रामकृष्ण ढकालयुवा बेचबिखन कम्पनीकाे सूचना
यो सूचना पाटी देख्दै बुझियो यो देशका युवा विदेशमा जसरी भए पनि लखेटेर देश अत्यधिक खोक्रो असहाय भएकोमा रमाउने खान्सल्टेन्सीको रहेछ भनेर ।

रामकृष्ण ढकाल :
राष्ट्रिय जोकरफाल्तु प्रतियोगितामा सर्वप्रथम भइ समय कटाउने कुनै मेसोमेलो मिल्छ कि भनेर अस्ति एक दिउँसो बजारमा एक सदस्यीय गस्ती गर्न भनेर निस्कें ।
अाजकलको बजार हजार निस्कियो कि झिमिक्क नजरमै चट हुने भएकोले पैसो बोक्ने गल्तिलाई नदोहोर्याइ रित्तो खल्तिले सुसज्जित भइ शुरु गरें बजार डुल्ने मेरो एकदिने चल्ती । घर पनि बजारको नजिकै भएकोले सय पाइला पनि नचाल्दै बजार छिरियो ।
झन्डै एक हातका औंलाजती पनि धौला नभेट्दै बजारको मूलभागको धूलोको ठूलो हुलभित्र पुगियो । अरू त केही काम थिएन मात्रै पाइला रेटेर समय काट्नु थियो ।
तैपनि कहिलेकाहीँ हाते ध्वन्यन्त्र नामको निर्जीव जन्तुमा केही बाङ्गेटेढे कुराहरू कोतर्ने कोचार्ने बानी लागेको हुँदा कतै कुनै संयोगले अर्को केही लेख्ने मसलाको तसला भिडाउँछ कि भन्ने आस थियो । केही बेरमा एउटा ठूलो महलको भित्तामा।देखियो एउटा अजङ्गको सूचना पाटी जसले हानिरहेको थियो हाम्रा युवाहरूको मन मथिङ्गलमा लात्ती । त्यसमा छापिएको सिँ ग्यापन यस्तो थियो — थू: वर्ण अवसर थू: वर्ण अवसर थू: वर्ण अवसर ।
नेपालका महाकुबुद्धिमान युवाहरूलाई एकदम लाजमर्दो मौका आउनुहोस् र हान्नुहोस् आफ्नै थाप्लोमा कुहिएको लौका । सँस्कार बिहिन, क ख ग घ पनि नजान्ने कामदारको रूपमा इज्जत बेच्न मुन्टिएका नेपाली जस्ता युवाहरूलाई अत्यधिक दुख दिने, सताउने खान बस्न नदिने, कुटपिट गर्ने हेला होचो अर्घेल्याइँ गर्ने, सके अनेक तरिकाले मार्ने, अङ्ग भङ्ग बनाउने जुनसुकै पराया देश भए पनि नाम सम्झिँदा नै डुङडुङ गन्हाउने स्थाउनमा दिशा गर्नको लागि भिसा लिएर जान चाहनुहुन्छ भने यहाँलाई मार्दिक स्वागत छ ।
आवश्यक खोज्यताहरू:-
– घरमा भएका बृद्ध बाबुआमालाई सके बृद्धाश्रमको कोठरीमा नसके अनेक तीखा बचनको शरसैया सहितको आँसुको पोखरीमा डुबाउनु पर्ने ।
-नेपालमा भएका हिमाल पहाड खोलानाला जडिबुटी धर्म सँस्कार इष्टमित्र नातागोता डाँफे मुनाल मयुर लुम्बिनी पशुपतिनाथ स्वयम्भू माङ्हिम जात्रा पर्वअदिलाई देख्दै नदेख्नेगरी आँखा फुटेको वा बिग्रिएको ।
– बाउआमाको बुढेसकालको जिउनीसमेत साहूको दाउमा लगाई वा दलालहरूलाई कौडीको भाउमा जाउ गराइ हामीलाई बडेमानको बिटो बुझाउन असाध्यै खुसी हुने ।
– स्वर्गजस्तो सिङ्गो नेपाल भन्दा कुइरे खैरे ऐरे गैरे जैरे छुसी ढुसी लुसि खाडिका ढाडी आदिलाई संसारकै महान ठान्ने ।
– जहाँसुकै पुगेर जस्तोसुकै नरकमा बेचिए पनि आफ्नै पुर्पुरो भाग्य कर्म दशालाई मात्र दोष दिइ एकदम चुपचाप सहने, कहिँकतै उजुरबाजुरको गजुर मजुर नलाउने ।
– नेपालको भाषाले कहिँ पनि कत्ती पनि काम दिँदैन जस्तो गरि विदेशीहरूका भाषा भेष रहनसहन सिक्न मरिहत्ते गर्ने ।
– नेपाललाई केही नभएको चुत्थो भनेर सधैं सराप्ने तर सँस्कारविहिन निकृष्टतम आचरणका बाहक विदेशीलाई भगवान मान्ने ।
यो सूचना पाटी देख्दै बुझियो यो देशका युवा विदेशमा जसरी भए पनि लखेटेर देश अत्यधिक खोक्रो असहाय भएकोमा रमाउने खान्सल्टेन्सीको रहेछ भनेर ।
आफूलाई नेताले कमिसन र कर्मचारीले घुस कुम्ल्याए झैं गरीब दुखीका बाबुआमाको बिजोग सहितको घरखेतको मोटो रकम कुम्ल्याउन पाए जो जहाँ पुगेर हेपिएर चेपिएर मुटिएर गुल्टिएर घुसुल्टिएर मरे पनि शून्य मतलब हुने खान्सल्टेन्सीहरू एउटा मात्र हिन बजारभरी हाम्रो टाउको बजार्नका लागि तम्तयार भएर बसेका लामै लहर देखियो ।
अर्कोतिर तिनका अनेक छलकपट षड्यन्त्रको सिकार हुन पाएमात्र आफूलाई मान्छे ठान्ने नत्र महाखत्तम मान्ने तथाकथित पढेलेखेका देख्दा उमेरदार तर प्रवृत्ति हेर्दा उमूर्दारहरूको लाइन पनि मेचिदेखि महाकालीसम्म नै महाकहालिलाग्दो रहेछ । यो देख्दा स्वर सम्राट् नारायण गोपालको एउटा साङ्गीतिक पारायण याद आयो- विदेश गइ यो देशलाई मास्नु पर्याछ पहाडमुनि मुटुराखी हाँस्नु पर्याछ । त्यसपछि हिँड्ने जाँगर साँगर सबै शहीद भए । अनि न्याउरो मुख लाउँदै घर गए ।
०००
२०८१ पुस ६
चितवन
Subscribe
Login
0 Comments
Oldest






































