सञ्जय साह मित्रपत्ना–पत्नी
‘पत्नी’को पुलिंग ‘पत्ना’ हुनुपर्ने तर्क मनमा नआएको होइन । मूर्तिवत् बनेको विद्वान्तिर कटाक्षको मुस्कान छर्दै दार्शनिक घाउमा नुन छर्छिन् ।

सञ्जय साह मित्र :
दार्शनिक पत्नी र विद्वान् श्रीमान् भएको घरको कथा हो यो ।
पत्नी : ‘पति’ शब्दको प्रचलन कसरी हुन थाल्यो, थाहा छ ?
पति : महिलाले जसको बढी थाहपत्ता राख्छ, उही पति कहलाउँछ ।
पत्नी : जिस्किन पनि आउँदैन तपैंलाई । वास्तवमा ‘पति’ चाहिँ ‘पतित’ बाट भएको हो । कुनै महिलाले जुन पुरुषलाई पतित देख्छे, त्यहीँ पुरुष ‘पति’ कहलाउँछ । ‘पतित’ भनेर परिचय गराउँदा पहिलोपटक सुन्नेले ‘पति त’ बुझेर ‘त’ खिइएपछि बाँकी रहेको अंश नै ‘पति’ हुन गएको हो ।
पति : अनि ‘पत्नी’ चाहिँ कसरी कहलिएको नि, श्रीमतीज्यू ?
पत्नी : सजिलो छ । त्यो जो कुनै पुरुषलाई वैधानिक रुपमा पतित बनाउँछे, उही ‘पत्नी’ कहलाउँछे । ‘पतित’की अर्धाङ्निी ‘पतितनी’ हो । त्यहीँ ‘पतितनी’ कालान्तरमा ‘पतिनी’ हुँदै ‘पत्नी’ उच्चारणमा परिवर्तन भएको हो ।
दार्शनिकको कुरा सुनेर विद्वान् ट्वाँ परेर हेरिरहन्छ । आफ्नो सबै लीला सर्वाङ्ग बुझेको मानिसले कसैले नसुन्ने गरी जे निर्णय गर्दछ, त्यो प्रायः सही हुन्छ । विद्वान्को मस्तिष्कमा सिनेमाको पर्दाझैँ आफूलाई ‘पतित’ साबित गराउने जीवनको सारा महाकाव्य प्रदर्शन हुन्छ निमेषमै । ‘पत्नी’को पुलिंग ‘पत्ना’ हुनुपर्ने तर्क मनमा नआएको होइन । मूर्तिवत् बनेको विद्वान्तिर कटाक्षको मुस्कान छर्दै दार्शनिक घाउमा नुन छर्छिन् ।
पत्नी : पुर्पुरोलाई पुगे जस्तो छ त पति महोदय । दुई पतित नांगिँदा कसैलाई लाज हुँदैन नि । कि कसो ?
अर्थबोधले हो कि आफ्नो चरित्रको स्मृतिले हो, बाउन्न सेकेन्डमा विद्वान्लाई भाउन्न लाग्छ । भोको कुखुराले अचाक्ली नुन खाएको जस्तो विद्वान्ले आँखा पारेको देखेपछि दार्शनिक पनि आतिन्छिन् ।
यो कथा यहीँ सकिन्छ ।
०००
गरूढा, सप्तरी
Subscribe
Login
0 Comments
Oldest







































