उत्तमकृष्ण मजगैयाँटेन्सनः एक राष्ट्रिय रोग
‘टेन्सन छ’ भन्नु त अब फेसन भइसकेको छ । मानौं यो शब्दभित्र निहित गम्भीरता र कारक तत्त्व सबै गौण भइसकेका छन् । व्यक्ति आज अति सामान्य कुराले पनि तनावग्रस्त छ ।

उत्तमकृष्ण मजगैयाँ :
हिजो म एउटा साथीको घर गएको थिएँ । उसको सामु रङ्गीन गिलास थियो र हातमा कस्तो कस्तो गन्ध आउने चुरोट थियो । देश र दुनियाँको दुःखले ऊ दुःखी रहेछ र टेन्सन कम गर्न पिउँदै रहेछ । भन्यो- ‘धर्म, जाति, वर्ग र राष्ट्र- राष्ट्रबीच यति विधि टेन्सन किन ? केको लागि ?’- साथी टेबुल ठटाउँदै चिच्यायो, उत्तेजनाले थर्थरायो र धैर्यहीन भएर एकाएक हिक्का छोडेर रुन थाल्यो । म उसको कोठाबाट थुप्रै अनुत्तरित प्रश्न बोकेर बाहिरएँ ।
तर बाटोमा एउटा अर्को साथी भेटियो । ऊ पनि टन्न भरिएको रहेछ, पोखिन थाल्यो- ‘गजब छ वा हाम्रो नेपाल ! यहाँका नेताहरू सदनमा, सभामा असहाय झै रुने गर्छन् । लेखक-कविहरू लेखनकार्य नै निरर्थक हो भन्ने गर्छन् । युवा पिँढी अनुशासन र मर्यादालाई स्वतन्त्रताको बाधक ठान्छ र तनावमुक्ति चाहन्छ । ऊ विचित्र भेषभूषा र बोलीबाट आफूलाई विद्रोही देखाउन चाहन्छ, आफ्नो अस्तित्वबोध गराउन चाहन्छ । के हिप्पी संस्कृति तनावको उपज होइन ? निरासा होइन ?’ म उसको प्रश्नमा अल्झिएकै बेला उसले पुनः थप्यो- ‘न्यायालयमा थुप्रिएका असङ्ख्य मुद्दाहरू, पारिवारिक तथा सामाजिक मूल्यको बदलिँदो रूप, आर्थिक दुरावस्थाबाट उत्पन्न मानसिक असन्तुलन समस्याप्रति जुझारु प्रवृतिको अभाव, हीनताबोध र आत्महत्या के यी निराशाका रूप होइनन् ? टेन्सनको परिणति होइन ?’ उसले मेरा आँखामा आँखा गाडेर मानौँ आफ्नो विचारप्रतिको मेरो धारणा तलाश गर्यो र फेरि भन्न थाल्यो- ‘पति-पत्नीको बीचमा समेत बढ्दो औपचारिक भाव, तनाव र पारपाचुके के आत्मसंयम र त्याग पूर्ण भावनाको अभावले गर्दा नै सिर्जिएको होइन र ? वास्तवमा नयाँ-पुरानो संस्कृति र मान्यताको बीचमा भाइ-भाइको बीचमा गुरु-चेलाको बीचमा, नेता र जनताको बीचमा, पक्ष र विपक्षको बीचमा, हुने र नहुनेको बीचमा जताजतै अविश्वास छ सङ्घर्ष छ, टेन्सन छ । यहाँ धैर्य सहिष्णुता र शान्ति खोई ?’- ऊ अधैर्य भएर चिच्यायो, व्यथित भएर खुइय्य सास फाल्यो र टाउको निहुऱ्याएर आफ्नो बाटो लाग्यो ।
यसरी आजभोलि प्रायः जसो टेन्सनकै रोगीहरू भेटिन थालेका छन् । तर अब त यो ‘टेन्सन’ शब्दको अर्थ पनि कति सामान्य र प्रयोग कति आम भइसकेछ ! यसको बान्की एउटा यस्तो पनि-
‘आज मलाई टेन्सन छ ।’
‘के तिमी राजनीतिज्ञ, कूटनीतिज्ञ हौ ?’
‘होइन । राजनीति त एउटा फोहरी खेल हो त्यसैले यसदेखि टाढै रहन ठीक ठान्छु ।’
‘के तिमी समाजसेवी हौ ?’
‘होइन । यस कामका लागि त विधवाहरू र बूढाहरू छँदै छन् नि !’
‘तिमी कानूनविद्, अर्थशास्त्री, समाजशास्त्री या कुनै यस्तै अन्य विशेषज्ञ हौ ?’
‘अहँ, म अनावश्यक विद्वत्ता छाँट्न मन पराउन्न ।’
‘त्यसो भए तिमी पक्कै कवि, लेखक या पत्रकार हुनुपर्छ, कसो ?’
‘कवि-लेखक त त्यसै अर्धसिल्ली हुन्छन् । मेरो मगज अझै सड्केको छैन ।’
‘कि तिमीलाई राष्ट्र र विश्व शान्तिको चिन्ताले सताएको छ ?’
’के को चिन्ता ? नेताहरू कुन रोगका औषधी हुन् त ?’
‘त्यसो भए तिमीलाई रक्तचाप, मधुमेह या यस्तै कुनै असाध्य रोग लागेको हुनुपर्छ ।’
‘होइन बाबा, म सपरिवार स्वस्थ छु । कसैलाई केही भएको छैन ।’
‘खान-लाउन अथवा बढ्दोस्तरका लागि खर्च पुगेन होला ?’
‘पुगेकै छ ।’
‘त्यसो भए तिमीलाई केको टेन्सन छ त ?’
‘के हुन्थ्यो ? हिजोदेखि मेरो टमीले केही खाएकै छैन ।’
देख्नुभो सारा पहाड खनिसकेर मुसो निस्केको ? यसरी ‘टेन्सन छ’ भन्नु त अब फेसन भइसकेको छ । मानौं यो शब्दभित्र निहित गम्भीरता र कारक तत्त्व सबै गौण भइसकेका छन् । व्यक्ति आज अति सामान्य कुराले पनि तनावग्रस्त छ । टेन्सन बढदो छ, सहनशक्ति घट्दो छ । डाक्टरले पनि ‘हाइपरटेन्सन छ’ भनिदिन्छन् र व्यक्ति चिन्तित भएर चौबीसै घण्टा आफ्नो मुटुको धडक्न र नाडीको चाल छाम्न थाल्छ । संसारभरिको दुःख र बोझ मानौँ आफ्नै थाप्लोमा आइपरे झै ऊ अनियन्त्रित भएर रन्थनिन्छ, चिच्याउँछ र क्रोधले काप्न थाल्छ ।
कस्तै प्रतिकूल परिस्थितिसित पनि सङ्घर्ष गर्नसक्ने जुझारु व्यक्तित्व नभएका, दृढता, धैर्य र आत्मसंयमहीन यी व्यक्तिहरूलाई अब कसैले केही भनोस् त के भनोस् ?
(दृष्टिकोण, २०४९)
०००
दाङ
‘सुनको फुल पार्ने पोथी’ (२०५४)
Subscribe
Login
0 Comments
Oldest







































