हरिशंकर परसाईंडेङ्गू, अध्यात्म र लेखक
यदि मैले उपहास गरेका ती सामाजिक, राजनीतिक तथा धार्मिक रोगहरूले साटो फेर्न थाले भने यो लेखकको कुन हविगत होला ? के रोगहरूसित सम्झौता गरूँ त ? तिमीहरू खुब फस्टाओ, मौलाओ भनेर भनिदिऊँ त ?

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
यता एउटा रोग फैलिएको छ । त्यसको नामै भयङ्कर छ- ‘डेङ्गू’ । कडा ज्वरो अनि शरीरमा अत्यधिक पीडा । जोर्नीहरू कटकट खान्छ । जनभाषामा यसलाई ‘हड्डीतोड ज्वरो’ भनिन्छ । यो हिम्मततोड पनि हो । यदि यसको नाम ‘डेङ्गू’ नभएर ‘मधुरिमा’ हुँदो हो त रोग नलाग्दासम्म कोही पनि डराउने थिएन । भएपछि पनि दुखाइ कम लाग्थ्यो । रोगीले सोच्थ्यो, यो त मधुरिमा हो । क्षयरोगको कति राम्रो नाम छ, ‘राजयक्ष्मा’ ? अनि ‘कारोनरी थ्राम्बासिस’ सुनेर त रोगीले केही बेरमै उसले मास छर्नुपर्ने छ भन्ने पनि थाहा पाउँदैन । रोग जतिसुकै नराम्रो होस् न, नाम राम्रो हुनुपर्छ । अमेरिकाली शासकहरू आक्रमणलाई ‘सभ्यताको प्रसार’ भन्छन् भने त्यो त्यति नराम्रो लाग्दैन । बम बर्सिंदा पनि मर्नेहरूले सभ्यता बर्सिरहेको ठान्छन् ।
चिनियाँ नेताहरू हुल्याहाहरूको हुलदङ्गालाई ‘सांस्कृतिक क्रान्ति’ भन्छन् भने पिटिने मान्छेलाई लाग्छ ऊ सुसंस्कृत बन्दै छ । सांस्कृतिक क्रान्तिकारीहरू राम्रो कपाल हुनेहरूलाई लतारेर हजामको पसलमा लैजान्छन् र उसलाई चिन्ड्याइदिन्छन् । किनभने कपाल कोर्नु त बुर्जुवा प्रवृत्ति हो रे ! जब नागरिकले खुइलिएको टाउकामा हात घुमाउँदो हो त मनमनै भन्दो हो – आहा ! मेरो त टाउकैमा सांस्कृतिक क्रान्ति भयो । हजामको त्यो क्रान्तिकारी छुरा पनि धन्य छ । यदि यो ‘सांस्कृतिक क्रान्ति’ यसै गरी बढ्दै गयो भने त मान्छेजस्तो भएर बस्नु पनि बुर्जुवा प्रवृत्ति घोषित हुन सक्छ । अनि त्यति वेला के जनावरझैं बाँच्नुलाई क्रान्तिकारी जीवन मानिने छ त ? यो कुरो अहिल्यै थाहा भए त सुरु पनि गर्न हुन्थ्यो ।
अँ त म भन्दै थिएँ, रोग जतिसुकै नराम्रो भए पनि त्यसको कठोरता घटाउनका लागि भए पनि हामीले कम्तीमा त्यसको नाम त अलि स्वादिलो राख्न सक्छौं । आश्रमको नाममा वेश्यालय चले पनि राम्रै लाग्छ । नैतिक सुधारका नाममा केटीहरूको अपहरण नै भए पनि कसैलाई आपत्ति हुँदैन । डेङ्गूको नाम ‘मधुरिमा’ हुँदो हो त मेरो यो साथीले आत्तिएर ‘हेर न, मलाई त डेङ्गू पो भयो ।’ भन्ने थिएन । दृश्य नै अर्कै हुन्थ्यो । मैले सोध्थें – ‘किन ओछ्यानमा पल्टेका छौ ?’ अनि उसले मुस्कुराउँदै भन्थ्यो – ‘अलिकति मधुरिमा भएको रहेछ । मिठोमिठो दुखाइ छ ।’ तर नामको डरले ऊ भने एक सय एक डिग्री ज्वरोमा पनि आध्यात्मिक ज्ञान बर्बराउँदै थियो । त्यसो त ज्वरो नआउँदा ऊ द्वन्द्वात्मक भौतिकवादको कुरा गर्ने गर्छ । ज्वरोमा भने ऊ जीव, ब्रह्म र मायाको कुरा गर्दै थियो । संसार असार छ । शरीर नाशवान् छ । आत्मा अमर छ । ब्रह्म नै सत्य हो । अनि मैले भनें, ‘साथी, तँ त निकै भाग्यमानी रहिछस् ।
ऋषिमुनिहरूले आजीवन तपस्या गर्थे अनि गएर मात्र उनीहरूलाई अध्यात्मको बोध हुन्थ्यो । अनि बाधाहरू पनि त्यत्तिकै पर्थे – अप्सराहरूको, अन्य ऋषिहरूको ईर्ष्याको । तर तँलाई भने केवल एक सय एक डिग्री ज्वरो आउँदैमा अध्यात्मबोध भयो ! के डेङ्गू आध्यात्मिक रोग हो ? के तपस्या र ज्वरोमा कुनै अन्तर छैन ? के अध्यात्म कुनै प्रकारको ‘डिलिरियम’ हो ? यदि हो भने त यति वेला सहरमा हजारौं ज्ञानीहरू होलान् र उनीहरू डेङ्गू ज्वरोको माध्यमबाट आध्यात्मिक भूमिकामा पुगिसके होलान् !
यसो हेर्दा त मलाई उसले अभिनय पो गरिरहेछ कि भन्ने शङ्का लागिरहेको छ । मैले भनें पनि, ‘बाबु, जाबो एक सय एक डिग्री ज्वरोमा यस्तो अध्यात्म त आउँदैन ! हो, एक सय पाँच वा छ भयो भने आउन सक्छ । तिमी भने अलिकति ज्वरो आउँदैमा नाटकीय सम्भावनाहरू खोज्दै छौ ।’ राजनीतिदेखि लिएर ज्वरोसम्ममा नाटकीयताले प्रभावित गर्छ । चुनावमा माथिल्लो भनिने जातिको सम्पन्न उम्मेदवारले किसानको घरमा गएर भन्छ, ‘काका, आज त म तपाईंको घरमा रोटी खाएरै जान्छु ।’ अनि पछि किसानले पुरै गाउँमा कुरा पुर्याउँछ कि यति ठुला मान्छे भएर पनि तिनमा पटक्कै घमण्ड छैन । (सावधान ! यो उपाय पहिलो आमचुनावको हो । आगामी चुनावमा कुनै पनि उम्मेदवार वा नाउम्मेदवारले पनि यसलाई काममा नल्याओस् । नोक्सानीको जिम्मेवारी मेरो रहने छैन ।
कुरो के हो भने जनताको बुझाइ निरन्तर बढ्दो छ तर नेताको भने उत्तिको उत्ति नै छ ।) कुरो चुनावको नभएर नाटकीयताको हो । नाटक नगरिकन जति ठुलो काम गरे पनि कुनै चर्चा हुँदैन । यसको सबैभन्दा ‘ट्रेजिक’ उदाहरण शत्रुघ्न हुन् । दशरथका चारवटै छोराहरूमध्ये सबैभन्दा कम चर्चा यिनकै भएको छ । बाँकी तीन भाइमा त खुब नाटकीयता थियो । मर्यादापुरुषोत्तमको त कुरै बिछट्टै छ । लक्ष्मण पनि अचम्मको नाटकीयता गर्दै पत्नीलाई छोडेर दाजुको पछि लागे । उनलाई त अमर हुनु थियो । भरत खराउ लिएर नन्दीग्राममा गएर बसे । सबै जिम्मेवारीबाट मुक्त । बिचरा शत्रुघ्नले एकातिर त गृहस्थी चलाइराखे – गृहस्थी चलाउनु बनवासभन्दा पनि ठुलो पराक्रम हो । अनि राज्यको शासन पनि चलाइरहे । यो पनि ठुलो काम थियो । यदि उनले यसो नगरेका भए रामले फर्केर पाउँथे पो के र ? तर शत्रुघ्नको खास कुनै कदर भएन । किनभने उनले केही पनि नाटकीय तरिकाले गरेनन् ।
शत्रुघ्नको उदाहरण मैले किन दिएको हुँ भने उनी अध्यात्ममा डुबेको मेरो मित्रको डिपार्टमेन्टका लाग्छन् । ऊ भुतभुतायो – जसलाई डेङ्गु भएको छैन उसले यस कष्टलाई बुझ्न सक्दैन । ईश्वरले चाहे र तिमीलाई भयो भने थाहा पाउने छौ यो नाटक हो कि के हो भनेर ।’ थाहा पाउनका लागि पनि हुनु आवश्यक छ । त्यसैले पनि मानिसहरू लेखकले दुःख पाओस् भन्ने चाहन्छन् । भएन भने दिन पनि थाल्छन् । मलाई डेङ्गूको अनुभूति हुनुपर्छ ।
तुलसीदासजीलाई बालतोड (छालाभित्रै रौं चुँडेर बन्ने घाउ) भएको थियो । उनी पाकेको बालतोडमा छुँदा हुने पीडालाई चरम पीडा मान्दथे । उनले त यतिसम्म लेखेका छन्, रामराज्याभिषेकको तयारीका कुरा सुनेर कैकेयीलाई कति पीडा भयो भने मानौं कसैले बालतोडको घाउमा छोइदिएको होस् । महाकविलाई पक्कै पनि बालतोड भएको थियो, नत्र यस्तो लेख्दैनथे । यो कुरो विद्यावारिधिको शोधका लागि उपयुक्त विषय हो ।
ममा भय उत्पन्न भयो । मित्र आध्यात्मिक भूमिकामा थियो अनि म भन्दै थिएँ, ‘तिमीलाई डेङ्गू भएको छ भनेर । शुद्ध मनले भनिएको नराम्रो कुरा पुग्छ पनि । क्षुब्ध कामना भने त्यति फलदायी हुँदैन । पुराणहरूमा तपस्वीहरूका वर तथा श्रापको अनुपात १ः३ को छ । कसैले पनि टोटल गरेर हेर्न सक्छ । सिद्ध पुरुषले बढी गाली गर्छन् भने भक्तहरू त्यो सुनेर प्रसन्न हुन्छन् । म भने यो बिरामी साथीको भनाइ कतै साँचो नहोस् भनेर डराइरहें । डर मेरो वरिपरि छ । सहरको जनसङ्ख्याको लगभग एक तिहाइ हिस्साले सधैं ओछ्यान समातेकै हुन्छ । कम्पाउन्डरहरूले डाक्टरको पद पाएका छन् । जुन डाक्टरकहाँ कोही टिन्चर लगाउन पनि जान्नथ्यो त्यसैले दिएको ‘एन्टिबायोटिक्स’ खाइरहेका छन् मानिसहरू ।
भनिन्छ डेङ्गू आफैमा मौलिक रोग हैन । बाहिरबाट आएको हो । सुनेको त के हो भने फ्लू पनि जापानबाट आएको हो । सांस्कृतिक आदानप्रदानका त सन्धिहरू हुन्छन् तर रोग त आफैं आउने रहेछन् । रोगहरू अन्तर्राष्ट्रिय भएका छन् । हामी बाहिरका रोग ग्रहण गर्न निकै तत्पर रहन्छौं । हामीले आफ्नो रोग कसैलाई दिएको भन्ने मलाई थाहा छैन । आफ्नो त निर्यातै कमजोर छ, चाहे सामानको होस्, चाहे रोगको । सुनेको त के हो भने भारतीय गाँजा र भाँग पश्चिममा निकै मन पराइन्छ रे ! यी धार्मिक नसा हुन् । साधु गाँजा तानेरै त्रिकालदर्शी बन्छ । अडल्स हक्सलेले पनि मानेका थिए । नसाको साटो हामी रोग लिन्छौं । पश्चिमलाई अरू नसा चाहिन्छ भने पूर्वलाई अरू रोग चाहिएको छ । पश्चिममा जतिजति नसा बढ्दै जान्छ त्यतित्यति यता रोग पनि बढ्दै जान्छ । आफ्नो त अर्थव्यवस्थालाई नै डेङ्गू भएको छ । ढल्केपछि उठ्न सक्दैन । बसाल्ने हो भने ढलिहाल्छ । म सोध्छु, ‘आमै, यो के भएको हो तपाईंलाई ?’ भन्छ, ‘डेङ्गू भयो छोरा ! बाहिरबाट ‘इनफेक्सन’ आएको थियो । मेरो छोरो रुपियाँलाई पनि डेङ्गू भएको थियो । कति दुब्लाएको छ बिचरा !’
यो ‘इनफेक्सन’ कसले फैलाउँछ ? सामान्यतया यसलाई लामखुट्टेले फैलाउँछन् भन्ने भनाइ छ । के लामखुट्टेलाई रोग ओसार्नेबाहेक अर्को कामै छैन कि क्याहो ? बाघ, हात्ती अथवा गोरुले त ‘इनफेक्सन’ ओसार्दैनन् त ! लामखुट्टेहरूबाट भने सावधान रहनुपर्छ । तिनीहरू अब अन्तर्राष्ट्रिय सम्पर्कमा पुगिसके । जहाँ जहाँ रोग छ त्यहाँ यहाँबाट लामखुट्टेहरूलाई जान दिनु हुँदैन । उनीहरूले रोग ल्याउँछन् । भारत सरकारले यसमा विशेष ध्यान राख्नुपर्छ । रोग दिने देशहरूमा आफ्नो देशबाट लामखुट्टेहरू पठाउनु भएन । पहिलेको असावधानीको परिणाम भोगिरहेका छौं । अर्थव्यवस्थालाई डेङ्गू लागेको छ ।
(‘लेखकलाई डेङ्गू भयाे’ भन्ने लेख यति मात्र लेखेर थन्किएको आठदश दिनसम्म यत्तिकै रहिरह्यो ।)
रोगहरू असहनशील भएका छन् । उनीहरू आफ्नो बारेमा गरिएको ठट्टा र आलोचना सहँदैनन् । म डेङ्गूका बारेमा ठट्टा गर्दै थिएँ । उसले साटो फेरिहाल्यो । मलाई च्यापिहाल्यो । मेरो भय बढेको छ । रोगहरू साटो फेर्न ओर्लिएका छन् । मैले कैयौं रोगहरूलाई रिसाउन हालेको छु । यदि मैले उपहास गरेका ती सामाजिक, राजनीतिक तथा धार्मिक रोगहरूले साटो फेर्न थाले भने यो लेखकको कुन हविगत होला ? के रोगहरूसित सम्झौता गरूँ त ? तिमीहरू खुब फस्टाओ, मौलाओ भनेर भनिदिऊँ त ? भनिदिऊँ त तिमीहरूको जय होस् तर मलाई भने बचाइराख भनेर ?
०००
परसाई रचनावली भाग ३ बाट, ‘डेंगू, अध्यात्म और लेखक’ काे नेपालीमा अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































