साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा संस्कार र संस्कृति नामेट नपारी हुन्न

ह्वस्कि, वियर र हाेली वाइनहरू पञ्चामृतका रूपमा चाटाैं । संस्कारहरूलाई अब युराे र डलरहरूसित साटाैं । परम्पराका नाममा आधुनिक सभ्यता र संस्कृतिलाई अवमूल्यन गर्ने कार्य कहीँ कतैबाट हुन नदिऊँ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

हामी सनातन धर्मका अनुगामी हाैं । यसमा कुनै सन्देह छैन ।हाम्राे धर्म काेही व्यक्ति विशेषले स्थापना गरेकाे हाेइन । याे त आदिम कालदेखि चल्दै आएका प्रथा, परम्परा, आस्था र विश्वासहरूकाे समिश्रण र निरन्तरता हाे । त्यसैले हामीलाई पूर्वीय सभ्यता, संस्कृति र संस्कारप्रति गर्व छ । आधुनिकताकाे आगमनसँगै हामीले हाम्रा संस्कारलाई संशाेधन गर्दै नाैलाे आयामका साथ अपनाउन सक्षम भएका छाैं । याे अझ गाैरवकाे विषय हाे ।

विभिन्न पुराण तथा शास्त्रहरूमा गर्भाधानदेखि मृत्युसम्म साेह्र संस्कारकाे चर्चा गरिएकाे छ । जसमा पहिले के थियाे र अहिले के गरिएकाे छ ? भन्ने विषयमा सङ्क्षेपमा वर्णन गर्ने प्रयास गरिएको छ –

गर्भाधान संस्कार : साेह्र संस्कारमध्ये गर्भाधान पहिलाे र महत्वपूर्ण संस्कार मानिन्थ्यो । पहिले यसका केही विशेष विधि विधानहरूका साथ गर्भाधान संस्कार गरिन्थ्यो । अहिले गर्भाधानका लागि इच्छुक जाे काेही बाह्रै महिना दिनरात केही नभनी गर्भाधान प्रक्रियामा सहभागी हुन सक्छन् । मन मिल्दासम्म चमत्कार र नमिले बलत्कारकाे परिभाषाले परिभाषित गर्ने अवसर भने याे संस्कारमा रहेकाे छ ।

पुंसवन संस्कार : परम्परागत हिसाबमा गर्भ रहेकाे तीन महिनापछि याे संस्कार गरिन्थ्यो । हाल गर्भ रहेकाे थाहा पाएपछि यस्ताे संस्कार गर्न थालिएको छ । हुनेवाला बच्चाका आमाबाबुले खुसियालीस्वरूप पुङ्( रक्सी खान बनाइएकाे एक पाउ रक्सी अट्ने काठकाे कलात्मक गिलास)मा राखेर ह्विस्की, वियर, वाइन आदि उधुमसित पिउने संस्कार विकसित भएकाेले पुङ् सेवन पनि भन्न सकिन्छ ।

सीमन्ताेन्नायन संस्कार : गर्भ रहेकाे चाैथाे,छैठौं र आठौं महिनामा याे संस्कार गरिन्थ्यो । गर्भमा हुर्किरहेकाे शिशुमा असल गुण , स्वभाव र ज्ञान आओस् भनेर आमाले साेही प्रकारकाे विचार र व्यवहार गर्नुपर्छ भनेर शास्त्रमा वर्णन गरिएकाे पाइन्छ । आजकल याे संस्कार साताै वा नवाैं महिनामा गर्ने गरिएकाे छ । गर्भमा रहेकाे शिशु र गर्भधारण गरेकी आमाकाे पाेषण र स्वास्थ्यलाई मध्यनजर गरी बाेइलर कटाउने , केक चटाउने र बाेतल समाउने गरेर याे संस्कारलाई सुसंस्कृत गर्न थालिएकाे छ । गर्भिणी आमाले भुँडीमा विचित्रका चित्र काेरेर भुँडी प्रदर्शन गर्नु (बेबी शावर)याे संस्कारका मुख्य विशेषता हाे ।

जातकर्म संस्कार : बालकको जन्मसँगै वैदिक मन्त्र सुनाउने तथा मह, घिउ चटाएर स्वास्थ्य र दीर्घायुकाे कामना गरिने याे संस्कार परम्परावादी मान्यता हाे । आजकल बच्चालाई निप्पलकाे माध्यमबाट बजारू दूध र सेर्लेक्स आदि धुलाे चटाएर जातकर्म संस्कारलाई जीवन्त बनाइएकाे छ ।

नामकरण संस्कार : शिशु जन्मिएको ११ ओैं दिनमा नामकरण संस्कार गरिन्थ्याे । पहिले देवी देवताका नामबाट राम, कृष्ण, हरि,सीता,रीता भनी नामकरण गरिन्थ्यो । आजकल माइकल ह्यारिस, डेभिड, रियाना, हसिना जस्ता नामहरूका साथ नामकरण गर्ने चलन बढेकाे छ ।

निष्क्रमण संस्कार : शिशु जन्मिएकाे चार महिनामा बालकलाई पहिलाेपटक घर बाहिर भ्रमणमा लैजान प्रारम्भ गर्ने संस्कारलाई निष्क्रमण संस्कारका रूपमा लिइन्थाे । आधुनिक मान्यताअनुसार शिशुलाई शिशु स्याहार केन्द्रकाे भ्रमण गराएर याे संस्कारलाई निरन्तरता प्रदान गरिएकाे छ ।

अन्नप्राशन संस्कार : शिशु जन्मिएको छैठौं महिनामा आमाकाे दूधका साथ पाैष्टिक अन्न सेवन गराउने चलनका सट्टा अन्नप्राशन संस्कारमा बेबी मिल्कका साथ चिकेन ,मटन , बफ आदिका अनेकाै परिकारहरू सेवन गराउने प्रचलन बढेकाे छ ।

चूडाकर्म संस्कार : शिशु जन्मिएको एक वा तीन वर्षमा विधिपूर्वक कपाल खाैरिने आठाैं संस्कारका चुडाकर्म संस्कारलाई लिइन्थ्याे । आजकल याे संस्कारका लागि साइत जुराइरहनु पर्दैन ।जमाना अनुसार चूडाकर्म संस्कारलाई चुराकर्म , चुर्नाकर्म, चुनाकर्म वा चूर्णकर्म संस्कार बनाउन उपयुक्त हुने देखिएकाे छ ।

विद्यारम्भ संस्कार : शास्त्रहरूमा शुभ मुहूर्तमा विद्यारम्भ गर्नुपर्ने उल्लेख गरेकाे पाइन्छ । महर्षि अष्टवक्र र अभिमन्यूजस्ता पात्रहरूले आमाकाे गर्भमा रहँदा नै उपयुक्त शिक्षा हासिल गरेका थिए भन्ने भनाइहरू रहेका छन् । आजकाे युग विज्ञान र प्रविधिकाे युग हाे । शिशुहरूले जन्मनासाथ प्रविधिकाे साथ पाएका छन् । अब गुरूकुल वा पाठशालाकाे ओैचित्यमाथि प्रश्न उठाउँदै ए. आई. भित्रिसकेकाे छ । कम्प्युटर, ल्यापटप, माेबाइल लगायतका प्रविधिहरूले पनि भरथेग गरेकै छन् । तसर्थ विद्यारम्भका नाममा साइत कुरिरहन आवश्यक नभएकाे आम सर्वसाधारणको ठम्याइ छ ।

कर्णवेध संस्कार : शुक्ल पक्षकाे शुभ मुहूर्तमा कर्णवेध गर्ने परम्परागत चलन हाे । कर्णवेध गर्दा शारीरिक व्याधिहरूबाट सुरक्षित हुने, श्रवण शक्ति बढ्ने र शारीरिक साैन्दर्यमा वृद्धि हुने हिजका मान्यतालाई आज पनि आत्मसात् गरिएकाे छ । तसर्थ कानमा मात्रै सिमित नरहेर आजकाे पुस्ता शरीरभरि छेदन गरेर याे संस्कारलाई समृद्ध तुल्याउन अगाडि बढिरहेको अवस्था छ ।

उपनयन संस्कार : उपनयन जसलाई व्रतबन्ध या यज्ञाेपवीत धारण गर्ने संस्कारका रूपमा लिने चलन थियाे । प्राय : आठ वर्षकाे उमेरमा याे संस्कार गरिन्थ्याे । याे संस्कारपछि बालकलाई अध्ययनका लागि गुरूकुल पठाइने गरिएकाेमा हाल त्यसरी गुरूकुलमा पठाउन नपर्ने भएकाेले उपनयन संस्कारलाई उमेर हद नलाग्ने बनाइएकाे छ । नियमित जनै धारण गर्ने कुरालाई स्वेच्छिक बनाई आवश्यक परे लगाउने नत्र अनिवार्य नहुने गरी याे संस्कारमा संशोधन गरिएकाे छ ।

वेदारम्भ संस्कार : प्राचीन कालमा याे संस्कारले विशेष महत्व राख्दथ्याे । अहिले समय बदलिएको छ । त्यसैले संस्कार पनि बदलिएको छ । पछिल्ला दिनहरूमा पश्चिमा मुलुकहरूलाई वेदको अध्ययन र ज्ञानकाे हस्तान्तरण गरिएकाे छ । यसरी संस्कार र संस्कृतिकाे विलुप्तीलाई पनि संस्कारकाे नवीन अध्यायकाे रूपमा लिने संस्कारलाई सुदृढ बनाइएकाे छ ।

केशान्त संस्कार : वेद,पुराण र कर्मकाण्डमा पारंगत भएपछि गुरूकुलका आचार्य समक्ष याे संस्कार गरिन्थ्यो । आजकल वेद, पुराणकाे अध्ययन अनावश्यक देखिएकाले याे संस्कारलाई इतिहास एवम् शास्त्रहरूकै पानामा सिमित गर्ने संस्कारका रूपमा सुशाेभित गरिएकाे छ । जहाँसम्म केशान्तकाे कुरा छ शैलुन र ब्युटिपार्लरहरूले दिन रात जतिबेला पनि केशान्त संस्कारलाई जीवन्त बनाइराखेका हुँदा यस विषयमा चिन्ता लिइरहन आवश्यक छैन ।

समावर्तन संस्कार : गुरूकुलबाट शिक्षा लिएर सकिएपछि गृहस्थ आश्रममा फर्किने समयमा याे संस्कार गरिन्थ्यो । आजभोलि याे संस्कारलाई आधुनिकीकरण गरिएकाे छ । आजभोलि स्कुल,कलेज,क्याम्पस र विश्वविद्यालयहरूले दीक्षान्त समाराेहका नाममा तामझामका साथ याे संस्कारलाई जीवन्त बनाएकाे पाइन्छ । पसल पसलमा उपलब्ध गाउनहरूले पठित अपठित सबैलाई दीक्षित बनाएर समावर्तन संस्कारलाई नाैलाे जलप लगाइदिने काम गरेका छन् ।

विवाह संस्कार : परापूर्व कालमा स्त्री र पुरूषका लागि महत्त्वपूर्ण मानिने याे संस्कारमा समय सापेक्ष सुधार गरिएकाे छ । विवाह संस्कारका लागि अब स्त्री र पुरूष नै हुनुपर्ने बाध्यता छैन । स्त्री स्त्री र पुरूष पुरूषका बीचमा पनि विवाह गर्न सकिन्छ । यस्ताे व‌वाहिक संस्कारले कानुनी र सामाजिक मान्यता पाएकाे छ । ठूलाठूला हाेटल, पार्टी प्यालेस ,ब्याङ्क्वेटहरूमा बफे डिनर र कक्टेल पार्टीका साथ विवाह संस्कारलाई सम्पन्न गर्ने आजकाे आवश्यकतालाई अन्यथा मान्न सकिन्न ।

अन्त्येष्टि संस्कार : विभिन्न धर्म र सम्प्रदाय अनुसार अन्त्येष्टि संस्कारका विधि तथा पद्धतिहरू थिए । आजभोलि गाडीका गाडी घाटसम्म जाने भक्ष अभक्ष सेवन गर्ने , शवमाथि झण्डा ओढाएर राजनीतिकरण गर्ने जस्ता गतिविधि अन्त्येष्टि संस्कारका अपरिहार्य पक्ष हुन गएका छन् ।

हाम्रा पूर्वज तथा ऋषिमुनिहरूले हामीलाई सुसंस्कृत गर्न यस्ता विभिन्न संस्कारहरूकाे स्थापना गरेका थिए रे! वर्तमान पुस्ताका शिशिमुनिहरूले यस्ता संस्कारहरूलाई थप परिमार्जित गर्दै लगेकाे अवस्था छ । परिवर्तनलाई आत्मसात गर्न नखाेज्ने प्रतिगामी तत्वहरूले सांस्कृतिक विचलन भनेर आराेप लगाउने गरेकाे पनि सुनिन्छ । विशेषगरी जन्मदिन , वैवाहिक वर्षगाँठ, बेबी शावर र अन्त्यष्टि संस्कार उत्ताउला र भड्किला भएकाे र विदेशी हस्काे आएकाे भनी विराेध गरेकाे पाइन्छ ।

म त भन्छु संसार सानाे गाउँमा परिणत भएकाे अवस्थामा माैलिक सभ्यता र संस्कृतिका नाममा सती जानु गलत हाे । आज गाउँ रित्तिएकाे छ । देश रित्तिएकाे छ । युवाहरू स्वदेशमा भेटिन गाह्राे छ। बुढापाकाहरू तेल भिसा र ज्वानाे भिसामा उतै ढल्किएका छन् । उतैकाे भाषा,संस्कृति यता सल्किएकाे छ । मुखले नेपाली भने पनि जीवनशैलीमा विदेशीपन झल्किएकाे छ । यसर्थ पुराना नयाँ पुस्ता सबै मिलेर पुराना संस्कारलाई अझ निमिट्यान्न बनाउन लागि पराैं । आउनुहाेस्, अब हेरक उत्सब र संस्कारहरूमा मैन बत्ती बालाैं । केक काटाैं । ह्वस्कि, वियर र हाेली वाइनहरू पञ्चामृतका रूपमा चाटाैं । संस्कारहरूलाई अब युराे र डलरहरूसित साटाैं । परम्पराका नाममा आधुनिक सभ्यता र संस्कृतिलाई अवमूल्यन गर्ने कार्य कहीँ कतैबाट हुन नदिऊँ ।
अस्तु

०००
रेसुङ्गा न पा – २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x