नन्दलाल आचार्यनेता बस्तीमा मस्ती
नेपालीले नेतासँग गफमा सोना खोज्छन्, अनि भोलिपल्ट दाना पनि खोसिन्छ । तर नेताहरू भने कहिल्यै खाली हात हुँदैनन् । आखिर, राजनीतिमा नाफाको रेट कहिल्यै घट्दैन !

नन्दलाल आचार्य :
सपनामा आकाशबाट फुलौरा झरेझैँ, चुनाव आउनासाथ नेताहरू हाम्रो गाउँमा झर्छन् । यति धेरै झर्छन् कि गाउँभरि नेता नै नेता ! कस्ता नेता ? हरेक जातका, हरेक स्वादका । गफ गर्ने अलग-अलग तरिका, तर उद्देश्य एउटै- जनताको कुम्भ मेला लुट्नु ।
नेतालाई नजिकबाट चिन्न खोज्नु भनेको चिल्लो साबुनले आँखा धुनुजस्तै हो । तपाईं बुझ्नुभन्दा झन् अलमलिनुहुन्छ । त्यसैले म नेताहरूका कथा बटुल्दै फर्सीकान्त फारूबाट सुरु गर्दै भस्याङभुसुङ दलसम्मको यात्रा सुनाउँछु ।
म आफ्नो जीवनको सुरुवातमा निजी अड्डाको सामान्य कर्मचारी थिएँ । हाम्रो अड्डामा काम गर्नेले खान त पाउँथ्यो, तर सम्मानको नाममा ‘टर’ थिएन । यो ‘टर’ भनेको हाम्रै नेपाली समाजको इज्जतको पो मापक ! इन्सपेक्टर, मास्टर, डाक्टर जसलाई हेरे पनि ‘टर’ झुन्डिएको । मेरो जिन्दगी भने ‘टर’ बिनाको बासी चिउरोजस्तै भइरहेको थियो ।
एकदिन ठानेँ, ‘टर’ जोड्नु पर्छ ! त्यसै क्रममा भेट भयो- फर्सीकान्त फारूसँग ।
उनी आफ्नो साइकिल धकेल्दै थिए । मैले नमस्ते ठोकेँ ।
“पार्टी छोडियो, नयाँ बनाउँदैछु । सेक्रेटरी बनौँ न ?” उनले हाँस्दै भने ।
सेक्रेटरी ! त्यो पनि नेताको ! त्यो पलमा म आफूलाई उड्न लागेको जहाजको कुकुरजस्तो महत्त्वपूर्ण महसुस गरेँ ।
फर्सीकान्तको पार्टीमा मेरो जिम्मेवारी चन्दा उठाउनु थियो । घोषणापत्रको कुरा सोध्नुभयो भने यस्तो थियोः
व्यापारीलाई दर, सुकुमबासीलाई घर ।
पढ्नेलाई पास, खेल्नेलाई तास ।
गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन ।
यस्तो लोभलाग्दो सपना कसले नपत्याउला ?
तर बिचरा चन्दा उठाउने जति, नेताजीको पेटमा जान्थ्यो । मलाई भने एउटा पुरानो कोटमा टालटुल गरी पुरस्कृत गरियो ।
“यो पार्टीबाट केही फाइदा हुँदैन”, सोचेँ र अर्को पार्टीतिर लागेँ ।
हाम्रो देशका पार्टीका नाम सुन्दा कहिलेकाहीँ लाग्छ, नेता जन्मिँदै रक्सीको बोतल चुसिरहेका थिए । जस्तैः
१. राष्ट्रिय छलछाम दल ।
२. अन्तर्राष्ट्रिय खन्चुवा पार्टी ।
३. अराष्ट्रिय जुल्फीकराँते दल ।
४. सुराष्ट्रिय कन्याखोज मण्डल ।
पार्टी जति फेरेँ, कथा उस्तै। कार्यकर्ता बिचरा कुकुरले मासु बोक्नुसँगै नेता बोक्छन्, तर मासुचाहिँ नेताले मात्र खान्छन् । नेताका भाषण सुन्दा लाग्छ, भोलि बिहानै सुनको थालमा चिया ल्याइदिन्छन् । तर भोलि के हुन्छ ? घोषणापत्र तिर्खाउने सपना मात्र बनिदिन्छ ।
अन्ततः मैले पनि आफैँ पार्टी खोल्ने निर्णय गरेँ । मेरो पार्टीको नाम- नेपाल भस्याङभुसुङ दल ।
घोषणा गरेँः
“हामीलाई फलफूल चाहिँदैन, फटाफट चन्दा दिनुहोस्” ।
“हामीलाई जनताको माया चाहिँदैन, भोट मात्र दिनुहोस्” ।
केही सोझा कार्यकर्ता जोडिए । अब म पार्टीभित्रको प्राइमिनिस्टर भएँ । मेरो ‘टर’ पनि थपियो । तर हाम्रा कार्यकर्तालाई नियम चाहिन्छ । मेरो दलमा सामेल हुन चाहनेले सरकारी कार्यालयमा आवेदन दिनुहुँदैन । बरू, लाटोकोसेराको कानमा चुपचाप भन्नुस्, “म तपाईंको भक्त हुँ ।” अनि आउनुस्, क्रान्तिमा !
नेतागिरी, सस्तो सपना बेच्ने सबभन्दा महँगो धन्दा हो । हाम्रो देशमा यसको उद्योग कहिल्यै बन्द हुँदैन । किनकि, नेपालीले नेतासँग गफमा सोना खोज्छन्, अनि भोलिपल्ट दाना पनि खोसिन्छ । तर नेताहरू भने कहिल्यै खाली हात हुँदैनन् । आखिर, राजनीतिमा नाफाको रेट कहिल्यै घट्दैन !
तर हजुरहरूलाई भन्नुपर्दा, राजनीति खेल्न चाहनुहुन्छ भने मबाट अनुमति चाहिन्न । बरू एउटा पुरानो टालिएको कोट लगाउन सिक्नुस् । सपना बेच्ने कला सिक्नुस् । अनि स्वागत छ नेताको बस्तीमा !
०००
२०८१ मङ्सिर ८ गते ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest










































