उत्तमकृष्ण मजगैयाँससुरालीको निम्तो
मलाई गाउँले झगडाको मध्यस्थता गर्न सक्ने मात्र होइन, सुन्तली जस्ता नुनिलो आँसु एवं उर्दीका माछा, कुरौनी र केरा पचाउन सक्ने क्षमता पनि त पैदा गर्नु छ नि !

उत्तमकृष्ण मजगैयाँ :
गइराख्दा सम्मान घट्छ भन्ने त्रासले म ससुराली जाने कुरामा तर्सन्थेँ । तर ससुराको गुनासो भरिएको लामो पत्र पाउँदा यस पल्टको दसैँमा ससुराली नगइ सुख्खै नपाइने भयो । फेरि, पत्नीज्यूको ‘मेरो माइतीलाई पहाडी काँठे भनेर हेपेकाे होइन ? मैले पनि बुझेकी छु’ भन्ने घुर्की सुन्नासाथ मेरो अन्तर्विरोध ‘फुलस्टप’ भयो । पत्नी चाहिँ आफ्नो सही तीर-निशाना देखेर मख्ख परिन्, म भने तीन-चार हजारको चोट हुने देखेर रन्थनिएँ । जे-जस्तो भए पनि बूढा-पुराना जिम्मावाल, साहू कहलाएका, बुज्रुक ठहरिएका, म लुरे-झुत्रे भएर कसरी उनको सम्मान घटाउनु ? नयाँ कपडा बने, बुट-टाई आयो, पत्नीको निम्ति सारी एवं मेकअपका सामान थुप्रे । ससुराली-निम्तो खाएर आएपछि बरु गम खानुपरोस् तर अहिले त रिन लाएर पनि तामझाम त मिलाउनु नै थियो, किनभने म प्रथम पल्ट ससुराली जाँदै थिएँ । येनकेन प्रकारेण हाम्रो ‘ससुराली यात्रा’को तयारी पूरा भयो।
पहाडको बाटो । नथाक्दासम्म चारैतिरका मनोरम दृश्यावलीले लोभ्याए, तर थाक्दा बूढासँग रिस उठेर आयो । अरू कतिपय बुद्धिमान्हरूले गरेजस्तै पहाड छोडेर तराई-वेंसीका फाँटहरू किनेका भए ? शहर-बजारमा बिल्डिङहरू नबनाएर बूढा किन पहाडमै चेप्टिए होलान् ? आफूलाई यो विधि उकाली ओराली गर्नुपर्ने त थिएन नि । तर झलक्क सम्झना आयो, बूढा पहाडसँग चेप्टिएका होइनन्, बरु उनले पहाडका खण्ड-खण्डमा, गाउँ-गाउँमा लिसो फन्दा थापेका छन् । कुन बेला कसको उड्ने पखेटा चेप्टेर ठहरै पर्ने हो थाहा छैन, किनकि आलोचना गर्नेहरू उनलाई ‘झिङाको बोसोमा पहाडको पसिना मिसाएर बेच्ने ज्यानमारा’ भन्थे । तर बूढा चाहिँ आफूलाई प्रजापालक ठान्थे, किनभने कसैलाई नाङ्गो रहन दिएका छैनन्, भोको रहन दिएका छैनन् । दुवै आफूलाई आआफ्नो ठाउँमा ठीक ठान्थे भने गलत को थियो त ? शायद गलत त यिनै विद्यालयमा पढाउने दुई-चार जना शिक्षक थिए जसको अव्यावहारिक शिक्षाले नाङ्गो मात्र देख्छ, थानका थान कपडा बाँडेको देख्दैन । भोको मात्र देख्छ, गहुँ, चामलका बोराहरू घर-घर, छाप्रा- छाप्रा पसेको देख्दैन । अब यति उदार साहुलाई कसैले माछाको पेरुङ्गो, घिउ-मह अथवा खसी बोका ख्वाउँछ भने कसैको गिदी किन दुख्छ ? उनीहरू पनि त उपदेश बेचेर धन बटुल्छन् नि ।
साँझको झन्डै सात बजेतिर मात्र हामी पति-पत्नी थकाइले चूर हुँदै, घर्सदै पर्सदै झिङटीवाल ससुराली घरको पिंढीमा झोला बिसाउन पुग्यौँ । सासू-ससुराको ढोग पाइयो, सर्वत टन्न खाइयो अनि मात्र कुरा ओकल्न मुख बाइयो। सञ्चाे-बिसञ्चाेकाे भलाकुसारी भयो, खानापछि ल्वाङ-सुपारी भयो । विछौनामा गुडुल्केपछि बूढा आफ्नो व्यापारको बिग्रँदो स्थिति- धन जाम भएको शोक मनाउन ‘हाय-हाय’ गर्न थाले । म पेटमा खाना पर्नासाथथ निद्राले ‘हाई-हाई’ गर्न थालेंँ। बूढा कुनै दर्शन छाँट्दै थिए तर शायद अब म घुर्न थालिसकेथेँ ।
विहान अलि अबेर उठिएछ । म उठ्दा त्यहाँ चहलपहल निकै बढिसकेको पाएँ। लुङ्गी कस्दै म बाहिर आँगनमा निस्कँदा त्यहाँको दृश्यले दङ्ग पार्यो । खसी ढलिसकेछ । कोही मासु काट्दै थिए, कोही सुकेको ओठ चाट्दै थिए । मलाई देख्नासाथ ससुरा परैबाट निहुरिँदै मेरो गोडा समाउन आइपुगे । त्यसपछि त रोलक्रम नै बन्यो । ‘भो-भो’ भन्दा भन्दै पनि सत्र जनाको ढोग खाइयो । म त जिम्मावाल साहूको ज्वाईं तसर्थ साहूका नातागोताको पनि ज्वाईं एवं साहूका असामीहरूको पनि ज्वाईं। म सोचले घट्दा-घट्दा आफूलाई वामपुड्के नै ठान्न थालेँ तर यसै दृश्यलाई मेरी पत्नीका आँखाले पछ्याएको देखेँ । त्यसमा गौरवको भाव थियो एवं आँखाको कुनामा नजानिदो धम्की पनि थियो- ‘देख्यौ हाम्रो माइतको रवाफ । अब घर फर्केपछि मेरो इशारामा उठबस नगर्नु त ।’ मैले उनको नजरको ताप सहन गर्न सकिन र तत्काल आँखा फेरेँ ।
दूधको गबुवा, दहीको ठेकी-कहतारो, पाकेको मालभोग केराको सिङ्गै घरी, तरकारी सागपात आदि कताकताबाट आउँदै भित्र पसिरहेका थिए । म बूढाको प्रभाव एवं आफ्नो भव्य स्वागतको व्यवस्था देखेर दङ्ग परेँ। विवाहपछि प्रथम पल्ट ससुराली आएका ज्वाईं हुन् ठट्टा छ ? कतै कुनै कमी नरहोस् । बूढा स्वय निर्देशन दिँदै घुम्दै थिए, ‘ए जगबीरे ! कागती र सुन्तला तेरो जिम्मा । ए कटुवाले ! यता सुन्, तल्लाकोटे घर्तीहरूलाई उर्दी दे- भोलि बिहानको सबै दूधको कुरौनी आउनुपर्छ, साँझको दही जमाउन लाउनु, बुझिस् ? खै, बाँसबोटे माहिलो आएन ? खर्क गएको छ ? माछाको लागि ? ए ठीक छ। ए खत्री कान्छा ! लौ, एक धार्नी घिउको व्यवस्था गर् छिटो । आजै खारेको ताजा हुनुपर्छ नि । मङ्गली भाउजूकहाँ पनि पस्नू, मह काढेको छ भन्थिन्, भाँडैसित ल्याउनू । रामबहादुर ! यो आँगन र गल्ली बढार्न लगा। पानी छर्कनु है ।’
मलाई यो सबै मेरै लागि हो भनेर सोच्ने साहससम्म रहेन । यो त देश डोऱ्याउने कुनै ठूलो नेता वा मन्त्रीको स्वागत-तयारीका लागि साधारण जनताले पाएका उर्दीहरू जस्तो पो लाग्यो । तर म सामान्य व्यक्तिको लागि हुन थालेको यो असामान्य स्वागतले मलाई खलबलाइदियो तर केही बोल्नु भएन एवं यसलाई आफ्नो अधिकार मान्नुपर्यो किनभने म त जिम्मावाल साहूको एकमात्र ज्वाइँ थिएँ।
रेडियो नेपालबाट बिहानको समाचार आउन थाल्यो । सोमालियाको भोकमरी, भूटानी शरणार्थी समस्या, बोरिस यल्त्सिनको सङ्कट, भारतको मन्दिर- मस्जिद विवाद आदि उनै पुराना समाचारहरू थिए । तर बूढा बडो गहिरिएर समाचार सुन्दै थिए । मलाई खुशी लाग्यो कि बूढा अन्तर्राष्ट्रिय समस्याप्रति अभिरुचि राख्छन् । तर ‘यो सोमालियाको सङ्कट क्या हो ?’ अथवा ‘सोभियत सङ्ग किन टुक्र्याे ज्वाईं ? आदि उनका प्रश्नले पोल खोलिहाल्यो । म प्रश्नहरूको उत्तर भट्याउन थालें तर उनी गाउँलेतिर गौरवले हेर्दै मानौं आँखैआँखाले भन्न थाले- ‘देख्यौ ज्वाईं त छानेकै हुँ लाखौंमा एक ।’ अशिक्षित गाउँलेहरूमाथि मेरो विद्वत्ताको प्रभाव नपर्ने कुरै भएन ।
यत्तिकैमा एउटी दुब्ली, निन्याउरी, गोडा तीसेक वर्षकी आइमाई आफ्नो काखमा सुकेनासले हाडछाला मात्र भएको दूधे बालक बोकेर आँगनसम्म आइपुगी । उ केही क्षण मौन-स्थिर त्यसै उभिराखी । बुढाका आँखा उसमाथि पर्नासाथ केही भन्न खोजी तर बूढाले तत्काल प्रश्न गरे, ‘सुन्तली ! तेरो पोइ आयो ?’ सुन्तलीले ‘अहं’को भावमा टाउको हल्लाइदिई । ‘दसैंमा आउने कुरा लेखेकाे लेख्या थिएन र ?’ बूढाले पुन: साेधे । उनकाे प्रश्नकाे उत्तरमा सुन्तली केही बाेल्न खाेजी, तर उसकाे बाेली निस्केन । सुकेकाे घाँटीलाई थुकले भिजाउने प्रयास गर्दै ‘हाे’ काे भावमा टाउकाे हल्लाइदिई । बूढाका आँखा एक क्षणको लागि उज्यालिए । भने, ‘तिर्ने भाखा कसरी टार्ला ? भरे-भोलिसम्ममा आइपुग्छ होला ।’ शायद सुन्तलीलाई आफ्नो पोइको प्रतीक्षा भएभन्दा बढी बूढालाई त्यस लाहुरेको तीव्र प्रतीक्षा थियो । साउँको, व्याजको, कोसेलीको प्रतीक्षा थियो ।
एक क्षणपछि बूढाले आँखा चिम्स्याएर सुन्तलीलाई हेरे र सोधे, ‘तँ किन आइस् त एकाबिहानै ?’ सुन्तलीका आँखामा पहिले बादल देखियो, पछि वर्षा । काखको छोरोलाई बूढातिर तेर्स्याउँदै भनी, ‘यी ल हेर्नुस् साहू । हाडछाला मात्र भइसक्यो । कागती बेचेको पचासेक रुपियाँ लिएर बेंसी अस्पताल पुऱ्याएकी हुँ । दुई थरी सेता र राता गोली द्या’छ । सुई लाउनु पर्छ, सिसीको झोल औषधि ख्वाउनु पर्छ, दूध, माछा- मासु ख्वाउनु पर्छ भन्थ्यो । पैसा नपुगेर औषधि किन्न पाइनँ । दुई सय रुपियाँ जति माग्न आएकी हुँ । यसका बाबु आएर तिर्ने नै छन् ।’ सुन्तलीले कुनै नाटककी पात्रीले रटेको संवाद झै एकै सासमा बयान गरी । तर बूढाले तत्काल कुरा फर्काए, ‘केको पैसा भन्छे यो ? मसँग पैसाको रूख छ भन्ने ठान्या छौ ? पहिलेकै बाँकी छ, अझ अरू थप्ने भन्छे ।’
‘त्यसो नभन्नोस् साहू । बाँचेर ठूलो भयो भने हजुरकै ग्वालो, कारिन्दा हुने त हो नि । यसका बाबुले पनि सानैदेखि हजुरको चाकरी गरेका हुन् । यसलाई केही भइदियो भने म उनलाई के मुख देखाउँला ?’ सुन्तलीले मानौं दयाको भीख मागी।
बूढाले मतिर फर्केर भने, ‘देख्नुभो ज्वाइँ । सबैको यस्तै हो । मेरै खान्छन्, मेरे लाउँछन् तर पिठ्युँपछाडि मेरै कुरा काट्छन् वैगुनी मोराहरू ! तर अहिले त मरीकाटे पनि दिन्नँ ।’
सुन्तलीका आँखामा अरू कातरता थपियो । मेरो हृदयमा पनि तितोपन व्याप्त भयो । केही भन्न मुख खोल्ने साहस जुटाउँदै थिएँ, तर मेरा आँखा एकाएक आफूसँग भएको एकमात्र गहना- कानको मारवाडी- फुकाल्दै गरेकी सुन्तलीमाथि परे । बूढातिर हेरें- उनको आँखामा हिंसक चमक थियो । त्यसको पन्ध्र-वीस मिनेटपछि सुन्तली एक सय रुपियाँको नोट लिएर आँसु पुछ्दै जाँदै थिई । काखको छोरो चाहिँ ती घात-प्रतिघातबाट अनभिज्ञ वैंसमै सुक्न थालेका आमाका दूधका लाम्टा चुस्न व्यस्त थियो ।
घटनाको प्रभावबाट मुक्त हुन पाएकै थिइनँ, भान्छा तयार भएको खबर आयो । भुजा ज्युनार गर्न जानुभन्दा पहिले मलाई एक्लै पारेर बूढाले सोधे, ‘अलिकति चल्छ कि ज्वाईं ?’ कुरा पटक्कै नबुझेकोले उनको अनुहारतिर हेरें- त्यहाँ कौतुकमय उज्यालो थियो । ‘के ?’ मैले सोध्नै उचित ठानेँ । उनले मुठ्याएको दाहिने हातको बूढीऔंला मुखतिर औल्याउँदै भने, ‘घरमै बनाएको शुद्ध चोखो ! आफूले त अलिकति नचढाउँदा बातै मार्न सकिँदैन ।’
मैले अस्वीकृतिको भावमा टाउको हल्लाइदिनासाथ उनी फड्कँदै भऱ्याङ उक्ले, म तलै उनको प्रतीक्षा गर्न थालेँ । केही बेरपछि नै मुख पुछ्दै उनी तल ओर्ले ।
दुवै भान्छाकोठामा गयौँ। सासूले निधारमा राता अक्षता टाँसिदिँदै एउटा बन्दी खाम पक्डाइदिइन् जुन मेरी पत्नीले मेरो हातबाट खोसेझै गरेर लगिन् । सासूको अनुहारतिर हेरेँ- नाक-कानका गहना र गलाको हार, एक हातका औंलाहरूमा भएका लहरै औंठीहरूले छरेको प्रकाशमा सुन्तलीको रक्तहीन पहेंलो अनुहार नाच्न थाल्यो । मासुको चोक्टाले सुकेनासले चाउरिएको छाला सम्झाइदियो । मलाई केही खान मन लागेन तर बूढा मेरा भागमा उपदेशहरू थप्दै थिए- ‘कति पड्काइन्छ ज्वाईं ? दुईचार लामो हात नमारेर कसरी गृहस्थी चलाउने ? कसरी इज्जत र रवाफ बढाउने ? बरु यो मन्त्रालय छोडेर अर्थमन्त्रालयतिर पो सर्नु पर्यो । म मन्त्रीलाई चिट्टी लेखिदिउँला । सिङ्गै चारोटा खसी डकारेर गएका छन् । कति सहयोग पुऱ्याएको छु यस पालिको चुनाउमा । तमसुकको हतकडी, अन्न र कपडाको नेल लगाएर सबैलाई थर्काइदिएँ ।’
यस्तै, कहिले गाउँलेहरूको झगडा मिलाउँदैमा दिन बित्यो त कहिले बूढालाई विभिन्न राजनीतिक सिद्धान्त सम्झाउँदैमा रात। कहिले अब्राहम लिङ्कन, मार्टिन लुथर किङ्गको जीवनी एवं कहिले लेक वालेसाको व्यक्तित्व र कार्यको परिचय दिँदैमा हैरान परियो । मधुमेहको उपचार र पथ्यापथ्य, वात र दमको कारण र निवारण, भूटानको क्रान्ति, नेपालको क्रान्ति आदि सम्झाउँदा सम्झाउँदै थाकियो । फेरि बूढालाई चासो पनि कति ? नेपालको व्यवस्थादेखि पकिस्तान, श्रीलङ्का र रूसको अव्यवस्था, कम्प्युटर र रोबोटदेखि तारा-युद्ध, गान्धीदेखि गौतम बुद्ध, साईंबाबा र रजनीशदेखि खप्तड सिद्धसम्मको जानकारी चाहे बूढाले मबाट ।
म पनि कम कहाँ थिएँ र ? एक्युपञ्चर र सी.आई.ए., मोनालिसा र डी.वी. लामासम्मको कुरा धाराप्रवाह फलाक्न थालेँ । सत्य-असत्यको सीमालाई लछारेँ । भए-नभएको ज्ञान बघारें । अशिक्षित गाउँलेहरू र अलिकति चढाएको बूढाछेउ साँचो-झुट्टोको पहिचानको कुरै थिएन । आफ्नो छेउको गाउँलेको कानमा बूढाले सुस्तरी भनेको पनि टड्कारो सुनियो- ‘मदिसे पट्ठोलाई त्यसै पचास हजार खन्याएको हुँ र ? माल छाटेको छ, माल ! हैन त ? यो मेरो प्रशंसा हो कि अवमूल्यन ? बुझ्न नसकेकोले म पक्क परेँ ।
दसैँ-टीकाको भोलि पल्टै नाना थरी बहाना गरेर म ससरालीबाट बिदा भई ओरालो लागेँ । सोझै घर नगई बजार पसेर प्रथमतः ज्ञान-विज्ञान, दर्शन र साहित्य, न्याय-कानून, इतिहास-भूगोल, विभिन्न रोग र तिनका उपचार पद्धति आदि पुस्तकहरू किनेर ल्याएँ । अब म उपर्युक्त पुस्तकहरू पढ्ने समयसारिणी बनाउदै छु एवं जबसम्म बुढाका विविध प्रश्नहरूकाे सही उत्तर दिन सक्ने क्षमता हासिल गर्दिनँ तबसम्म म पुनः ससुराली जान्न । मलाई गाउँले झगडाको मध्यस्थता गर्न सक्ने मात्र होइन, सुन्तली जस्ता नुनिलो आँसु एवं उर्दीका माछा, कुरौनी र केरा पचाउन सक्ने क्षमता पनि त पैदा गर्नु छ नि !
०००
धराेधर्म हजुर (२०५४)
Subscribe
Login
0 Comments
Oldest






































