रमेश समर्थनसमर्थन !?
एकपटक दास राखूँ कि भन्ने लाग्याे तर मन जमेन र सेवकतिर मन गयाे । साहित्यलेखन त भाषाकाे सेवा नै हाे र म भाषासेवक भएकाले याे नाम राख्न खाेजें तर लाग्याे ताइ न तुइकाे कविता लेखेर पनि सेवा हुन्छ मुला ? मनले हकारेपछि म अन्य नाम खाेज्नतिर लागें ।

रमेश समर्थन :
साहित्यमा लागिसकेकाे थिइनँ तर लागू लागू भन्ने लाग्न थालेकाे थियाे र कहिलेकाहीँ मगज भन्ने ठाउँमा कल्पना नामकाे किराे सल्याङबल्याङ गर्न थालेकाे थियाे । लेखेकै थिइनँ भनूँ भने छाप्न नमिल्ने (अश्लील नभएर) पाँचवटा त उपन्यास नै लेखिसकेकाे थिएँ र केही गाजले आँखा र गुलाफी गालाका कविता नामका बित्ताहरू नापिसकेकाे थिएँ । अनि कक्षाका विद्यार्थीलाई प्रतियोगितामा जिताउन निश्चित शीर्षक वा विषयमा कविता वा गीत पनि लेखेकाे थिएँ । अँ, एउटा त भजन पनि लेखेर पठाएको थिएँ रेडियाे नेपालमा र रेकर्ड गरिने वाचासहित धन्यवाद पनि पाएकाे थिएँ । तर त्याे रेकर्ड भए नभएकाे थाहा आजसम्म पाएकाे छैनँ ।
परिचयमा पढ्दा हितेन सह भनेर पढे पनि मेराे साहित्यले अरूकाे त के, मेरै पनि कति हित गरेकाे छ भन्ने लेखाे पनि मसँग छैन तर म अझै लेख्दै छु ।
साहित्यमा लाग्नु र मूल नामबाटै लेख्नु ? छ्या:! एउटा उपनाम पनि राख्न नसक्ने झुसीले के साहित्य लेख्नु भन्ने लागिरहेकाे थियाे । प्रकाण्ड विद्वान् बालकृष्ण पाेखरेलले समेत के के मनुक्च्याे पाेखरेल, वसन्त आदि उपनामबाट बजारु उपन्यास लेखेर दाम कमाएकाे र नाम भने मूल नामबाटै कमाएकाे सुनेकाे थिएँ , थाहा पछि पाएकाे हुँ । उनका परम मित्र तारानाथ शर्माले त झर्राेवादकाे पछि लागेर तानासर्मा लेखेकाे पनि थाहा पाएकाे थिएँ । एक जना लेखकले त नामै फेरेकाे पनि थाहा पाएकाे थिएँ । रामेश्वर शर्मा चालिसेबाट रमेश विकल भएकाे । आफ्नाे पनि नाम रमेश नै रहेकाले विकलजस्तै कुनै नाम राख्ने रहरले कुत्कुत्याइरह्याे ।
एकपटक दास राखूँ कि भन्ने लाग्याे तर मन जमेन र सेवकतिर मन गयाे । साहित्यलेखन त भाषाकाे सेवा नै हाे र म भाषासेवक भएकाले याे नाम राख्न खाेजें तर लाग्याे ताइ न तुइकाे कविता लेखेर पनि सेवा हुन्छ मुला ? मनले हकारेपछि म अन्य नाम खाेज्नतिर लागें जसरी आफ्नाे गलामा कसाैडी हुनेहरू अर्काकाे गलामा घण्टी त हाेस् भनेर खाेज्छ ।
धेरै मनमन्थनपछि याे नाम जुरेकाे हाे र जुर्नका लागि केही त फुरेकाे पनि हाे तर मान्छेलाई अरूकाे बदख्वाइँ नगरी खाएकाे नपच्ने हुँदा मानिसहरू यसकाे पनि खेदाे त्यसै गरी खन्छन् जसरी राउटेहरू माघमा तरुल खन्छन् ।
“ए, समर्थनजी ! तपाईंको समर्थन हाे कि तपाईंले गर्ने समर्थन हाे ?”
“समर्थन अर्थात् राजतन्त्रको पनि समर्थन र गणतन्त्रको पनि समर्थन ।”
“कसैकाे त समर्थन पाइएला कि भनेर राखेकाे नाम हाे ?”
हैन, किन यति चासाेकाे पासाे लाउनु परेकाे हँ मान्छेलाई ?
खुरुक्क “नाम वाम में क्या रक्खा है हम ताे हैं भाव के गुलाम ?” भनिदिए त हुन्थ्याे नि !
हुन पनि हाे, नाममा के राखेकाे छ अनि नामले गर्छ नै पाे के ? हिन्दीमा एउटा किस्सा छ –
एक जाेडी बुढाबुढीकाे नाम ठिङ्गा र ठिङ्गी रहेछ । एक दिन साँझ उनीहरूलाई लागेछ, दुनियाँमा यति राम्रा र सार्थक नाम छन् तर हाम्राे नाम यस्ताे ? छि:! जाम् भाेलि राम्राेकाे खाेजीमा । भाेलि दुवैजना निस्केछन् छाप्राबाट र निस्कनासाथ टुँउँउँउँऊँ शङ्ख बजाउँदै शवयात्रा देखेछन् र साेधेछन्, “काे मरेछ हजुर ?” उत्तर आएछ “अमरसिंह ।”
अलिक पर पुग्दा एक जना उनीहरूका अगाडि आएर हात पसार्दै भनेछ, “केही दिनुस् न, भाेकै छु ।” उनीहरूले नाम साेधेछन् । उत्तर आएछ, ” धनपति ।” उनीहरू अझ अगाडि पुग्दा एउटी महिलालाई सडक बढार्दै गरेकाे भेटेछन् र नाम साेधेछन् । उत्तर आएछ, ” लक्ष्मी देवी ।”
दिनभरि भाैंतारिएपछि भरे उसै गरी अगेनाकाे डिलमा बसेर भनेछन् –
” अमरसिंह काे मरते देखा धनपति मागे भीख
लक्ष्मी देवी सडक बुहारे, ठिङ्गा ठिङ्गी ठीक ।”
अब त साथी हाे ! मेराे नाममा चासाे नलिनुस् न ! लिनु नै छ भने मेराे काममा चासाे लिनुस् र यसाे नासाे दिनुस् । अचेल नैतिक समर्थनकाे काम छैन, नाैटिक समर्थन चाहिन्छ । मेराे लेखाइमा केही हाेस्, नहाेस् तर महान् कवि, वरिष्ठ कवि, अग्रगण्य कवि, प्रतिष्ठित कवि जे जे उपाधि दिने ल्याकत छ त्याे “ब्राह्मणस्य मुखे हविषं जुहाेमि !” भन्ने मन्त्र पढेर दिनुस् । म सवै पचाइदिन्छु । मेराे पेटमा आगाे छ त्यसलाई शान्त पार्न शाब्दिक हविष्यले नसक्ने भएका आर्थिक हविष्य नै चाहिन्छ ।
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest








































