काशीनाथ मिश्रितउखानको बखान : भुक्ने कुकुरले टोक्दैन
किसानलाई बाँड्न ठिक्क पारेको धानको बीउ पचाउने पनि हामी होइनौँ । तिमीहरूले पो ठुल्ठुला विमान पचाउन सक्छौ । न्याय र इमान पचाउन सक्छौ । सार्वजनिक जग्गा पचाउन पनि सक्छौ ।

काशीनाथ ‘मिश्रित’ :
समादरणीय कुकुर महोदयहरू ! तपाईंहरू जस्तो इमानदार प्राणीलाई तोकेर हाम्रा गद्दार पुर्खाहरूले यो उखान बनाइदिएकोमा मेरो घोर आपत्ति छ । त्यस्ता हेपाहा प्रवृत्ति भएका मान्छेहरूको सन्तान हुनु परेकोमा मलाई बिछट्टै खेद पनि छ । स्वामिभक्त एवम् कर्तव्यनिष्ठ तपाईंहरू जस्ता गुणवान पशुहरूलाई टोक्ने र भुक्ने दुवै अधिकारबाट बञ्चित गराउन के सुहाउने कुरा हो र ? पटक्कै होइन । भुक्नुहोस्, मज्जाले भुक्नुहोस् ! त्यो तपाईंहरूको पशुअधिकार हो । यी मान्छे भनाउँदाहरूले मानवअधिकारको कुरो त खुब कुर्लीकुर्ली गर्छन् नि । पशुअधिकारको कुरा चाहिँ गर्नु नपर्ने तिनीहरूलाई ?
आफूहरूले जतासुकै र जहाँ पायो त्यहीँ टोकाटोक गर्न हुने अनि कुकुर भएपछि टोक्नै नहुने ? टोक्नु कुकुरको नैसर्गिक अधिकार हो भन्ने थाहा रहेनछ र तिनीहरूलाई ? गाली गर्दा कुकुर भनेर तल्लो स्तरको घटिया शब्द प्रयोग गरेर गाली गर्ने तर काम कुकुरको भन्दा तुच्छ गर्ने मनुवाहरूलाई गल्ली गल्लीबाट भुकेर थर्काउनुहोस्, सके घरघरमै गएर टोकेर तर्साउनुहोस् । यो कुकुर महोदयहरूको प्राकृतिक कर्तव्य हो । यसलाई मान्छेले बनाएको कुनै संविधानको धाराले रोक्न मिल्दैन । मान्छेबाटै चुनिएर बनेका पुलिसका डन्डाहरूले ठोक्न पनि मिल्दैन ।
बरु अब यो लम्फुदासको एउटा सल्लाह मान्नुहोस् कुकुर महोदयहरू । तपाईंहरू पनि अब एउटा दल खोल्नुहोस् – ‘राष्ट्रिय कुकुर पार्टी’ । त्यो पार्टी सम्पूणर् कुकुरहरूको साझा हुनु पर्नेछ । कसैले काला कुकुरको छुट्टै पार्टी चाहिन्छ भन्ने, कसैले सेता कुकुरहरूको अर्को पार्टी खोलौँ भन्ने गर्न थाल्नुभयो भने हुँदैन नि । के तपाईहरुमा पनि भेदभाव छ र मान्छेहरूमा जस्तै ? मैले त देख्छु सबै कुकुरज्यूहरूको पुच्छर बाङ्गै हुन्छ । सानोठुलो र कालोसेतो त रङ र आकारको कुरो पो हो । मालिक देख्दा पुच्छर सबैले हल्लाउनुहुन्छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा नगरेको ठाउँमा पुग्नुभयो भने सबैले गुहु पनि खानुहुन्छ । पसिनाको साटो सबैले जिभ्रोबाटै र्याल निकाल्नुहुन्छ । के यी सबै कुकुरमा पाइने समानता हैनन् र ? फेरि मान्छेहरूका नेताहरूमा जस्तो पद र प्रतिष्ठामा नमिलेर एउटा भुक्ने कुकुर पार्टी र अर्को टोक्ने कुकुर पार्टी गरी दुईवटा दलमा बाँडिनुभयो भने मान्छेहरूले नै दबाउने छन्, विचार गर्नुहोला ।
त्यो दलको उद्देश्य चुनाव लडेर सत्तामै जाने भन्ने राख्नुभयो भने तपाईंहरूको पनि तुरुन्त पतन नहोला भन्न सकिन्न । सत्ता सम्हाल्ने त मान्छेले मात्र हो, कुकुरले होइन । सत्ता स्वार्थ भनेको मान्छेको मात्र हुन्छ र हुनुपर्छ । तपाईंहरूको के उद्देश्य हुनुपर्छ भन्ने कुरा पनि बताइदिउँला । यदि इमानदार, बफादार, स्वामीभक्त एवम् गृहरक्षक पशु भएर पनि यो सुझाव लिनुभएन भने सबै गल्लीका भुस्याहाज्यूहरू तथा घरघरमा सम्मानित तवरले पालिएका घुस्याहाज्युहरूको बन्ध्याकरण गरेर वंश विनाश गर्ने अभियानमा म नै लागुँला नि ।
हेर्नुहोस् न, मान्छेहरूले आफूलाई चित्त नबुझेका र आफूअनुकुल नभएका निणर्यहरूको कसरी विरोध गर्छन् । नाराबाजी गर्छन्, संसद अवरोध पार्छन्, टेबुल ठोकाठोक गर्छन् । स्वार्थ मिलेका बेला पार्टी जोड्छन् । स्वार्थ बिग्रियो भने त्यही पार्टी फोड्छन् । यी सबै रमिता देखेर पनि तपाईंहरू किन गल्ली गल्लीमा रल्लिनुहुन्छ ? किन जता जता मान्छेले हड्डी फ्याँक्यो उतै उतै हल्लिनुहुन्छ ? यसरी त सधैँ तपाईंहरू जति बफादार भए पनि कुकुरको कुकुरै रहनुपर्छ । त्यसैले अब एउटा ठोस उद्देश्य लिएर भुक्नुहोस्, मान्छेको सातो खाने गरी हुक्नुहोस् । त्यसरी एक चोक्टा मासुको आशामा अर्काको दैलो नढुक्नुहोस् ! सहानुभूति स्वरूप यो लम्फुदासले दिएको सुझाव मान्नुहुन्छ भने मान्नुहोस् नत्र सधैँ निम्नस्तरको पशुमै दरिएर हेपिनुपर्छ भन्ने जान्नुहोस् । होइन, हामी कुकुरको कुकुरै रहन चाहन्छौँ, माथि उठ्न खोज्दैनौँ भन्नुहुन्छ भने त कसैका बाबुको केही लाग्दैन ।
अहिलेको जस्तो गणतान्त्रिक युगमा एक्लोको कुनै तागत हुँदैन । सङ्गठनमा बल हुन्छ भन्ने मान्यता जहाँसुकै लागु हुन्छ । त्यो मान्छेमा मात्र हैन तपाईंहरूमा पनि लागु हुन्छ । त्यसैले राष्ट्रिय कुकुर पार्टी गठन गरी आफ्ना हक अधिकार र थिचोमिचोको सशक्त विरोध गर्नुहोस् । भुक्ने र टोक्ने दुवै अधिकार सुरक्षित राख्नुहोस् । त्यो दलका अरु उद्देश्यहरू पछि आफै निर्धारण गर्नुहोला । अहिले भने एक सुत्रीय माग राखेर आन्दोलन गर्नुहोस् । त्यो हो – ‘पशुअधिकार हनन हुने गरी कुकुरहरूलाई हेपेर बनाइएका सम्पूणर् उखानहरू खारेज गर् ।’
हुन पनि हो, जातीय विद्वेष फैलाउने गरी भन्दै आइएका उखानहरू खारेज गरियो । दलित भनिएका मान्छेहरूलाई हेपेर बनाइएका उखानहरू रद्द गरियो । महिलाहरूमाथि अन्यायपूणर् तरिकाले भनिएका उखानहरू प्रयोग गर्न छोडियो । अपाङ्ता भएका व्यक्तिहरूको मर्कालाई ख्यालै नगरी भन्ने गरिएका उखान भन्न छोडियो । तर पशुअधिकार हनन हुने गरी भनिँदै आएका उखानहरू जस्ताको तस्तै छन् । को बोलिदिन्छ र तपाईंहरू जस्ता निरीह प्राणीहरूको पक्षमा? नत्र पृथ्वी सबैको साझा घर हो भनेर स्कुले छात्रछात्रालाई नपढाए हुन्छ ।
तपाईंहरूलाई थाहै होला । यी मान्छे भनाउँदाहरूले कुकुरहरूलाई हेपेर कस्ता कस्ता उखानहरू भन्ने गर्छन् ? ‘भुक्ने कुकुरले टोक्दैन’ रे । इस टोक्दैन ! टोक्ने बेलामा नभुक्ने मात्र हो । भुक्ने र टोक्ने एकैचोटि त कहाँ गर्न मिल्छ र ? तिमीहरू जस्तो मुखले भाषण गर्ने र हातले घुस खाने हामी कहाँ हौँ र ! भनिदिनुहोस् न । बरु यसको साटो ‘भाषण गर्ने नेताले काम गर्दैन ।’ भनिदिए कति सान्दर्भिक हुन्थ्यो । अहिलेसम्म ठुला ठुला माइक जोडेर कुकुरभन्दा तिन गुना चिच्याई चिच्याई भुके पनि कामको परिणाम देखिएको छैन खै । अझै चुनाव आउने बेलाको भुकाइ त के भन्ने ? घोषणापत्रहरू बच्चाको आची पुछेर फाले हुने जस्ता भैसकेका छन् क्यारे ।
अर्को उखान छ, ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै’ हैन जति नीति नियम र नैतिकता पढाए पनि उल्लङ्घन मात्र गर्ने यी मान्छेहरूलाई किन लाज लाग्दैन हँ? यसको साटो त ‘मान्छेको ज्यान जति धेरै लुगा लगाए पनि नाङ्गाको नाङ्गै‘ भनिदिए कसो होला, कुकुरज्यूहरू ? आफ्नो इज्जत आफैले फाल्ने मान्छेबाहेक अरु कुनै प्राणी छैन संसारमा । अझ उनैले थप्छन् ‘कुकुरको काम पनि छैन फुर्सद पनि छैन’ भनेर । आफूहरूले कति नै काम गरेर दस वर्षमा देशलाई सिङ्गापूर बनाउँछौँ भन्ने कुकुर भुकाइ सार्थक पारे जस्तो ! जाबो ट्वाइलेट उद्घाटन गर्दै हिँड्न फुर्सद नपाएकाहरूले किन भुकिरहने ?
लौ सुन्नुहोस् – ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ रे ! के जति पल्ट गोता खाए पनि होस नपाउने तिमीहरू जस्तो हो र हामीहरू । नत्र एउटा काण्डमा मुछिएर जेलनेलको यातना भोगेपछि पनि अर्को काण्ड किन मच्चाउँथ्यौ र ? लाजको मर्नु । अगुल्टाले लागे पछि बिजुली चम्कँदा नतर्सेर के तिमीहरू झैँ पटक पटक जेलमा जाकिन जाने त हामी ? हिम्मत नहारिकन मान्छेहरूलाई यसै भनिदिए हुन्छ तपाईहरूले ।
भन्छन्, ‘दैलोमा आएपछि कुकुर बलियो ।‘ तिमीहरू पनि के कम छौ र ? कोही बाहिर गएका बेला आफ्नो इज्जत राखेर बोल्न सक्ने होइन क्यारे । खै अहिलेसम्म त्यस्तो देखेसुनेको छैन । विदेशतिर जाँदा उनीहरूले दिएको दुई ट्वाँक रक्सीमा भुलेर चुइँक्क नबोली फर्केको हामी जस्ता गल्लीका कुकुरलाई त थाहा छ भने तिम्रा सन्तान दरसन्तानलाई थाहा नहोला र । यहीँ आफ्नो स्यालदरबारबाट कुर्लने मात्र त हौ । लौ कहाँ हामी झै भुक्न सकेका छौ त घरदैलो छोडेर ? खुब हेप्दा रहेछौ हामीलाई । घरबाहिर गएर भुकेको एउटा उदाहरण देओ न त, सक्छौ ? उताका मालिकहरूले दिएको कलो खाएपछि टाङमुनि पुच्छर लगाएर आएको नदेख्ने तिम्रा अन्धभक्तहरू मात्र हुन्, हामीले त देखेकै छौँ । कुकुरहरूलाई यति भन्ने अधिकार छ संविधानमा नलेखे पनि ।
‘सबै कुकुर काशी गए गुहु कसले खाला’ भन्ने उखान हालेको सुन्दा त एउटा मान्छेलाई दुई दुई पल्ट टोकेर तिघ्राबाट रेबिज सल्काइदिउँ जस्तो लाग्छ । हैन हेप्न पनि कति सकेको हो । माछामासु त आफैले हसुर्दा ठिक्क छ । हामीलाई दिने भए पो । तैपनि आजकल ट्वाइलेट हो कि के जाति बनाएर गुहु खान पो कहाँ दिएका छन् र यी दुष्टहरूले । ‘सबै युवा विदेश गए बाँझो रह्यो बाजेको छाला’ भन्ने अवस्था आइसकेको तिनीहरूलाई कसले भनिदेओस् । आफूहरू संसारका मान्छेहरूको गुहु सोहोर्न जाँदा लाज नलाग्ने, हामीलाई चाहिँ मनपरी भन्ने ? यस्तो सहन सकिन्न । राष्ट्रीय कुकुर पार्टी गठन गरेर उठाउनुपर्ने यो टड्कारो मुद्दा हो ।
अझ भएन भनेर ‘कुकुरलाई घिउ पच्दैन’ पो भन्छन् बा ! हो, हामीलाई त घिउ पनि पच्दैन र पचाउनु पनि परेको छैन । तिमीहरू झैँ चेलीबेटीको जिउ पचाउने हामी होइनौँ । किसानलाई बाँड्न ठिक्क पारेको धानको बीउ पचाउने पनि हामी होइनौँ । तिमीहरूले पो ठुल्ठुला विमान पचाउन सक्छौ । न्याय र इमान पचाउन सक्छौ । सार्वजनिक जग्गा पचाउन पनि सक्छौ । लाज सरम सबै पचाउन सक्छौ । हाम्रो त त्यत्रो खुबी छैन । नत्र किन कुकुर भनेर हेपिइरहन्थ्यौँ र ? देखौला अब हाम्रो राष्ट्रिय कुकुर पार्टीले यो एक सुत्रीय माग पूरा भएन भने के के गर्दोरहेछ । हेरौला भुक्ने कुकुरले टोक्छ कि टोक्दैन? त्यतिबेला थाहा हुनेछ ।
विश्वका कुकुरहरू – एक हौँ ! एक हौँ !!
राष्ट्रिय कुकुर पार्टी – जिन्दावाद ! जिन्दावाद !!
०००
रुरुक्षेत्र- ५, गुल्मी
फित्काैली द्वैमासिक, पूर्णाङ्क ४२ बाट








































गज्जब !
धेरै राम्रो रचना