प्रा. कपिल अज्ञाततिलकराज शर्माका हास्यव्यङ्ग्यात्मक प्रवृत्ति : एक पर्यवेक्षण
शर्मा सामयिकताका हरेक पक्षमा रोचक ढंगले प्रहार गर्न पुगेका छन् । प्रहारका क्रममा अभिव्यक्तिलाई बढी पेचिलो, धारिलो र तेजिलो बनाउन ठाउँठाउँमा उखानहरूको पनि प्रशस्त उपयोग गरेका छन् ।

कपिल अज्ञात :
सात्विक अहारविहार गर्ने आचारनिष्ठ तिलकराज शर्मा । मुस्सकानहित वार्तालाप गर्न सक्ने भद्र व्यक्तित्व हुन् । उनी आफ्नै शान्त र नम्र स्वभावको मिजासिलो बोलीवचनले हर कसैलाई प्रभावित पार्न सक्छन् । लाम्चाेलाम्चो जनुहार, गोरो वर्ण, चश्मा भित्रबाट नियालिरहेका चञ्चल नयन गुलाफको फूल प्रस्फुटित हुन लागेझैं मुस्कानले उनको व्यक्तित्व अति नै सौम्य र आकर्षक देखा पर्छ। सामाजिक संघसंस्थासँग आवद्ध उनी धार्मिक साहित्यको अध्ययन गर्छन् र सन्चारका माध्यमबाट धार्मिक प्रवचन पनि दिने गर्छन्। धार्मिक क्षेत्रमा श्रीकृष्ण प्रणामी धर्म सम्प्रदायको संगठन कर्ताको रूपमा त उनको राम्रो पहिचान बनिसकेको छ। धार्मिक संस्थाकै तर्फबाट उनले भारत, अमेरिकाको समेत भ्रमण गरिसकेका छन् । शिक्षा, साहित्य र धर्ममा राम्रो योगदान पुऱ्याए वापत् उनने विभिन्न पदक र पुरस्कार तथा सम्मान समेत प्राप्त गरेका छन् । तिनको विवरण क्रम यस प्रकार छ:
प्रथम पुरस्कार रसरङ्ग प्रतियोगिता २०३७, (प.नि.स. चितवन)
शिक्षा सेवा स्वर्णपदक २०४४, (राष्ट्रिय शिक्षा समिति)
दीर्घसेवा स्वर्णपदक २०५८, (सहिद स्मृति बहुमुखी क्याम्पस, चितवन)
समाज सेवा सम्मान २०५८, (संजीवनी तुलसी सेवा समिति, काठमाण्डौ)
वाल्मीकि साहित्य सम्मान २०६१, वाल्मीकि साहित्य सदन, चितवन
भाषा तथा साहित्य सम्मान २०६४, कृष्ण प्रणामी सत्सङ्ग परिषद् झापा
कालिका स्रष्टा सम्मान २०६४, कालिका एफ.एम. प्रा.लि., चितवन
समाजसेवा तथा साहित्य समाज २०६५, (कृ.प्र.यु.प. चितवन)
वि.सं. २०११ असोज १४ गते पिता जीवनाथ पौडेल र माता रत्नमाया पौडेलको कोखमा तनहुँको आरुस्वाँरा शेरबेसी भन्ने ठाउँमा उनको जन्म भएको हो। ‘नूनको पर्खाईमा’ (कवितासङ्ग्रह) ‘अमेरिकाका एैँसेलु निकै मिठा थिए’ (यात्रा-संस्मरण) प्रकाशोन्मुख देखिएकाले कविता र यात्रा-संस्मरणतर्फ पनि उनको कलम चलेको पाइए पनि हास्यव्यङ्ग्य निबन्धकारकै रूपमा उनको प्रसिद्धि छ । हुन त सभागोष्ठीमा उनका हास्यव्यङ्ग्यात्मक कविताहरू पनि सुनिन्छन् तर कृतिका रूपमा हास्यव्यङ्ग्य निबन्धकै दुईवटा कृतिहरू प्रकाशित भैसकेका छन् ती हुन् : ‘पार्टी खोल्ने धुनमा’ (२०५२) ‘दौरा सुरुवाल र टोपी आतङ्क’ (२०६५) ।
हास्य र व्यङ्ग्य दुई बेग्लाबेग्लै अर्थको समस्त शब्द हो । हास्यले आकृतिजन्य कायिक अर्थको बोध गराउँछ भने व्यङ्ग्यले व्यञ्जनावृत्तिको संकेत गर्छ । हास्यको कारक तत्व विपरीतता हो भने व्यङ्ग्यको विसंगति । नेपाली साहित्यमा हास्यव्यङ्ग्यको वीज (गजानि नाम रह्या गजानि धरम तपरे तरा भरले ते) शक्तिवल्लभ अर्याल (हास्यकदम्ब) राधावल्लभ अर्थात (साद्याको कवित-१) गुमानी (दिनदिन खजनाका भरिका बोकनाले …) प्रभूतिका रचनामा पाउन सकिन्छ । नेपाली साहित्यको माध्यमिककाल शृङ्गारिकताले उर्वर रहे पनि हास्यव्यङ्ग्यका निम्ति उर्वर रहेन । वि.सं. २००७ पछि नै हास्यव्यङ्ग्यका रचना मौलाउन थाले । यसै सन्दर्भमा भीमनिधि तिवारी, भैरव अर्याल र केशवराज पिंडालीको नाम अग्र स्थानमा आउँछ । सामयिक हास्यव्यङ्ग्यकारका रूपमा मुकुन्द आचार्य, चोलेश्वर शर्मा, रुद्र खरेल प्रभृत्ति साहित्यकार देखा पर्छन् । हास्यव्यङ्ग्यमै लक्षित साहित्यकारका रूपमा रामकुमार पाण्डे देखिन्छन् । नेपाली हास्यव्यङ्ग्य छिटपुट रूपमा कविताकाव्य र नाटकहरूमा देखिए पनि मूल रूपमा निबन्धमै केन्द्रित छ । यही हास्यव्यङ्ग्यको निबन्ध परम्परामा हास्यव्यङ्ग्यकै लक्षित नाममा पर्ने उल्लेखनीय प्रतिभा हुन्ः तिलकराज शर्मा ।
शर्माको पहिलो हास्यव्यङ्ग्यात्मक कृति ‘पार्टी खोल्ने धुनमा ‘ (२०५२) हास्यव्यङ्ग्यका क्षेत्रको महत्त्वपूर्ण प्राप्ति हो । २०४६ को जन आन्दोलन पछि प्रतिबन्धित पार्टीहरू खुला भए । राजनैतिक खुला वातावरणमा वर्षाकालमा च्याउ उम्रेझै राजनैतिक क्षेत्रमा पनि धमाधम पार्टीहरू खुल्न थाले । तिनै पार्टी र तिनका क्रियाकलापप्रति व्यङ्ग्य गर्नमा यो लक्षित छ । राजनीति मुलुकको उन्नतिका कारक र समस्याको निकास हुनुपर्नेमा दल र नेताका निहित स्वार्थको व्यवसाय गर्ने भएकाले तिनैप्रति प्रहार गर्न ‘पार्टी खोल्ने धुनमा’ शीर्षक राखेको बुझ्न सकिन्छ । उक्त कृतिमा सङ्गृहीत शर्माका निबन्धहरूले सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य कस्दै शिष्ट हास्यको सिर्जनाबाट विशेषत: व्यङ्ग्यभेदी भन्दा हास्यभेदी भई बौद्धिक कसरतविना सहज ढंगले सन्तुष्टि प्रदान गर्छन् । निबन्धका बीचबीचमा कवितात्मक उक्ति वैचित्र्यमा ढालिएका अनुभूतिहरूले मुक्तकीय आनन्दको झड्का दिन पनि सफल देखिन्छन् । व्यङ्ग्यको गहनतामा हास्य सृष्टिको अभाव, खड्किए पनि अनुप्रासमय शिल्प सौन्दर्य मनमोहक पाइन्छ ।
शर्माको दौरा सुरुवाल र टोपी आतंक (२०६५) दोस्रो हास्यव्यङ्ग्यात्मक कृति हो । उनले आफ्नै जीवनका सेरोफेरोका सामयिक विषयलाई कुशलतापूर्वक पक्री शैलीको घतलाग्दो हास्य र तीक्ष्ण व्यङ्ग्य प्रकट गरेका छन् । व्यावहारिक रूपबाट साथीभाइ उनी अगिपछि पनि ठट्यौलो स्वभाव प्रदर्शन गर्छन् । उनको जस्तो ठट्यौलो स्वभाव छ त्यसलाई नैबन्धिक कलामा उतार्न उनी कुशल देखिन्छन् । हास्यव्यङ्ग्यको फाँट राम्ररी पक्रेर मज्जासँग आफ्ना भावभङ्गिमा छाँट छन्द र शैली स्वभावलाई स-साना कथानकीय रोचक प्रसंगमा समेटी तिनलाई राम्रो अभिव्यक्तिगत बनोटमा प्रस्तुत गरी प्रवाह गर्छन् । निबन्धमा हास्यजनक प्रसंगको प्रविष्टिमा पनि उनी खप्पिस देखिन्छन जस्तै- आफ्नो त तालुमा एउटा ती पनि थिएन । कहिले काहीं टोपी नलगाउँदा महिला कर्मचारीका टाेली गिज्याउँदै खिस्स हाँस्थे फेरि भन्सारका हाकिमले आम्दानीको ध्वाँस देखाएर देशबाटै मेरी अधवैसे श्रीमतीलाई उडाएर लगे पुर्नविवाहको चक्करमा केटी बोज्दैछु । (दौरा सुरुवाल र टोपी आतङ्क ५. २८)
हास्यव्यङ्ग्यका साहित्यिक पूर्वज र समकालीन साहित्यिक अग्रजहरूप्रति श्रद्धाभाव राख्ने हास्यव्यङ्ग्यकार शर्मा हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व भैरव अर्यालका रचनाबाट प्रभावित देखिन्छन् । अभिव्यक्तिका क्रममा उनले अर्यालकै भाषाशैलीको सिको गरेका छन् । सिर्जनात्मक लेखनमा सिको गर्दागर्दै सिद्धिको आफ्नै स्वर प्रकट हुन्छ । सिकोको प्रयास जबसम्म विद्यमान रहन्छ, तबसम्मको अवस्थालाई उदीयमान भन्नुपर्छ । अर्यालका भाषाशैलीको अनुकरणात्मक नमुना जस्तै- ‘युवतीलाई म्याक्सी, ड्राइभरलाई ट्याक्सी, नेतालाई भाषण, भोकमरीलाई रासन, माझीलाई वहना, आइमाइलाई गहना, कविलाई कविता, रमितेलाई रमिता, सुर्तीलाई चुन, मनाङ्गेलाई सुन, जोगीलाई पौवा, गोठालेलाई गौवा, बाघलाई च्याङ्ग्रो, झाँक्रीलाई ढ्याङ्ग्रो अनसनकारीलाई जुस, कर्मचारीलाई घुस, डाक्टरलाई नर्स, पाकेटमारलाई पर्स मन परेजस्तै मलाई पनि पद अत्यन्त मनपर्छ ।’ (दौरा सुरुवाल र टोपी आतङ्क, पृष्ठ १७)
प्रभाव र सिकोका दृष्टिले शर्मा चर्चाको शिखर आरोहण गर्दै स्थापितको क्रममा युगीन यथार्थमा केन्द्रित भई धर्म, संस्कृति, परम्परा र राजनीतिका नाममा देखिने गरेको विकृति र विसङ्गतिलाई मुख्य निसाना बनाई सोद्देश्यपूर्ण र सन्देशप्रद हास्य र व्यङ्ग्यको सन्तुलित प्रयोगले घोचपेच गर्दै हसाउँन र मर्म छुन प्रवीण हुँदै गएकोले उनी आफ्नो हास्यव्यङ्ग्यात्मक लेखनको उद्देश्य र योजनामा सफल देखिन्छन् ।
साहित्यिक क्षेत्रको चितौने परिवेशमा तीनजना सत्तासीन नेताकै देखा पर्छन्, ती हुन् : निबन्ध सत्तामा रामबाबु, कविता सत्तामा विनोदी एवं समालोचना सत्तामा डा. लक्ष्मणप्रसाद गौतम । ती तिनै जना शर्माका यस कृतिभित्र भूमिका लेखकका रूपमा सामेल छन् । तिनैले शर्माका हास्यव्यङ्ग्यका नैबन्धिक विशेषतामाथि राम्रो प्रकाश पारेका छन् । तिनैले कृति भित्रबाट विशेषताहरूको राम्रो उत्खनन गरेकोले शर्माका निबन्ध उत्कृष्ट दर्जाका छन् भन्ने हुन्छ ।
शर्माको हास्यव्यङ्ग्य चेतलाई तीन दशकदेखि निकटबाट बुझेका लब्धप्रतिष्ठित निबन्धकार रामबाबु घिमिरेका दृष्टिमा शर्मामा रहेका हास्यव्यङ्ग्यकारिता नैसर्गिक जस्तो लाग्छ जसलाई उनले जीवन र समाज हेर्ने दुरवीन र माइक्रोस्कोप दुवै बनाएका छन् । (दाैरा सुरूवाल र टाेपी आतङ्क, पृष्ट क)
शर्माका हास्यव्यङ्ग्यात्मक रचनाको प्रभाव र प्रयोगलाई राम्ररी अनुभव गरेको शास्त्रीय छान्दकवि गोविन्दराज विनोदीका दृष्टिमा ‘शर्मा हाम्रै समाजमा प्रचलित सामाजिक, राजनैतिक सांस्कृतिक, शैक्षिक, प्रशासनिक आदि विविध पक्षीय विसङ्गति र विकृतिका अङ्गहरूलाई कुत्कुत्याएर हँसाउन र मुटु नै छेड्ने व्यङ्ग्यको सुइरो रोप्न निकै सिपालु छन् । (दौरा, सुरूवाल र टाेपी आतङ्क, पृष्ठ ग)
साहित्यिक वातावरण सिर्जना गर्नमा साहित्यिक कृतिको संकलन र प्रकाशन गर्नमा गहिरो अनुभव हासिल गरेका साहित्यकार केदारनाथ खनालका दृष्टिमा ‘शर्माका निबन्धहरू प्राय: सबै मान्छे र समाजमा व्याप्त विकृतिविसङ्गति कुरूपता, नग्नता अनैतिकता, उछृङ्खलता र छाडापनजस्ता असङ्गतिलाई कुत्कुत्याउँदै मर्मभेदी तीक्ष्ण प्रहार गर्न सफल छन् । (दाैरा सुरूवाल र टोपी आङ्क, पृष्ठ त)
लामै समयदेखि नेपाली कविता र केही उत्कृष्ट साहित्यिक कृतिको विश्लेषण र मूल्याङ्कनमा समय र श्रम खर्चिएका वस्तुवादी समालोचक डा. लक्ष्मणप्रसाद गौतमका दृष्टिमा शर्मा समाजका कुरीति असङ्गति अनुशासनहीनता विकृति र यावत् बिब्ल्याँटा परिस्थितिबाट अक्रान्त छन् । तिनप्रति विरोधको स्वर उराल्नु यिनको विशेषता हो । (दौरा सुरुवाल र टोपी आतङ्क, पृष्ठ घ) ।
जुनसुकै विषयमा “के भनिएको छ भन्दा कसरी भनिएको छ” भन्ने तथ्य महत्वको हुन्छ । यहाँ पनि कथ्य जे भए पनि कथन अति नै राचक घोचक र मर्मस्पर्शी छन्। सामाजिक विकृति र विसङ्गतिहरू, मानवीय कमजोरीहरू, भौतिक विद्रूपताहरूलाई जल्ले बढी कुशलतापूर्वक आफ्नो लेखनीको जालमा पार्न सक्छ उही उत्कृष्ट निबन्धकार ठहरिन सक्छ । यस दृष्टिते शर्मा सामयिकताका हरेक पक्षमा रोचक ढंगले प्रहार गर्न पुगेका छन् । प्रहारका क्रममा अभिव्यक्तिलाई बढी पेचिलो, धारिलो र तेजिलो बनाउन ठाउँठाउँमा उखानहरूको पनि प्रशस्त उपयोग गरेका छन् । विकृति विसङ्गति केलाउने क्रममा उनकै पारिवारिक परिवेश पनि आउँछ त्यसलाई सामान्यीकरण गर्न उनी सिपालु रहेकोले त्यसले राम्रो साहित्यिक स्वरूप वरण गरेको देखिन्छ ।
समग्र लेखन प्रकृति हेर्दा हास्यबाट प्रारम्भ भएर हास्यव्यङ्ग्य हुँदै केही यात्रापरक, समीक्षात्मक, खोजपरक र विचारमूलक हुँदै अगि बढेका छन् । प्रारम्भिक लेखनमा हास्यको मात्रा र पछिपछिका लेखनमा व्यङ्ग्यको मात्रा बढी देखिन्छ । हास्यव्यङ्ग्यात्मक शैलीको प्रयोग गर्दा शिष्टताको सीमा भित्रै शब्दहरू प्रयुक्त भएका छन् । एकोहोरो हास्य र एकोहोरो व्यङ्ग्य मात्र नभएर कहीं हसाउने, कहीं गम्भीर तुल्याउने र कहीं मर्म छुने गर्छन् ।
०००
स्रष्टाबिम्ब : व्यक्तित्व आरेख (२०६७)
Subscribe
Login
0 Comments
Oldest








































