ईश्वर पाेखरेल‘फ्यामिली प्लानिङ्ग पोलिसी’सँगको भलाकुसारी
पहिले लगेका साधनहरूसमेत प्रयोग नभई त्यसै थन्किइरहेका छन् । युद्ध नरोकिने हो भने….. थप साधनहरू किन र केको लागि लाने ?… सरी ।’ तिमी नै भन, अब हाम्रो के काम छ तिम्रो देशमा ?

ईश्वर पोखरेल :
अकस्मात् ‘फ्यामिली प्लानिङ्ग पोलिसी’सँग भेट भयो ।
ऊ नेपालबाट आफ्नै ‘हेड क्वाटर’ फर्किन लागेकोरहेछ । पहिले त मैले उसको कुरा पत्याइनँ । तर जब उसले आफ्ना यामान्का कार्टुनहरू खोलेर ‘भ्याक्सोटोमी’ र ‘ल्याब्रोस्कोपी’ जस्ता स्थायी परिवार नियोजनका नानाभाँतीका सामानहरू र अस्थायी परिवार नियोजनका विभिन्न खाले साधनहरू समेत देखायो; मैले नपत्याईकन धर पाइँन । आश्चर्य लाग्यो : यस्ता सामानहरू विदेशबाट नेपाल भित्रिने गरेको मात्र मलाई जानकारी थियो; तर आज दृश्य बिल्कुलै उल्टो थियो । यस्ता सामानहरू नेपालको बजारमै चोरेर बेच्न पाए पनि गतिलो ‘सुको’ हात लाग्दथ्यो भन्ने सोचेर म चुक्चुकाउँदैथिएँ; उसको आवाजले मेरो ध्यान भङ्ग भयो ।
ऊ एक्लै फत्फताउँदै रहेछ— “नेपालमा यसरी असफल होइएला भनेर हामीले सोचेकै थिएनौं ।”
होइन, के भन्दैछ यो ? नेपाल त अत्यन्त लाजमर्दो स्तरको प्रतिफल रहेका आयोजनाका संचालकहरूले पनि आफू अत्यधिक सफल भएको घोषणा गर्न पाउने पवित्र भूमिका रूपमा परिचित छ । यो मुर्ख चाहिँ आफै असफल भएको कुरा गर्दैछ । उसको दिमाग खुस्किएको हो कि, योजनाकारहरूका उल्टा कुराहरू सुन्दा सुन्दा मेरो कानले नै सुल्टो कुरालाई रूपान्तरण गरेर उल्टोपाल्टो सुन्ने गरेको हो ? मैले यकिन गर्नै सकिन ।
ऊ फेरि फत्फतायो— “नेपालमा अब हाम्रो आवश्यकता नै रहेन ।”
उसले फेरि थप्यो— “….उमेर गइसकेका बुढा र बेत बसिसकेका बुढीहरूलाई परिवार नियोजनका अस्थायी साधनको के काम ? स्थायी परिवार नियोजनको के अर्थ ? ।..प्रजनन्–योग्य उमेरका युवाहरूमध्ये कतिपय युद्धमा सामेल छन्; धेरैजसो विदेशिई सके । …धेरै पर्ख्यौं; तर स्थायी परिवार नियोजनका लागि कोही नआएपछि हामी किन बस्ने नेपालमा ?”
उसका कुरामा मलाई उदेक लाग्यो ।
मैले प्रतिवादको ढाँचामा भनें— “तिमी झुटो कुरा गर्दैछौ । नेपालको गाउँ–शहरमा प्रजनन्–योग्य उमेर–समूहका मानिसहरू अझै बाँकी छन् । तिमी तिनीहरूलाई नै आफ्नो लक्षित समूह बनाऊँ । …तिमीले आजै नेपाल छाड्न पाउँदैनौं ।”
उसले भन्यो— “नेपालमा प्रजनन्–योग्य उमेरका मानिस नै बाँकी रहेनन् भन्ने हाम्रो पनि भनाई होइन । तर के हामी ‘प्रजनन्–योग्य उमेर’की भनेर नेपालका विधुवा युवतीहरूलाई स्थायी परिवार नियोजन गर्नका लागि उक्साऊँं ? विदेशिएका वा युद्धमा सामेल भएका कारणले वर्षौवर्षदेखि लोग्नेलाई भेट्न नपाएका र भेट हुने/नहुने कुरा एकिन नभएर पिरोलिएका नेपाली युवतीहरूका हातमा ‘यो तिमीलाई चाहिने चीज हो’ भनेर गुलाफ, पिल्स र निलोकन ह्वाइटको प्याकेट थमाऔं ? कि घरबार छाडेर काठमाण्डौंमा अत्यन्त बेचैनीका साथ भीसा पर्खिरहेका, हतारहतार दसगजा पार गर्ने ध्याउन्नमा रहेका, घरबाट विस्थापित भई शहर/बजारमा कुपोषण र ठिहीले एकैसाथ प्रभावित हुन पुगेका र ट्रकमा आगजनी भएपछि अत्तालिएर भाग्दै गरेका नेपाली युवाहरूलाई सम्बोधन गरेर ‘तिमीले स्थायी परिवार नियोजन गर्न आवश्यक छ’ भनौं ?… ”
उसले केहीबेर गमेर फेरि भन्यो— “अन्यथा नमाने, हाल आएर हामी अत्यन्त अपमानित भयौं तिम्रो देशमा । …अन्यत्र हारालुछ गरेर वितरण हुने परिवार नियोजनका अस्थायी साधनहरूको वितरण पनि अब त नेपालमा अत्यन्त निराशाजनक स्थितिमा झरेको छ ।”
“परिवार नियोजनका अस्थायी साधनहरू खोज्ने मानिसहरूको पनि अभाव भयो नेपालमा ?” म एक समय यी साधनहरूको लोकप्रियतासंग राम्रै परिचित थिएँ र आश्चर्यका साथ मैले सोधें ।
उसले भन्यो— “हामी पनि आश्चर्यमा छौं । …परिवार नियोजनका अस्थायी साधनहरू बराबर लिन आउने केही विवाहितहरू आउन छाडेपछि हामी आफैले उनीहरूलाई भेटेर सोध्यौं पनि । उनीहरूले भने– ‘युद्धको अवस्था तीब्रतर् बन्दै आएपछि र दोहोरो ‘क्रस–फायर’मा घरको छाना र भित्तामा समेत गोली बर्सिन थालेपछि ‘ ….मुड’ बनाउनै सकिएन; ….पहिले लगेका साधनहरूसमेत प्रयोग नभई त्यसै थन्किइरहेका छन् । युद्ध नरोकिने हो भने….. थप साधनहरू किन र केको लागि लाने ?… सरी ।’ तिमी नै भन, अब हाम्रो के काम छ तिम्रो देशमा ?”
तर मैले केही भन्नुअगावै उसले मोटर ‘र्स्टाट’ गर्यो र ‘चम्पट’ भयो ।
०००
बोझेपोखरी, ललितपुर
‘युवामञ्च’ (भदौ, २०६२)
Subscribe
Login
0 Comments
Oldest









































