साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक बन्दै छ

केटाकेटीले भुस्याहा कुकुरलाई हान्ने अभ्यास गर्नु पनि राम्रै हो । भोलि गएर देशलाई सम्हाल्ने भनेकै यिनैले हो । एउटै आशङ्का के छ भने यिनलाई उच्च नस्लका कुकुरले हिर्काउने अभ्यास गर्न पाएका छैनन् ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

अगाडि सडक बन्दै छ । म बसीबसी हेर्दै छु । गिट्टी पेल्ने भयङ्कर रोलर दिनैभरि धडधड गरिरहन्छ । केटाकेटीदेखि नै के देख्दै छु भने यो सडकको रोलर उस्तै भयङ्कर र भद्दा छ । यस बिचमा संसारका सबै कुल्चिनेहरू मोटाघाटा भए । साम्राज्यवादले पहिलेको कुरूपतालाई छोडेर सुन्दर रूप धारण गरेको छ । कुल्चिनेहरू निरन्तर मोटाघाटा हुनुपर्छ अनि पो कुल्चिइनेहरूले उसलाई आफूमाथि टेक्न दिन्छन् । तर यो रोलर भने उत्तिकै विकर्षक छ, छ । उसलाई उसको त्यति राम्रो डिजल इन्जिन चल्नाले आत्महत्याको सङ्ख्या बढिरहेको छ । यदि यो रोलर हुन्थ्यो भने एउटा गिट्टी पनि उछिट्टिएर जाने थिएन ।

कसले बनाउन लगाउँदै छ यो सडक ? किन बनाउन लगाउँदै छ ? अझै त चुनावका लागि थुप्रै महिना बाँकी छन् । अहिल्यैदेखि किन पैसा बर्बाद गर्दै छ ? निर्वाचनकेन्द्रित जनकल्याणमा त सडक मतदानको एक दिनपहिले मात्र बन्नुपर्ने हो ।

म पनि के उल्टाउल्टो मात्र सोच्छु के ! पछिल्ला केही वर्षदेखि नै मलाई यस्तो हुन थालेको हो । कुनै राम्रो कुरा देखेर पनि नराम्रो कुरा मात्र मनमा आउँछ । पहिले कोइलीको स्वर स्वाभाविक रूपले मिठो लाग्थ्यो । अब त ऊ बोल्दा पनि उसले कुनै सङ्गीत विद्यालयमा नोकरीका निम्ति दरखास्त दिएको छ र उसले त्यसमा आफूलाई सिफारिस गराउन चाहन्छ । कुनै मान्छे टोलको मृत्युकार्यमा सहभागी हुँदा पनि म सोच्न थाल्छु पक्कै यसले अर्को चुनावमा वार्डसदस्य पदमा चुनाव लड्ने तयारी गर्दै छ । जसलाई भोट दिनु छैन ऊ किन कसैको दुःखमा सहभागी हुन्छ र ?

सडक बन्दै छ भने त त्यो राम्रो कुरो हो नि ! यो त मिसावटविना नै राम्रो कुरो हो । तर मनमा भने मिसावट भएको छ । त्यसैले त म बसीबसी यो सडक बनिसक्दा कसैको आलिसान आवासभवन पनि बनिसक्ने होला । कसैको कम्पाउन्डको पर्खाल ठडिने होला । ठुला भवनहरूको गर्भबाट घर जन्मेको देखेकै हुँ मैले । एउटा होस्टलको भवन सहरमा बन्यो अनि घरचाहिँ चारपाँच माइल टाढाको उपनगरमा जन्म्यो । निकै चमत्कारी छ यो प्रसव । आल्हाउदलको कथामा भैंसी ब्यायो गढ महौबामा अनि पाडो खस्यो फर्रुखाबादमा भन्ने एउटा प्रसङ्ग आउँछ । भवनबाट घर जन्मिनु त स्वाभाविक नै हो तर सडकको गर्भबाट घर जन्मिनु भने भैंसीको गर्भबाट कुकुर जन्मिनुजत्तिकै चमत्कार नै हो । सडक बनाएको पुण्यप्रताबबाट यस्तो हुन्छ होला । दशरथका रानीहरूले यज्ञको खिर खाएर छोरा जन्माएका थिए । पुण्यको प्रताप अपार छ । अनाथालयबाट पनि भवन जन्मिन्छ ।

यी राम्रा कुरा पक्कै होइनन् तर म गरूँ त के गरूँ ? मनमा कुरा उठ्दैमा के सबै मेरो जिम्मेवारीभित्र पर्छ र ?
ठिकै छ, सडकतिर फर्किन्छु र केही राम्रा कुरा सोच्छु । पहिले यो सडक गिट्टी उछिट्टिएर खल्ट्याङखुल्टुङ थियो । सुन्दरीहरू यो सडकमा हिँड्दै गरेको देखेर कतै खुट्टामा गिट्टी गड्ने हो कि भनेर डराउँथें । जब यो सडक नभएर गल्लीजस्तो थियो तब गल्लीमा हिँडिरहेका सुन्दरीहरूका पाउमा काँडा गड्थे । यसै प्रसङ्गमा एउटा लोकगीत पनि निकै प्रचलित थियो जुन सुनेको हुनुपर्छ – ‘काँटा लगा रे बालमवा मोसे गैल चली न जाय ।’ (हे प्रिय मेरा पाउमा काँडा गडे, अब म यो गल्लीमा हिँड्न सक्दिनँ ।) अनि नायकले काँडा झिकिदिन्थ्यो । त्यो प्रसङ्ग निकै रसमय हुन्थ्यो । चलाख नायिकाले जानाजानी कि त काँडा गडाउँथी, कि बिच्छीले टोकाउँथी । अब भने कङ्क्रिटको सभ्यताले रसधारामाथि पक्की पुल बनाइदियो । अब माथिबाटै ओबानै निस्किनुहोस् । कङ्क्रिटको सडकमा काँडा गड्दैनन् , दुर्घटनाहरू हुन्छन् र दुर्घटना कुनै रसमय प्रसङ्ग बन्न सक्दैन । गोप्रेमका चलचित्रहरू भने यसैबाट पनि बन्न सक्छन् । नारीको जिन्दगीमा कातरताको अवसर कम हुँदै छन् । एउटा मात्र अवसर बढेको छ र त्यो हो परीक्षामा फेल हुनु । तर त्यो पनि कातरताको भन्दा बढी लाजको प्रसङ्ग हो ।

यी सडकहरूमा कातरताको एउटा दृश्य भने देखिन्छ । नायकले स्कुटरलाई तीव्र गतिमा कुदाउँछ र पछाडि बसेकी नायिकाले डराएर उसलाई बेस्सरी अँठ्याउँछे । पहिलेपहिले नौकाविहारमा यस्ता प्रसङ्गहरू आउने गर्थे । पुरुषलाई पनि भयभीत र कातर केटी नै बढी राम्री लाग्छे । मूर्ख पनि छे भने त अझै राम्री लाग्छे । पुरुषले सोध्छ, ‘तिमीले त्यो परेवा कसरी उडायौ ?’ अनि सुन्दरीले अर्को पनि उडाइदिन्छे र भन्छे, ‘यसरी..!’ पुरुष उसको मूर्खतामा नै मुग्ध हुन्छ । वाह ! कति उच्च श्रेणीकी मूर्ख रहिछ ! यो प्रसङ्ग प्रेम र राजनीति दुवैको इतिहासमा गयो ।

कातर र मूर्ख महिला पुरुषलाई किन राम्री लाग्छे होला ? सके उसको व्यक्तित्व त टाढाको कुरो अस्तित्व पनि नभएको हुनाले होला । ऊ पूर्ण रूपले कसैको अंश मात्र बनेकी हुन्छे । थुप्रै महिलाहरू यस्ता हुन्छन् जो वयस्क आयु र शिक्षित भएर पनि जीवित प्राणी नभएर कसैको लगेजजस्ता हुन्छन् । उनीहरूको आफ्नो बोली नभएर कसैको बोलीको प्रतिध्वनि मात्र हुन्छ । बुद्धि, भावना र इच्छापर्यन्त पनि आफ्नो हुँदैन । यदि उससित कसैले ‘देवीजी, आजको मौसम कस्तो छ ?’ भनेर सोध्यो भने उसले आकाशतिर नहेरेर उसतिर हेर्छे जसको अंश हुन्छे । मानौं ऊ उससित स्वीकृति लिन चाहन्छे कि भनूँ कि नभनूँ ? के भनूँ ? तपाईं नै भनिदिनुस् न आजको मौसम कस्तो छ भनेर ।

फेरि सडककै कुरा गर्छु । टोलका सबै भुस्याहा कुकुरहरूले कुटाइ खाइसके । केटाकेटीले गट्टाका थुप्रा पाए । गिट्टीले कुकुरलाई हिर्काउँदाजस्तो रमाइलो माटाको डल्लाले हिर्काउँदा हुँदैन । केटाकेटीले भुस्याहा कुकुरलाई हान्ने अभ्यास गर्नु पनि राम्रै हो । भोलि गएर देशलाई सम्हाल्ने भनेकै यिनैले हो । एउटै आशङ्का के छ भने यिनलाई उच्च नस्लका कुकुरले हिर्काउने अभ्यास गर्न पाएका छैनन् । उच्च नस्लको त कुकुरै भए पनि ज्याद्रो हुन्छ । पिटिने त ती घटिया कुकुर हुन् जसले जुठो चोरेका हुन्छन् । दश किलो अन्नको घोटाला गर्ने जेल जान्छ तर दश ट्रक चोरेर बेच्ने आनन्दले बार्दलीमा बसेको हुन्छ । पाँच रुपैयाँ घुस लिने समातिन्छ तर पाँच लाख लिनेले समाउनलाई नै ‘ढिसमिस’ गराइदिन्छ । अल्सेसियनलाई त यी केटाकेटीले पनि ढुङ्गा हान्दैनन् ।

मेरा सामुन्ने एउटा क्यालेन्डर झुन्डिएको छ । तस्वीरमा एउटा केटो फौजी पोसाक लगाएर हिउँमाथि बसेको छ । अगाडि शिवलिङ्ग छ अनि राइफललाई सङ्गिनको सहाराले हिउँमा ठड्याइएको छ । केटो हात जोडेर बसेको छ । यो स्कुल गइरहेको केटाको चित्र होइन । पाकिस्तानमा पनि स्कुल गइरहेको केटाको तस्वीर पाइँदैन । चिनमा पनि पाइँदैन । सबैतिर राइफल नै हुन्छ । यहाँ त बरु केटाले राइफल लिएर पनि शिवलाई नमन गर्दै छ । तर पाकिस्तानको केटाले कसको मूर्तिलाई नमन गर्छ होला ? मूर्तिपूजा त्यहाँ छँदै छैन र अयुब खाँ कहिल्यै देवता बनेनन् । चिनमा माओत्से तुङ देवता बनेका छन् भने राइफल माओको मूर्ति होला चिनियाँ केटाका अगाडि ! यहाँको सिख ट्रक ड्राइभरले भन्छ, ‘बाटो त खराब थियो हजुर, तर बाहे गुरुजीको कृपाले मज्जैले आइयो ।’ हिन्दू ड्राइभर भन्छ, ‘ईश्वरको कृपाले बाटो राम्रैसित काटियो ।’ मुसलमान ड्राइभर भन्छ, ‘खुदाको निगाहले ट्रक जसरीतसरी आइपुग्यो ।’ चिनियाँ ड्राइभरले भन्छ, ‘माओका विचारहरूको प्रतापले गर्दा विनादुर्घटना ट्रक आइपुग्यो ।’ विनादेवता त मान्छेको कामै चल्दैन कि ? देवताहरू फेरिनु भने भिन्दै कुरो हो । अमेरिकाको क्यालेन्डरको केटाले कसलाई नमन गर्दो हो ? के राइफल र लिङ्कनलाई ? लिङ्कनलाई नमन गरेर के ऊ भियतनाम जाँदो हो र ? ऊ अभागी केटो हो ।

त्यसो संसारभरिका ती सबै केटाहरू अभागी नै हुन् जसका अगाडि उनका पुर्खाले राइफल र देवता राखिदिएका हुन्छन् । यो मेरो अगाडिको केटो पनि कम्ता अभागी होइन । यसको भागको दुध यो राइफलले पिएको छ ।
निकै ‘भल्गर’ (गँवारु अश्लील) छ यो चित्र । तर यो चित्र देशभक्तिको हो । मलाई त के लाग्छ भने संसारमा जहाँसुकैको होस् देशभक्ति अलि ‘भल्गर’ नै हुन्छ ।

गिट्टीको थुप्राबाट बचेको धुलो टोलका केटाहरूले घरअगाडि ल्याएर थुप्र्‍याएका छन् । हिलोबाट बचिने भयो । केटाकेटीहरूले सफलताको रहस्य फेला पार्दै छन् । जसले सडकको वस्तु ल्याएर घरमा भर्छ त्यो यस युगमा सफल हुन्छ ।

रोलर फेरि आइपुगेको छ धडधड गर्दै । सोच्दै छु, यसले यो कुल्चिने शक्ति जोगाएर आफूलाई ट्याम्मटुम्मको किन बनाउँदैन ? कहिलेसम्म बितेका युगको उपनिवेशवादी बनिरहन्छ र ? मोडर्न किन बन्दैन ?

०००
परसाई रचनावली भाग ३ को, ‘सडक बन रही है’ निबन्धबाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x