साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ भन्नुहोस्, देखाउने कि बताउने ?

वीर अस्पताल देखिएकै छ । धरहरा देखिएकै छ । घन्टाघर देखिएकै होला । गाउँगाउँमा सिंहदरबार पनि देखिएकै छ । यहाँभन्दा अरु देखाउने कुरा नै के छ र ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

प्राय बताउने काम चोर औँलाले गरिन्छ । यद्यपि बताउनका लागि चोर औँलो नै प्रयोग गर्नुपर्छ भन्ने बाध्यता छैन । ओठ गोलो बनाएर थुतुनो चुच्चो पारी ‘ऊः’ भनेर बताएको पनि मैले देखेको छु । हात लम्काएर मात्र हैन आँखा सन्काएर पनि मान्छेहरूले बताउँछन् । मुखले बोलेर मात्र पनि बताउन सक्छन् । चाहे जसरी होस् बताउने भनेको औँल्याएर देखाउनु मात्र हैन, कुराका कुटुराबाट कल्पनाको पिठो निकाली चिसो ताबामा रोटी सेकाउनु पनि हो भनेर बुझेनौँ भने हामी जस्तो सोझो प्राणी संसारमै छैन भनेर बुझ्नुपर्छ । त्यसैले होला आजकल बताउनेहरूको कुनै कमी छैन । सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो भन्ने मान्छेहरूसित म बिलकुल सहमत छैन । सबभन्दा सजिलो काम त बताउनु नै हो । लौ आउनुहोस्, तपाईंले पनि जे जे जान्नुहुन्छ सबै बताउनुहोस् । बताउँदैमा तपाईंलाई कुनै खतबात लाग्दैन । तर बताउनु र देखाउनु उस्तै त हो नि भनेर देखाउने काम चाहिँ नगर्नु होला नि ! किनभने देखाउनका लागि अगाडि कुनै वस्तु हुनैपर्छ भने बताउनका लागि त्यस्तो केही चाहिँदैन । बताउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो ।

झट्ट सोच्दा देखाउनु र बताउनुमा भिन्नता नभए जस्तो लाग्नु पनि कुनै अनौठो कुरो होइन । तर ठन्डा दिमागले सोचौँ त देखाउनु भनेको प्रदर्शन गर्नु हो भने बताउनु भनेको त्यो हुँदै होइन । छोटोमा भन्दा देखाउने आफ्नो हो भने बताउने चाहिँ अरुको हो । त्यसैले घुमाई घुमाई अरुको कुरा काट्ने कामलाई बताउनु भनेको रहेछ यस लम्फुदासले त भन्ठान्नुभयो भने पनि तलमाथि पर्दैन । देखाउनु कठिन काम हो तर बताउनु चाहिँ सजिलै हो भन्ने कुरा मैले अलिअलि मात्र बुझ्न थालेको छु । धेरै बुझेँ भने म पागल हुन बेर छैन ।

दार्शनिक वक्ताहरूले भन्ने गरेको मैले धेरै पल्ट सुनेको छु, ‘चोर औँलाले अरुलाई बताउँदा आफूतिर बाँकी तिनवटा औँला फर्केका हुन्छन् ।‘ यही त्रासले गर्दा आजकल बताउँदा चोर औँलो प्रयोग गर्न छोडेका हुन सक्छन् । अरुलाई चोर भन्दा आफै तीन गुना बढी चोर बन्न कस्लाई पो रहर होला र ! अरुलाई भ्रष्टाचारी तोक्दा आफू तेब्बर भ्रष्टाचारी बन्न को खोजोस् ! आजकल नेपालको साक्षरता दर बढेर हो कि मान्छेले बताउँदा पनि बठ्याइँपूर्वक मुखैले बताउने गर्न थालेका छन् । यसो गर्दा अरुलाई मात्र बताइदिए हुन्छ, आफू चाहिँ निख्खर चोखो बन्न पाइहालिन्छ । यस्तो सिधासादा कुरालाई पनि कस्तो नमिठो गरी ‘अरुको कुरा काटेको’ भन्दाहुन् मान्छेहरू । आफ्नो थुतुनो त ऐनामा हेरे मात्र देखिने न हो, अरुको सजिलै देखिन्छ । त्यसैले त आफ्नो आङको भैँसी नदेख्ने अरुको आङको जुम्रो देख्ने भनेका होलान् बाजेहरूले ।

विश्वासले हो कि अन्धविश्वासले हो मैले भने सानैदेखि चोर औँलाले बताउन छोडेको थिएँ । चोर औँलाले काँक्रो बताउँदा कुहिन्छ भनेर बुढी औँलालाई मुठ्ठीको बीचबाट छिराएर बताउँथ्यौँ हामीहरूले सानैमा । हाम्रो गाउँघरतिर यो चलन अझै कायम छ । काँक्रो कुहिन्थ्यो वा कुहिँदैन्थ्यो तर अहिले चोर औँलाले बताइएका सबै कुरा भने कुहिएका भन्दा बढ्ता गनाउन थालेका छन् । त्यसैले होला यो दुर्गन्ध सहनुभन्दा अब मुखैले बताउने गरौँ भन्ने लाग्यो होला । उता विकसित देशका वैज्ञानिकहरूले मङ्गल ग्रहमा मानव बस्ती बसाल्न सकिन्छ भनेर बताइरहेका बेला यता हाम्रो जस्तो विकसित बन्न कम्मर कसेको देशमा मङ्गलबारका दिन भेट भयो भने पेट दुख्छ भन्ने बताउँदै गरेका मानव वस्तीहरूलाई पेट नदुख्ने औषधी पु-याउन सकिरहेका छैनौँ । । कस्तो विडम्बना !

देखाउनु र बताउनु कुरो उही त हो नि ! यो लम्फुदास किन त्यत्तिकै फत्फताइरहेको होला भन्ने तपाईंलाई लागेको होला । नलागोस् पनि किन ? तर बताउन जति सजिलो छ त्यति सजिलो देखाउन छैन । होइन आजकल त देखाउनै नहुने अङ्गहरू पनि छोटा छोटा लुगा लगाएर देखाउन थालेका छन् नि । देखाउन के अप्ठेरो ? भन्ने तर्क गर्नु स्वाभाविकै हो । तर त्यो देखाइएको कुरा अरुलाई बताउन कति गाह्रो छ विचार गर्नुहोस् त ! खै देखाउनै नहुने कुरा देखाउनुलाई के देखाएको भन्नु । देखाउनुपर्ने कुरा देखिएकै छैन । हेर्नुहोस् न वर्षाैँअघि नेपाललाई सिङ्गापुर बनाएर देखाउँछौँ भनी बताएका होइनन्, खोइ त देखाएको ? अब त पत्याउनुभयो नि देखाउन भन्दा बताउन सजिलो छ भनेर !

नपत्याए कोकसले के के बताए भन्ने कुराको फेहरिस्त दिउँला तपाईंलाई दिक्क लागुन्जेल । दिक्क मान्नुहुन्न भने लौ केही उदाहरणहरू चाख्नुहोस् न त !

हालै मात्र हैन अस्ति भर्खरै एउटा अमुक समाचार माध्यमले प्रसारण गरेको समाचारको केही अंश यहाँ जस्ताको तस्तै ओकल्छु । उक्त समाचारमा पत्रुकार बडबडाउँदै थिए – ‘प्रधानमन्त्रीले भ्रष्टाचारलाई पूर्ण रूपमा नियन्त्रण गर्ने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्नु नपर्ने बताए ।… प्रमुख प्रतिपक्षी दलका नेताले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको बताए । … अर्का प्रतिपक्षी दलका नेताले भने चौरासीमा हाम्रो बहुमत आउने बताए । कृषकहरूले समयमै मल पाउनुपर्ने कुरा कृषि मन्त्रीले बताए । बालबालिकाको हक, हित र अधिकारको संरक्षण हुनुपर्ने कुरा महिला मन्त्रीले बताए । … अर्थ मन्त्रीले यो सरकार बनेदेखि अर्थतन्त्रले गति लिएको बताए । पूर्व प्रधानमन्त्रीले शिक्षकहरूले राजनीति गरेकाले शिक्षाको गुणस्तर खस्केको बताए । यस्तै अर्का पूर्व प्रधानमन्त्रीले शिक्षा जस्तो संवेदनशील विषयमा सरकारले खेलवाड गर्न नहुने बताए । याद रहोस् यी सबै बताउनेहरूले औँलाले नबताई केबल थुतुनाले मात्र बताएका हुन् । काम गर्दै नगर्ने र बताइरहने गर्न त जसले पनि सकिहाल्छ नि ।

वा ! कति सजिलो बताउन ! अझै कुर्सीमा बसेकाले बताउनुभन्दा कुर्सीबाट उछिटिईसकेकाले बताउन त झनै सजिलो । पिएले लेखिदिएको पढ्नेलाई आफैले के बताइरहेको छु भन्ने पनि थाहा हुँदैन होला कि । अझै पनि बढीभन्दा बढी पर्यटकहरूलाई देशमा भित्र्याउन सके देशको आयमा वृद्धि हुन्छ भनेर बताइरहनुपर्ने कुरा हो र भन्या। सुन तस्कर तथा मानव बेचबिखन गर्नेहरूलाई कडाभन्दा कडा कार्वाही गरिनेछ भनेर गृहमन्त्रीले सधैँ बताइरहने कि कसो ! दोहोरो नागरिकता लिनेलाई कार्वाही गर्ने हो कि दिनेलाई गर्ने हो ? यो कसले बताउने खै ? जतिसुकै कुर्लिकुर्ली बताए पनि जनताले देखेका छैनन् क्यारे । बताउने कामलाई थाती राखेर देखाउने काम गरे कसो होला ? जतिसुकै बताए पनि रेल आएको जनताले देखेका छैनन् । पानी जहाज आएको देखाउने कहिले ? बताउन त हामीले राम्रा राम्रा कुराहरू बताइरहेकै छौँ । तर देखाउँदा भने कुनै वस्तु राम्रो देखिन्न ।

साँच्चै बताउने हो भने तपाईंले गफ लाएको भन्नुहोला भन्ने डर पनि छ । नत्र एउटा गजबको कुरा छ बताउनै पर्ने । ठिकै छ गफै गर्‍याे यसले भन्ठान्नुभएछ भने पनि सहुँला । भएको कुरा त बताउनै पर्‍यो नि । एक दिन मेरा घनिष्ठ मित्र आए मेरो घरमा । यति भनेपछि उनको नाम भनिहाल्नु नपर्ला कि ! अथवा भने पो के बित्यास पर्ला र ! उनै क्या तल्लारे माइला । कुराको राम्रै कुटुरो फुक्छ उनीसित बसेपछि । मैले देश विकासको गतिमा तीव्र रूपले अघि बढेको कुरा उनीसित गर्दा त मसित बडो झोक्किए बा ! मैले उदाहरणस्वरूप डाँडा डाँडामा भ्युटावरहरू बन्नु विकासको गतिलो उदाहरण हैन र भन्ने तर्क राखेँ । उनले मेरो कुरालाई यसरी उडाए कि म त्यसपछि उनीसित बोल्दै बोलिनँ ।

उनले दिएको जवाफ यस्तो छ, ‘हो भाइ ठिक कुरा गर्‍याै तिमीले, अब धेरैले देश डुब्न लाग्यो भनिरहेका छन् क्यारे । त्यसैले तिनै टावरहरूलाई आकाशमा अड्काएर डुब्न नदिने होलान् कि कसो ? उसो त यता नजिकै समुद्र कतै छैन । देश कसरी डुब्ला खै ! भन्नेहरू सज्जन हुन् कि मूर्ख हुन् कुन्नि ।’

उनले यस्तो बताउनुलाई पनि मैले अनौठो मानिनँ । किनकि यहाँ जसले जे बताए पनि भैरहेकै छ । पहिले पहिले अब देश छिटै सिङ्गापुर बन्छ भनेर बताउनेहरूले आजभोलि बङ्गलादेश बन्छ भनेर तर्साउन खोजिरहेछन् । जसले जे जे बताउँछन् उतै उतै बटारिने हामी जस्ता जनताहरू भएपछि बताउनलाई आइतबार नै चाहिएन क्यारे । अब कुनै दिन सगरमाथाको टुप्पोमा पनि एउटा भ्युटावर बनाएर देशको नाम विश्वमा चम्काउनुपर्छ भनेर बताउन बेर छैन ।

बताउँदा जे जे बताए पनि देखाउन सक्ने केही छैन खै ! तुइनका ठाउँमा झोलुङ्गे पुल देखाएको भए राम्रै हो । भृकुटी कागज कारखाना कस्तो देखिएको छ कुन्नि, म त हेर्न गएको छैन । बाँसबारी छाला जुता कारखाना राम्ररी देखिएकै छ । विराटनगर जुट मिल पनि चिरिच्याट्ट पारेर देखाएका रहेछन् । हेटौडा कपडा उद्योग कस्तो दुलही जस्तो सिँगारिएको हँ ! बुटबल धागो कारखानाले देशभरिका जनतालाई कपडा पुर्‍याउन सकेन भनेर प्रत्येक प्रदेशमा त्यस्ता ठुल्ठुला उद्योग खोलेर देखाएका छन् । साँच्चै भन्ने हो भने प्रदेश भनेका त मन्त्री उत्पादन गर्ने उद्योग हुन् भन्न थालेका छन् गुणस्तरीय शिक्षा पाएर रोजगारमा मस्त भएका युवाहरूले ।

यहाँका विद्यालयहरूले योग्य विद्यार्थीहरू उत्पादन गरेकाले विश्वका विश्वविद्यालयहरूमा विद्यार्थीहरूको ठुलो माग छ । त्यता पठाइएको हो पढ्नलाई । त्यसो भएपछि हाम्रो देशमा विद्यालय खोलेर देखाउनु पर्ने कुरै भएन, भएका विद्यालयहरू पनि मर्ज गरे भैहाल्छ । वीर अस्पताल देखिएकै छ । धरहरा देखिएकै छ । घन्टाघर देखिएकै होला । गाउँगाउँमा सिंहदरबार पनि देखिएकै छ । यहाँभन्दा अरु देखाउने कुरा नै के छ र ? दशैँ आउने बेलामा भारतबाट दुई चार लाख खसी बोका खरिद गरेर ल्याएको देखाउन सके कति जाती हुन्थ्यो । बोइलर कुखुराको मासुमा आत्मनिर्भर भएको देखाएर मात्र के गर्नु ! अलि अस्ति कैले हो सुन्थेँ लुम्बिनी चिनी कारखानाले नेपाललाई पुर्‍याएर चिनी निर्यात गर्न थाल्यो रे ! यस्तो छर्लङ्गै देखाउँदा पनि कसैले देखेन भने इन्डियातिर आँखा जँचाउन गए हुन्छ ।

अन्त्यमा लामै भाषण भट्याएर मेरा दुई शब्द यहीँ टुङ्ग्याउँछु भन्ने माननीय तथा सम्माननीयहरूको मन्तव्य जस्तो मेरो फत्फतलाई यत्ति दुइटा कुरा गरेर सकाउँछु- देखाउनका लागि हात चलाएर कामै गर्नुपर्छ भने बताउनका लागि थुतुनो चलाएर बात गरे मात्र पुग्छ, होइन त ? लौ अब तपाईं देखाउनपट्टि लाग्नुहुन्छ कि बताइरहनुहुन्छ तपाईंकै रोजाइ ।

०००
२०८१ भदौ ३१ गते
गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x