सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धन्य ! कुर्सी

एकपछि अर्को कुर्सी दाबेदारका दार्शनिक तर्कहरु प्रस्तुत हुँदै छन् । हामी जनताले यस्ता महान् प्रेमीहरु पाएका छौं धन्य हामी जनता, धन्य कुर्सीप्रेमी, धन्य कुर्सी ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

अहिले बजारमा तातो खबर आको छ । सिंहदरमा कुर्सी खाली भाको छ । पार्टीहरुमा कुर्सीमाको बस्ने भन्ने तँछाडमछाड भाको छ । टेलिभिजनका स्क्रिनहरुमा ब्रेकिङ न्युज भन्दै कुर्सी खाली भएको समाचार महत्वका साथ प्रसारण हुँदै गाको छ । यो तछाँडमछाडको गाइजात्रे समाचार जम्मा गरेर छाप्ने प्रतिस्पर्धाले पत्रकारहरुलाई हैरान भाको छ । हेर्दाहेर्दै ब्रेकिङ न्युजका नयाँ संस्करणहरु देखिन थालेका छन् । दुईटा पार्टीले दुई जना कुर्सीप्रेमीलाई उम्मेदवार बनाए भन्ने खबरहरु आका छन् । ती दुई बिच कुर्सीमा तँ बस्ने कि म बस्ने भन्दै तँछाड मछाडको स्थिति छ भन्ने समाचार आको छ ।

अहिले टेलिभिजनका स्क्रिन, रेडियोका तरङ्गहरु र पत्रपत्रिकाहरुका पानाहरुमा यही कुर्सी खाली भएको समाचारले. पहिलो प्राथमिकता पाइरहेको छ । दुई कुर्सीप्रेमीहरु कुर्सीमा बस्न राष्ट्रिय सहमतिको खोजीमा लागेका छन् रे भन्ने कुरा पनि प्रकाशमा आएका छन्, तर सबै कुर्सीप्रेमीहरुको एउटै दाबी छ, कुर्सी आफूले नै पाउने कुरामा राष्ट्रिय सहमति हुनुपर्छ । यस अर्थमा दुवैको विचार मिलेको छ ।

दार्शनिकहरु भन्ने गर्दछन्, आजको मान्छेमा दिनप्रतिदिन मानवता हराउँदै गएको छ, प्रेम भन्ने चिज मान्छेको शब्दकोशमा छैन । तर मान्छेमा प्रेमको भावना हराउँदै गएको छ भन्ने दार्शनिकहरुका यी विचारलाई यी दुई कुर्सीप्रेमीहरुको अभूतपूर्व कुर्सीप्रेमले नराम्रो झापड दिएको छ । कुर्सीलाई त यस्तो विधि अगाध प्रेम गर्नेहरुले मानिसलाई (जनतालाई) कति प्रेम गर्लान् ? तपाईं आफैं अाकलन गर्न सक्नुहुन्छ । यिनीहरुले देखाएको कुर्सी प्रेम देख्दा मलाई मेरो देशले कम्तीमा पनि यी दुईजना त प्रेमी जन्माएछ नि भन्ने लाग्यो । म पनि प्रेमलाई उच्च सम्मान गर्ने मान्छे भएको हुँदा यी दुवै प्रेमीलाई जसरी भए पनि भेटेर मैले सम्मान प्रकट गर्नुपर्छ भन्ने ठानें । त्यसैले म यी दुई कुर्सीप्रेमीकहाँ पुगें ।

म कुर्सीप्रेमी नं. १ को मा पुग्दा उनी कर्सीप्रेमको चरम नमुना देखाउनमा दत्तचित्त भएर लागेका थिए । उनी कुर्सी कुर्सी भन्दै आफ्‌नै बैठक कोठामा बर्बराइरहेका थिए । म पुगेको थाहा पाउने बित्तिकै उनी अलि एटेन्सनमा आए । सामान्य परिचय र भलाकुसारीपश्चात् ती कुर्सीप्रेमी महोदयमाथि मैले मेरो अगाध सम्मान प्रकट गरें । भेट गरेपछि कुर्सीका विषयमा दुई चार कुरा नगरी त्यत्तिकै फर्कन मन लागेन, त्यसैले उनीमाथि मेरो प्रश्न तेर्सियो “भन्नुस् त तपाईंले नै सहमतिको कुर्सी पाउनुपर्ने कारण के हो ?”

प्रश्न भुइँमा खस्न नपाउँदै कुर्सीप्रेमी नं १ भन्ने थाले- ‘हेर्नुस् कुर्सीको महान् पारखी देशकै गौरवशाली, क्रान्तिकारी, महान् र शक्तिशाली कुर्सीप्रेमी पार्टीको ठूलो कुर्सीप्रेमी म हुँ । कुर्सीसँग मेरो प्रेम भएर नै मैले कुर्सीका लागि पार्टीभित्र गुटबन्दी गरेरै भए पनि सहमतिको कुर्सीको दाबेदार बनेको छु, पार्टीभित्र सबैलाई पछारेको छु । त्यसैले यो कुर्सीको सबैभन्दा खरो दाबेदार म हुँ । मेरो नाममा सहमति नभए कसको नाममा सहमति हुन्छ ? हेर्नुस् सहमतिको एउटै मात्र सूत्र गुट हो भन्ने कुरामा म प्रतिबद्ध छु । मेरो नाममा राष्ट्रिय सहमतिको प्रमुख आधार नै मेरो गुटबन्दी क्षमता हो । मेरो नाममा राष्ट्रिय सहमति भयो भने दलदल बिच मात्र होइन, गाउँगाउँ, सहर सहर, टोलटोल, घरघर सबै ठाउँमा गुटबन्दी गरेर देखाइदिन्छु ।

“तपाइँमा रहेको गुटबन्दी क्षमताले मात्र कसरी राष्ट्रिय सहमतिको लागि कसरी निर्विकल्प उम्मेदार भनेर पुष्टि गर्नुहुन्छ ? यस्ता गुटबन्दीका भरमा बनेका राष्ट्रिय सहमतिका उम्मेदवार अरु पार्टीमा पनि त छन् नि होइन र ? मैले उनीमाथि प्रतिप्रश्न गरें ।

‘गुटबन्दी मात्र होइन, मेरा अरु पनि गुणहरु छन्, मेरा गुणहरु त सुन्नुस् । म मेरा विपक्षी उम्मेदवार जस्तो हुतिहारा उम्मेदवार होइन, इतिहासमा विरासत थाम्नेहरुको जिल्लाबाट चुनाव जितेको मान्छे हुँ म । देशको स्वाभिमानलाई विश्वसामु बचाएर राख्नेहरुको बिडो थाम्ने जिम्मेवारी मेरो काँधमा सुम्पेका छन् पुर्खाले । त्यस्तो मान्छे भएकाले म नै यो कुर्सीका लागि उपयुक्त उम्मेदार हुँ भन्ने हाम्लाई लागिराको छ ।’ उनले तर्क पेस गरे ।

उनका तर्क सुनेर म उनीसँग प्रभावित भएँ, तैपनि कुरा एउटाको मात्र सुनेर त भएन, कुरा सबैको सुन्नुपर्छ, फेरि दुई जना नै कुर्सीप्रेमी भएका हुँदा स्वाभाविक रुपमा अर्का प्रेमी पनि मेरा लागि उत्तिकै सम्मानित व्यक्तित्व हुने नै भए । त्यसैले अर्का दाबेदारकहाँ पनि मैले नपुगी नहुने अठोट गरें र कुर्सीप्रेमी नं २ कहाँ पुगें । भलाकुसारी आदानप्रदानपछि उही कुर्सीप्रेमकै कुरा सुरू भयो ।

कुर्सीको प्रबल दाबेदारको रुपमा आफूलाई अनुभवी समूह भनेर दाबी गर्ने ती नेतालाई पनि मैले बारेमा प्रश्न गरें । उनी भन्न थाले यही कुर्सी पाउनुपर्ने आधारकै होइन, यो देशमा म नभए को त्यो कुर्सीमा बस्छ त ? मैलेभन्दा बाहेक कसले देशको समस्या समाधान गर्न सक्छ ? हेर्नोस्, म यो देशको सबैभन्दा पुरानो कुर्सीप्रेमी पार्टीको कुर्सीप्रमी हुँ । इतिहासमा मैले पटक पटक कुर्सी पाइसकेको भए पनि वर्तमान परिप्रेक्ष्यमा फेला परेको जुन कुर्सी छ त्यो कुर्सी यसपटक मैले पाउनुपर्छ । यतिखेर हाम्रो समूहको सबैभन्दा प्रभावशाली म हुँ, हेर्नुस् त मैले पनि मेरो पार्टीको अर्को प्रबल दाबेदारलाई पछारेको । मेरा पार्टीभित्रका अरु प्रतिस्पर्धीलाई पछार्न सक्ने म जस्तो व्यक्तिको नाममा राष्ट्रिय सहमति भयो भने म देशका सबै समस्यालाई पनि पछारिदिन्छु ? त्यसैले यतिखेर मेरा नाममा राष्ट्रिय सहमति बन्नुपर्छ ।”

“होइन, तपाइँले त विगतमा कुर्सी पाउँदा प्रजातन्त्र नै दरबारमा लगेर बुझाउनु भो भन्छन् । यस्तो प्रतिगामी नेताले गणतन्त्रको प्रधानमन्त्री बन्न मिल्छ र भन्दा रहेछन् नि त । फेरि गणतन्त्र ल्याउने पार्टीले तपाइँलाई कसरी स्वीकार गर्लान् र तपाईं प्रधानमन्त्री बन्नुहुन्छ ? मेरो उनमाथि पुनः प्रश्न तेर्सियो ।

मेरो प्रश्न सुनेर उनी अलि रिसाए जस्तो गरी भन्न थाले, “अरे कस्तो कुरा गर्नुहुन्छ तपाइँ ? कसले गणतन्त्र ल्यायो हँ ? तपाइँ होसमा त हुनुहुन्छ ? यो देशमा गणतन्त्र मैले ल्याएको हो मैले, बुझ्‌नुभो । मैले प्रजातन्त्र लगेर दरबारमा नबुझाएको भए थोडै यो देशमा गणतन्त्र आउँथ्यो ? त्यसैले यो देशमा गणतन्त्र ल्याउने एक मात्र व्यक्ति म भएको हुँदा मैले स्वाभाविक रुपमा कुर्सी पाउनुपर्छ ।” उनले कडा दाबी गरे ।

अरे, बाफरे बाफ, उनको कुरा सुनेर म चित् खाएँ । यस्ता महत्वपूर्ण योगदान पु-याएका नेतालाई चिन्न नसकेकोमा मलाई पछुतो पनि लाग्यो । वा ! कस्ता ठूला कुर्सीप्रेमी, म गद्गद् भएँ । कुर्सीका लागि यी दुवै प्रबल दाबेदार हुन्, यी दुवै योग्य हुन् भन्ने मलाई लाग्यो, तर कुर्सी एउटा मात्र भएकाले को बस्दा उपयुक्त होला भनेर बुद्धिजीवीहरुको पनि मत बुझ्‌नुप-यो भनेर मेरा केही प्रिय बुद्धिजीवीको मोबाइल नम्बर दबाएँ ।

मेरो फोनको घण्टी बज्दा नबज्दै उनले फोन उठाइहाले । नमस्कारको आदानप्रदान सँगसँगै मैले विषय प्रवेश गर्न नपाउँदै उनले आफैंले राष्ट्रिय सहमतिको कुरा निकालिहाले । मैले पनि प्रश्न फ्याँकिहालें “कुर्सीमा बस्ने राष्ट्रिय सहमति कसको नाममा हुनुपर्छ ? उनले ‘फलानो गुटको नेता उम्मेदवार हुने भए फलानो पार्टीबाट सहमतिको उम्मेदवार हुनु राम्रो हुन्छ र फलानो पार्टीबाट चाहिँ फलानो गुटको राम्रो हुन्छ । उनले गुट पुराण सुरु गरे । देशका लागि आफ्‌नो घर व्यवहार, छोराछोरी, सबै छाडेर आफूलाई भविष्यद्रष्टा
ख्ने यी बुद्धिजीवी पनि गुटजीवी भइसकेका रहेछन् । धन्य यिनलाई, यिनी प्रगतिको भन्ऱ्याङ् चढेछन्, खुसी लाग्यो ।

कुर्सी कसले प्राप्त गर्ने भन्ने खेल टुङ्गो लागिसकेको छैन । टेलिभिजनका स्क्रिनहरुमा, रेडियोका तरङ्गहरुमा अनि पत्रपत्रिकाका पानाहरुमा एकपछि अर्को ब्रेकिङ न्युज आउँदै छ । एकपछि अर्को कुर्सी दाबेदारका दार्शनिक तर्कहरु प्रस्तुत हुँदै छन् । हामी जनताले यस्ता महान् प्रेमीहरु पाएका छौं धन्य हामी जनता, धन्य कुर्सीप्रेमी, धन्य कुर्सी ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मैले तक्मा किन पाउने हजुर ?

मैले तक्मा किन पाउने...

डा. टीकाराम पोखरेल
म नेताभक्त

म नेताभक्त

डा. टीकाराम पोखरेल
ल, ल ! मैले पनि सङ्गठन खोल्ने भएँ

ल, ल ! मैले...

डा. टीकाराम पोखरेल
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x