‘बुर्कुसी’को वक्रदृष्टि
वास्तवमा साहित्यमा हास्यव्यङ्ग्य एकैसाथ लेख्नु भनेको फलामको चिउरा चपाउनु सरह नै हुन्छ भन्ने कुरामा म जस्ता पाठकले हास्यव्यङ्ग्यका कृति पढेपछि पत्तो पाएका हुन्छौँ ।
दिलीप अर्याल :
थाङ्गपालधाप-२, सिन्धुपाल्चोक जन्म भई हाल कागेश्वरी मनोहरा- ६, काठमाडौं बस्ने देवीप्रसाद चापागाईं अहिलेका उदीयमान हास्यव्यङ्ग्यकार हुनुहुन्छ । हास्यव्यङ्ग्यमा उहाँको विशेष रुचिको विषय निबन्ध रहेको देखिन्छ । यद्यपि उहाँले हास्यव्यङ्ग्यको कविता विधामा समेत कलम चलाउनु हुन्छ । उहाँले हालसम्म चार वटा कृति प्रकाशित गर्नु भएको हास्यव्यङ्ग्य निबन्ध तर्फ ‘बुर्कुसी’, उपरखुट्टी र कुम्भकर्ण डायरी छन् भने हास्यव्यङ्ग्य कविता सङ्ग्रहमा बडकौला रहेको छ । यी मध्ये ‘बुर्कुसी’ उहाँको पहिलो कृति रहेछ । हास्यव्यङ्ग्य निबन्धको उहाँको पहिलो कृति ‘बुर्कुसी’ केही दिन अगाडि मलाई पढ्ने अवसर जुट्यो । व्यङ्ग्य शिल्प र बेजोड लेखनशैलीले भरिपूर्ण रहेको उहाँको यो सिर्जना बारे केही त नलेखी हुन्न भन्ने लागेकोले, यी हरफ लेख्दैछु ।
देवीजीको यस कृति ‘बुर्कुसी’ काव्यगुण, व्यङ्ग्यवाण र हास्यप्राणले ओतप्रोत छन् । उत्तमकाव्यका अवयवले गुथिएका मालाका लेखहरू यस भित्र रहेको पाइयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय र ग्रामीण परिवेशको कथावस्तुलाई स्रष्टाले प्रस्तुत गर्नुभएको देखिन्छ । एउटा दुर्गम एवं ग्रामिण भेगको सानो परिवेशका कथा, व्यथा र मर्मलाई समेत हास्यव्यङ्ग्य मार्फत बेजोड प्रवाहका साथ पस्कन सक्नु देवीजीको विशेष प्रतिभा हो । उत्कृष्ट हास्यव्यङ्ग्यमा आफू र आफ्ना वरपरका कमीकमजोरीहरूलाई धक नमानीकन पस्कन सक्नु पर्छ भन्ने सुनेको र पढेको थिए । यहाँ पनि त्यसै गरी देवीजीले ती कुरालाई घुमाउरो पारामा मुक्का बजारी बजारी अभिव्यक्त गर्नुभएको छ ।
पहिलो निबन्ध ‘बुर्कुसी’बाटै हास्यव्यङ्ग्यमा पाइला टेक्दै देवीजीले ‘बुर्कुसी’ मारेको मेरो ठम्याई रह्यो । देशका दूरदराजका मान्छेका हाउभाउ, समाजका ठगाहा काइते साहू, घमण्डी पण्डित पुरेतका पाउ, गरीब र अपहेलितका घाउमा नुनचुक छर्नेलाई ‘बुर्कुसी’को बलमा सर्जकले गजबको दनक दिएका छन् । त्यस्तै मास्टरका छडी, हुनेखानेले बाँध्ने घडी, बारुले काइँलोको झाडी अनि पम्फेका साडीसम्मका उपद्रोका घटनाले समाजमा हुनेगरेका लुकेका पाटा ‘बुर्कुसी’ले उजागर गरेको छ । आदरणीय र सम्माननीय पद मन्त्री र प्रधानमन्त्रीको नियुक्ति, तिनका खुस्केको साखको यथार्थलाई सानदार ढङ्गले पोखिएको व्यङ्ग्योक्ति पढ्दा साह्रै मज्जा आउँछ । राजनीति गर्नेहरूलाई यति सम्मको व्यङ्ग्यवाणले प्रहार गर्न देवीजी खप्पिस हुनुहुँदो रहेछ भन्ने कुरो ‘बुर्कुसी’ पढेर थाहा पाइयो । समग्रमा लेख सललल खोला झैं बगेको छ । मिठास, शब्द चयनको चातुर्यता र प्रासङ्गिकता, अनुप्रासको सही स्थानमा प्रयोग अनि हास्य र व्यङ्ग्य दुवैलाई उत्तिकै हिसाबले पस्कन सक्नु लेखकको चानचुने क्षमता हैन भन्ने मेरो ठम्याइँ रह्यो ।
‘बुर्कुसी’ भित्रको अत्तो शीर्षकको लेखले जे मा पनि अत्तो थाप्ने अनि हरेक कुराका जस, अपजस अर्काका टाउकामा घान हाल्नेले मजाका थप्पड पाएको देखिन्छन् । पितृसत्तात्मक समाजले घरकी आइमाईलाई सोस्ने, डस्ने, घोच्ने अनि नानाथरिका छनक मार्ने प्रवृत्ति, लिङ्गको आधारमा गरिने असमानता र अन्धविश्वासलाई लेखकले दरो दनक दिएका छन् ।
एकैछिन शीर्षकको व्यङ्ग्योक्तिमा असाध्यै घत लागेको प्रसङ्ग – ‘ठूलादेखि सानासम्म, घनटाउकेदेखि सान्टाउकेसम्म सबैको मुखमा अचेल झुन्डिने ,उखेल्न, उधिन्न, फ्याँक्न, चेप्टयाउन नमिल्ने वा नसकिने शब्दमाला हो एकै छिन, कवि एकै छिन भन्दै तुर्न लागेको कविता र फुर्न लागेको गीतलाई बिट मार्दछ ।’
एकैछिन भन्दै सयौं क्षण बिताउने हाम्रो समाज कति अल्छी छ । रोज्न, खोज्न, तोड्न र सोध्न हरेक कार्यमा प्रयोग गरिने एकै छिन नामक थेगो हो वा बानी हो? कतै यो जानीजानी अर्कालाई दुःख दिने, अल्मल्याउने वा बिलम्ब गराउने चलन त हैन यो भनी लेखकले चिरिच्याट्टसँग रमाइलो अनि घमाइलो पाराले घोचपेच हानेकै हुन् भन्ने ठम्म्याई रह्यो ।
प्रतियोगिता शिर्षकमा स्रष्टा लेख्छन्- धनका लागि मान्छे कहाँसम्म र कतिसम्म गिर्न सक्दो रहेछ ? यसको ज्वलन्त उदाहरण आख्यान शैलीमा व्यङ्ग्यवाणको वर्षा गरेको भेटिन्छ यस प्रतियोगिता नामक लेखमा । आफ्ना वरपरका आसेपासे मरनच्याँसे भए पनि ती सबैलाई खुशी पार्न प्रतियोगितामा प्रथम घोषणा गर्ने निर्णायक मण्डलप्रतिको तिखो व्यङ्ग्य औधी रमाइलो छैन ।
अर्को लेख छ, लात । यो लात शिर्षकको व्यङ्ग्य नपढी पच्दै पच्दैन खाएको भात । रिसको रन्कामा दाहिने वा देव्रे खुट्टो कसैमाथि निर्विवाद बजार्नु लात हो भन्ने परिभाषाबाट शुरु भएको व्यङ्ग्य लातको सहाराले लात्तेहरूको जिन्दगी चलेको कुरालाई उजागर गर्दछ । ग्रामीण जीवनका निम्छरा बल्ढ्याङ्ग्रेले बेर्नेलाई हानेको लात होस् वा कन्सुत्ले र गड्यौँलेको चोरी गर्ने लामो हातसम्मका घतलाग्दा कुरा सुन्न कम मज्जा छैन । भुटौरेले भुल्याउनेदेखि कटुसे काहिँलो कराउँदै लात हानाहानसम्म भएको दृश्यको बखानले लातको महिमालाई सनसनी बनाएको छ । अर्कोतर्फ, लातले राष्ट्रिय जीवनका इतिहासमा सत्ताधारीका हात, तागाधारीका उल्कापात, देश र जनाताका सन्निपात सम्मका निर्मम सत्य पोखेको छ । ठुलाले साना तर्साउने र कमजोरमाथि गोली बर्साउने शैली लात भन्दा के हो र ? यी सुन्न देवीको ‘बुर्कुसी’ पढौँ सबैले ।
घोत्ल्याईं शीर्षकमा प्रारम्भमा लेखक भन्नुहुन्छ- ज्ञानेन्द्रीय र कर्मेंन्द्रीयलाई निष्क्रिय बनाई आत्मालाई उधुम र अचम्मैले कुदाउनुलाई घोत्ल्याईं भनौँ है त ! त्यस्तै, लेखले बकेको छ – फेरि, पानी जमिदिँदा, हावा बहिदिँदा र घाम झुल्किदिँदा पनि घोत्ल्याईं नै जन्मिदिन्छ । विभिन्न नाम र तिनका प्रवृत्तिमा घोत्ल्याईं सबैतिर छरपस्ट देखिएका छन्- जस्तै : कर्मचारी, ब्रह्मचारी र धुन्धुकारीमा । बखान, उखान, भाषाण र छलछाममा । नातावाद, फरियावाद र कृपावादमा । कहाँ छैन घोत्ल्याईं ? घोप्टिनु र मुन्टिनुको रहस्योद्घाटनमा घोरिने मानवाकृतिका कुरामा घोत्ल्याईं बाँचेको छ । स्रष्टाका लोली, बोली; शब्दका रोलीपोली र डोली; बेलाका बोली, गामबेसीका खोलाखोली अनि सक्नेले खेल्ने होली यी सबैमा घोत्ल्याईं विराजमान रहेकोले यो कुरो चुरोसँग बुझ्न पढ्नै पर्ने – देवीजीको व्यङ्ग्य घोत्ल्याईं !
लोप्पा शीर्षकमा यसको परिभाषा यस्तो भन्नु हुन्छ लेखकजी- बलले, छलले, मानले, शानले मात्तिँदै निमुखामाथि चल्ने भुसतिघ्रे अस्त्र – लोप्पा हो । दृश्य, अदृश्य, अल्पदृश्यमा लोप्पा खुवाउने काम हुन्छ । क्या मजाका उदाहरण हेर्नोस त ! आफू नाम कमाउन असमर्थ रहेपनि अरूले जीवनबाट पुल्टुङबाजी खाएको देख्दा पनि बेग्लै स्वाद हुन्छ । तपाईं जुनजुन क्षेत्रमा मन दौडाउनुहुन्छ ती क्षेत्रमा लोप्पाका दर्जनौं प्रतिविम्ब भेटाउनु हुन्छ । आदि – अनादि, वरिष्ठ – कनिष्ट, ओठेभक्ति – कोठेभक्ति, भीरदेखि तीरसम्म जताततै लोप्पको साइनु । लोप्पाले कसैलाई क्षणभरमै लाहुरे र निमेषभरमै माउरे बनाउने तागत हुँदोरहेछ । अन्जानदेखि जानाजानसम्म र अपमानदेखि सम्मानसम्म लोप्पा घुसेका हुँदा रहेछन् । पढौँ पढौँ मात्र लाग्ने । मैले त भने अब तपाइको पालो है !
पौरखको उल्टीसुल्टीमा भुल्नै नसकेको कुरो भनौं कि भनेर । संस्कार, परिष्कार र नमस्कार गोजी अनुसारको झिक्न जानेको भे के को आपत ? अर्को, आरन होस् कि भन्सार, धन्सार होस् कि समाचार हरेक विषयवस्तुमा पौरखको नाम नगाँसिएको कहाँ छ र ? त्यस्तै, राजनीति, साहित्य, शिक्षा, स्वास्थ्य जहाँतहीँ पौरखीभन्दा महापौरखीले बढी वाह वाह पायो । आविष्कार, स्वीकार, वहिष्कार यी पनि पौरखकै उल्टीसुल्टी हुन् भन्ने कुरा भन्छ लेखले ।
पाना पल्टाउँदै जाँदा भेटियो चुप । कचकचे र चकचके स्वभावलाई ढिगुरा ढोक्न हजुरबाको प्रयत्नमा चुप लुकेको छ । कार्यालयमा नगई क्वाटरमा धाउनु, आफन्तले देख्लान् भनी नर्सिंग-ट्वाक लगाई मुख पुछपाछ पार्नु, च्यात्तिएको मोजा देखाउनु पर्दा जुत्ता नै नखोज्नु, व्याकरण विग्रने डरले भाषा शिक्षकले मार्कर नघोट्नु, जागिर जाने डरले अदालतसामु बहुविवाहलाई स्वीकार्नु यी तमाम चुपकै उदाहरण न हो नि ! सबै आ-आफ्ना कृत्य, नृत्य र कुकृत्यमा चुप भई बसेका छन् । गानो जानेदेखि मानो खानेसम्मलाई चुपुक्क पारी सबैलाई चुपले चुप लगाएको छ । घरीघरी सुँइसुँइ र खुँइखुँइ अनि पधेर्नीका स्वाँस्वाँ र फ्वाँफ्वाँ यी सारामा चुप छुपेको छ भन्ने निर्क्योल छ देवी सरको ।
लाजमा लाज नमानी भन्दा, लाजलाई साक्षी राखी काजको दुनो सोझ्याउँदा उन्नतिको दैलो उघ्रेला ? जो लाजको भाषालाई निकटबाट बुझ्दछ, उसको सफलताको सम्भावना पलाउँछ । लाज वस्त्रको छोपाइमा कैद हुन नसक्ला कि ! न यो पर्खाल न ग्रेटवाल ! न सुनको तक्मा, न फलामे रक्षाकवच ! न सत्ता न भत्ता ! न लत्ता, न पेन्सनपट्टा । लाजको न नाता हुन्छ न नेता । यो सुन्दा मलाई पनि भन्न मन लाग्यो- लाज पचाउन सक्नेलाई नाक जंचाउन पर्दैन । यथार्थ, लाजको बाबु पसिना हो, आमा परिश्रम ।
खेदाइले खेर नजाने गरी यसरी पर्दा खोल्यो । कोही पुच्छर डोलाउँदै, कोही काँचो केराउ छोडाउँदै, कोही मन्दमन्द खोक्दै, कोही अर्थ न बर्थको कुरा बोक्दै खेद्ने र खेदिने दृश्य देखियो सर्वत्र । बिगार्न, सिङ्गार्न , नगद झार्न, धन्दा टार्न मान्छे खेदिन्छ्न् । व्यवहारमा खेदाइ प्रशस्त छन् – नियम कानुन र संविधानलाई खेद्नेहरू त झन् भित्री बस्त्र नलागी कस्सिएका छन् । तिनलाई खाटमा सुतेको बिरामी होस् वा घाटमा सुत्ने मलामी कोही पनि आश लाग्दा र मोहजाग्दा छैनन् । खेद्ने र खेदाउने परम्परा जोगाउन लोतेदेखि थोतेसम्म, लोटेदेखि बोतेसम्म जुर्मुराएका देखिन्छन् भन्ने भनाइ राख्नु हुन्छ लेखक जी यसमा ।
अन्वेषणमा लेखकले के के मा अन्वेषण गर्न भ्याएछन् त भनी हेर्दा यी पो देखियो ! कुर्सी उन्मुख साध्य विकार ! आवासोन्मुख प्राप्य विकार ! चेली उदारोन्मुख योग्य विकार, वचनोविकार अनि प्रमाण शुद्धोन्मुख प्रयत्नविकार मुख्य रहेका छन् । हरेक विकारका अन्वेषण, गवेषण र पृष्ठपोषणले भरिभराउ यो व्यङ्ग्योक्ति नपढे ‘बुर्कुसी’ अपुरो हुन्छ भन्न मलाई करै लाग्छ ।
खुचिङ घुर्कीभन्दा जेठो र निहुँभन्दा कान्छो छ भन्ने कुरो देवीसरको भनाइलाई म समर्थन गर्नेमा पहिलो त पक्कै होइन होला । खुचिङ पनि कस्ता कस्ता ! काजी सान झरेकोमा खुचिङ ! तागाधारीको मान खसेकोमा खुचिङ ! राजनीतिज्ञको धाक धक्कु झरेकोमा खुचिङ । अगाडि प्रशंसा गरी पछाडि खुचिङ मार्नेको नाम नै ’खुचिङ काठो’ को प्रसंगले खुचिङ मार्ने प्रवृत्तिको झाँको झारेको छ । विभिन्न पाटाका काममा घाटा हुँदा तिनमा खुचिङ मनाउनेको गिन्ती ठुलै छ । खुचिङ के हो ? आर्तहरूको घाउमा छर्ने खोर्सानी हो कि ? बलियोलाई पछार्ने अस्त्र ? यसको उत्तर मागेका छन् लेखकले खुचिङमा ।
घुँयत्रो ल्यायो झटारो हान्न भन्ने सुनेको थिएँ तर आज घुँयत्रो पढ्नै पाइयो । घुँयत्रो घुँयत्रो भन्दा भन्दै घुँयत्रो मास्टरको प्रसंगलाई कहनै पर्यो – सुबेला न कुबेला, बेला न अबेला कुर्लिने स्वभाव । त्यस्तै गरी, घुँयत्रो पत्रकार – सत्यता कुन चरोको नाम हो ? कल्पना र अफवाहको उपद्रो । घुँयत्रो बटुवा – देखेको सुनेको सबै भन्ने । घुँयत्रो समालोचक – देखेको कुरो प्रष्टै भन्ने । कतै घुँयत्रो शब्द कसैका लागि कला विरोधी त हैनन् ? लेखकको प्रश्नले पाठकको उत्तरको अपेक्षा गरेको देखिन्छ । उत्तर दिन नपढी होला र ?
टाउको ठुलो हुनेले पाएको पगरी टाउके हो रे भन्नु हुन्छ देवी जी ! यस्ताले गुँथ्ने पगरी, लाउने टोपी र बस्ने अनि खेल्ने खोपी पनि पक्कै ठुलै हुन्छन् । टाउको सर्वस्व हो, यसको वर्चस्व कायम राख्न संसार दौडेको दौड्यै छ । देवीजीका मथिंगल र गिदीका कुरा सुन्न पुरेत यज्ञनिधिदेखि सुन्तली दिदीसम्मले छुटाएका छैनन् भन्ने कुरामा म ढुक्क छु । पेन्सन, टेन्सनका कुरा मेन्सन गर्न थरिथरीका टाउकै चाहियो । औकात अनुसारका टाउकाले बजार भाउका कुरा देखि बच्चा र माउका कुरासम्म गर्न भ्याउने सनसनीपूर्ण आलेख जन्माउने लेखको शैलीले यो लेखलाई उत्कृष्ट बनाएको कुरा निर्धक्कसँग भन्न सकिन्छ । विभिन्न फलफूलका नामका टाउकाहरूको नाम, काम, हाम, साम र चक्काजाम सम्मको चर्चाले हाँस्य रसलाई यसरी बेजोड बनाएको कथा प्रसंग रच्न सक्नु लेखकको सफलता मान्नु पर्छ । घन्टाउकेका देवालीका प्रसाद बावर र खीर छन् भने सान्टाउकेका फसाद डाबर र पीर देखिन्छन्, यत्रतत्र, सर्वत्र ।
पढ्दै जाँदा भेटियो – नकच्चरो । कतै नकच्चरो लबस्तरो त हैन ? भनी प्रश्न उठाउँदै गरेका लेखकले शास्त्रीय पाण्डित्य निमुखा सामु भट्टयाउने टाउके गफाडीका गफलाई दिएका दनक हेर्न यो नकच्चरो नपढी हुन्न है भन्ने मेरो ठम्म्याइँ रहयो । नाफारामको टन्टा, सुकेभाउजुका फर्सीका मुन्टा, बुढाबुढीका चाहिने गफ र राजनीतिका थाग्ने गफले भरिएको नकच्चरो लम्केको लम्क्यै देखिन्छ । नकच्चरोले माझिएको लोली, निम्छराका टालिएको झोली अनि बिवाहपछि फ्यालिएको डोलीको महत्त्व के कस्तो हुन्छ भन्ने जिम्मा पाठकमै छाडेका छन् स्रष्टाले ।
पढ्दै जाँदा १७ नम्बरमा पुगेँ अनि देखियो- धूर्तहरूको गोलमेच सम्मेलन । प्रशंसाका बहुरूपी शब्दहरूको शब्दजालमा अर्कालाई फसाउने र निजी आवश्यकताको खाँचो पुरा गरिहाल्ने धूर्तको परिभाषा हो भन्ने ठम्याई यस लेखको रहेको छ । बाठो र धूर्त कहिले एउटै अर्थमा प्रयोग हुँदा बाठालाई मर्का पर्ला भन्ने डर पनि छ लेखकलाई । गोलसिमल चौरमा धूर्तहरूको सम्मेलन शुरू भएछ । दिनदहाडै चेलीबेटी उठाएर दिल्ली पुर्याउने दोर्जे आफ्नो अपराध लुकाउन गोलमेच सम्मेलनमा दाम खुवाएर सिल्ली भएर आएछ । खोलबहादुरको म्यानपावरले अर्काका पैसामा प्लटिंग देखि सिमेन्टका टावर ठड्याउने कुकर्मलाई गोलमेचले अनुमोदन गरेछ । फेरि, कसौंडीनाथ र रामनाथका कर्तूतले ठगिएका मान्छेका कन्तबिजोग र हरिबिजोग पनि गोलमेचमा तालीको गडगडाहटले रन्किएछ ।
थेगोमा देवीजी भन्नुहुन्छ – नाम्लांगे राडीमा थचक्क बसी माथिबाट तमाखु ट्वारट्वार तलबाट अपानवायु बेलाबेलामा ढ्वारढ्वार अनि आफ्ना थेगो कहने हाम्रा हजुरबाको दैनिकी हो । गाउँभरी मान्छेका आ-आफ्नै थेगो थिए । मौका मिल्यो कि थेगो झारी हाल्ने मुखारविन्दबाट, मान्छेका स्वभाव । माथ्ला घरकी वैष्णव हजुरआमाको थेगो- लसुन पिँधेर, बाटाघरे दन्तद्वारे बाको थेगो – मकै भुटेर, माडसाबको थेगो – म्वाइँ खाएर जस्ता प्रसंग जीवन्त र व्यङ्ग्यात्मक छन् । पूर्खाको नासो होस् वा हाँसो थेगो पुस्तान्तरण भई आएका कस्ता कस्ता छन् – कोदो कुटेर, मस्यांग टोकेर, गाला ठोकेर, अचार साँधेर, आँखा तरेर, मास छरेर, कपाल कोरेर, धक्का लाएर, ताली पड्काएर, बाजा बजाएर, डोजर पेलेर, अबिर लाएर, नाङ्लो ठटाएर अरू के के, के के ! बाँकी प्रसंग पढ्ने जिम्मा पाठवृन्दकै लागि ।
‘बुर्कुसी’ भित्रको अर्को लेख प्रदक्षिणामा यो संसार उदरपूर्ति र यौनप्यास तृप्तिको चक्करमा व्यस्त रहेको यथार्थ र त्यसका अवयवको व्यङ्ग्यात्मक चर्चा भेटिन्छ । प्रदक्षिणा गर्न सके सुमेरू पर्वत चढ्न पर्दैन भनेर श्रीगणेशजीले सिकाउनुभएकोले होला देशमा यो प्रवृत्ति अत्यन्त मौलाएको भेटिन्छ भने कतै नराम्ररी बौलाएको पनि देखिन्छ भन्ने उदाहरण रहेका छन् । यहाँ देशका हरेक शासक वर्ग र शक्तिका थसुल्लेहरूलाई आसेपासेहरूले विधिपूर्वक प्रदक्षिणा गर्ने गर्दछन् र त्यही सारमा सत्ता टिकेको छ भन्ने यथार्थ चित्रण छ । त्यस्तै साना देशले अर्का शक्तिशाली र महाशक्ति देशलाई प्रदक्षिणा गर्ने कुरा दैनन्दिन प्रक्रिया रहेछ भन्ने कुराको यो लेख पढ्न नभुलौं भन्छु म ।
खोजी व्यङ्ग्योक्तिको उत्कृष्ट निबन्ध मान्नु पर्छ । जगत र जीवनको उत्पत्तिको काल पत्ता लगाउन होस् वा फगत शब्द मात्रको अर्थको जालमा पर्न होस् आखिर खोजी नगरी केही हुन्न भन्ने कुरा यस निबन्धले प्रष्ट्याएको देखिन्छ । मान्छेका हैसियतको चिरफार गर्न होस् वा ठालु देखि मकै चोर भालु सम्मका वास्तविकता उदाङ्गो पारिदिने काम खोजीले नै गर्ने रहेछ । यो खोजीले यस्तो सम्म गर्यो कि खोजी गर्नु नपर्ने कुनै ठाउँ नै रहेनछ र यसको व्यापकतामाथि नै खोजी गर्नु पर्ने रहेछ भनी लेखकले प्रश्नै प्रश्नको वर्षा गरेको भेटिन्छ यो आलेखमा ।
गलगाँड कन्ठमा देखिने मासुको पोको वा पुन्तुरो भनेर चिनिने रहेछ । यो गलगाँड यसो डुल्न जाउँ भनी कहिलेकाहीँ सभा, गोष्ठी, डबली आदिमा आसनको चुली चुल्याउँदै गजधम्म भई विराजमान भएको दृश्य पनि देख्न पाइने रहेछ । गलगाँड दृश्य र अदृश्य गरी दुई खाले हुँदा रहेछन् रे ! यी दुवैले मान्छेलाई टोक्नुसम्म टोक्ने छलछाम र उस्तैपरे कुम्लो कुटुरो बोकेर देवधाम जानेसम्मका स्थितिमा पुर्याउने रहेछन् भन्ने बेलिविस्तार देवीजीको यस व्यङ्ग्योक्तिले प्रष्ट पारेको छ । बाँकी पढेर मन्थन गर्ने जिम्मा हजुरहरूकै !
भाट लेखन र लेखक शिर्षकको अर्को लेखमा देवीजी लेख्नुहुन्छ- आजको लेखक ज्वरोको जरो सिटामोलको हजममा सिफारिस गर्दछ । ऊ चिराइतोको अस्तित्त्व बुझ्दैन । ऊ निम्काठ उमाल्न प्रेरित गर्दैन । तानावानाका रंगीचंगी उसको भूमि हो, संसार हो । तर त्यो लेखक यस्तो विशाल सम्पदालाई कन्टक अनि कृपणी भएर लेख्दछ । आफ्नो ठुलो, महान, भव्य र दिव्यलाई छोटो र उछित्तो काट्दछ भने देशी विदेशीका कुरा वमन गरेको गर्यै गर्छ । विदेशी भाषाका शब्दका हालीमुहाली गराई तातो न भुत्लोको गुड्डी हाक्दछ । लेख्ने मान्छे सर्जक अनि स्रष्टा बन्न सकेन बरू गलैँचा र टाटमा गोडा राखी खाटमा बस्ने भाट लेखक बन्न पुग्यो भन्ने देवीजी को गुनासो सहितको व्यङ्ग्योक्तिले प्रष्ट्याएको छ । यसमा धेरै उदाहरण देशको भूगोल, खगोल र सगोलका छन् तर लेख्ने मान्छे भद्रगोल र सिरकको खोल जस्तो भाको हो कि ? भन्ने गुनासो आएको छ । आदेशमा लेख्नेका स्तुति गानले घुकुती खेल्नेहरूलाई मज्जाको निदाउने लोरी बराबर भएको कुरा यसले उदांगो पारेको छ । अरु त नपढी के होला र ?
थप्पड नपुगेको ठाउँ नै भेट्टाउन मुश्किल पर्ने अवस्था छ भन्दै लेखकले सबका सबलाई मज्जाका झाप्पड हान्दै स्वादे मजा चखाएका छन् । एकाघर देखि समाज हुँदै अनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय थप्पडका उदाहरण कति कति ? नेता थप्पड, नाता थप्पड, आली थप्पड, गाली थप्पड, बाली थप्पड, चेली थप्पड, झोली थप्पड, गोली थप्पड, लोली थप्पड । बाँकी, शेष, छुटेका थप्पड बारे मज्जाले सुन्न जान्न थप्पड पढ्नुस् भन्छु म ।
चियोको चर्चा गर्दा चुरो कुरो यो हो कि- जिम्मा दिएको कार्य पूरा भयो वा भएन ? अगाडि फुस्ल्याउनेले पछाडि काम गर्छ कि गर्दैन? बोलीको इमान छ कि छैन ? कर्तव्य र दायित्व भुल्छ कि भुल्दैन ? प्रशंसा उसको जीविकाको आधार हो कि होइन ? देशभक्ति, गुरुभक्ति, मातृभक्ति, पितृभक्ति उसको बाध्यता कि अन्तस्करणको पुकार ? अनि यसमा चियोको दियो सल्काइदिँदा समस्याको उपचार । हरेक कामको चियो गर्ने तरिका धागो र सियोको सम्बन्ध जस्तो हुनुपर्छ । तब त सार्थक हुन्छ कार्य, कारण सम्बन्ध भन्ने संदेश प्रदान दिनु नै चियोले दियो बाली स्थान लियो भन्छु म । अवश्यै पढिन्छ नि, चियो ?
कहाँ बाट लेख्न शुरु गरौँ ? अहा ! शीर्षक नै कति गजब ? लेखक भन्नु हुन्छ- योजना र विषयवस्तुको अभावमा लेख लेख्न खोज्नु ‘लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु’ सरह हुन्छ नै । लेखमा निश्चित विषयवस्तुको परिकार पस्कनु र लेखकले विषयको महत्व उजागर गर्न सक्नु नै महत्वपूर्ण कडी हो । लेख्ने विषय हजारौं हजार छन, के मा लेख्ने ? विषय छान्न मुश्किल पर्यो, महत्व कति भएका, गरिमा बोकेका चिजका बारे लेख्न किन भयो दिमाग फ्रिज ? भन्ने कुरा लेखकले दिमागी आँधी (ब्रेनस्टोर्मिंग) कि सामना गरेका सत्य पोखेको भाव पाए मैले? यो व्यङ्ग्योक्तिमा प्रकट भएको कथावस्तुको वणर्न सानदार, दमदार, रसदार अनि वफादार छन् भनेर भन्न मेरो आपत्ति छैन । पढ्नुस् भन्छु म, घरिघरि, देवी सरका व्यङ्ग्यवाण र हास्यप्राण ।
अन्त्यमा, नढाँटी भन्दा स्रष्टा देवीजीमा मुख्य गरी देवकोटा, शङ्कर लामिछाने र भैरव अर्यालका निबन्धका प्रभावको बाहुल्यता रहेको भेट्दछु म । एउटा पाठकको नाताले भन्नु पर्दा म देख्दछु- यी तीनै प्रभावबाट देवीजीमा आफ्नै मौलिक मिश्रितशैलीको हास्यव्यङ्ग्य लेखन शैलीको सिर्जना भएको छ । उहाँले हास्य र व्यङ्ग्य दुवै धारलाई सन्तुलित रूपमा प्रयोग गर्नुभएको देखिन्छ । वास्तवमा साहित्यमा हास्यव्यङ्ग्य एकैसाथ लेख्नु भनेको फलामको चिउरा चपाउनु सरह नै हुन्छ भन्ने कुरामा म जस्ता पाठकले हास्यव्यङ्ग्यका कृति पढेपछि पत्तो पाएका हुन्छौँ । यो कुरा भन्न मलाई पटक्कै लाज लाग्दैन । म निर्धक्क भई भन्छु- देवीजीले यो हास्यव्यङ्ग्य विधामा कलम चलाएर ‘बुर्कुसी’ जस्तो कालजयी कृतिको रचना गर्दै नेपाली हास्यव्यङ्ग्य फांटमा अतुलनीय योगदान पुर्याउनु भएको छ । यस कृति ‘बुर्कुसी’ लेख्ने देवीजीलाई साधुवाद, धन्यवाद ! भित्रैदेखि भन्न मन लाग्छ- देवी सर जिन्दावाद !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest