रामप्रसाद पन्थीहाम्रा संस्कार र संस्कृति नामेट नपारी हुन्न
ह्वस्कि, वियर र हाेली वाइनहरू पञ्चामृतका रूपमा चाटाैं । संस्कारहरूलाई अब युराे र डलरहरूसित साटाैं । परम्पराका नाममा आधुनिक सभ्यता र संस्कृतिलाई अवमूल्यन गर्ने कार्य कहीँ कतैबाट हुन नदिऊँ ।

रामप्रसाद पन्थी :
हामी सनातन धर्मका अनुगामी हाैं । यसमा कुनै सन्देह छैन ।हाम्राे धर्म काेही व्यक्ति विशेषले स्थापना गरेकाे हाेइन । याे त आदिम कालदेखि चल्दै आएका प्रथा, परम्परा, आस्था र विश्वासहरूकाे समिश्रण र निरन्तरता हाे । त्यसैले हामीलाई पूर्वीय सभ्यता, संस्कृति र संस्कारप्रति गर्व छ । आधुनिकताकाे आगमनसँगै हामीले हाम्रा संस्कारलाई संशाेधन गर्दै नाैलाे आयामका साथ अपनाउन सक्षम भएका छाैं । याे अझ गाैरवकाे विषय हाे ।
विभिन्न पुराण तथा शास्त्रहरूमा गर्भाधानदेखि मृत्युसम्म साेह्र संस्कारकाे चर्चा गरिएकाे छ । जसमा पहिले के थियाे र अहिले के गरिएकाे छ ? भन्ने विषयमा सङ्क्षेपमा वर्णन गर्ने प्रयास गरिएको छ –
गर्भाधान संस्कार : साेह्र संस्कारमध्ये गर्भाधान पहिलाे र महत्वपूर्ण संस्कार मानिन्थ्यो । पहिले यसका केही विशेष विधि विधानहरूका साथ गर्भाधान संस्कार गरिन्थ्यो । अहिले गर्भाधानका लागि इच्छुक जाे काेही बाह्रै महिना दिनरात केही नभनी गर्भाधान प्रक्रियामा सहभागी हुन सक्छन् । मन मिल्दासम्म चमत्कार र नमिले बलत्कारकाे परिभाषाले परिभाषित गर्ने अवसर भने याे संस्कारमा रहेकाे छ ।
पुंसवन संस्कार : परम्परागत हिसाबमा गर्भ रहेकाे तीन महिनापछि याे संस्कार गरिन्थ्यो । हाल गर्भ रहेकाे थाहा पाएपछि यस्ताे संस्कार गर्न थालिएको छ । हुनेवाला बच्चाका आमाबाबुले खुसियालीस्वरूप पुङ्( रक्सी खान बनाइएकाे एक पाउ रक्सी अट्ने काठकाे कलात्मक गिलास)मा राखेर ह्विस्की, वियर, वाइन आदि उधुमसित पिउने संस्कार विकसित भएकाेले पुङ् सेवन पनि भन्न सकिन्छ ।
सीमन्ताेन्नायन संस्कार : गर्भ रहेकाे चाैथाे,छैठौं र आठौं महिनामा याे संस्कार गरिन्थ्यो । गर्भमा हुर्किरहेकाे शिशुमा असल गुण , स्वभाव र ज्ञान आओस् भनेर आमाले साेही प्रकारकाे विचार र व्यवहार गर्नुपर्छ भनेर शास्त्रमा वर्णन गरिएकाे पाइन्छ । आजकल याे संस्कार साताै वा नवाैं महिनामा गर्ने गरिएकाे छ । गर्भमा रहेकाे शिशु र गर्भधारण गरेकी आमाकाे पाेषण र स्वास्थ्यलाई मध्यनजर गरी बाेइलर कटाउने , केक चटाउने र बाेतल समाउने गरेर याे संस्कारलाई सुसंस्कृत गर्न थालिएकाे छ । गर्भिणी आमाले भुँडीमा विचित्रका चित्र काेरेर भुँडी प्रदर्शन गर्नु (बेबी शावर)याे संस्कारका मुख्य विशेषता हाे ।
जातकर्म संस्कार : बालकको जन्मसँगै वैदिक मन्त्र सुनाउने तथा मह, घिउ चटाएर स्वास्थ्य र दीर्घायुकाे कामना गरिने याे संस्कार परम्परावादी मान्यता हाे । आजकल बच्चालाई निप्पलकाे माध्यमबाट बजारू दूध र सेर्लेक्स आदि धुलाे चटाएर जातकर्म संस्कारलाई जीवन्त बनाइएकाे छ ।
नामकरण संस्कार : शिशु जन्मिएको ११ ओैं दिनमा नामकरण संस्कार गरिन्थ्याे । पहिले देवी देवताका नामबाट राम, कृष्ण, हरि,सीता,रीता भनी नामकरण गरिन्थ्यो । आजकल माइकल ह्यारिस, डेभिड, रियाना, हसिना जस्ता नामहरूका साथ नामकरण गर्ने चलन बढेकाे छ ।
निष्क्रमण संस्कार : शिशु जन्मिएकाे चार महिनामा बालकलाई पहिलाेपटक घर बाहिर भ्रमणमा लैजान प्रारम्भ गर्ने संस्कारलाई निष्क्रमण संस्कारका रूपमा लिइन्थाे । आधुनिक मान्यताअनुसार शिशुलाई शिशु स्याहार केन्द्रकाे भ्रमण गराएर याे संस्कारलाई निरन्तरता प्रदान गरिएकाे छ ।
अन्नप्राशन संस्कार : शिशु जन्मिएको छैठौं महिनामा आमाकाे दूधका साथ पाैष्टिक अन्न सेवन गराउने चलनका सट्टा अन्नप्राशन संस्कारमा बेबी मिल्कका साथ चिकेन ,मटन , बफ आदिका अनेकाै परिकारहरू सेवन गराउने प्रचलन बढेकाे छ ।
चूडाकर्म संस्कार : शिशु जन्मिएको एक वा तीन वर्षमा विधिपूर्वक कपाल खाैरिने आठाैं संस्कारका चुडाकर्म संस्कारलाई लिइन्थ्याे । आजकल याे संस्कारका लागि साइत जुराइरहनु पर्दैन ।जमाना अनुसार चूडाकर्म संस्कारलाई चुराकर्म , चुर्नाकर्म, चुनाकर्म वा चूर्णकर्म संस्कार बनाउन उपयुक्त हुने देखिएकाे छ ।
विद्यारम्भ संस्कार : शास्त्रहरूमा शुभ मुहूर्तमा विद्यारम्भ गर्नुपर्ने उल्लेख गरेकाे पाइन्छ । महर्षि अष्टवक्र र अभिमन्यूजस्ता पात्रहरूले आमाकाे गर्भमा रहँदा नै उपयुक्त शिक्षा हासिल गरेका थिए भन्ने भनाइहरू रहेका छन् । आजकाे युग विज्ञान र प्रविधिकाे युग हाे । शिशुहरूले जन्मनासाथ प्रविधिकाे साथ पाएका छन् । अब गुरूकुल वा पाठशालाकाे ओैचित्यमाथि प्रश्न उठाउँदै ए. आई. भित्रिसकेकाे छ । कम्प्युटर, ल्यापटप, माेबाइल लगायतका प्रविधिहरूले पनि भरथेग गरेकै छन् । तसर्थ विद्यारम्भका नाममा साइत कुरिरहन आवश्यक नभएकाे आम सर्वसाधारणको ठम्याइ छ ।
कर्णवेध संस्कार : शुक्ल पक्षकाे शुभ मुहूर्तमा कर्णवेध गर्ने परम्परागत चलन हाे । कर्णवेध गर्दा शारीरिक व्याधिहरूबाट सुरक्षित हुने, श्रवण शक्ति बढ्ने र शारीरिक साैन्दर्यमा वृद्धि हुने हिजका मान्यतालाई आज पनि आत्मसात् गरिएकाे छ । तसर्थ कानमा मात्रै सिमित नरहेर आजकाे पुस्ता शरीरभरि छेदन गरेर याे संस्कारलाई समृद्ध तुल्याउन अगाडि बढिरहेको अवस्था छ ।
उपनयन संस्कार : उपनयन जसलाई व्रतबन्ध या यज्ञाेपवीत धारण गर्ने संस्कारका रूपमा लिने चलन थियाे । प्राय : आठ वर्षकाे उमेरमा याे संस्कार गरिन्थ्याे । याे संस्कारपछि बालकलाई अध्ययनका लागि गुरूकुल पठाइने गरिएकाेमा हाल त्यसरी गुरूकुलमा पठाउन नपर्ने भएकाेले उपनयन संस्कारलाई उमेर हद नलाग्ने बनाइएकाे छ । नियमित जनै धारण गर्ने कुरालाई स्वेच्छिक बनाई आवश्यक परे लगाउने नत्र अनिवार्य नहुने गरी याे संस्कारमा संशोधन गरिएकाे छ ।
वेदारम्भ संस्कार : प्राचीन कालमा याे संस्कारले विशेष महत्व राख्दथ्याे । अहिले समय बदलिएको छ । त्यसैले संस्कार पनि बदलिएको छ । पछिल्ला दिनहरूमा पश्चिमा मुलुकहरूलाई वेदको अध्ययन र ज्ञानकाे हस्तान्तरण गरिएकाे छ । यसरी संस्कार र संस्कृतिकाे विलुप्तीलाई पनि संस्कारकाे नवीन अध्यायकाे रूपमा लिने संस्कारलाई सुदृढ बनाइएकाे छ ।
केशान्त संस्कार : वेद,पुराण र कर्मकाण्डमा पारंगत भएपछि गुरूकुलका आचार्य समक्ष याे संस्कार गरिन्थ्यो । आजकल वेद, पुराणकाे अध्ययन अनावश्यक देखिएकाले याे संस्कारलाई इतिहास एवम् शास्त्रहरूकै पानामा सिमित गर्ने संस्कारका रूपमा सुशाेभित गरिएकाे छ । जहाँसम्म केशान्तकाे कुरा छ शैलुन र ब्युटिपार्लरहरूले दिन रात जतिबेला पनि केशान्त संस्कारलाई जीवन्त बनाइराखेका हुँदा यस विषयमा चिन्ता लिइरहन आवश्यक छैन ।
समावर्तन संस्कार : गुरूकुलबाट शिक्षा लिएर सकिएपछि गृहस्थ आश्रममा फर्किने समयमा याे संस्कार गरिन्थ्यो । आजभोलि याे संस्कारलाई आधुनिकीकरण गरिएकाे छ । आजभोलि स्कुल,कलेज,क्याम्पस र विश्वविद्यालयहरूले दीक्षान्त समाराेहका नाममा तामझामका साथ याे संस्कारलाई जीवन्त बनाएकाे पाइन्छ । पसल पसलमा उपलब्ध गाउनहरूले पठित अपठित सबैलाई दीक्षित बनाएर समावर्तन संस्कारलाई नाैलाे जलप लगाइदिने काम गरेका छन् ।
विवाह संस्कार : परापूर्व कालमा स्त्री र पुरूषका लागि महत्त्वपूर्ण मानिने याे संस्कारमा समय सापेक्ष सुधार गरिएकाे छ । विवाह संस्कारका लागि अब स्त्री र पुरूष नै हुनुपर्ने बाध्यता छैन । स्त्री स्त्री र पुरूष पुरूषका बीचमा पनि विवाह गर्न सकिन्छ । यस्ताे ववाहिक संस्कारले कानुनी र सामाजिक मान्यता पाएकाे छ । ठूलाठूला हाेटल, पार्टी प्यालेस ,ब्याङ्क्वेटहरूमा बफे डिनर र कक्टेल पार्टीका साथ विवाह संस्कारलाई सम्पन्न गर्ने आजकाे आवश्यकतालाई अन्यथा मान्न सकिन्न ।
अन्त्येष्टि संस्कार : विभिन्न धर्म र सम्प्रदाय अनुसार अन्त्येष्टि संस्कारका विधि तथा पद्धतिहरू थिए । आजभोलि गाडीका गाडी घाटसम्म जाने भक्ष अभक्ष सेवन गर्ने , शवमाथि झण्डा ओढाएर राजनीतिकरण गर्ने जस्ता गतिविधि अन्त्येष्टि संस्कारका अपरिहार्य पक्ष हुन गएका छन् ।
हाम्रा पूर्वज तथा ऋषिमुनिहरूले हामीलाई सुसंस्कृत गर्न यस्ता विभिन्न संस्कारहरूकाे स्थापना गरेका थिए रे! वर्तमान पुस्ताका शिशिमुनिहरूले यस्ता संस्कारहरूलाई थप परिमार्जित गर्दै लगेकाे अवस्था छ । परिवर्तनलाई आत्मसात गर्न नखाेज्ने प्रतिगामी तत्वहरूले सांस्कृतिक विचलन भनेर आराेप लगाउने गरेकाे पनि सुनिन्छ । विशेषगरी जन्मदिन , वैवाहिक वर्षगाँठ, बेबी शावर र अन्त्यष्टि संस्कार उत्ताउला र भड्किला भएकाे र विदेशी हस्काे आएकाे भनी विराेध गरेकाे पाइन्छ ।
म त भन्छु संसार सानाे गाउँमा परिणत भएकाे अवस्थामा माैलिक सभ्यता र संस्कृतिका नाममा सती जानु गलत हाे । आज गाउँ रित्तिएकाे छ । देश रित्तिएकाे छ । युवाहरू स्वदेशमा भेटिन गाह्राे छ। बुढापाकाहरू तेल भिसा र ज्वानाे भिसामा उतै ढल्किएका छन् । उतैकाे भाषा,संस्कृति यता सल्किएकाे छ । मुखले नेपाली भने पनि जीवनशैलीमा विदेशीपन झल्किएकाे छ । यसर्थ पुराना नयाँ पुस्ता सबै मिलेर पुराना संस्कारलाई अझ निमिट्यान्न बनाउन लागि पराैं । आउनुहाेस्, अब हेरक उत्सब र संस्कारहरूमा मैन बत्ती बालाैं । केक काटाैं । ह्वस्कि, वियर र हाेली वाइनहरू पञ्चामृतका रूपमा चाटाैं । संस्कारहरूलाई अब युराे र डलरहरूसित साटाैं । परम्पराका नाममा आधुनिक सभ्यता र संस्कृतिलाई अवमूल्यन गर्ने कार्य कहीँ कतैबाट हुन नदिऊँ ।
अस्तु
०००
रेसुङ्गा न पा – २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































