चिरञ्जीवी दाहालस्वभाव सट्टापट्टा भएपछि
सायद मैले सुनेको हल्ला सही थियो । साँच्चै यो परिवर्तन कालेमा आफैँ आएको नहुनुपर्ने हो । हुनसक्छ सृष्टिकर्ताले केही मान्छेको स्वभाव सट्टापट्टा गरेर परीक्षण गरेको हुनुपर्छ !

चिरञ्जीवी दाहाल :
कुनै बेला त्यस्तो समय थियो, सारा मान्छेहरूले आफ्नो दुरावस्थाको अनुभूति सहजै गर्न सक्थे । आफूले गरेको काम कुन असल हो, कुन खराब हो तिनले सजिलै छुट्याउँथे । भुलचुकमा गल्ती भएको भए सुधार गर्नतिर लाग्थे । कसैमाथि अन्याय भएको भए माफी समेत माग्ने गर्दथे । बिस्तारै समय परिवर्तन हुँदै गयो । केही मान्छेमा यो स्वभाव बिस्तारै ह्रास हुँदै गएको प्रष्ट देखिन थाल्यो । मान्छेहरू भन्छन् मानवीय गुण आफै ह्रास भएको भने होइन । धेरैको अनुमान छ, यसरी मानवीय गुण परिवर्तन हुन सृष्टिकर्ताको हात हुनुपर्छ । हुन त अचेल सुनेका सबै कुरा सही हुँदैनन् । वास्तविकता यही हो भनेर ठोकेर भन्न गाह्रै हुन्छ ।
हरेक वस्तु जति पुरानो हुँदै गयो त्यति मूल्य घट्दै जानु त सामान्य नियम हो । यसरी गुण घट्दैमा डराइ हाल्नु पर्दैन थियो तर सुनिदैछ, केही मान्छेको गुण र स्वभावमा मात्र ह्रास भएको होइन रे , कसैसँग सट्टापट्टा गरिएको हुनुपर्छ भन्ने हल्ला पो सुनिदैछ ! त्यसलै बुढी मरेको चिन्ता भन्दा काल पल्किएकोमा डराउनु पर्ने भएको हो । यसरी अचानक मान्छेको गुण र स्वभाव सट्टापट्टा गरिदिँदै जाने हो भने कुनैदिन मान्छेको स्वरुप कस्तो होला ? संझदा पनि जिउ सिरिङ्ग भएर आउँछ ।
साँच्चै मानवीय स्वभाव सट्टापट्टा गर्न सुरु भएकै हो त ? मैले यसको निधो गर्ने निर्णय गरेँ । केही आफ्नै आँखाले देखेका र कसैले भनेका घटनाहरूलाई लिएर विस्तृत रुपमा अध्ययन गर्ने निधो गरेँ ।
“हाम्रो घरमा एउटा “काले” नाम गरेको भोटे कुकुर पालिएको छ । उसको पूच्छर यति बाक्लो र भारी छ कि त्यसलाई हिँड्न पनि कठिन हुनसक्छ भन्ने हाम्रो अज्ञानी मनले ठान्यो र हामीले कुकुरको पुच्छरका भुत्ला, कैँचीको मद्दतले काँटछाँट गरिदियौँ । जब पुच्छर काँटछाँट गरियो उसले आफ्नो पुरानो स्वभावमा ब्यापक परिवर्तन ल्यायो । बाटो, आँगन, पिढी र छरछिमेकको भित्रि बारीलाई आफ्नो साम्राज्य ठान्ने काले, त्यस दिनदेखि खाटमुनी गएर लुक्न थाल्यो । साँझ, बिहान र रातीमा मात्र होइन, पुरा दिन ऊ खाटमुनि बसिरहन्थ्यो । कतै छिस्रिक्क आवाज आउनासाथ खवर गर्ने र आवाज आउनासाथ दौडिएर पुगिहाल्ने काले त्यस दिनदेखि भुक्न समेत छोड्यो । घरमा नौलो मान्छे आउँदा झम्टिने काले, चोर आउँदा पनि शान्त रहन थालेको थियो ।
जब मलमुत्र त्याग गर्ने समय हुन्थ्यो तब मात्र काले बिस्तारै त्यो पनि चारैतिर हेर्दै र निकै सशङ्कित हुँदै बाहिर निस्कन्थ्यो । लाग्थ्यो ऊ निकै डराएको छ । बिस्तारै बुझियो काले डराएको होइन रहेछ । उसले लाज मानेको रहेछ । मान्छे वरिपरि आएको चाल पाउनासाथ ऊ आँखा चिम्लिएर घोसेमुन्टो लगाउँथ्यो । बाहिर निस्कने समयमा उसले आफ्नो पुच्छर टाँगमुनि राख्न थाल्यो । टाँगमुनी पूच्छर राखेपछि त ढुक्क हुनुपर्ने थियो तै पनि ऊ लजाउन छोडेन । उसलाई लाग्दो हो उसको गोप्य अङ्ग छोटो र झिनो पुच्छरले राम्रोसँग छोपिएको छैन ।
महिना दिनपछि जब काँटछाँट गरेर छाँटिएको पुच्छर बढेर पहिलेको अवस्थामा पुग्यो अनिमात्र ऊ सहजरुपमा बाहिर निस्कन थाल्यो । साबिकको जस्तै घुमफिर गर्न थाल्यो । त्यसपछि भने घरमा आएका परचक्रीलाई समेत मजाले झम्टिन थालेको थियो । लाग्थ्यो अब उसलाई पटक्कै लाज लागेको छैन । पुच्छर छाँटिए पछिको महिनौँसम्म मानिसको मुखमा पनि हेर्न नसक्ने काले अब भने मानिसको मुखमा हेर्ने मात्र होइन पहिले जस्तै काखमा बसेर खेल्न सुरु गर्न थालेको थियो । यस घट्ना पछि लाग्यो केही मानिसले लाज मान्न छोडे पनि कालेहरूले भने आजसम्म लाज मान्न छोडेको रहेनछन् ।
जब कालेले यसरी लाज मानेको व्यवहार देखायो काले निकै ज्ञानी र इमान्दार भएको ठहर गर्दै हामीले उसलाई घरको सारा सुरक्षाको जिम्मेवारी सुम्पियौं । एकपटक हामी कालेको जिम्मामा घर छोडेर महिना दिनसम्म घरबाहिर गएका थियौ । यात्राभर लागेको थियो, जति इमान्दार भएपनि आखिर ऊ कुकुर हो, घरको सुरक्षामा यताउता पो हुने हो कि ? यो चिन्ताले हामीलाई निकै सताएको थियो । तर जब हामी घर फर्क्यौँ, कालेले गजबसँग घर सम्हालेको देखेर छक्क पर्यौँ । पछि छिमेकीहरूले भनेपछि त झनै आश्चर्य लाग्यो, उसले आफ्ना मामा, काका, साला, साली, भाइ, भतिजा कसैलाई पनि घरमा छिर्न दिएन छ । भन्दै थियो रे “मालिक नभएको बेला तिमीहरू कसैलाई पनि यो गेटबाट छिर्न दिन्न ! तिमीहरू आफ्नै आफन्त भएपनि मालिकको आज्ञा बिना यो घरको एकमुठी पानी पनि दिन सक्दिन । वर्तमानमा मेरो भूमिका यस घरको सुरक्षा दिनु हो यसरी नाता गोता भनेर आफ्नो इमान लिलाममा राख्न सक्दिन । म मान्छे होइन बुझ्यौ ! तिमीहरू गै हाल ।”
त्यसपछि कालेका सबै आफन्त एक शब्द पनि नबोली लुरुलुरु फर्किएछन् । यो घटनापछि कालेलाई कुकुर भनेर अपमान गर्न मन लागेन ।
मलाई राम्रोसँग सम्झना छ । केही वर्ष अघिसम्म कुकुरहरू भन्दा मान्छे इमान्दार थिए । मान्छेहरू समाजको नजरमा अपाच्य कार्यगर्न लाज मान्ने गर्थे । शरीरको कुनै अङ्ग देखिन्छ कि भनेर पुरुषहरूले दौरा र सुरुवाल र महिलाहरूले चोली र गुन्युले शरीर ढाकेर हिँड्ने चलन थियो । समग्रमा मान्छेहरू काले भन्दा पनि इमान्दार थिए । त्यसैले कसका पालामा हो मान्छेलाई “सर्वश्रेष्ठ प्राणी” घोषणा भएको रहेछ ।
हरेक कुराको परिवर्तन सँगै लाज मान्ने कुरा र इमान्दारीपनमा पनि परिवर्तन हुँदै गयो । मान्छेहरूको पुरानो स्वभावमा निकै परिवर्तन भयो । उहिलेका सर्वश्रेष्ठ मानिएका मान्छेहरू र उहिले निकम्मा मानिएका अन्य केही प्राणीहरूको स्वभावमा ब्यापक परिवर्तन भयो । तर यो आश्चर्यको कुरा भने हुँदैे होइन । किनकि एकताका पृथ्वीमा सर्वश्रेष्ठ मानिएको डायनोसार अचेल पाइँदैन । उहिले सात फिट अग्ला भनिएका मान्छेहरू परिवर्तनसँगै पाँच फिटमा झरे । सृष्टिमा बेलाबखत यस्ता परिवर्तनहरू भइरहन्छन् । यसलाई सामान्य घट्ना मान्नुपर्छ।
परिवर्तनकै कारण काले अचेल पहिले जस्तो दाँत देखाएर त्यति विधि रिसाउँदा पनि रिसाउँदैन । कालेले चोर्न त फिटिक्कै जानेको छैन । दुईवटा टोलका कालेहरू एकै ठाउँ भेट भए भने पनि ङ्यार्रङुर्र गर्दैनन् । कालेले फट्याइँ गर्न पनि जानेको छैन । सबभन्दा ठूलो र देखिने परिवर्तन अचेल काले साँझ बिहान लुसुक्क गल्ली चाहार्दैन । उसले झुक्किएर पनि आजसम्म एउटा कमिला मारेको छैन । कालेको भुल्न नहुने एउटा निकै राम्रो बानी विकास भएको छ । काले मालिकको घरमा डकार आउन्जेल खाएर छिमेकी घरको सुरक्षामा खट्दैन । “जसको मानो खायो उसैको गीत गायो” भन्ने सूत्र उसलाई राम्रोसँग थाहा छ ।
कालेलाई घर कुर्न राखे घर कुर्छ, गोठ कुर्नु भने गोठ कुर्छ । यसले नचाहिने हावा कुरा गर्दैन । आजभोलि काले अत्यन्त इमान्दार बनेको छ । उसले पाएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्छ ।
मैले निकै विचार गरेँ यी सबै गुण र स्वभाव एकताका मान्छेमा थियो । सायद मैले सुनेको हल्ला सही थियो । साँच्चै यो परिवर्तन कालेमा आफैँ आएको नहुनुपर्ने हो । हुनसक्छ सृष्टिकर्ताले केही मान्छेको स्वभाव सट्टापट्टा गरेर परीक्षण गरेको हुनुपर्छ !
०००
कालिका- ६, चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































