रामकुमार पाँडेसीता कसकी जोई ?
अर्काको नचाहिँदो चासो गरी गफ हाल्नेदेखि पेटमा कुरा पाल्नेसम्म सम्झँदा पोल्ने कुरा मात्र निस्कन्छन् । हेर्नोस्, चुरोट सुई सुई तान्यो फुत्त फाल्यो । बोक्रा छोडायो फ्यात्त फाल्यो । खाकखुक गरेर होस् वा सी सी गरेर निस्केको सब निर्धक्क आफल्यो।

रामकुमार पाँडे :
भनूँ बेथा साह्रो नभनु पर्यो गाह्रो । हुन त भन्न नहुने कुरा पनि खोजेको हैन । न त सिङ न पुच्छरको कुरो नै गर्न खोजेको हो । भन्न नहुने कुरा भन्न हुने भए-फलानालाई उफार्ने स्प्रिङ फलानी हो, फलानालाई काट्ने कैंची त्यही हो मन्नेदेखि फलानाको चम्चा फलानै हो, फलानाले च्याप्ने लोटा फलानो हो- फलानी लोटा फलानो भाँडो खनाएर भरिएको हो। फलानोले च्याप्ने लोटाको मुख सानो छ, घाँटी पनि सानै छ तर भुँडी भव्य छ । फलानोले फलानोको हलो हो जस्ता कुरा कति निस्कन्थे कति ।
भन्नु भएन र पो नत्र फलानी, फलानो गधा हो, फलानो कुकुरै हो । फलाना त स्याल भइहाल्यो । फलाना पक्का गोरु हो । फलानाको घोडा फलानाले नै ल्याइदिएको हो । फलानो चाहिँ चमेरो काम गर्छ । त्यो चाहिँ कनसुत्लो हो । वकुल्लाभगत भनेको त्यही त हो । यस्ता कुरादेखि भन्न हुने भए कुरामा कुरा कति निस्कन्थे कति, फलानोको मुटु ढिस्कानी, फलानोको दाहिने हात फलानो, फलानाको पुच्छर फलानो, फलानाको टुपी, फलानाले समाउँछ, फलानाको लगाम फलानाले लिएको छ । इत्यादि, इत्यादि ।
अझ किटेरै भन्न हुने भए फलानोले ठेक्काको सिमेन्ट खाएर मोटायो । फलानाले बङ्गला, गाँजा र चरेसले बनायो । ‘फ्रिकस्ट्रिट’ हो फ्लोरमा नाच्ने मान्छे फलाना त हो । फलानालाई औताली पल्टी सबथोक मिलेको छ । फलानाले फलानो रडले मुटु र मस्तिष्क रङ्गायो । फलानाले हुँदै नहुने काम पनि हुने गरी बङ्गायो । यस्ता रङ विरङ्गका कुरा कति निस्कन्छन् कति ।
मान्छेले नगरेको काम वा गर्न नसकेको काम अथवा गर्न नहुने, नमिल्ने र नगर्ने काम पनि यहाँ एक खिल्ली चुरोटदेखि एक कप चियाजस्ता विभिन्न चीजबीजले गर्छ । विश्वास मान्नु हुन्न भने हेर्नोस्, फलानालाई फोनले बढुवा गर्यो फलानोलाई दहीदूधले सरुवा गर्यो- फलानालाई बोकाले विदेश पुर्यायो- फलानालाई फलफूलले ठेक्का दिलायो । यस्ता फलाना र ढिस्कानाको कुरा गरी के साध्य ? आफ्नै कुरा गर्ने हो भने मेरो भाड, ज्वाई र फरियाका नाताले मेरो आडमा मेरे ढाड भाँच्न आँटिसके । न कालोबजारी भन्नु न अत्याचारी । आफ्नो आङ कन्याए आफैलाई छारो । आफ्नै छरछिमेकको कुरा गर्ने हो भने करको डरले सम्पत्तिका लागि ‘डाइभर्स गर्ने दम्पत्ति एउटै कोठामा उठबस गरेको देखी कागजमा अनेक नाम कालो अक्षरले लेखेको कसले देखेको छैन ? मनको बह कसैलाई नकह मनी दिलमा दह पारेर पो । नत्र भन्न नहुने गोप्य, अत्यन्त जरुरी कुरा कति थिए कति ।
यस्ता पोल्ने कुरा गरी पेच हान्ने हो कि भनी कुनै, ‘मेच’ ले आत्तिनु पर्दैन । आँखामा छारो हाल्ने काम जसले जसरी गरे पनि भो । नक्कली प्रमाणपत्र पेस गरी मास्टरी गरे पनि हुन्छ । नियम पुगेको छ भने जति रकम भोजन गरे पनि हुन्छ । अथवा आँखामा छारो हाल्न नक्कली मजुर बनाएर उडाए पनि हुन्छ । धर्म छोडेपछि जसले जे गरे पनि हुन्छ । सारीको डस्ना बनाई पार पुन्यातवान हुन्छ, दारीमा डायमन लुकाई पार गराए पनि हुन्छ । छातीमा चरेस पोती लगे पनि हुन्छः मूर्तिमा सुर्ती माेरे पनि हुन्छ, जसले जस्तो जाल बुनेर मए पनि आफ्नो ताल पार्न पछि हटेको देखिन्न । जान तालिम दिए पनि, जति डिग्री लिए पनि, जति नियम बनाए पनि, जति पुराण सुनाए पनि, चढाए पनि, जति रामायण पढाए पनि सीता कसको जोई ठम्याउने लोड ?
काग कराउँदै छ पिना सुक्दैछ । थाहा नभएको कसैलाई केही छैन । नबुझेको कसैले केही हैन । अर्ती उपदेश लिने हो भने दिने छ्यासछ्यास्ती देखिन्छन् । सल्लाह भन्ने नै एउटा यस्तो कुरा हो जुन जसले पनि दिन सक्छ तर लिन सक्तैन । नत्र एउटा सदरिया सहरियाको घरको फ्यालबाट मलजल प्रसाद वर्षदैनथ्यो र पेटीमा हिँड्ने मान्छे तर्सदैनथ्यो । भलादमी गनिएका बडा आदमी पनि पार्टीमा गिद्धले सिनु झम्टेझै झम्टिन पुग्दैनथे । मेचमा बसेपछि रन्कने हाकिम र पोस्ट पाएपछि धन्कने नेता जन्मदैनथे । बस चढ्दा धम्क्याउनेदेखि मौका पर्दा झुक्याउने र मुक्याउने मान्छेको परिचय गर्दै जाने हो भने खोपडीभित्र किताबका ठेली हाली सकेका, टाउकामाथि ठूलो टोपी लगाएका र खप्परमा खप बोकेका सम्म नहुने हैनन् । अझ खोज्दै जाने हो भने सिद्धबाबाको सन्तान फलाना ठूलाको नाति फलाना ठालुको छोरा, फलानो खान्दानको सुपुत्रीसम्म फेला नपर्ने छैन । सिद्धबाबा बनेको भनेको यही त हो ।
मान्छेले भालुलाई तालिम गरेर नचायो । बाँदर होस् वा कुकुर सबलाई सिकाएर चमत्कार गर्यो तर मान्छेलाई सिकाएर मान्छेजस्तो बनाउन खोज्दाखोज्दै मान्छे चाहिँ विभिन्डिएर कहिले भालु बन्दै बसको सिट कोपर्न थाल्छ, कहिले बाँदर बनेर दोबाटामा नाचिदिन्छ । कहिले कुकुर बनेर टोक्न पुग्छ, कहिले बिरालो बनेर कोपर्न पुग्छ । यो कुरा यति नै झुटो छ जति अचेलका व्यापारी शुद्ध माउले गुद्ध वस्तु बेच्छन् भन्नुमा छ । अथवा यो कुरा यति नै साँचो छ जति मेकपले अचेल बुढीलाई तरुनी र बच्चीलाई बुढी आमा बनाइदिन्छ भन्नेमा छ । बस्, सिनेमा हलमा होस् वा सार्वजनिक बसमा धूमपान नगर्नु होला भनेको छ भने हुने भए हुक्का चिलिममा तमाखु नै तान्न कस्सिन्छन् । यस्ता नाना रङका सज्जन दर्शन गर्दा मानव अधिकारको सदुपयोग यसरी नै गरे जस्तो लाग्छ जसरी कुकुरले ठाउँगाउँको मतलब नगरी लघु दीर्घ शङ्का मेटाउने गर्छ । न कसैलाई अप्ठेरो पर्ला भन्ने डर न कुनै लोकाचारको विचार ।
अझ यी भन्दा पनि कुनाकाप्चा, रुख मन्दिर, खम्बा देख्ने बित्तिकै कुकुरले झै खुट्टा उचाल्ने रोगग्रस्त सज्जन केही कमका छैनन्, त्यसो त पच्चिस हात पारिदेखि गन्हाउने पुरुष र महिला छुट्टाछुट्टै पस्ने घरले नै कति भर दिएका छन् र ? बाटाको बत्तीलाई तारो हान्ने भविष्यका तारादेखि पार्कको बेन्च बिगार्ने सारा सिङ र पुच्छर कुनै कुनै मान्छेको पनि हुन्छ मन्ने ग्यारेन्टी यति नै गर्न सकिन्छ जति आफ्नो भनेपछि बाँदरको बच्चै भए पनि सुपुत्र मन्न गौरव हुन्छ भन्नुमा छ । अथवा स्मगलरलाई धरौटी सर्वस्व हो भन्नुमा छ । अनि सम्झन पुग्छु लठ्ठी नभई कुकुर भाग्दैन । जति भागवत भट्याए पनि जनि भाषण मनाए पनि गेरुवस्त्र लगाउँदैमा जोगी हुन्न न त नर वानरको सिड र पुच्छरमा नै कुन अन्तर आउँछ । एकछिन पुच्छर हल्लिन्छ, बस खेल खतम ।
जति ज्ञानगुनका कुरा गर्नोस्, जति उपदेशले कान भर्नोस् एकछिन टाउको हल्लन्छ, अर्को छिन पुच्छर हल्लन्छ निरस्त्रीकरणको बैठक होस् वा विश्वशान्तिको महाबैठक सबको प्रस्ताव पास गरी ताली पड्किन नपाई बम र बन्दुक पड्किन थाल्छ । फलानोले साहित्यिक चोरी गरी साहित्यकार बन्ने सपना साकार पार्नेदेखि ढिस्कानोले घरको छाक बचाई अर्काको भात मार्ने काम हदने हैन । न दुल्हाले दाइजो धोरे माग्छ न पार्टी र मोजमा चिया र बिस्कुटले खर्च टर्छ । सुधार गर्ने बैठकमा सुधारका रूपमा मदिरापान हुनेदेखि हाइजिनको शिक्षकको कार्ड परेको दाँत हुनेसम्म विचार गर्दा जति रामायण पढे पनि सीता कसकी जोईको जवाफ ठीक भन्न सकिन्न ।
घिउ सख्खरले धोएर निम गुलियो हुँदैन भन्छन् । नियमले बाँधे पनि समाएर बोसो र बेसारमा पिठो मिसिनै छोड्यो न त फोस्रो ढाँचा र खोक्रो धक्कु नै हट्यो । बाटो काट्ने ठाउँमा नकाट्ने र काट्न नहुने कुरा काट्ने काम कहिले हट्ने ? दिउँसोभरि तास खेली गुजार्नेदेखि चोरचार गरी जाँच जमाउने र ठगठाग गरी कमाउनेसम्म विचार गर्दा सबै रामायणका पण्डित नै नदेखिने वा न भेटिने हैनन् । अगाडि तारिफ बर्साउने, पछाडि गालीको गोला बर्साउने, मौका पर्दा खुट्टो तान्ने र खेदो खन्ने राष्ट्रिय रोग मपाईमानिया हतपति हटेकै ह्वैन । हेर्दा अनुहार शुद्ध बुद्ध नै भए पनि वास्तवमा बगरे बनेको मान्छेलाई पत्तै हुँदैन ।
अर्काको नचाहिँदो चासो गरी गफ हाल्नेदेखि पेटमा कुरा पाल्नेसम्म सम्झँदा पोल्ने कुरा मात्र निस्कन्छन् । हेर्नोस्, चुरोट सुई सुई तान्यो फुत्त फाल्यो । बोक्रा छोडायो फ्यात्त फाल्यो । खाकखुक गरेर होस् वा सी सी गरेर निस्केको सब निर्धक्क आफल्यो। फाल्न त फाल्यो तर बोक्रामा चिप्लिई कतिलाई ढाल्यो । हाच्छयूँ गर्न पाएको छैन जीउ सारा गल्यो । कुनाकाप्चा जतासुकै रोगको कोटाणु थाल्यो । आफू चाहिँ स्वदेशी साग खाई विदेशी राग ढाल्यो । भाउज्यू भाभी भए, बा आमा ड्याडी ममी हुन गए । छोराछोरी मुन्नामुन्नी, काका चाहिँ अङ्कल । खोइ सक्कल ? सबचोक नक्कल ।
बुद्धि विवेक दूषण भएपछि कसको के लाग्छ । यस्ता कुन कुरा भन्नु हुने, कुन नहुने, कुन कुरा गर्न हुने, कुन नहुने, कुन ठीक, कुन बेठीक आफ्नो सत्ता पत्ता नपाउने मान्छे नै कहाँ पाउने ? तर यस्ता रामायण रास पढेर बढेका महाजन हुन् वा देखेर सुनेर माथि चढेका सज्जन सीता कसको जोई ? पत्ता पाउने खोइ ?।
०००
२०३४, वैशाख
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest








































