चूडामणि रेग्मीमनमोजी गफ !
अरु सबै बौलाहा कुरा ! तपाईंहरूले बोलेजति सवै नै प्रजातन्त्र ! गरेजति नै विकास कार्य । जस्तै झोडा, हदउँभोका जग्गा, वचत, विकेन्द्रीकरण, गोष्ठी, भेला, सेमिनार ! गाउँ फर्के अनुमोदन ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
मनमोजी गफ नम्वर- १
यस उदेकलाग्दो (र के-केजाति लाग्दो पनि !) संसारमा मनमोजीहरूका मनमोजी गफ खोजे यहाँबाट इरान, इरानबाट विरानसम्ममा पुग्नेजत्ति लामा पनि भेटिन्छन् । यस्तै मनमोजीहरूका सङ्गतमा परेर नै मनमोजी गफ गर्ने मुड फुरेको छ आज गफडीलाई पनि । खानु-पिउनु हरेराम । दान-दक्षिणा नास्ति, मरु ! गफडीलाई कामअनुसारको दाम जस्तो गफ फुरेको हो आज र पनि यो गफडी आफ्ना उनै हरिया दाँतलाई उज्याला पारेर (प्रज्वलित पार्दै) आफ्ना गफलाई एक नम्वरका घोषित गर्दछ आफ्नो पातामा, आफ्नो पारामा आफ्नो निणर्यमा । मन्त्रीहरूले देशको घना जङ्गल सखाप पारेर त्यसलाई ‘सहुलियत’ को नाममा सक्ने निणर्य लिन सक्छन् भने र यस कार्वाहीलाई ‘जनहित’ भन्न लाज मान्दैनन् र देखादेखी आफ्ना र आफन्तका विल्डिङ ठोक्ने र ठोकाउने काम गर्छन् भने कलाकार भनाउँदो मान्छे अर्कै मुखुन्डो ओडेर कलाकार हुँदा आफू डुक्रिएको ठाउँमा के भइरहेछ भन्ने विर्सएर आफूले र आफ्ना धुपौरे आफन्तले टी.ए.डी.ए. पड्काएर जथाभावी खर्च गरेको कुरालाई ‘देशहित’ ‘किसानहित’ नै भन्छ भने, धनपतिहरू खुला ‘किसान’ भएर किसानका हक र हित मारेर पनि ‘ठुलो राष्ट्रवादी’ मा दरिन खुला ‘दातृरस’ चलाउँछन् भने हैं त भाइ ! गफडीले एक नम्बरको मनमोजी गफ गरें भन्न किन नपाउने ?
ऐजन गफ-२
गफडीले एक दिन सुन्यो- ‘दुनियाँभरिका पत्रू गफ बटुलिएका हुन्छन्, गफडीको पातामा ।’ गफडी यसबारे स्पष्टीकरण दिन्छ- गफडीले पत्रू गफ गर्यो त आफ्नै पातामा गर्यो- अम्रिकाबाट शिक्षापद्धति सोहोरेर देशमा लादेर शिक्षक र छात्रमाथि समस्या त लादेन नि ! गोष्ठी-सेमिनार गरेर गुन्द्रुक पनि खान नपुग्ने देशमा लाखौं रुपियाँ बगाउने काम जस्तो काम त होइन नि गफडीको गफ ! लाखौँ रुपियाँ पड्काएर, उडाएर गरिएका ‘सेडा’ का गफ त होइनन् नि वराविचरा गफडीका हजुर ! खप्पर फुटेको जस्तो ठानिने गफडी खुप भेट्छ भने एक छाक भात ! मोटर भिरबाट लडेर सोर्गेधाम पुग्न आँटेको बेला कतै ओखती खाने खर्च छ भने पनि यहाँका कतिपय मनुष्यले त्यो पनि लिएर बेपत्ता हुन बेर लाउँदैनन् ! (हाल एक जना दौतरीले बिरामी साथीको भएको रुपियाँ लिएर चम्पट ठोकेछ अरे !) यस्तै छन् हजुर यहाँका मनमोजी । यहाँका मनमोजीहरूका कुरा गरेर पहिला नम्बर आफ्ना गफ दुई नम्बर पारी के फाइदा । धन देख्ता महादेवका पनि तिन नेत्र खुल्छन् यहाँ ! बुद्धिजीवी ठान्ने मान्छे जनसम्पर्क अधिकारीलाई मात्र बुद्धिजीवी ठान्छ यही मर्त्यलोकमा । मेची – देउनियाँपारि तर्न नजान्नेहरू ‘ठुला पत्रकार’ छन् यहाँ । वन मास्ने, स्मगलिङ गर्ने सेठका पृष्ठपोषक राष्ट्रवादी छन् यहाँ । पर्मिट हजाम ! सहुलियत च्याप्प हदबन्दीउँभोको जग्गा सोरसार । बसोवास खत्तम । झोडामा ठुलै पन्जा । द नम्बरका गफ नगरूँ न पर्नु यहाँ !
मनमोजी गफ नम्बर- ३
गफडीलाई एक क्रान्तिकारीले एक दिन स्वाट्टै फर्मायो- ‘कस्तो लुलो कलम हो गफडीजिउ तपाईंको ?’ गफडीलाई त्यो मान्छे साँच्चै क्रान्तिकारी लाग्यो र गफडीलाई एउटा जुवाडे क्रान्तिकारीको सम्झना पनि भयो, जो जुवा हारेपछि घरमा गएर स्वास्नीलाई कुट्यो । एक जना नेताको पनि सम्झना आयो गफडीलाई – ‘यहाँ हामीले हरितक्रान्ति गर्नुपरेको छ ।’ भनी सुख्खाग्रस्त क्षेत्रमा भाषण गर्यो र भ्रष्टाचार वृद्धिमा आगाको क्रान्ति ल्यायो अनि जङ्गलजति करिव करिव हरित क्रान्तिका चपेटामा पार्यो, जुन कामलाई अहिले आएर करिव करिव पुरै पार्ने प्रयत्न हुँदैछ ! धान-चामल र टिम्वर ढुक्ने घुस्याहाहरू क्रातिन्कारी भएको यस देशमा गफडी मुलेका गफ लुला नभएर कुनचाहिँका गफ लुला होऊन् त ठिकै लाग्यो गफडीलाई भलाद्मीको भनाइ । हातको काम त यहाँ गोजी भर्ने- कुटे, कोदालो समात्ने, राँको बाल्ने काम त यहाँ मुखको पो त ! ‘मुखको क्रान्ति’, आविष्कार ! जिउ । तिन नम्बरे मनमोजी गफ हुन् यी ! (जे ! गफडी त छ लम्वरे हो नि !)
पातमा पात ! बातमा बात !
गफडीलाई एक राष्ट्रवादीले बसमा हिँड्दा हिँड्दै फर्मायो, सुधारिएका हामी ठुला पर्जातन्तरवादी हुम् । गफडीजिउ, तपाईं अलिक हाम्रो कुरो राम्रो बुझ्नुहुन्न ! बिग्रिएको मान्छेले सुधिएकालाई कसरी चिन्ने त ? पातमा पात हुँदा झै बातमा बात है । सुधारिएकाले गफमै भन्यो- जथाभावी बोल्न पो पाइँदैन त, गफडीले राष्ट्रवादीको खुप तारेफ गर्दै भन्यो- ‘हो महाशय, तपाईं र तपाईं जस्ताले जे-जे र जति जति बोल्नुहुन्छ त्यति-यति नै दातृरस हुन् । अरु सबै बौलाहा कुरा ! तपाईंहरूले बोलेजति सवै नै प्रजातन्त्र ! गरेजति नै विकास कार्य । जस्तै झोडा, हदउँभोका जग्गा, वचत, विकेन्द्रीकरण, गोष्ठी, भेला, सेमिनार ! गाउँ फर्के अनुमोदन । आदि । महाशय बडबडाए- ‘हेर्नोस् गफडीजिउ- सुध्रिएका कुरा बुझ्ने दिन अवश्य फिर्छन् ।’ गफडीले निज महाशयलाई पुरा शुभकामना दियो र मन-मनै भन्यो- ‘सत्यमेव जयते तात्य महाशय ।’ सत्य के हो ? यसको चिनारीतिर सबै छौं । मनमोजी गफ पनि त सत्य चिन्ने बाटातिरै छन् । यस्तो काममा सहभागी हुन सकेमा नै गफडीलाई सित्तैको खुसी लाग्नेछ । लौ त ! आजका मनमोजी गफ यहीँ तुर्दै गफडी आज्ञा चाहन्छ । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क २४, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































