साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वभाव सट्टापट्टा भएपछि

सायद मैले सुनेको हल्ला सही थियो । साँच्चै यो परिवर्तन कालेमा आफैँ आएको नहुनुपर्ने हो । हुनसक्छ सृष्टिकर्ताले केही मान्छेको स्वभाव सट्टापट्टा गरेर परीक्षण गरेको हुनुपर्छ !

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

कुनै बेला त्यस्तो समय थियो, सारा मान्छेहरूले आफ्नो दुरावस्थाको अनुभूति सहजै गर्न सक्थे । आफूले गरेको काम कुन असल हो, कुन खराब हो तिनले सजिलै छुट्याउँथे । भुलचुकमा गल्ती भएको भए सुधार गर्नतिर लाग्थे । कसैमाथि अन्याय भएको भए माफी समेत माग्ने गर्दथे । बिस्तारै समय परिवर्तन हुँदै गयो । केही मान्छेमा यो स्वभाव बिस्तारै ह्रास हुँदै गएको प्रष्ट देखिन थाल्यो । मान्छेहरू भन्छन् मानवीय गुण आफै ह्रास भएको भने होइन । धेरैको अनुमान छ, यसरी मानवीय गुण परिवर्तन हुन सृष्टिकर्ताको हात हुनुपर्छ । हुन त अचेल सुनेका सबै कुरा सही हुँदैनन् । वास्तविकता यही हो भनेर ठोकेर भन्न गाह्रै हुन्छ ।

हरेक वस्तु जति पुरानो हुँदै गयो त्यति मूल्य घट्दै जानु त सामान्य नियम हो । यसरी गुण घट्दैमा डराइ हाल्नु पर्दैन थियो तर सुनिदैछ, केही मान्छेको गुण र स्वभावमा मात्र ह्रास भएको होइन रे , कसैसँग सट्टापट्टा गरिएको हुनुपर्छ भन्ने हल्ला पो सुनिदैछ ! त्यसलै बुढी मरेको चिन्ता भन्दा काल पल्किएकोमा डराउनु पर्ने भएको हो । यसरी अचानक मान्छेको गुण र स्वभाव सट्टापट्टा गरिदिँदै जाने हो भने कुनैदिन मान्छेको स्वरुप कस्तो होला ? संझदा पनि जिउ सिरिङ्ग भएर आउँछ ।

साँच्चै मानवीय स्वभाव सट्टापट्टा गर्न सुरु भएकै हो त ? मैले यसको निधो गर्ने निर्णय गरेँ । केही आफ्नै आँखाले देखेका र कसैले भनेका घटनाहरूलाई लिएर विस्तृत रुपमा अध्ययन गर्ने निधो गरेँ ।

“हाम्रो घरमा एउटा “काले” नाम गरेको भोटे कुकुर पालिएको छ । उसको पूच्छर यति बाक्लो र भारी छ कि त्यसलाई हिँड्न पनि कठिन हुनसक्छ भन्ने हाम्रो अज्ञानी मनले ठान्यो र हामीले कुकुरको पुच्छरका भुत्ला, कैँचीको मद्दतले काँटछाँट गरिदियौँ । जब पुच्छर काँटछाँट गरियो उसले आफ्नो पुरानो स्वभावमा ब्यापक परिवर्तन ल्यायो । बाटो, आँगन, पिढी र छरछिमेकको भित्रि बारीलाई आफ्नो साम्राज्य ठान्ने काले, त्यस दिनदेखि खाटमुनी गएर लुक्न थाल्यो । साँझ, बिहान र रातीमा मात्र होइन, पुरा दिन ऊ खाटमुनि बसिरहन्थ्यो । कतै छिस्रिक्क आवाज आउनासाथ खवर गर्ने र आवाज आउनासाथ दौडिएर पुगिहाल्ने काले त्यस दिनदेखि भुक्न समेत छोड्यो । घरमा नौलो मान्छे आउँदा झम्टिने काले, चोर आउँदा पनि शान्त रहन थालेको थियो ।

जब मलमुत्र त्याग गर्ने समय हुन्थ्यो तब मात्र काले बिस्तारै त्यो पनि चारैतिर हेर्दै र निकै सशङ्कित हुँदै बाहिर निस्कन्थ्यो । लाग्थ्यो ऊ निकै डराएको छ । बिस्तारै बुझियो काले डराएको होइन रहेछ । उसले लाज मानेको रहेछ । ‌मान्छे वरिपरि आएको चाल पाउनासाथ ऊ आँखा चिम्लिएर घोसेमुन्टो लगाउँथ्यो । बाहिर निस्कने समयमा उसले आफ्नो पुच्छर टाँगमुनि राख्न थाल्यो । टाँगमुनी पूच्छर राखेपछि त ढुक्क हुनुपर्ने थियो तै पनि ऊ लजाउन छोडेन । उसलाई लाग्दो हो उसको गोप्य अङ्ग छोटो र झिनो पुच्छरले राम्रोसँग छोपिएको छैन ।

महिना दिनपछि जब काँटछाँट गरेर छाँटिएको पुच्छर बढेर पहिलेको अवस्थामा पुग्यो अनिमात्र ऊ सहजरुपमा बाहिर निस्कन थाल्यो । साबिकको जस्तै घुमफिर गर्न थाल्यो । त्यसपछि भने घरमा आएका परचक्रीलाई समेत मजाले झम्टिन थालेको थियो । लाग्थ्यो अब उसलाई पटक्कै लाज लागेको छैन । पुच्छर छाँटिए पछिको महिनौँसम्म मानिसको मुखमा पनि हेर्न नसक्ने काले अब भने मानिसको मुखमा हेर्ने मात्र होइन पहिले जस्तै काखमा बसेर खेल्न सुरु गर्न थालेको थियो । यस घट्ना पछि लाग्यो केही मानिसले लाज मान्न छोडे पनि कालेहरूले भने आजसम्म लाज मान्न छोडेको रहेनछन् ।

जब कालेले यसरी लाज मानेको व्यवहार देखायो काले निकै ज्ञानी र इमान्दार भएको ठहर गर्दै हामीले उसलाई घरको सारा सुरक्षाको जिम्मेवारी सुम्पियौं । एकपटक हामी कालेको जिम्मामा घर छोडेर महिना दिनसम्म घरबाहिर गएका थियौ । यात्राभर लागेको थियो, जति इमान्दार भएपनि आखिर ऊ कुकुर हो, घरको सुरक्षामा यताउता पो हुने हो कि ? यो चिन्ताले हामीलाई निकै सताएको थियो । तर जब हामी घर फर्क्यौँ, कालेले गजबसँग घर सम्हालेको देखेर छक्क पर्यौँ । पछि छिमेकीहरूले भनेपछि त झनै आश्चर्य लाग्यो, उसले आफ्ना मामा, काका, साला, साली, भाइ, भतिजा कसैलाई पनि घरमा छिर्न दिएन छ । भन्दै थियो रे “मालिक नभएको बेला तिमीहरू कसैलाई पनि यो गेटबाट छिर्न दिन्न ! तिमीहरू आफ्नै आफन्त भएपनि मालिकको आज्ञा बिना यो घरको एकमुठी पानी पनि दिन सक्दिन । वर्तमानमा मेरो भूमिका यस घरको सुरक्षा दिनु हो यसरी नाता गोता भनेर आफ्नो इमान लिलाममा राख्न सक्दिन । म मान्छे होइन बुझ्यौ ! तिमीहरू गै हाल ।”

त्यसपछि कालेका सबै आफन्त एक शब्द पनि नबोली लुरुलुरु फर्किएछन् । यो घटनापछि कालेलाई कुकुर भनेर अपमान गर्न मन लागेन ।

मलाई राम्रोसँग सम्झना छ । केही वर्ष अघिसम्म कुकुरहरू भन्दा मान्छे इमान्दार थिए । मान्छेहरू समाजको नजरमा अपाच्य कार्यगर्न लाज मान्ने गर्थे । शरीरको कुनै अङ्ग देखिन्छ कि भनेर पुरुषहरूले दौरा र सुरुवाल र महिलाहरूले चोली र गुन्युले शरीर ढाकेर हिँड्ने चलन थियो । समग्रमा मान्छेहरू काले भन्दा पनि इमान्दार थिए । त्यसैले कसका पालामा हो मान्छेलाई “सर्वश्रेष्ठ प्राणी” घोषणा भएको रहेछ ।

हरेक कुराको परिवर्तन सँगै लाज मान्ने कुरा र इमान्दारीपनमा पनि परिवर्तन हुँदै गयो । मान्छेहरूको पुरानो स्वभावमा निकै परिवर्तन भयो । उहिलेका सर्वश्रेष्ठ मानिएका मान्छेहरू र उहिले निकम्मा मानिएका अन्य केही प्राणीहरूको स्वभावमा ब्यापक परिवर्तन भयो । तर यो आश्चर्यको कुरा भने हुँदैे होइन । किनकि एकताका पृथ्वीमा सर्वश्रेष्ठ मानिएको डायनोसार अचेल पाइँदैन । उहिले सात फिट अग्ला भनिएका मान्छेहरू परिवर्तनसँगै पाँच फिटमा झरे । सृष्टिमा बेलाबखत यस्ता परिवर्तनहरू भइरहन्छन् । यसलाई सामान्य घट्ना मान्नुपर्छ।

परिवर्तनकै कारण काले अचेल पहिले जस्तो दाँत देखाएर त्यति विधि रिसाउँदा पनि रिसाउँदैन । कालेले चोर्न त फिटिक्कै जानेको छैन । दुईवटा टोलका कालेहरू एकै ठाउँ भेट भए भने पनि ङ्यार्रङुर्र गर्दैनन् । कालेले फट्याइँ गर्न पनि जानेको छैन । सबभन्दा ठूलो र देखिने परिवर्तन अचेल काले साँझ बिहान लुसुक्क गल्ली चाहार्दैन । उसले झुक्किएर पनि आजसम्म एउटा कमिला मारेको छैन । कालेको भुल्न नहुने एउटा निकै राम्रो बानी विकास भएको छ । काले मालिकको घरमा डकार आउन्जेल खाएर छिमेकी घरको सुरक्षामा खट्दैन । “जसको मानो खायो उसैको गीत गायो” भन्ने सूत्र उसलाई राम्रोसँग थाहा छ ।

कालेलाई घर कुर्न राखे घर कुर्छ, गोठ कुर्नु भने गोठ कुर्छ । यसले नचाहिने हावा कुरा गर्दैन । आजभोलि काले अत्यन्त इमान्दार बनेको छ । उसले पाएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्छ ।

मैले निकै विचार गरेँ यी सबै गुण र स्वभाव एकताका मान्छेमा थियो ।‌ सायद मैले सुनेको हल्ला सही थियो । साँच्चै यो परिवर्तन कालेमा आफैँ आएको नहुनुपर्ने हो । हुनसक्छ सृष्टिकर्ताले केही मान्छेको स्वभाव सट्टापट्टा गरेर परीक्षण गरेको हुनुपर्छ !

०००
कालिका- ६, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x