साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य ! कुर्सी

एकपछि अर्को कुर्सी दाबेदारका दार्शनिक तर्कहरु प्रस्तुत हुँदै छन् । हामी जनताले यस्ता महान् प्रेमीहरु पाएका छौं धन्य हामी जनता, धन्य कुर्सीप्रेमी, धन्य कुर्सी ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

अहिले बजारमा तातो खबर आको छ । सिंहदरमा कुर्सी खाली भाको छ । पार्टीहरुमा कुर्सीमाको बस्ने भन्ने तँछाडमछाड भाको छ । टेलिभिजनका स्क्रिनहरुमा ब्रेकिङ न्युज भन्दै कुर्सी खाली भएको समाचार महत्वका साथ प्रसारण हुँदै गाको छ । यो तछाँडमछाडको गाइजात्रे समाचार जम्मा गरेर छाप्ने प्रतिस्पर्धाले पत्रकारहरुलाई हैरान भाको छ । हेर्दाहेर्दै ब्रेकिङ न्युजका नयाँ संस्करणहरु देखिन थालेका छन् । दुईटा पार्टीले दुई जना कुर्सीप्रेमीलाई उम्मेदवार बनाए भन्ने खबरहरु आका छन् । ती दुई बिच कुर्सीमा तँ बस्ने कि म बस्ने भन्दै तँछाड मछाडको स्थिति छ भन्ने समाचार आको छ ।

अहिले टेलिभिजनका स्क्रिन, रेडियोका तरङ्गहरु र पत्रपत्रिकाहरुका पानाहरुमा यही कुर्सी खाली भएको समाचारले. पहिलो प्राथमिकता पाइरहेको छ । दुई कुर्सीप्रेमीहरु कुर्सीमा बस्न राष्ट्रिय सहमतिको खोजीमा लागेका छन् रे भन्ने कुरा पनि प्रकाशमा आएका छन्, तर सबै कुर्सीप्रेमीहरुको एउटै दाबी छ, कुर्सी आफूले नै पाउने कुरामा राष्ट्रिय सहमति हुनुपर्छ । यस अर्थमा दुवैको विचार मिलेको छ ।

दार्शनिकहरु भन्ने गर्दछन्, आजको मान्छेमा दिनप्रतिदिन मानवता हराउँदै गएको छ, प्रेम भन्ने चिज मान्छेको शब्दकोशमा छैन । तर मान्छेमा प्रेमको भावना हराउँदै गएको छ भन्ने दार्शनिकहरुका यी विचारलाई यी दुई कुर्सीप्रेमीहरुको अभूतपूर्व कुर्सीप्रेमले नराम्रो झापड दिएको छ । कुर्सीलाई त यस्तो विधि अगाध प्रेम गर्नेहरुले मानिसलाई (जनतालाई) कति प्रेम गर्लान् ? तपाईं आफैं अाकलन गर्न सक्नुहुन्छ । यिनीहरुले देखाएको कुर्सी प्रेम देख्दा मलाई मेरो देशले कम्तीमा पनि यी दुईजना त प्रेमी जन्माएछ नि भन्ने लाग्यो । म पनि प्रेमलाई उच्च सम्मान गर्ने मान्छे भएको हुँदा यी दुवै प्रेमीलाई जसरी भए पनि भेटेर मैले सम्मान प्रकट गर्नुपर्छ भन्ने ठानें । त्यसैले म यी दुई कुर्सीप्रेमीकहाँ पुगें ।

म कुर्सीप्रेमी नं. १ को मा पुग्दा उनी कर्सीप्रेमको चरम नमुना देखाउनमा दत्तचित्त भएर लागेका थिए । उनी कुर्सी कुर्सी भन्दै आफ्‌नै बैठक कोठामा बर्बराइरहेका थिए । म पुगेको थाहा पाउने बित्तिकै उनी अलि एटेन्सनमा आए । सामान्य परिचय र भलाकुसारीपश्चात् ती कुर्सीप्रेमी महोदयमाथि मैले मेरो अगाध सम्मान प्रकट गरें । भेट गरेपछि कुर्सीका विषयमा दुई चार कुरा नगरी त्यत्तिकै फर्कन मन लागेन, त्यसैले उनीमाथि मेरो प्रश्न तेर्सियो “भन्नुस् त तपाईंले नै सहमतिको कुर्सी पाउनुपर्ने कारण के हो ?”

प्रश्न भुइँमा खस्न नपाउँदै कुर्सीप्रेमी नं १ भन्ने थाले- ‘हेर्नुस् कुर्सीको महान् पारखी देशकै गौरवशाली, क्रान्तिकारी, महान् र शक्तिशाली कुर्सीप्रेमी पार्टीको ठूलो कुर्सीप्रेमी म हुँ । कुर्सीसँग मेरो प्रेम भएर नै मैले कुर्सीका लागि पार्टीभित्र गुटबन्दी गरेरै भए पनि सहमतिको कुर्सीको दाबेदार बनेको छु, पार्टीभित्र सबैलाई पछारेको छु । त्यसैले यो कुर्सीको सबैभन्दा खरो दाबेदार म हुँ । मेरो नाममा सहमति नभए कसको नाममा सहमति हुन्छ ? हेर्नुस् सहमतिको एउटै मात्र सूत्र गुट हो भन्ने कुरामा म प्रतिबद्ध छु । मेरो नाममा राष्ट्रिय सहमतिको प्रमुख आधार नै मेरो गुटबन्दी क्षमता हो । मेरो नाममा राष्ट्रिय सहमति भयो भने दलदल बिच मात्र होइन, गाउँगाउँ, सहर सहर, टोलटोल, घरघर सबै ठाउँमा गुटबन्दी गरेर देखाइदिन्छु ।

“तपाइँमा रहेको गुटबन्दी क्षमताले मात्र कसरी राष्ट्रिय सहमतिको लागि कसरी निर्विकल्प उम्मेदार भनेर पुष्टि गर्नुहुन्छ ? यस्ता गुटबन्दीका भरमा बनेका राष्ट्रिय सहमतिका उम्मेदवार अरु पार्टीमा पनि त छन् नि होइन र ? मैले उनीमाथि प्रतिप्रश्न गरें ।

‘गुटबन्दी मात्र होइन, मेरा अरु पनि गुणहरु छन्, मेरा गुणहरु त सुन्नुस् । म मेरा विपक्षी उम्मेदवार जस्तो हुतिहारा उम्मेदवार होइन, इतिहासमा विरासत थाम्नेहरुको जिल्लाबाट चुनाव जितेको मान्छे हुँ म । देशको स्वाभिमानलाई विश्वसामु बचाएर राख्नेहरुको बिडो थाम्ने जिम्मेवारी मेरो काँधमा सुम्पेका छन् पुर्खाले । त्यस्तो मान्छे भएकाले म नै यो कुर्सीका लागि उपयुक्त उम्मेदार हुँ भन्ने हाम्लाई लागिराको छ ।’ उनले तर्क पेस गरे ।

उनका तर्क सुनेर म उनीसँग प्रभावित भएँ, तैपनि कुरा एउटाको मात्र सुनेर त भएन, कुरा सबैको सुन्नुपर्छ, फेरि दुई जना नै कुर्सीप्रेमी भएका हुँदा स्वाभाविक रुपमा अर्का प्रेमी पनि मेरा लागि उत्तिकै सम्मानित व्यक्तित्व हुने नै भए । त्यसैले अर्का दाबेदारकहाँ पनि मैले नपुगी नहुने अठोट गरें र कुर्सीप्रेमी नं २ कहाँ पुगें । भलाकुसारी आदानप्रदानपछि उही कुर्सीप्रेमकै कुरा सुरू भयो ।

कुर्सीको प्रबल दाबेदारको रुपमा आफूलाई अनुभवी समूह भनेर दाबी गर्ने ती नेतालाई पनि मैले बारेमा प्रश्न गरें । उनी भन्न थाले यही कुर्सी पाउनुपर्ने आधारकै होइन, यो देशमा म नभए को त्यो कुर्सीमा बस्छ त ? मैलेभन्दा बाहेक कसले देशको समस्या समाधान गर्न सक्छ ? हेर्नोस्, म यो देशको सबैभन्दा पुरानो कुर्सीप्रेमी पार्टीको कुर्सीप्रमी हुँ । इतिहासमा मैले पटक पटक कुर्सी पाइसकेको भए पनि वर्तमान परिप्रेक्ष्यमा फेला परेको जुन कुर्सी छ त्यो कुर्सी यसपटक मैले पाउनुपर्छ । यतिखेर हाम्रो समूहको सबैभन्दा प्रभावशाली म हुँ, हेर्नुस् त मैले पनि मेरो पार्टीको अर्को प्रबल दाबेदारलाई पछारेको । मेरा पार्टीभित्रका अरु प्रतिस्पर्धीलाई पछार्न सक्ने म जस्तो व्यक्तिको नाममा राष्ट्रिय सहमति भयो भने म देशका सबै समस्यालाई पनि पछारिदिन्छु ? त्यसैले यतिखेर मेरा नाममा राष्ट्रिय सहमति बन्नुपर्छ ।”

“होइन, तपाइँले त विगतमा कुर्सी पाउँदा प्रजातन्त्र नै दरबारमा लगेर बुझाउनु भो भन्छन् । यस्तो प्रतिगामी नेताले गणतन्त्रको प्रधानमन्त्री बन्न मिल्छ र भन्दा रहेछन् नि त । फेरि गणतन्त्र ल्याउने पार्टीले तपाइँलाई कसरी स्वीकार गर्लान् र तपाईं प्रधानमन्त्री बन्नुहुन्छ ? मेरो उनमाथि पुनः प्रश्न तेर्सियो ।

मेरो प्रश्न सुनेर उनी अलि रिसाए जस्तो गरी भन्न थाले, “अरे कस्तो कुरा गर्नुहुन्छ तपाइँ ? कसले गणतन्त्र ल्यायो हँ ? तपाइँ होसमा त हुनुहुन्छ ? यो देशमा गणतन्त्र मैले ल्याएको हो मैले, बुझ्‌नुभो । मैले प्रजातन्त्र लगेर दरबारमा नबुझाएको भए थोडै यो देशमा गणतन्त्र आउँथ्यो ? त्यसैले यो देशमा गणतन्त्र ल्याउने एक मात्र व्यक्ति म भएको हुँदा मैले स्वाभाविक रुपमा कुर्सी पाउनुपर्छ ।” उनले कडा दाबी गरे ।

अरे, बाफरे बाफ, उनको कुरा सुनेर म चित् खाएँ । यस्ता महत्वपूर्ण योगदान पु-याएका नेतालाई चिन्न नसकेकोमा मलाई पछुतो पनि लाग्यो । वा ! कस्ता ठूला कुर्सीप्रेमी, म गद्गद् भएँ । कुर्सीका लागि यी दुवै प्रबल दाबेदार हुन्, यी दुवै योग्य हुन् भन्ने मलाई लाग्यो, तर कुर्सी एउटा मात्र भएकाले को बस्दा उपयुक्त होला भनेर बुद्धिजीवीहरुको पनि मत बुझ्‌नुप-यो भनेर मेरा केही प्रिय बुद्धिजीवीको मोबाइल नम्बर दबाएँ ।

मेरो फोनको घण्टी बज्दा नबज्दै उनले फोन उठाइहाले । नमस्कारको आदानप्रदान सँगसँगै मैले विषय प्रवेश गर्न नपाउँदै उनले आफैंले राष्ट्रिय सहमतिको कुरा निकालिहाले । मैले पनि प्रश्न फ्याँकिहालें “कुर्सीमा बस्ने राष्ट्रिय सहमति कसको नाममा हुनुपर्छ ? उनले ‘फलानो गुटको नेता उम्मेदवार हुने भए फलानो पार्टीबाट सहमतिको उम्मेदवार हुनु राम्रो हुन्छ र फलानो पार्टीबाट चाहिँ फलानो गुटको राम्रो हुन्छ । उनले गुट पुराण सुरु गरे । देशका लागि आफ्‌नो घर व्यवहार, छोराछोरी, सबै छाडेर आफूलाई भविष्यद्रष्टा
ख्ने यी बुद्धिजीवी पनि गुटजीवी भइसकेका रहेछन् । धन्य यिनलाई, यिनी प्रगतिको भन्ऱ्याङ् चढेछन्, खुसी लाग्यो ।

कुर्सी कसले प्राप्त गर्ने भन्ने खेल टुङ्गो लागिसकेको छैन । टेलिभिजनका स्क्रिनहरुमा, रेडियोका तरङ्गहरुमा अनि पत्रपत्रिकाका पानाहरुमा एकपछि अर्को ब्रेकिङ न्युज आउँदै छ । एकपछि अर्को कुर्सी दाबेदारका दार्शनिक तर्कहरु प्रस्तुत हुँदै छन् । हामी जनताले यस्ता महान् प्रेमीहरु पाएका छौं धन्य हामी जनता, धन्य कुर्सीप्रेमी, धन्य कुर्सी ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x