कृष्ण प्रधानटोयलेट मोड़ (१५)
अरे पुलिस पनि कुन तुलसीको पात र दूधै दूधले नुहाएको जन्तु हौ हन। मैले अघि नै भने ता म स्यानु चोर, पुलिस सरकारी चोर अनि तपाईं महाचोर। द्याट्स सो अल।

कृष्ण प्रधान :
टोयलेट मोड़ १४ को अन्तिम अंश
टोयलेटबाबु : हो…नि।
चोर : कसले काम दिन्छ स्कूलमा मजस्तो मान्छेलाई। यहाँका स्कूलहरूतिर तपाईंहरूले तपाईंकै मामा-काका, शाली, प्रेयसीहरूलाई एपोइण्टमेण्ट दिएपछि….क्रमशः
नेता : (कुरा काटेर) …गलत…सरासर गलत….
बले : कुरामा कुरा चियामा चिउरा, भित्तामा माकुरा भनेजस्तो अब कुरा निस्किहाल्यो…चोर नानीको कुरा सुनेर मलाई पनि स्याउँस्याउँ भयो। कुरा के भने, नेता महोदय तपाईंलाई थाहा छ कि छैन को’नि हाम्रो माथ्लो गाउँको स्कूलमा एकजना रिटायर्ड आर्मीको हवल्दारलाई काम दिइएको छ….
टोयलेटबाबु :को भन ता! सबैले हवल्दार बड़ा भन्छ होइन? नाम मलाई थाहा भएन। (नेता ओँठ मात्र लेब्र्याउँछ) त्यै ता म पनि छक्क पर्छु। कसरी यस्तो हुन्छ यहाँ बुझ्न सकेको छैन।
चोर : मलाई सोध्नोस् न। हाम्रो यता के हुँदैन भनेर। एकजनाले एकजना नेताको बिल्डिङ बनाइदियो उसलाई स्कूलमा एपोइण्टमेण्ट। झन् त्यो हवल्दार बड़ा ता महिनामा दिन पनि राम्रो स्कूल जाँदैनन् अरे।
टोयलेटबाबु : किन ?
बले : पढ़ेका भए पो !
चोर : हो’नि। हाकाहाकी पढ़ाउनु जान्दिनँ भन्छन् ती हवल्दार बड़ाले। (नेतालाई हेर्दै) सुन्नुभो महामहिम नेताजी! यस्तो पारा छ यहाँ। खास क्वालिफाइडलाई काम छैन। तर यस्ता चोर नेताहरूको पूजा-अर्चना गरîो भने स्कूल अफिसतिर एपोइण्टमेण्ट दिने चलन चलेको छ यहाँ।
बले : अस्ति घाँस बोकेर तल फारसबाट आउँदै थिएँ दोकान डाँड़ामा एकजना नानीले ’कख’ भनेको सुन्नुभो भने तीन छक्क पर्नुहुन्छ।
टोयलेटबाबु : त्यस्तै हावामा नोकरी पाएका एकजना कुन चैं सरले उल्टाबाट एबसीडी पढ़ायो भनेर गाउँमा हल्लै छ ता। एबीसीडी नभनेर यसरी पढ़ाउँछन् अरे… Z Y X W V U / T S R Q / P O N M / L K J I / H G F E / D C B A
चोर : सर्वनाश भएन। अन्त ’कख’ चैं कसरी पढ़ाउँथ्यो नि
बले : त्यस्तो उल्टा ता होइन… क ख ग घ ङ नभनेर त्यो नानीले क ख ग घ कनि कनि हग पो अरे हौ। च छ ज झ जनतालाई ठग अरे।
नेता : (साखिलो भएर) विचारा नानीहरूको के दोष? पढ़ाउने सर-गुरूमाहरूकै दोष हो नि!
चोर : नेताजी। ए कुरा त्यसो पो? पढ़ाउनै नसक्ने, अण्डर क्वालिफाइड थोत्रे सरहरूलाई एपोइण्टमेण्ट दिने च® को हो नि? अन्त सर-गुरूमाहरूलाई दोष! तँहरूलाई यस्तो पाप लाग्छ कि मर्ने बेलामा पानी पानी भनेर छट्पटिँदै मर्नुपर्छ।
टोयलेटबाबु : स्कूलमा नानीहरू घटेर केही छैन। डाँड़ा गाउँको स्कूलमा सर-गुरूमाहरू सात जना छन् अनि नानीहरू तीन/चार जना मात्र।
बले : सर्वनाश…सर्वनाश। कुनै कुनै स्कूलमा ता विचारा सर-गुरूमाहरूले नानीहरूलाई चकलेट दिँदै फकाउँदै स्कूलमा बोलाउँछन् अन्त।
चोर : नेताजी स्कूल-स्कूल भिजिट गर्नोस्….मौका पायो कि आइमेहरूसित लठारेर हिँड़्नु अलिक कम्ति गर्नोस्। कुनै कुनै स्कूलमा ता सर गुरूमाहरू आउँदै-आउँदैनन्। सबै पार्टीको काममा व्यस्त। नानीहरू दिनभरि खेल्यो अनि मिड डे मिल खाएपछि आ-आफ्नो घर लाग्छन्। कति सर-गुरूमाहरू चाहिँ छुट्टी हुने बेलामा स्कूलमा ढिम्किन्छन्।
टोयलेटबाबु : फेरि कुनै कुनै सर ता कण्ट्रîाक्टर गर्न बाहिर जान्छन् अनि तिनको ठाउँमा गाउँकै युवक वा युवतीलाई पढ़ाउन पठाउँछन्।
बले : त्यति मात्रै र! एकजना सर ता विदेशमा छन् – खाता कलममा उनको नाउँ छ अनि उनको ठाउँमा एकजनालाई राखिएको छ।
चोर : नेताजी सुन्नुभो? तपाईंको शिक्षा विभागको चर्तिकला। यस्तै पारा हो भने हाम्रो पाहाड़बाट आई ए एस/ आई पी एस/ आई एफ एस र डाक्टरहरू सारा भारतभरि छप्छप्ती हुनेछन्। नेताजी कुन दुनियाँमा हुनुहुन्छ तपाईंहरू? (सबै कुरा सुनेर नेतालाई भाउन्ना छुट्छ। लाजले र रिसले के गरूँ कसो गरूँ हुन्छ)।
नेता : (एक्कासी चिच्याएर) चोर….
चोर : म चोर? म चोर हो भने तपाईं झन् महाचोर।
नेता : (कड़्केर) मुख सम्हालेर बोल्। कसरी म महाचोर ?
चोर : म स्यानु चोर तपाईं ठूला चोर….यसैले महाचोर भनेको हजूरलाई।
नेता : खबरदार सरकारी मान्छेलाई चोर भन्नु पाउँदैनस्। म महाचोर हो भन्ने तैंले प्रमाण गर्नुपर्छ।
चोर : चिनेको बाहुनले जनै देखाइरहनु पर्दैन। म सानातिना कुराहरू चोर्छु अनि तपाईं देशकै भँड़ार चोर्नुहुन्छ। म स्यानु चोरले मेरै गाउँ-घरकै मान्छेलाई स-साना दुःख दिइरहन्छु अनि तपाईं महाचोरले सम्पूर्ण नेपाली जातिलाई चिटिङ गरेर दुःख नदिइकनै थाङ्नामा सुताउनुहुन्छ।
नेता : आमामामामा…..यसको ठूलो कुरा हेर…
चोर : साह्रै साह्रै पऱ्यो भने म वेश्यालयमा गएर हाताहाती पैसा तिरेर वेश्यासित यौन तिर्सना मेट्छु…तपाईं महाचोर नेताले आफ्नै चेलीबेटीलाई नोकरीको लोभ देखाएर, बाह्र बत्तीसका ढाँट सपना देखाएर वा आफ्नो पावरको तुजुक देखाएर, एड हकमा काम लाइदिने लोभ देखाएर यौन शोषण गर्नुहुन्छ। अनि जबरजस्ती ’दाजु’ भन्न लाउनुहुन्छ। म वेश्यालाई वेश्यैको नजरले हेर्छु अनि तपाईंहरू चेलीबेटीलाई यौनपिपासाको दृष्टिले हेर्नुहुन्छ। सो आई एम स्मल चोर यू आर महाचोर।
नेता : (लाजमर्दो भएर) धेर बोलिस् भने पुलिस बोलाउँछु।
चोर : पुलिस ! (अट्टहास) महाचोरले स्यानु चोरलाई पुलिसको डर देखाउनु भाको? बोलाउनोस् पुलिसलाई। आज यो टोयलेट मोड़को पवित्र प्राङ्गणमा तीनवटा उस्तै-उस्तै चोरहरूको महामिलन हुनेछ।
नेता : कसरी?
चोर : कसरी र त्यत्ति पनि थाहा भएन? म स्यानु चोर, एक। तपाईं महाचोर। कति भयो दुइ। अनि पुलिस सरकारी चोर। तीन भएन? यो सरकारी चोरलाई बोलाएर केही नाफा हुँदैन। तपाईं जति यहाँका पुलिसहरूलाई चिन्नाुहुन्छ नि महाचोर नेता महोदय त्यो भन्दा दश गुणा धेर पुलिसहरूले मलाई चिन्छन्।
नेता : (भक्भकिँदै) कसरी…कसरी?
चोर : अन्त म गाउँ-घरको चोर अनि सरकारी चोर। बोर्ड ता चोर बोर्ड नै परेन?
नेता : पुलिसले पातो कसेर लगेको बेला थाहा पाउँछस्…सरकारी चोर रहेछ कि तरकारी चोर रहेछ। चोर तपाईंहरूजस्ता पुलिसको डरले यो सानो चोर जङ्गल पस्ने होइन क्या। हेर्नोस्…पुलिसको हाजत हाम्रो निम्ति दूधभात जत्तिकै हो। तपाईंहरूजस्तो काफरे छैन क्या म । चोर्छु…घर-परिवार पाल्छु तर कसैलाई भड़्काएर पुलिसको तातो गोली ख्वाएर कुनै पनि परिवारलाई बिल्लीबाठ चाहिँ ठ्याम्मै पार्दिनँ क्या। आई लभ एण्ड रेसपेक्ट माई पिपोल।
नेता : हेर है भाइ पुलिस पक्कै बोलाउँछु है। पुलिससित डर लाग्दैन?
चोर : के को डर? कसको डर? अनि किन डर? तपाईंहरू पो पुलिसले पाता कस्छ कि भनेर भालेमुङ्ग्रो भई अहिले पुलिसलाई हात पार्नुभएको छ ता। अनि एउटा महाचोरले स्यानु चोरलाई ’पुलिस..पुलिस’ भनी डर देखाउनु हुँदैछ। अरे पुलिस पनि कुन तुलसीको पात र दूधै दूधले नुहाएको जन्तु हौ हन। मैले अघि नै भने ता म स्यानु चोर, पुलिस सरकारी चोर अनि तपाईं महाचोर। द्याट्स सो अल। (नेतालाई प्रचण्ड रिस उठ्छ अनि कम्मरबाट पिस्तोल निकाल्छ)।
नेता : (पिस्तोल उज्याउँदै) चूप ! चोर शाला! अहिले तेरो गिदी छिल्लीबिल्ली पारिदिन्छु। (चोरले पनि पछिल्तिरको कम्मरबाट तत्कालै पिस्तोल निकाल्छ।
चोर : (पिस्तोल उज्याउँदै) स्याटप! म चोर तपाईं महाचोर। जिन्दगीमा कहिल्यै पिस्तोल पड़्काउनुभएको छ ? लु पड़्काउनोस्…तपाईंको पिस्तोल….म पनि पड़्काउँछु…जसको पहिलो गोली चल्छ…उसैको जीत…हेरौं कसको दम कत्तिको रहेछ…(पिस्तोल उज्याएको देखेर टोयलेटबाबु र बले हतार हतार उनीहरू समिप आएर पिस्तोले थुत्ने प्रयास गर्छ)।
टोयलेटबाबु : (पिस्तोल थुत्ने प्रयास गर्दै) के भाको हँ ! यहाँ होइन…यहाँ होइन।
क्रमशः
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest





































