माधव पोखरेल गोज्याङ्ग्रेटाकुराका माकुराहरू
आमा नभए लङ्का दहन गर्न सक्ने हनुमानहरूको जन्म भएका खण्डमा पनि टाकुरामा पुगेका काला माकुराहरूको बर्कत र बुतामा जुत्ता प्रहार हुने थियो ।

माधव पोखरेल ‘गोज्याङ्ग्रे’:
नेपालमा टाकुराको कुरा गर्दा सगरमाथाको टाकुरा सबैभन्दा उच्च रहेको र सो सरहको टाकुरोका रुपमा कुनै पहाड वा गहिरो ठाउँ देखाएमा कसैले विश्वासै गर्दैनन । विदेशी र नेपाली पर्वतारोही देखि राजनीति दलका माकुराहरू समेत टाकुरामा पुगेका छन । कामले त्यहाँ नपुगे पनि कुराले छुराझै नेताहरूको हर्कत भनेको माकुराको बाहेक अरु केही देखिएको छैन । जनताले दिएको मानो चामल र सामल दुवै खाएर सगरमाथाको टाकुरामा भन्दा पनि माथि पुगेका माकुराका बच्चाहरू जहिले पनि आफ्नो दाना खाएर माना बटुल्नमा नै ध्यान दिएको सर्वसाधारणका सामु जग जाहेर नै छ । जनताको दाना खाएर पनि जनताकै माना खाने अनि टाकुरामा पुगेर माकुरा बनेर कुर्लने रणनीतिलाई अंगिकार गरेका कारणले गर्दा लक्ष्य प्राप्तीमा केचनाकल बन्न पुगेको तथ्य कुरा बाहिर आएकै छ ।
घरमा बसेर टाकुरामा बसेको सपना देख्ने अनि हम किसिसे कम नही भन्ने रणनीतिका नायकहरूले माकुरे नीति लिएका कारणले गर्दा मुलुकमा विभिन्न प्रकारका समस्या देखा परेको छ । ती समस्याहरूलाई समाधान गरेर अघि बढने क्षमतामा पहुँच नभएका कारणले पनि टाकुरेहरू माकुरे हुन भन्न सकिन्छ । माकुरा खासगरी कुना काप्चा फोहर भएको र अरुले अर्थात् शत्रुले हतपत नदेख्ने ठाउँमा बस्ने र त्यहाँ उसले आफ्नो घर बनाएर सन्तान उत्पादन गरी जीवनका रेखा कोर्ने गर्दछ । तर अरुको जीवनका लागि रेखा कोरिदिने माकुराले आखिरीमा आफ्नै सन्तानबाट जीवनको इहलिला नै समाप्त गर्नु पर्दछ । माकुरामा पनि नेतृत्व गर्नेहरू हुन्छन । उनीहरू पनि टाकुरामा पुग्छन भने मान्छेहरू न हुन सकारात्मक भन्दा बढी नकारात्मक सोचमा फल्ने र फूल्ने गर्दछन् । एकताका टाकुरामा पुगे पनि त्यहाँ पुगेर बुनेको जालमा आफै फसेनन भने त्यो जाल जालै होइन भन्ने धारणाले नगाँजे सम्म नेता वास्तवमा टाकुरामा पुग्न र माकुरो बन्न सक्दैन ।
माकुराहरूको जमातमा मान्छेले आफूलाई सधैँ होशियार राख्नु पर्दछ । किनभने हाम्रै देशाँ पनि हाम्रै नुन खाएर माकुराहरू फोहरी कुरा गरेर कहिल्यै थाक्दैनन । थाक्राको मकै चोर्ने देखि लिएर मन्त्रालयको फाइल चोर्नेहरू सम्मका मान्छे भनौ वा नेता भनौ वा सिंहदरबार भित्र पसेका नरसिंहहरू भनौ उनीहरूले माकुराले जाल बनाएझैँ गरी जाल बुनेर संविधानसभाको हत्या गरेर आउँदो मंसिर ७ गते त्यसको क्रिया गर्न मिति तोकेका छन । रातारात रक्सी घोकेर मिति तोके वा आफ्नो शरीर आफैले टोकेर घोषणा गरे त्यो समयले अवश्य पनि बताउने छ । तर ती घोषेहरूले अरुलाई किटपतङ्ग ठानेर आफू माकुरा बनेर मुलुकलाई फसाउने नियतले र अन्य दलका नेताहरूलाई आफ्नो जालमा फसाउन जाल चाहिँ बनाइएकै हो भन्न कुनै असहज अवस्था आएको देखिदैन । साँच्चै कुरा गर्ने हो भने माकुराले जसरी अरु किराहरूलाई आफ्नो कुरा नमान्दा वा आफू उपर आक्रमण गर्न खोज्दा आफूले बनाएको जालोमा पार्दछ ठीक त्यसरी नै टाकुरामा रहेको माकुराले आफ्नो बिरोधी श्क्तिहरूलाई यति बेला नराम्रो संग जालमा पारेको आभास भैरहेको छ ।
वास्तवमा भन्ने हो भने जालो बुन्ने माकुरो अन्य किराहरू भन्दा फरक स्वभाव र प्रकृतिको हुन्छ भन्ने कुरा कतै बाट पनि लुक्न सकेको छैन् । भनौ यो कुरा घाम जतिकै छर्लङ् छ तर माकुराको कुराका पछि लाग्ने कालो माकुराले भने आफ्नो कालो मनको परिभाषा भनौ वा जात जनाउन कहिल्यै पनि पछि नपरेको उदाहरण उ आफैले पटक पटक नै देखाइरहेको छ । भनौँ उ खैरो माकुरा भन्दा पनि अझ खतरा भएर नेपालीपनलाई धमिल्याउन यस धरतीमा उदाएको छ । उसले जतिसुकै बलियो जाल बुने पनि त्यो जाल आखिरीमा उ आफैका लागि महाकाल बन्न सक्छ भन्ने कुरा उसले राम्ररी बुझ्नु पर्दछ भन्ने लाग्या छ । खैरो माकुरोको जाल बास्तवमा भन्ने हो भने बेला बेलामा मात्र उठने समुन्द्रको छाल र कुटनीतिक चाल मात्र हो भन्ने मेरो गोज्याङ्गे्र ठम्याई छ ।
हुन् त खैरो माकुरो आफूलाई टाकुरैमा पुगेको माकुरो ठान्दछ र सगरमाथाको टाकुरामा नपुगे पनि चुरेको फेदीको टाकुरामा चाहिँ पुग्न सकेको छ भन्दा मलाई कुनै आपत्ति पर्दैन । तर कालो माकुरो सधैँ मुशहरनिया वा केचनाकलमै बस्ने अझ भन्ने हो भने मुशहरनिया वा केचनाकलमा पनि उ आआफूमै उपद्रो गरेर पटक पटक मरेर भारतीय औषधी खाएर सास आए पछि तास खेल्दा खेल्दै गाँस न बास भएर होस् ह्वास उडाएर बल्ल तल्ल बौरिएको थियो । फेरी आफैले आफैलाई माकुराको हुलमा जाकेर कुनै अभिष्ट कर्म ताकेर हेरिरहेको छ । आखिरी उसले जेजे ताके पनि र हेरे पनि हामीलाई कुनै आपति पर्दैन । तर एउटा कुरा के भने माकुराले मर्नु पर्यो भने आफू मर्ने जाल आफै बनाउछ । भनौ आफूले अरुलाई फसाउन बनाएको जालमा उ आफै फसेर मर्छ । अर्को कुरा मैले अघि पनि लेखे कि जसले अर्कालाई फसाउन जाल बनाउँछ, उसलाई उसकै सन्तानले सोही जालमा पारेर नर्कमा पुर्याउँछ भन्ने कुरा पनि पुरातनवादी आधुनिक माकुराहरूले सधैँ बुझ्नु पर्दछ । सधैँ फोहरी संस्कारमा बस्न रमाइलो मान्ने माकुराले सफा र सुग्घर घरमा बस्न सक्दैन र यदि बसिहाल्यो भने पनि उसले सो घरलाई जालोले फोहर बनाएरै छाड्छ । भनौ माकुरा बढी जसो जङ्गलमा बस्न रुचाउने हुन्छ । किनभने उसले त्यहाँ जे मन लाग्यो त्यही गर्दा हुन्छ कसैको दवाव, अभाव, प्रभाव सहनु पर्दैन । आफू खुशीको जालो बनाउँदा हुन्छ र आफूलाई मन नपराउने जो कोहीलाई पनि जालोमा फसाउन सकिन्छ ।
टाकुरामा पुग्ने माकुरालाई कुनै न कुनै दिन अवश्य पनि लेक लाग्छ । त्यसरी लेक लागेको दिन उसले बुझ्ने छकि मेरो जाल बुनाईमा म आफैले ब्रेक लाउनु पर्दछ । यसरी लेक लाग्दा जालो बुन्ने काममा ब्रेक लाउनु भनेको समाजमा स्थापित हुन उ आफैले आफैलाई डाक्टर ठानेर गरेको औषधी हो भन्दा कुनै पनि बैधले अबैध भनेर घोषण पनि गर्न सक्दैन । अरु टाकुरामा पुगेर माकुरा बन्दा आफू बसेको घरै भत्किने हल्ला गर्ने अनि आफू माकुरा बन्दा अरुले आवाज उठाउँदा बेतुकको र बेसुरको ताल भन्ने नालीमा मिल्किने कुरा गर्नेहरूले जालो बुन्दैमा धानको बालो कहिल्यै पनि झर्दैन । बरु त्यो धानको बालोले माकुराको जालोको अस्तित्व नै लोप गराउन सक्छ भन्ने कुरा कालो जालो होस् वा खैरो जालो बुन्ने माकुराहरूले शिरोधार्य गर्नु पर्दछ ।
अरुको कहिल्यै पनि विश्वास नगर्ने खैराती माकुराहरूले बुनेको जाँलो साच्चै भन्ने हो भने टाकुरामा पुग्न भ्यागुते खेल नखेले पनि हुन्छ भन्दा कुनै फरक पर्दैन । उनीहरूको मती अनुसारको गती र छुरे कुराले पनि चुरेको फेदीमा भुरे भएर थन्किन बेर लाग्दैन । चोरको सधैँ ठूलो स्वर हुन्छ भन्ने कुराले माकुरेहरूमा पनि टाकुरे रणनीतिको विकास हुँदोरहेछ भन्ने प्रमाण फेला परेको मात्र होइन कि उनीहरूले यसको पुष्टि नै गरेर देखाएका छन् । जे होस् माकुरे जाल क्षणिक हुन्छ त्यसले धेरै दिन सम्म टिक्न पाउँदैन । अन्त्यमा गएर त्यो जालोको भत्किने पालो पनि आउँछ भन्ने कुरा सबैले बुझ्नु पर्दछ र त्यसको भविष्य उ आफैमा निहित हुन्छ । अरुले केही गर्ने आवश्यकता नै पर्दैन । खान नजान्नेले चुठन पनि जान्दैन भन्ने उखानलाई शिरोधार्य गर्ने संस्कारको नयाँ प्रयोगमा तल्लिन खैरा र काला माकुराहरू देखि सबैले सधै होशियार हुनु पर्दछ । अन्यथा त्यसले समाजलाई विकृति र विसङ्गतीतिर धकेल्यो भने फेरी मुलुक नै गहिरो खाल्डोमा जाकिन सक्ने कुरामा पनि होस् पुर्याउनु जरुरी हुन्छ ।
टाकुराका माकुराहरूको अत्यन्त महत्वाकांक्षी योजना अन्य किराहरूको लागि घातक त हुन्छ नै । त्यो घातक माकुरालाई टाकुराबाट केचनाकल वा मुशहरनियामा थान्को लगाउन सक्ने अस्त्र प्रयोग गरेका खण्डमा अन्य किराहरूले समाजमा भनौ वा राष्ट्र मै शिर ठाडो पार्न सक्छन । नेपालीहरूको शिर हुन त विदेशीहरूका अगाडि सधैँ ठाडै रहने गरेको छ । तर माकुराहरूले बुनेको कालो जालोका कारणले गर्दा शिरले गिर खेल्न नपाएको हुँदा माकुराहरूको शिर तिरले छेदन गरेका खण्डमा कालो जालो र माकुराहरूको समेत दोहोलो काढिन्थ्यो कि भन्ने सपना चाहिँ देख्न सकिन्थ्यो होला । अर कुरा जेजे भए पनि कालो जालो बुन्ने माकुराहरूको अस्तित्वमा नै धावा बोल्ने संस्कारको जन्म गराउने आमाको खोजी हुनु आवश्यक ठानिएको छ । आमा नभए लङ्का दहन गर्न सक्ने हनुमानहरूको जन्म भएका खण्डमा पनि टाकुरामा पुगेका काला माकुराहरूको बर्कत र बुतामा जुत्ता प्रहार हुने थियो । कुरामा कुरा चल्दा पुरा विश्वास नगरे पनि आशा गरौँ कि एकदिन ति काला माकुराहरू टाकुराबाट केचनाकल वा मुशहरनियाँमै बास बन्न आउने छन् ।
०००
उदयपुर
भ्रष्टपति हास्यव्यङ्ग्य सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest







































