खगेन्द्र नेउपानेनरनाथ दाइ !
जबजब दाैरासुरुवालभित्र झिनाझप्टीका खेलहरु बाँचिरहन्छन् राष्ट्रवादी मञ्चहरुमा पराया नर्तकहरु नाचिरहन्छन् तवसम्म दाजु ! मैले फूलकाे कविता लेख्न पाउन्न क्यारे किनकि फूलहरु आफैं अपमानित छन् फाेहाेरी गलाहरुमा कथित सम्मानित छन् ।

खगेन्द्र नेउपाने :
नरनाथ दाइ !
तपाईं भन्नुहुन्थ्यो नि !
वरिपरि देख कान्छा
यतबिघ्न फाेहाेर छन्
फाेहाेरकै कविता लेख कान्छा !
तर दाइ मैैले फाेहारकाे कविता लेख्दालेख्दा
फूलकाे कविता भुलिसकेछु
दुनियाँकाे बिसंगतिलाई
मस्तिष्कभरि बटुलीसकेछु
बजारमा गन्हाएका आलुका धाेक्राहरु
राजनीतिले ओसारेका सिद्धान्तहीन बाेक्राहरु
कुर्सीभरि पाेखिएका अवसरवादका र्यालहरु
कुखुरा चाेर्न पल्किएका प्रशासनिक स्यालहरु
सबैकाे कविता लेखें दाजु !
रातले बमिट गरेका रक्सीका आहालहरु
उज्यालाेले नछाेएका बस्तीका हालहरु
साेर दबाउँदै कुना पसेका छद्मभेषी चाेरहरु
मञ्चले उफारेका नटुवाका साेरहरु
सबै सबैलाई देखें दाजु !
अब धेरै भैसक्याे फाहाेरै फाेहाेरका कविता
देश भत्काउँदै गरेका काला माेहाेरका कविता ।
मलाई अब माथि आकाशकाे जूनकाे कविता
सपनाले मागेकाे सुनकाे कविता
लेख्न मन लागेकाे छ
मनकाे पैतालाले
जीवनकाे हरियाली टेक्न मन लागेकाे
बताससंग मिसिएर गुलाफका पत्रहरुमा
जिस्किएर झर्न मन लागेकाे छ
चरी जस्तै भएर
वल्लाे डाली पल्लाे डाली
सर्न मन लागेकाे छ ।
जबजब दाैरासुरुवालभित्र
झिनाझप्टीका खेलहरु बाँचिरहन्छन्
राष्ट्रवादी मञ्चहरुमा
पराया नर्तकहरु नाचिरहन्छन्
तवसम्म दाजु !
मैले फूलकाे कविता लेख्न पाउन्न क्यारे
किनकि फूलहरु आफैं अपमानित छन्
फाेहाेरी गलाहरुमा
कथित सम्मानित छन् ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest






































