सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिल्कुलमानलाई स्पष्टीकरण

कार्यप्रतिको उत्साह बढाउने काममा बाधक बन्दै मन्त्रीले पदबहाली गरेयताको यति लामो अवधिसम्म पनि एउटै वैदेशिक भ्रमण नगराएर सुशासनको रीतिथितिमा किन गैरजिम्मेवार बनेको ?

Nepal Telecom ad

युगल बसेल :

हालै बिल्कुलमानलाई उड्जा मन्त्रीले १५ बुँदे स्पष्टीकरण सोधेको खबर त आयो तर ती बुँदाहरूमा केके कुरा सोधिएका छन् भन्ने कुरा धेरैलाई थाहा नभएकोले उत्सुक पाठकको खसखस मेटाई छर्लङ्ग पार्नका लागि यहाँ प्रस्तुत गरिएको छ र ती बुँदाहरू देहाएअनुसार छन् :-

१) मन्त्रीज्यूले ८/१० करोड कोसेली नलिई निस्वार्थ भावले आफ्नो हुक्के, छाते, झण्डे, झोले नातापाताका स्वच्छ छविका ल्याकत नभए पनि ताकत भएका मान्छेलाई तपाईं बहाल रहेको पदमा नियुक्त गरेर उसको उच्च योगदानको तुच्छ कदर गर्ने काममा तपाईँ किन बाधक बनेको ?

२) नो एपोइन्टमेन्ट नो डिसपोएइन्टमेन्ट भन्ने आदर्श र गहन उक्तिलाई किन नबुझेको ?

३) मन्त्रीलाई जानकारी नगराई तपाईंले आफ्ना परिवारसँग रेस्टुरेन्टमा गएर किन सादा खाजा खाएको ?

४) मुलुकमा अन्धकार हुँदा विभिन्न थरी उज्यालोका व्यापारीले नानाथरी व्यापार गर्न पाउने र आर्थिक क्षेत्र चलायमान हुने परिस्थितिमाथि कुठाराघात गर्दै अँध्यारोलाई किन सिलिफ्याँट पारेको ?

५) उज्यालोप्रदायक संस्था घाटामा गयो भने त्यसको सुदृढीकरण गर्नका लागि दाता राष्ट्रबाट ऋण सहयोग र निसर्त अनुदान पाउन सकिने र त्यसबाट वैदेशिक मुद्राको समेत आर्जन हुने कुरालाई बेवास्ता गरी किन गम्भीर आर्थिक कसुर गरेको ?

६) विदेशबाट उज्यालो आयात गर्ने सभ्य र सुसंस्कृत परम्परामाथि प्रहार गर्दै विदेशी मुलुकले हामीलाई उज्यालो बेचेर हाम्रो मुलुकसितको दौत्य सहयोगात्मक सम्बन्ध सुदृढीकरण गर्ने प्रक्रियामा खलल पारी किन बाधक बनेको ?

७) उज्यालो अड्डाका हाम्रो पार्टीका झण्डा बोकेर हिँड्ने र पार्टीकै सङ्गठन विस्तारमा लाग्ने गरेका उत्कृष्ट कामचोर कर्मचारीको स्वायत्तता र स्वेच्छाचारितामा बाधा पारी अड्डाकै बेतुकका कामकारबाहीमा उनीहरूलाई अलमलाउने धृष्टता किन गरेको ?

८) हाम्रा असल र कामयाब झोले कार्यकर्तालाई मोटो रकमको विज्ञापन उपलब्ध गराएर राष्ट्रवादी काम गर्दागर्दै राष्ट्रघातीको तक्मा पाएको हाम्रो ऐतिहासिक राजनैतिक दलको अर्थ सङ्कलन कार्यमा किन असहयोगी भूमिका निर्वाह गरेको ?

९) सरोकारवाला मन्त्रीको स्तुतिगायन, भजन र भाटगिरीको मर्यादित शिष्ट परम्परा उल्लङ्घन गरी संगीन अनुशासनहीनताको पराकाष्टामा किन पुगेको ?

१०) मन्त्रीले संसदीय चुनाव लड्दा उहाँ भावी ऊर्जामन्त्री हो भन्ने अनुमान गर्न नसक्नुको कारण के हो र उहाँलाई चुनावमा दिलो ज्यानले; तन, मन र अझ सबैभन्दा बढी धनले सहयोग नगरी गम्भीर कसुर गरिनुको कारण के हो ?

११) लायक र नालायक दुवैथरी गुणको समिश्रण भएका मन्त्रीका उत्कृष्ट दुई छोराछोरीको हालै भएको बिहेमा निम्ता गरिएका पाँच/पाँच हजार पाहुनाहरूलाई वर्ग अनुसार पाँचतारे होटल र पार्टी प्यालेसहरूमा खानपान गराउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्न तपाईंलाई निर्देश गरिएको र सोका लागि उज्यालो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वको संस्कृति उपशीर्षकबाट स्रोत जुटाउने उपाय सुझाइएकोमा निर्देशनको बेवास्ता गर्दै संस्कृति जोगाउने गहन दायित्वबाट पन्छिने लापरवाही किन गरेको ?

१२) उज्यालो अड्डाका महँगा र विलासी गाडी मन्त्राणी र मन्त्रीका सुपुत्र सुपुत्रीलाई मुहैया गराएर मन्त्रालयको सेवा प्रवाह सहज र स्तरीय तथा प्रभावकारी बनाउने कार्यमा किन उदासीन बनेको ?

१३) उज्यालो अड्डाको चम्किलो आर्थिक स्रोतमार्फत मन्त्रीज्यूको प्रत्येक महिना वैदेशिक भ्रमण गराएर मन्त्रीज्यूको कार्यदक्षता र कार्यप्रतिको उत्साह बढाउने काममा बाधक बन्दै मन्त्रीले पदबहाली गरेयताको यति लामो अवधिसम्म पनि एउटै वैदेशिक भ्रमण नगराएर सुशासनको रीतिथितिमा किन गैरजिम्मेवार बनेको ?

१४) हामीलाई तनले, मनले र धेरैभन्दा धेरै धनले सहयोग गर्ने, दसौँ रोपनी जग्गा दान गर्ने, सयौँ करोड खर्च गरेर पार्टी कार्यालय बनाइदिने अठोट गर्ने र चुनावी खर्च जुटाइदिने मनकारी र धनकारी उद्योगपतिहरूको उज्यालोपोत बाँकी रहेको बहानामा उज्यालो र ऊर्जाको ढन्नासो छिनालेर उनीहरूलाई बेखुस पार्ने कुकृत्य किन गरेको ?

१५) उज्यालो अड्डालाई हाम्रा बफादार कार्यकर्ताको भर्तीकेन्द्र बनाई कार्यकर्ताहरूको तकदिर चकाचक पारिदिने हाम्रो सदिच्छामा तुषारापात हुने गरी आवश्यकता र योग्यताका आधारमा जोसुकैलाई अड्डामा जागिर दिने दुस्साहस किन गरेको ?

बिलकुलमानले यी बुँदाहरूको जवाफ कस्तो र कसरी दिन्छन् भन्ने कुराको व्यग्रताका साथ प्रतीक्षा गरिँदैछ । उनको बुँदागत स्पष्टीकरणलाई पनि यसैगरी पाठकको जानकारीको लागि प्रस्तुत गरिने योजना रहेको कुरा विनयपूर्वक सूचित गरिएको छ ।

०००
सन्धिखर्क -१, अर्घाखाँची

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Uttar
Uttar
3 months ago

विल्कुलमानको स्पष्टीकरण लेखनमा म सुकुलमान बरिएको कुरा जानकारी गराउन चाहन्छु।

युगल बसेल
युगल बसेल
2 months ago
Reply to  Uttar

😀

Nepal Telecom ad
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
2
0
Would love your thoughts, please comment.x
()
x