साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुनको सोझो

जति नुनको सोझो बढ्ता गर्यो त्यति पुरस्कारको रूपमा झन् तिनको मुखमा घोचो पो पुगिरहेको हुन्छ । नुनको सोझो मात्र गर्नेहरूको मुखभित्र सधैं झुम्रोको बुजो कोचिएको हुन्छ ।

Nepal Telecom ad

हरि बन्दी :

कसैको चिहान खोतलेर हाडखोर परीक्षण गर्ने मेरो बानी छैन । यसैले पहिल्यै भनिदिऊँ – उहिलेउहिलेको नेपालमा जागिरे हुनेवित्तिकै ‘घूस खाने छैनँ’ भनी किरिया ख्वाइन्थ्यो रे भन्ने विषयमा थेसिस वा ग्रन्थको कुरै पर रहोस्, हालै एउटा पत्रिकामा प्रकाशित लेखसम्म पनि पढ्ने जाँगर मलाई लागेन । मैले सम्झै- मेरा लागि यति नै पुराणबराबर छ । मैले सम्झै- यो लेखको महासूत्र पर्ने- अरू गन्थनमन्थनमा फेरि किन लन्ठिरहनु । शताब्दीयौंदेखि हाम्रा अग्रज पूर्वज सदाचारी जागिरेहरूले धर्मशास्त्रका नाउँमा रामनामसम्म पनि जपेजपेनन्, तर यो मूलमन्त्र तिनले निश्चयै टुपी हल्लाईहल्लाई घोके होलान् । ती तीन पासे, चार पासेलाई यति घोक्न माथापच्चिसी गर्नु परेन होला भन्ने अनुमान म इतिहासलाई इतिश्री गर्न परैबाट जुम्लेहात गर्नेले पनि लगाउन सक्छु- किनभने यो सूत्रको पूरापूर कार्यान्वयन गरेर तिनले अर्थको चरितार्थ गरेर देखाइछाडे र अद्यापि हामीलाई अनुकरणीय उदाहरण पेस गरेर गए । ती स्वर्गमा होऊन् वा नर्कमा, तिनको पुण्यात्मालाई शान्ति मिलोस् । पितृश्रद्धा, अस्तु !

बाँकी रहन आएको छ- अतीत र व्यतीतको सम्झनाभित्र एउटा काउले प्रश्न चिलाउँदो छ- मेरा खानदानी पुर्खाले घूस खान्नँ भनेर के भुस मात्र चपाए त ? ती सुनतोडे न चाँदतोडे सुब्बा, खरदारले तलब मात्र तोडे त ? प्रत्येक वर्ष पाँडेपजनीमा पर्ने सबै चोखा थिए त ?

लौ भैगो, यो प्रश्नलाई पनि किन रन्थनमन्थन, चिहानमै घुसारिदिन्छु । सम्झौं हाम्रा जागिरे पुखलि पक्का पनि नुनको सोझो मात्र गरे । त्यो आदर्श मर्यादालाई यथावत् ज्यूँका त्यूँ कायम गरेर हामी पनि आज त्यही गर्दै छौं । बरु आधा पेट खान धौधौको जागिर खाएर हामी बटारिएका आन्द्राभुँडी बोकेर फुकीढल जीउमा नुन खाएको कुखुराजस्तो लुखुरलुखुर जागिर धान्न हिँडिरहेका हुन्छौं, अहँ, घूस त ज्यान गए खान्नौं, खान्नौँ ।

यसैले आज घूस नखानुअघि किरिया खान साँच्चै खाँचै परेन । मैले यति पूरा नभन्दै तपाईं बीचमा प्वाक्क बोलिहाल्नुहोला उसो भए उहिलेउहिलेको कुरो पनि होइन, दस-बीस वर्षपहिलेसम्म घुस खाएको सम्पत्ति देखिन्छ भनेर डरले लुकाउँथे, अहिले किन हाकाहाकी पुख्यौलीका शूरवीर सन्तानले लाखौं पर्ने बङ्गला डकारिरहेछन्, विघौं जमिन पसारिरहेछन्, चौध अञ्चलमध्ये कम्तीमा पनि चार छ अञ्चल ढाक्ने गरी घरबार जोडिरहेछन् यी के हुन् त जी ?

पख्नुस्, पख्नुस्, धेरै नसोध्नुस् । तपाईंको आँखा फुटेको हो कि मेरो गर्धन चिलाएको हो, त्यसै प्वाक्क तोलाको जिब्रो हल्लाउनुसट्टा बरु धार्नीको टाउको हल्लाउन सिक्नुस्, अर्थात् गाँठी कुरो बुझ्नुस् । भनूँ त ! ल सुन्नुस् है ?

सोझो औंलाले घिउ आउँदैन भन्ने त सुन्नुभएकै होला । तर यो औंला बङ्ग्याएर तानिएको घिउ-मह केही होइन । यो भनाइलाई अब बाग्मतीको सट्टा टुकुचामा नुहाई धोती फेरी शुद्ध भएसरह फेरिदिनुपरेको छ । अर्थात् चाहे व्याङ्क ब्यालेन्स होस्, चाहे जिनिस जमिनको ऱ्याञ्च होस् यस्ता काम चोरऔंले र पन्जाधारी नकाब पोसहरूले गरिभ्याएका छन् । ती हुन् आफ्ना छोराछोरी कन्भेन्टमा पढाउने र अरूलाई स्वदेशका जीर्ण भग्नावशेष धर्मशाला स्कुलमा पढाउन भनी राष्ट्रियता सिकाउनेहरू ती हुन्- आफू रातोदिन होटेल र मोटेलमा रोमान्स लडाउनेहरू र अरूलाई गुन्द्रुक र सिन्कीको झोल खाई मितव्ययिताको पाठ पढाउनेहरू ती हुन् पर्दाअघिल्तिर उपदेश मात्र भट्टयाउनेहरू र पर्दापछिल्तिर अख्तियारलाई मतियार मिलाएर जुत्तामुनि लत्त्याउनेहरू ती हुन् निर्धानिमुखाहरूको हरहमेसा रुद्रघण्टी अँठयाउन तत्पर महामण्डलेश्वरहरू, अर्थात् ती एकैचोटि एकातिर हुन् पनि र अर्कोपट्टि होइनन् पनि । ती घूसखोरहरूको घोर विरोध गर्छन्, ती भ्रष्टाचारीहरूलाई जनतापट्टिको ढोकाबाट भित्र थुन्छन् र अर्कोपट्टिको मतियारी ढोकाबाट फुक्का गरिदिन्छन् । यसैले भनिहालें-

ती आगोका फूलहरू हुन्- आगोका फूलहरू होइनन् । अतः कर भन्सारका अफिसर-खरदारलाई औंल्याउनु बेकार छ । प्रहरीजस्ता रक्षकलाई भक्षक भन्नुमा महापाप छ । यस्तो भन्ने, सुनाउने र लेख्नेजतिलाई सत्तोसराप छ- बरु कवि तिवारी बाजेले मर्नुअघि लेखेको यो कविताको पङ्क्ति सम्झेसम्म यहाँ सोझ्याई तान्नुमा पो बरु फलिफाप छ-

कसले कसलाई दोष दिने खोइ को कस्तो छ !
मामा यहाँको माटै यस्तो छ ।

हो, यहाँको माटै यस्तो छ, जहाँ कसैको वर्षभरिको घुँडाधसाइले मुस्किलले धान फल्छ भने कसैलाई चौबीस घण्टाको जादुले त्यहीं सुन फल्छ । धन फल्छ । बङ्गला फल्छ, मोटर फल्छ । अनि जात पनि फेरिन्छ, सम्भ्रान्त वनिन्छ, कुलघरानमा सन्तानको सम्बन्ध जोरिन्छ, देशविदेश घुमिन्छ, के हुन्न, सब थोक जोरिन्छ । सिडदेखि पुच्छरसम्म पनि थपिन्छ । यसैले यो एउटा उदाङ्ग परेको गोप्यता हो भने हुन्छ ।

तर विलिनो नुनलाई पनि चर्को सम्झेर मुलुकको भलो चिताउने र एकनास कामको हलो मात्र जोत्नेहरूलाई नै उल्टो हाइपरटेन्सनको रोग हुन्छ र जति नुनको सोझो बढ्ता गर्यो त्यति पुरस्कारको रूपमा झन् तिनको मुखमा घोचो पो पुगिरहेको हुन्छ । नुनको सोझो मात्र गर्नेहरूको मुखभित्र सधैं झुम्रोको बुजो कोचिएको हुन्छ ।

०००
उल्टोपट्टि, हास्यव्यङ्ग्यसङ्ग्रह (२०४५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x