
बाकाे रेडियो त दुई फ्याक पाे !!
दुइ चार पटक ठोकेपछि खुर्मिको टुप्पो भित्रपट्टि छिर्यो र पेच कस्ने ठाउँहरू चर्किएर फुटे । अब भने रेडियो अगाडिको भाग र पछाडिको बिर्को दुइभागमा छुट्टियो ।

परासर रिजाल :
त्यतिबेला म त्यस्तै पाँच छ वर्षको थिएँ होला । हामी ताप्लेजुङको एउटा गाउँमा बस्थ्यौं । एक दिन म आमाको पछिपछि लागेर गाउँमा लाग्ने हाट, चतुरे बजारमा पुगें । त्यहाँ केही ठुलाबडा मानिसहरू चौतारीमा बसेर कुरा गर्दै थिए । उनीहरू रेडियोको बारेमा कुरा गर्दै रहेछन् । रेडियो भन्ने शब्द मैले पहिलो पटक त्यहिँ सुने । ध्यान दिएर उनीहरूको कुरा बुझ्ने कोशिस गरेंं । पत्याउनै नसकिने, कस्तो कस्तो अचम्मको कुरा गरे उनीहरूले । रेडियो भन्ने एउटा बाकस हुन्छ रे, त्यस भित्रबाट धेरै मान्छेहरू बोलेको आवाज निस्कन्छ रे । कसैले गीत गाउँछन् कसैले बाजा बजाउँछन् कसैले कथा सुनाउँछन् रे तर मान्छेहरू, बाजाहरू चाहिँ केही पनि देखिँदैन रे । यो कुरा सुनेर मलाई कम अचम्म लागेन । त्यहाँ भएका सबै मानिसहरूको त्यहि कुरातिर ध्यानाकृष्ट भयो । सबैले रेडियोको बारेमा विभिन्न किसिमको आकारप्रकार र साइजको आआफ्नो ढंगले अड्कलबाजी गरे । कसैले यत्रो हुन्छ होला भने, कसैले कत्रो । यी कुराहरू सुनेदेखि मेरो पनि दिमाग खल्बलियो । धेरै मान्छे आँट्छन् बाजाहरू आँट्छन् भने, रेडियो भन्ने बस्तु तिनतले मुखियाको घरभन्दा पनि ठूलो होला भन्ने मैले अनुमान लगाएँ ।
यसको केही महिनापछि माथिल्लो फाकुम्बे गाउँमा लाहुरेले रेडियो ल्यायो रे भन्ने सबैतिर हल्ला चल्यो । यो कुरा मैले पनि सुनेँ । कसरी ल्यायो होला त त्यत्रो बस्तु यो पहाडी गाउँमा भन्ने खुलदुलीले हल्ला सुनेदेखि मेरो मन कतिबेलै थीर भएन । रेडियो कस्तो होला, कतिबेला देख्न, सुन्न, छुन पाइएला भनेर म एकोहोरिन थालें । मलाई दौडेर त्यो ठाउँमा पुगिहाल्न मन लाग्यो । उपयुक्त मौकाको प्रतिक्षामा बसें । सधैं घाम माथिसम्म आउँन्जेल निद्रा लाग्ने मलाइ, भोलिपल्ट विहान चाँडै निद्राले छोड्यो । मेरो मन कतिबेरै रेडियोतिरै थियो । तर घरबाट आदेश नपाई रेडियो हेर्न जान मिल्दैनथ्यो । खाना खाएपछि आमा दिदीहरू घाँस काट्न, बस्तुभाउ हेर्न र मेलापात गर्न गए । बुबा पनि गाउँतिर कतै घुम्न निस्किनु भयो । घरमा कोही नभएको मौका छोपी म भिरको बाटो लुसुक्कन उकालै उकालो दौडिएँ । डाँडो कट्नासाथ परैबाट सुनियो रेडियो बजेको । गाउँ घर सबैतिर थर्काउने गरि बजिरहेछ । लाहुरेको घरको सिकुवाभरि मानिसहरू बसेका रहेछन् । यति धेरै मान्छेहरूको भीड देख्दा ए रेडियो त मैलाई जस्तै अरुलाई पनि हेर्न सुन्न मन लागेको रहेछ भन्ने लाग्यो ।
रेडियोले कालिपारी दाइ कति राम्रो …..भनेर गीत गाएको टाढैबाट सुनिँदै थियो म त्यहाँ पुग्नासाथ भाखा फेर्यो र ह ह माले ह ह ! ह ह तारे ह ह ! होरि पच् भन्ने गीत आउन थाल्यो । अब मेरो मुख्य चासो यसरी गीत गाइरहेको रेडियो चाहिँ कहाँनेर राखेको छ त भन्नेमा गयो । मान्छेको भीडमा वरिपरि कहिँ हेर्दा पनि नदेखिएकाले शायद अगाडि अट्ने ठाउँ नभएर घरको पछाडि कतै राखेका होलान् भन्ने लाग्यो र घरको वरिपरि एक चक्कर लगाएँ । तर त्यता कुनै त्यस्तो बस्तु देखिएन । रेडियो अझै चर्को श्वरमा बोलिरहेकै थियो । अगाडि जाँदा पछाडि बोले जस्तो पछाडि जाँदा अगाडि बोले जस्तो भयो ।
मलाई अचम्म लाग्यो कहाँ छ त त्यो अद्भुतको चीज । कतिबेला देखौं जस्तो भैसकेको छ । मैले आफ्नाे छेउमा उभिएको अपरिचित मान्छेलाई सोध्दै भने अनि रेडियो चाहिँ कहाँ राखेको छ त ? तपाईंले देख्नु भएको छ कि ? उनले उ त्यहीँ त छ नि भनेर भित्तातिर देखाए । मैले जति हेर्दा पनि केही गरे देखिन र भने ख्वै कुन चाहिँ हो र ? उ त्यो के त, सानो बाकस जस्तो भाँडो भित्तामा फित्ताले झुण्याइराखेको छैन ? हो त्यै हो क्या । एरियल तानेर झुण्ड्याएको रेडियो तर्फ उनले औंलो देखाउँदै भने । अनि त्यहि हो त रेडियो भन्या ? मैले दुइ पटक शंका लागेर खेरें । हो त्यहि हो, उनले जोड दिँदै भने । म आश्चर्यले तीन चित खाएँ । मेरा आँखाले घर जत्रो साइजको ठूलो रेडियो खोज्दै थिए । आम्मै त्यति सानु ? मैले मनमनै भनेको मुखबाट फुत्तै सबैले सुन्ने गरि आवाज निस्किएछ । अरुले सुनेकी भनेर दायाँ बायाँ हेरेको । सबै रेडियो सुन्ने ध्याउन्नमा रहेछन् । कसैले सुनेनछन् भनेर ढुक्क भयो ।
अब चाहिँ रेडियोभित्र मान्छे, बाजा आदि हुन्छन् भन्ने मेरो विश्वास पूर्णरुपमा टुट्यो । तर यसभित्र के त्यस्तो अद्भुत चिज छ जसले यति मिठो आवाज निकाल्न सकेको होला भन्ने कौतुहलता चाहिँ अझै बाँकि नै रह्यो । म रेडियो सुनेर त्यहाँ निकैबेर बसें । रेडियो नजिक जाने मौका मिल्छ कि भनेर बेलाबेला प्रयत्न पनि गर्दै गरें । अरु पनि केही केटाकेटीहरू त्यसरी नै रेडियो नजिक जान जम्जमाइ रहे । तर जतिपटक कोशिस गरे पनि उता जानु हुँदैन भन्दै ठूला मान्छेहरूले बिचैमा छेक्न छोडेनन् । रेडियोले विज्ञापन, छलफल, गीत, नाटक, पालैफेरो विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दै गयो । तर त्यसदिन टाढैबाट सुन्नु बाहेक छेउ छाउमा छुन, सुमसुम्याउन कतिबेलै पाइएन ।
त्यसको केही दिनपछि चतुरे बजारमा अर्को एउटा लाहुरे रेडियो घन्काउँदै आयो । उसका पछिपछि गाउँभरिका केटाकेटी माहुरी जस्तै झुम्मियौं । रानोलाई माहुरीले घेरेजस्तै उ जताजता जान्छ, केटाकेटीहरू पनि त्यतैत्यतै दौडियौं । त्यो लाहुेर घरि स्कुल छेउ पुग्थ्यो, घरि ग्राउण्डको पल्लो छेउको दोकाननेर उभिन्थ्यो, एकैछिन्मा पञ्चायत अफिस छेउको चौतारोमा आइपुथ्यो । उ जता गए पनि हाम्रो लर्कोले उसलाई पछ्याउन छोड्दै छोडेन । तर त्यहाँ पनि छेउमा पुगेर छुन चाहिँ कसैले पनि पाइएन ।
त्यसै सालको दशैंतिर मैले आफ्नो मावलमा मामाले रेडियो ल्याउनु भएको छ भन्ने कुरा चाल पाएँ । मलाई कतिबेला मामा घर पुगौं जस्तो भयो । कुर्दा कुर्दा बल्ल टिका लगाउने दिन आयो । बुबाआमाहरूसित खुशी हुँदै मामा घरतर्फ लागें । घरबाट हिँडेदेखि दौडेको एक घन्टा म मामाघर नपुगुन्जेल कहिँ पनि नअडिइ दौडिरहें । बाटामा बुबा आमा दिदीहरू कसैले पनि भेट्न सकेनन् ।
टाढैबाट सुनियो, मामा घरमा रेडियो घन्किरहेको थियो । मेरो पहिलो काम त्यहाँ पुगेर त्यसैलाई छुने भयो । ठुला मान्छेहरू सबैले चलाउन निषेध गरे । त्यहाँ मैले रेडियोलाई नजिकैबाट हेर्न र एक दुइ पटक झुक्याएर सुममुम्याउन समेत पाएँ । एक दुइ पटक नचला नचला भन्दा भन्दै रेडियोको स्टेशन मिलाउने ट्युनिँग घुमाइदिएँ र समाचार बज्दै गरेको रेडियै बन्द भयो । रिसाएर मामाले नराम्रो खप्कि दिनु भयो । अरुबाट समेत गाली थपियो । अर्को एक पटक अन अफ गर्ने कि घुमाएर पनि रेडियोको आवाज नसुनिने गरि सानो बनाएँ । एरियल तान्ने र बन्द गर्ने तरिका पनि मामाले चलाएपछि थाहा भयो । बीचबीचमा नगर नगर भन्दाभन्दै मैले दुइचार पटक एरियल तान्ने र बन्द गर्दै गरेर सिपालु भएँ ।
मावलमा चारपाँच जना मेरै उमेर हाराहारिका एकनासे केटाकेटीहरू थिए । साँझ पखको समय आयो । रेडियोले “आउ भाइबहिनीहरू हो रेडियो नजिक आउ” भनेर सबै केटाकेटीलाई नजिकै बोलाएको सुनेर मावलमा भएका हामी सबै केटाकेटीहरू रेडियोका वरिपरि झुम्मियौं । रेडियोले बाल कार्यक्रममा गीतहरू, गाउँखाने कथा र अर्को एउटा दन्त्य कथा पनि सुनायो । यो सुनेर मलाई कम मज्जा र अचम्म लागेन । एक दिन मात्र बसेर म भोलि पल्टै घर फर्कनु पर्यो । मलाई त्यसदिन मामा घरभन्दा रेडियो छोड्नु परेकोमा धेरै दुख लाग्यो ।
अर्को वर्ष हाम्रा बुबाले हामी सबैलाई अचम्मित पार्दै घरमै एउटा रेडियो ल्याउनु भयो । अब भने रेडियो खोल्ने, बन्द गर्ने तरिका पनि मैले घरमै राम्रैगरी सिकें । एउटा स्टेशनबाट अर्कोमा सार्ने, मन परेका स्टेशनहरू खोजी गरी ट्युनिंग मिलाउने पनि तरिका आयो । मलाई क्यै गरे पनि चित्त नबुझेको र कौतुहलताको कुरा चाहिँ त्यति सानो बाकस भित्रबाट त्यत्तिका धेरै मान्छे, अनेक किसिमका बाजाहरूको आवाज चाहिँ कसरी आइरहेको होला भन्ने भइरह्यो ।
रेडियो बुबा आमा घरमा भएको बेला बजाउने र अरुबेला बाकसमा लुकाउने गर्नु हुन्थ्यो । एक दिन कामतिर जाँदा रेडियो बाकसभित्र थन्याउन बिर्सिनु भएछ । कोही नभएको बेलामा मैले रेडियो मूल ओछ्यानमा भेटें । बहुत खुशी भएँ । रेडियो भित्र कसरी यत्तिका मान्छे, बाजाहरू, केटाकेटीहरू बोलेको सुनिन्छ भन्ने खुल्दुली मेट्न रेडियो उघारेर हेर्ने निधो गरें । रेडियो बोकेर बाहिर खाटमा आएँ । तर कसरी उघार्ने भन्ने कुराको ज्ञान चाहिँ भएन । व्याट्रि राख्न र झिक्न जानेको थियो । सबैभन्दा पहिला व्यट्रिहरू झिकें ।
अब आफ्ना घरमा भएका घरेलु औजारहरू एक एक गर्दै प्रयोग गर्न थालें । मैले पुन्यु ल्याएँ, त्यसले खोल्न अलिबेर कोशिस गरें । सकिनँ । त्यसपछि डाडु ल्याइ हेरें, भएन । चुलेसी, कर्द, चक्मक, खुकुरी, खुर्पा, पालै पालो प्रयोग गर्न कोशिस गरें । तर क्यै गरे सफल भइनँ । अन्त्यमा रेडियोको अगाडिको भाग र पछाडिको भाग जोडिएको ठाउँ पत्ता लाग्यो र त्यसै ठाउँमा खुर्मिको चुच्चो घुसारें र लोहोरोले बेस्सरी ठोकें । दुइ चार पटक ठोकेपछि खुर्मिको टुप्पो भित्रपट्टि छिर्यो र पेच कस्ने ठाउँहरू चर्किएर फुटे । अब भने रेडियो अगाडिको भाग र पछाडिको बिर्को दुइभागमा छुट्टियो । वाह ! आफ्नो मिसनमा बल्ल सफल भइयो भन्ने लाग्यो । उघारेर हेरें । भित्रपट्टिको पुरै भाग देखियो । तर भित्र हेर्छु त कुनै कुरा बुझि नसक्नु , कहिल्यै नदेखेका रंगी विरंगी, किरिँग र मिरिँग तान्द्राङ् र तुन्द्रुँग देखेर तिरिमिरी भयो । अब कुनले मादल बजाउँछ ? कुनले नर्सिँगा फुक्छ । दमाहा र ट्याम्को कुन हो ? सनाइ कता छ ? बिहान शंख घण्ट डम्मरु बजाएर आरति पनि सुनेको हो । कुनले शंख बजाउँछ ? कुनले डम्मरु र घण्ट ? समाचार भन्ने कुन हो गीत गाउने कुन हो ? कथा भन्ने कुन हो ? कुन केटी ? कुन केटो अनि बच्चा र ठूला मान्छेहरू चाहिँ कुन हुन् त ? सबै कुरा बुझिनसक्नु भयो । अब धेरैबेर यसरी हेरिरहन मनले मानेन । रेडियोको पछाडिको बिर्को हतार हतार बन्द गरें । तर जति नै बल गर्दा पनि अब यो अघि जस्तो टपक्क टाँसिएर अडिएन । क्यै उपाय नलागेपछि घर भित्र छिरें । आमाको काठको बाकस उघारेर हेरें । त्यहाँ आमाको साडी भेट्टाएँ । त्यसले बेस्सरी बेरें र त्यही बाकसको एक कुनामा थन्क्याइ दिएर आफूले क्यै थाहा नपाए जस्तो गरी बाहिर आएर खाटमा चुपचाप बसें । अब आज मजाले चड्कन चिउरा खाइने भइयोे भन्ने डरले होस् हवास् गुम्यो ।
मेलापात काम सकेर बुबा आमा दिदीहरू साँझ झमक्क पर्दा मात्र आइपुगे । बुबा आएर हातखुट्टा धोएपछि पहिलो काम रेडियो खोज्ने भयो । बाकसमा खोज्दै जाँदा साडीले बेरेको भेटियो । कसले गुन्ठुन्याएछ गुन्युमा भन्दै बुबाले हतारहतार फुकाउने हुँदा रेडियो दुइ फ्याक भएर भुईंमा खस्यो । राम राम राम लौ बिताएछ भन्दै बुबा मुर्मुरिनु भयो र भन्नु भयो, अब यसको पाता नफर्काइ भएन । मारमुँग्री खाइने भइयो भन्ने बुझेपछि मैले तुरुन्तै कुलेलम ठोकें । कता गयो त हँ भन्दै बुबा निस्किनु भएछ । एक जना दुइजना गर्दै काका दिदीहरू सबै मेरै खोज तलासीमा लागेछन् । गाउँ घर मावल कताकता खोज्न गए कुन्नी । रातभरि खोज्दा कसैले भेट्टाएनन् । आमाको रुवाबासी रोकिएन छ । बेलुकाको भान्सो पनि त्यत्तिकै भयो रे । सबैको निद हराम गराइ दिएँ । विहान बल्ल भातखाने बेलामा फुत्त निस्किएँ, बा घरको बुँइगलमा लुकें रातभर । गाली गर्नु कि मायाँ गर्नु बुबा, आमा, सबै त्यसै थच्मरिनु भयो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest