०००
तानसेन, पाल्पा






































मन पर्यो मन पर्यो मन पर्यो साह्रै मन पर्यो ।शिर्षकको वर्णविन्यास देखेर यो लठुवा जिल पर्यो।