पराशर रिजालयसरी डल्लाे पर्याे मेराे नयाँ नाना
अब त्यो त्यहिँ कुहिन्छ र बुबाले पनि थाहा पाउनु हुन्न भनेर ढुक्क भएँ । कहाँ कुहिनु ! पछि खाल्डोबाट मल निकाल्दा फेरि त्यहि गुजुमुज्जु परेको कमिज जस्ताको तस्तै भेटियो र बुबाको खप्कि खानु पर्यो ।

पराशर रिजाल :
म आठ वर्षमा टेक्दै थिएँ । बुबा अचानक धरान जाने हुनु भयो । म पनि घरमा क्यै सल्लाह सहमति नगरि, लिँडेढिपी गर्दै, बुबासँगै पछिपछि लागें, पुरानो दौरा र कट्टुको भरमा, चार दिनको लामो बाटो, लखरलखर । धरान आइपुगेपछि मेरो लागि कपडा सिलाइदिने बिचार गर्नु भएछ बुबाले । आफ्नो मनभित्रको कुरा बुझेजस्तै लाग्यो । बुबाले सरासर धरान पुरानो बजारका माडबारीको पसलमा लैजानु भयो । कस्तो कपडा रोज्ने त ! बुबाले सुतिको घरेलु कपडा सिलाई दिनु पर्ला भनेर दुइतिन रंगको राम्रो कपडा हेर्नु भएछ । मेरो भने ध्यान अन्यत्रै थियो, शहरहरुमा त्यतिबेला चल्तिको फेसन धर्से स्ट्रिपवाला टेरलिनको कमिज र पाइजामातिर । यो फेसन धरान, धनकुटा, जिल्ला सदरमुकाम र फाट्टफुट्ट रुपमा आफ्नो गाउँतिर पनि देखिन थालेको थियो । धरानका युवायुवतीहरुले टेरलिन कपडाको प्रयोग छ्याप्छ्याप्ति गरेको देखेर यस पटक यस्तै कपडामा ठाँटिएर गाउँ घर, शहर बजार घुम्न, हिँड्न पाए आफ्नो पनि निकै शान बढ्ला भन्ने लाग्यो ।
कस्तो कपडा लगाउने मन छ, लौ रोज त बाबु ! भनेर व्यापारी साहुजीहरुले पुरानो बजारमा मलाई सिँगै पसल जिम्मा लगाइ दिएर उनीहरु गफगाफतिर मस्त भए । विभिन्न किसिमका रंगीचंगी कपडाहरु भएको तिनतलाको ठूलो त्यो पसलले म फुच्चेको आँखा निकैबेर तिरमिर्यायो, मन असाध्यै तुलबुल भयो । घरी साडीको जस्तो कपडा समातें, घरी झुल, चोली जस्तो । तीनैवटा तला चहारें । अन्त्यमा, मैले हिजै मात्र धरानका युवाहरुले लगाएको देखेर मन पराएको नयाँ फेसनको पारदर्शक कपडा एउटा कुनामा टुप्लुक्क देखापर्यो, टेरलिन । बेरेर ठड्याएको रहेछ । हो यहि हो मैले खोजेको कपडा भन्ने लाग्यो र अरु सबैलाई पन्छाउँदै त्यहि कपडा झिकेर ल्याएँ र भनेँ– लु यै मन पर्यो । फिलफिले कपडा…. । ए ! यस्तो कपडा काम लाग्दैन भन्दै बुबाले त्यसलाई पन्छाएर आफूले रोजेका कपडाहरु देखाउनु भयो । मैले मान्दै मानिन । संझाउने कोशिस गर्नु भयो । उहाँको केही लागेन । अड्डी कसेर आफूले रोजेको त्यही कपडा किन्न लगाई छोडें ।
मैले त्यतिबेला कल्पना गरेको थिएँ, अब यो कपडा सिलाएर लगाउँछु । झट्ट बाहिरबाट हेर्दा म पनि शहरीया जस्तो हुनेछु । धरानकै स्थायी बासिन्दा भन्दा कुनै हिसाबले कमजोर देखिने छैन । यो लगाएर गएपछि गाउँघरमा पनि आफ्नो सान निकै बढ्ने छ । यसरी मनमनै दङ्ग परें । तत्काललाई लगाउन पाइजामा र सुरुवालको समेत त्यतिबेलै बन्दोबस्त भयो । टेरलिनको कपडा तत्काल सिलाइएन । केही दिनपछि हामी घर फर्कियौं । पछि दशैं छेक पारेर गाउँमै सिलाउन दिइयो ।
त्यो बेला वर्षमा एक पटक दशैं तिहार चाड पर्वमा मात्र नयाँ कपडा सिलाउने चलन थियो । यहि कारण दशैंतिहारको बेला सुचिकारलाई पनि भ्याइ नभ्याई पार्थ्यो, किसानलाई असार पन्द्रले गाँजे जत्तिकै । हामी केटाकेटीहरु नयाँ लुगा सिलाउने भनेपछि हुरुक्कै हुन्थ्यौं र कपडा सुचिकारलाई दिएका दिनदेखि हाम्रो ध्यान अन्यत्र कतै हुँदैनथ्यो । मौका मिल्नासाथ सुचिकारका घरमा गएर आफ्नो कपडा छिटो सिलाइदिन ढिपी गर्दै उनीहरुको वरिपरि गाँड लाग्दथ्यौं । नयाँ कपडा पाइने आशाले सबै केटाकेटीले धेरै अघिदेखि दशैं आउने दिनको गन्ति गरिरहेका हुन्थ्यौं ।
मेरो कपडा सुचिकारले केही दिनपछि मात्र सिलाउन भ्याउने कुरा गर्यो । म भने कपडा सिलाउन दिएको दिनदेखि दिनभर दिनभर कपडा कतिबेला सिलाई दिन्छ र लगाउनु भन्ने छटपटीले सुचिकारकोे सिकुवामा ढुकेरै बस्न थालें । दिनमा खाना खाने बेला बाहेक मैले सुचिकारको घर छोड्दै छोडिनँ । उता सुचिकारलाई भने सास फेर्ने फुर्सद थिएन । दशतिरबाट कपडाहरु ओइरिएको ओइरियै थिए । म बिच बिचमा मेरो लुगा छिटो सिलाई दिनोस् भनेर अनुनय विनय गरिरहन्थें । मेरो बारम्बारको कचकचबाट वाक्क दिक्क भएर एकदिन सुचिकारले बेस्सरी हप्काउँदै भन्यो, अब नबोलाई यहाँ आएको देखें भने यस पटकको दशैंमा तिम्रो कपडै सिलाइ दिन्न । यस्तो धम्की पाएपछि, भने मेरो सातोपुत्लो गयो । अब पर्यो फसाद । उसको सामुन्ने देखा पर्न डरमर्दो भयो । तर डराइ डराइ अरु नै कुनै निहुँ पिउँले टाढैबाट लुकेरै भए पनि चियो चर्चो चाहिँ गर्दै गरें ।
त्यतिबेला मलाई लाग्थ्यो, यो सुचिकारको छोरा हुन पाएको भए त कति मजा हुन्थ्यो । दिनैपिच्छे नयाँ नयाँ, राम्रा राम्रा लुगाहरु लगाइन्थ्यो । यसरी लुकिलुकी दुःख गर्नै पर्दैनथ्यो । कपडा सिलाएको पनि नजिकै बसेर निस्फिक्री देख्न पाइन्थ्यो । सिलाई मेसिनमा कसरी धागो लगाउने, कसरी तल र माथि धागो दुवैतिरबाट सिउँछ सबै कुरा थाहा पाइन्थ्यो । रंगिबिरंगी टालाहरु जोडेर कसरी लुगा बनाउने त्यो पनि मजाले देखिन्थ्यो । थैलीको मुख बन्द गर्ने र खोल्ने तरिका जानिन्थ्यो । थैलीमा डोरी कसरी लगाउँछन् त्यो बुझिन्थ्यो ! यस्तो सोच्दै बेलाबेला म कल्पनामा हराउँथें । उता बिडम्बना चाहिँ यसको ठिक बिपरित थियो न त सुचिकारका छोरा छोरीहरुका कपडा नयाँ र सद्धे हुन्थे । न त कसरी सिलाउने भन्ने नै उनीहरुलाई ज्ञान हुन्थ्यो । टाउकादेखि खुट्टासम्मका कपडाहरु सबै नै बहुरंगी छोटा छोटा टालाहरु गाँसेर बनाइएका एकतमासका ध्वजा पताका जस्तै देखिन्थे । सुचिकारको परिवार अरुका कपडा सिलाएर उभ्रिएका टालाटुली गाँसेर थैली र टोपीहरु सिलाउने र त्यसलाई बेचेर आँठो पाँजो खर्च चलाउने गर्दथे । आफ्ना नानी छोराछोरीहरुलाई पनि यस्तै टालाटुली मिलाएर भोटो, दौरा, सुरुवाल बनाइदिन्थे । मलाई भने यस्तो डिजाईन निकै लोभ लाग्ने हुन्थ्यो ।
धेरै दिनको पर्खाईपछि दशैंको ठिक अघिल्लो दिन साँझमा लोटा लिएर पानी लिन धारामा गएको थिएँ, सुचिकारकी श्रीमतीसँग जम्काभेट भयो । मलाई देखेर उनले भनिन्, ए साना तिमी ? तिम्रो कपडा त तयार भैसक्यो, भोलि घरमा लिन आउनु है । म उनको कुरा सुन्ना साथ बुर्लुक्कै उफ्रि हालें । कहिलेदेखि कपडा लिन बोलाउलान् र जाउँला भनेर कुरेर बसेको, मन थाम्न कसरी सक्नु, हतारहतार भुईंमा कुरा खस्न नपाउँदै म अहिल्यै गैहाल्छु भन्दै दौडिहालें । उनले अन्कनाउँदै अहिले राती भयो नि भन्दै थिइन्, आ राती न साती क्यै हुँदैन भन्दै दौडेर एकै सासमा त्यहाँ पुगिहालें । सिकुवा नजिकै पुगेपछि देखें कमिज सुरुवाल सिलाई सकेर डोरीमा झुण्ड्याएको रहेछ । कुप्पी बालेर सुचिकार सिकुवामा कपडा सिलाइ रहेको थियो । कामको भिडमभिडले सुचिकारलाई बोल्नेसम्म फुर्सत थिएन । उसलाई मानिसहरुले वरिपरिबाट घेरेका थिए । उसैले बोलाओस् भनेर म निकैबेर उभिएँ । उ कामको ध्याउन्नमा थियो । तर उ यति फुर्ति र सिपालु थियो कि उसको मुख, आँखा र कल सवै बराबरै जस्तो चल्दथे । कपडा सिलाउन घरमा आएका मानिसहरुसँग आकाश पातालका कुराहरु गरेर हँसाउँदै पनि थियो । लगाएको चस्माले नाकको डाँडी काट्नै लागेको थियो । चस्मा मिलाउने क्रममा चस्मा भन्दा माथिबाट सुचिकारले मलाई पुलुक्क देख्यो र भन्यो ए साना तिमी आयौ ? लौ तिम्रो कपडा तयार भयो लैजाउ भन्दै हातमा थमाइ दियो । म हातमा कपडा पर्नासाथ बोकेर बेजोडसँग दौडिएँ ।
बाटैमा लगाउँ कि जस्तो लाग्दै थियो, बुबाआमाले गाली गर्नु होला भन्ने डरले बोकेरै आएँ । घरमा पुगें । आमा मात्र हुनुहुँदो रहेछ । हतार हतार लगाएँ र पहिलो पटक आमाको अगाडि गएर भने ल हेर्नु त आमा म कस्तो देखिएँ ? आमाले मतिर हेर्दै भन्नु भयो, ल हेर मरेको धसिँगरे ! के कपडा किनिदिएको होला यस्तो, जम्मै करंग सरँग छ्याँगै देखिने रहेछ । न जाडो छेल्छ न जिउ छोप्छ । आमा गनगन गर्न थाल्नु भयो । राम्रो छ त ! आजकाल सबैले यस्तै कपडा त लगाउँछन् नि भनेर आमाको मुख बुझो लगाएँ ।
मन फुरुँङ्ग भयो । खुशीको सिमा नै रहेन । कपडा लगाएर बा घर, तल्लाघर पल्ला घर र गाउँघर सबैतिर भोलिपल्टै पुगें । नयाँ कपडाले दशैंतिहार घर, मावल, साथीभाइ सबैतिर मज्जाले मार्केट जमायो । साथीहरु म सँगसँगै नारिएर हिँड्न मन पराउन थाले । केही साथीहरुले उनीहरुका बुबाआमासँग मेरै जस्तो कपडा किनिदिनु भनेर उत्पात मच्चाएछन् । उनीहरुका बुबा आमा पनि मेरो कपडा कस्तो रहेछ भनेर हेर्न म भए ठाउँमै आए । चतुरे बजारमा हिँड्दा सबै केटाकेटीले उ त्यस्तै उ त्यस्तै कपडा किनिदिनु भनेर मलाइ नै देखाइरहे । म मख्ख परिरहें । मैले त्यस्तो मन पर्ने कपडा सिलाएदेखि कतिबेलै लगाइरहें । पिंङ खेल्दा, दौडधुप गर्दा, पाँग्रा, डन्डिबियो, टोपी लुकाइ, कक् फाइट खेल्दा, राती सुत्दा समेत लगाएपछि कपडा हेरिनसक्नु भएछ । एकदिन आमाले मेरो कपडा हेर्दै भन्नु भयो, लौ फोहोरले कात्ति भैसकेछ यसका कपडा । खोल् म धोइदिन्छु । म आमाको कुरा मानिरहेको थिइन । उहाँले अझै गहिरिएर हेर्दै भन्नु भयो लौ न नि जुम्राका ढाडीहरुले पनि पुरै घर गरिसकेछन् । तुरुन्तै फुकाल…भनेको भन्दै उहाँ कराउन थाल्नु भयो । मैले नफुकाली धरै पाइन । जबरजस्ती फुकालि दिनु भयो । उहाँले मैलो र जुम्रा दुवैलाई ठीक पार्न खरानी पानीमा मजाले उमाल्नु भयो ।
आज त मेरो मन परेको कपडा धुइँदैछ । आफ्नो कपडा आफैंले धुनु पर्ला भन्ने लाग्यो र म पनि आमा दिदीलाई कपडा धुन सघाउँछु भन्दै उहाँहरु सँगसँगै धारामा गएँ । कहिले न मैले तैंले ! के कपडा धुन्छस् आमाले खिज्याउनु भयो । मेरो ध्यान चाहिँ आफ्नै कपडातिर मात्र थियो । सबभन्दा पहिला कपडा पकाएको खडकुँलाबाट आफ्नो कमिज पखाल्न बिस्तारै निकालेको कमिज त एउटै डल्लो परेर आउँछ बा । अरे, के भएको यस्तो भन्दै तन्काइ हेरें । तानेर ठीक होला भन्ने लागेर अझै बेस्सरी तानेँ । कहाँको ठिक हुनु , छोड्ना साथ फेरि पहिलेकै आकारमा डल्लो पर्यो । मैले मुँग्रोले दुइ चार पटक पिटेर जाँच गरिहेरें अझै त्यो आफ्नो शुरुको स्वरुप र आकारमा फर्किएन । एक पटक उठेर दुइ हातले ताने र बटारी हेरें र फेरि पनि दुइतिन पटक जोडसँग तन्याक तुनुक पार्दा पनि उस्तै भयो । क्यै नलागेपछि आमाले ख्वै एताले भन्दै खोसेर लिनु भयो र तन्काइ हेर्नु भयो । तर फेरि अघिको जस्तै डल्लै परेर बस्यो । उहाँले हतार हतार पखाल्नु भयो भन्नु भयो सुकेपछि पहिलाको जस्तै हुन्छ होला, घाममा लगेर सुका । सुकाएँ । फर्काएँ । तन्काएँ । तर सुक्दा पनि गुजुमुजु भएर उसरी नै चाउरिन छोडेन ।
आफ्ना नयाँ कपडाको यो रुप देखेर मलाई कम दुख लागेन । खुय्य आयो, थचक्कन बसें । त्यतिबेला मलाई त्यो कपडा किनेर ल्याउँदाको दृष्य र घटनाहरु सम्झना आयो । यो कपडा राम्रो हुँदैन भनेर बुबाले कति पटक संझाएको, क्यै गरे म नमानेपछि बाध्य भएर किनिदिनु भएको, अनि सिलाउन पनि महिनौ कुर्नु परेको, त्यसपछि हेरिनसक्नु गरि मैला भएको, जुम्रा परेको र जिउ चिलाएको सबै घटना एकैचोटी सम्झिएँ । असती जुम्राहरु ! मनमनै जुम्राहरुसँग असाध्यै रिस उठ्यो, जुम्राहरुलाइ बेस्सरी सरापें । यिनीहरु थिएनन् भने त चिसै पानीले धुँदा पनि भइ हाल्थ्यो नि । फेरि आमाले पनि किन जान्ने भएर टेरलिनको कपडालाई उसिन्नु परेको होला । आमासँग पनि रिस उठ्यो । बुबाले भनेको नमानेर जिद्दी गर्थिस् नि खाइस् ! आफैंसँग पनि रिस उठ्यो र आफ्नै टाउकालाई थप्पड लगाउँदै भने थुइक्क मेरो बुद्धि पनि !
अब बुबाले थाहा पाउनु होला भन्ने डर लाग्यो । त्यसो भए के गर्ने त । अन्त्यमा एउटा बुद्धि सुझ्यो । त्यो कपडा नजिकैको फोहोर फाल्ने खाल्डोमा फालिदिएँ र माटोले पुरें । अब त्यो त्यहिँ कुहिन्छ र बुबाले पनि थाहा पाउनु हुन्न भनेर ढुक्क भएँ । कहाँ कुहिनु ! पछि खाल्डोबाट मल निकाल्दा फेरि त्यहि गुजुमुज्जु परेको कमिज जस्ताको तस्तै भेटियो र बुबाको खप्कि खानु पर्यो । लौ हेर यो कपडा कहाँ हरायो भनेको त यसले त खाल्डोमा पो पुरेको रहेछ । उहाँले तन्काउन खोजेको फेरि पहिला जस्तै खुम्चियो । उहाँले जोडसँग तान्दा पनि तन्किएन, च्यातिएन, कमिज अझै जस्ताको तस्तै रहेछ । लाउन नमिल्ने तर कहिल्यै नसड्ने ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































