रमेश विकल‘ब’ भन्नुपर्यो, बडो मान्छे
जबसम्म तपाईको बैठकमा बडा मानिसको जमघटका बीच 'रेड लेबिल' र सय रुपियाँ (नभए दशै रुपियाँ सही) प्वाइन्ट पप्लुको पाउ स्थिर हुन्छ । तपाईंको बडोपनको पच्चीस आना 'ग्यारेन्टी' रहन्छ ।

रमेश विकल :
– तपाई रक्सी खानुहुन्छ ?
– अहँ खान्नँ । त्यससँग संसर्गे गर्दिनँ । किनभने मेरो बाले बेस्सरी रक्सी घोकेर राति घर फर्केपछि घरभरि भाँडभैलो मचाएर आमालाई पशु चुटेझै चुटेको, आमाले मुटु फुटाएर जनमभर रगतको आँसु रोएको र बाले नै पनि कतिपल्ट नालीमा मुख गाडेर कुकुरलाई आङमा मुताएको मैले केटाकेटीदेखि नै देखेको छु ।
– तपाई पप्लु खेल्नुहुन्छ ? तास, कौडा कुनै पनि…?
अहँ ! पप्लु भनेको त कस्तो अनुहारको हुन्छ, मैले चिनेको पनि छैन । अनि तास, कौडा ?… मेरा बा खेल्नुहुन्थ्यो तर त्यही लतले मेरा बाको अवस्था माग्नेको झै गरायो। त्यही कुरा केटाकेटीदेखि नै अनुभव भएकाले मलाई त्यस चिजैदेखि घृणा छ, एलर्जी छ ।
अनि के त तपाईं झूट बोल्नुहुन्छ ?… चाकडी र चापलुसी, चुक्ली गर्न जान्नुहुन्छ ?
– अहँ, यो कला पनि मलाई आएन । आफ्नो त बानी नै खरो पो- जे जस्तो देख्यो, अनुभव गर्यो त्यस्तै भनिदियो । कोही रिसावस् कि खुसावस् । कसैको पनि खुसामत पनि गरिन्न, कसैको नचाहिने चुक्ली र बदख्याइँ पनि गरिन्न ।
त्यसो भए तपाई केको बडो मान्छे त ? तपाई त पढे लेखेको, युगबोध नभएको व्यवहार नबुझ्ने स्वाँठ, मूर्ख पो हुनुहुँदो रहेछ । सके तपाई विद्वान, लेखक, कलाकार अथवा कुनै आदर्श र नैतिकताको मुर्दा बोक्ने मलामी हुनुहुँदो होला ! हो, पक्कै यस्तै केही हुनुहुन्छ होला तपाईं । नत्र आजको बडो मान्छे त यस्ता – तपाईं जस्तो स्वाँठ कुरा गर्दै गर्दैन। ऊ मात्र किन उसका जहान, परिवार, स्वास्नी, छोरी, बैनी-बुहारी समेत पनि यस्ता मूर्ख कुरा गर्दैनन् । उनीहरू सबैमा बडो मान्छेमा हुने ती सब गुण हुन्छन् ।
हो मैले भनेको पत्याउनुहोस्, तपाईं फ्वाएँ पनि बडो मान्छे ! तपाईं हुन पनि सक्नुहुन्न । किन भने तपाईंमा, बडो मान्छेमा हुनुपर्ने गुण तपाईंमा कुनै पनि छैन । तपाईले आफैँ कबुल गरिसक्नुभो, न तपाई रक्सी खानुहुन्छ, न पप्लु खेल्नुहुन्छ । तपाई यस्ता कुनै काम गर्न सक्नु हुन्न जो, एउटा बडो मान्छेले मौका हेरेर गर्छ र गर्नुपर्छ । तपाई त बस्, विवेकको मूर्दा च्याप्ने, नैतिकताको बोझले दबेको एउटा निर्धा, काथर र विवश मान्छे- शिक्षा र साहित्यको फोहोरले बुद्धि टालेको मूर्ख मान्छे । तपाईलाई म बडो मान्छेमा कस्तो गुण हुन्छ र उसको दिनचर्या कस्तो हुन्छ बताउँछु सुन्नुहोस् ।
बडो मान्छे दिनभर आफ्नो जागिर अथवा व्यापार (राजनीतिक, धार्मिक, सामाजिक र आर्थिक) को सिलसिलामा अनेकौँ फूट बोलेर, अनेकौँ आश्वासन बोलेर, अनेकौँ बोल-कबोल बोलेर, अनेकौँ कालो-सेतो, सेतो-कालोको चटक देखाएर अर्थात् अनेकौँ ‘ड्युटी’ गरेर शारीरिक र मानसिक रूपले लस्त भएर थाकेपछि साँझ घर आएर आफ्नो नोकर, कारिन्दा, पियन र आफ्नै स्वास्नी छोराछोरी भेला गराएर आफ्नै बैठकमा बोतल खोलेर पप्लु लड्छ, अथवा स्वास्नी-छोराछोरी लिएर भट्टी जान्छ, क्यासिनो जान्छ, बिदा परेका दिन (फुर्सत भएको दिन) आफू जस्ता अरू बडे मानिसलाई घरैमा बोलाएर (वा उनीहरूका निम्तामा गएर) आफू कुनै राष्ट्रको काम, सम्मेलन, सेमिनार अथवा कुनै डेलिगेसनमा परराष्ट्र जाँदा डिप्लोमेटिक प्रिभिलेजअन्तर्गत ल्याएका अथवा कुनै बन्द व्यापारको सिलसिलामा वा शोखको पर्यटनमा हङकङ, ब्याङ्कका सिंगापुर यस्तै कतै जाँदा स्मगल गरेर (र गराएर) ल्याएको लाल लेबिल (वा सिकाच विस्को, व्हाइट हर्स, जोनी वाकर भोड्का.. अथवा यस्तै) को बोतल फोरेर उनीहरूलाई ओभर हेङ हुन्जेल ख्याउँछ अनि पाँच रुपियाँदेखि लिएर सब-दुई सय यस्तै प्वान्टको पप्लु खेलमा हजाराैं यताउता गर्छ । तर तपाई यो कने पनि का गर्नुहुन्न, त्यसैले तपाईंलाई हामी बडो मान्छेको पंक्तिमा कसरी राख्न सक्छौं ?
तपाईंलाई चित्त नबुझे जस्तो छ नि हो ? त के तपाईं बडो मान्छेको केही नमुनै हेर्न चाहनुहुन्छ त ? ठीक छ, म तपाईंलाई दुई-चार बडा मान्छेको चिनारी गराएरै तपाईंलाई विश्वास दिलाउँछु ।
हाम्रो छिमेकमा एक जना बडो मान्छे छन् । तपाईं सम्झनुहोला उनी जन्मेदेखि बडो मान्छे हुन् । होइन । उनका बाबु लखनराम मारबाडीकहाँ कपडाको थान च्यात्ने कामबाट परिबार पाल्थे । पछि उनले आफ्नो एक मात्र छोरोलाई पनि डेढा रूपैयाँको हिसाब सिकाएर उसलाइ मारबाडीका सालाको कोठीमा कपडा बेच्ने काम दिलाइदिए ।
तर छोरो यस्ता सानातिना कामले किन चित्त बुझाउँदथ्यो। ऊ बाबुभन्दा सात हात लामो थियो । उसले त्यहाँ बस्ताबस्तै वडो मान्छे बन्ने इमानदारी सिक्यो। उसले साहुको दुई नम्बरको धन्दा सिलसिलामा हङकङ र ब्याङ्कक एक-दुई खेप हान्यो। अनि त साहुलाई नै (एक पल्टको व्यापारमा) जिप्ट्याएर आफ्नै स्वतन्त्र कारबार सुरु गर्यो ।
यो आफ्नै कारबार उसले त्यसै सुरु गरेको होइन, हङकङ हान्दा स्मगल गरेर ल्याएको दुई-चार लाल लेबिलका बोतल फुटाएर गयो । पहिले उसले साहुकामा उधारो सूट, सारी आदि कपडा लिन आउँदा चिनिएका जानिएका एकाध बडो मानिसमार्फत अरू बडो मानिसका बैठकका पप्लु पार्टीमा दश-बीस रुपियाँ प्वाइन्टमा प्रवेश गर्यो अनि यिनै बडे आदमीलाई विस्तार-विस्तार आफ्ना डेरामा तानेर एकाध लाल लेबिल छल्काएर आफूलाई उनीहरूका नै कछाडे दम्तरीमा दर्ता गरायो। त्यसपछि त उसको आफ्नो बडो मान्छे बन्ने बाटो खुलिगो । आखिर हङकङ, ब्याङ्ककको राहदानी र आयात-निर्यात लाइसेन्स त आखिर यिनै बडे आदमीका हातमा न थियो । त्यो साथमा भएपछि त चाहे गुन्द्रुकको पैंटोमा हालेर चरेश बाहिर पठाऊ, चाहे डनलपको डसनाभित्र सुन र घडी हालेर भित्र झिकाऊ । अझ, भनसारका, आर.एन.ए.सी. का बडा मान्छेलाई पनि लालपरी चढाएपछि त त्यहाँ झन्झट पनि परेन उसलाई।
बस आज दुई-तीन वर्षदेखि ऊ आफैँ बडो मान्छे छ। किनभने अब ऊसँग आफ्नै दुईवटा कार छन् । दुई जना धनी ग्राहकले रोपनीको पैंतालीस हजारमा मोल छिनेर लिन दिन ठीक पारेको बत्तीस पुतलीको दश रोपनी जग्गा सवा लाख रोपनीका भाउमा उछिट्याएर त्यहीँ उसले बडे बिल्डिङ र क्याम्पा बनाइसकेको छ । अनि त्यस बिल्डिङको बैठकमा हरेक पर्व बिदामा देशका बडेबडे मान्छे जम्मा हुन्छन् र लाल लेबिलमा नुहाउँदै बीसदेखि हजार रुपियाँ प्वाइन्टसम्मको पप्लु लड्छन् । त्यति मात्र होइन, उसलाई आज विभिन्न सरकारी-गैरसरकारी सभा-समारोहमा सम्माननीय अतिथिका रूपमा आमन्त्रित गरिन्छ र सरकारी अ… सरकारी आर्थिक निकायका सञ्चालकहरू उससँग देशको अर्थतन्त्र सुल्झाउने बारे गहकिलो परामर्श लिन्छन् ।
अब अर्को एक जना बडो मान्छे छ । ऊ पनि दुर्गम जिल्लाको एउटा अनकन्टार भीरमा साहुका भैंसीको गोठालो जाँदाजाँदै एक दिन त्यसै भैंसीका लातबाट उछिट्टिएर काठमाडौं आइपुगेछ । गल्लीमा रल्लिँदारल्लिँदै एक दिन एउटा हितैसीले बुद्धि दिँदा उसले आफ्ना जिल्लाका माननीयलाई पक्डेछ । माननीयले पनि उसलाई केही दिन आफ्नै भात पकाउने, बजार जाने ड्युटीमा हल्लाएपछि एक जना बडा मान्छेको जिम्मा लगाइदिएछन् । बडा मान्छेले उसलाई आफ्नै घरको भात पकाउने, बजार जाने कामका लागि खाइलाई महिनाको तीस रु. मा राखेछन् । तर ऊ निकै चनाखो र बाठो भएकाले उसले भात पकाउने र बजार जाने भन्दा पनि बडो मान्छेका लागि बौद्धबाट लोकल वसार्ने र उनकी श्रीमतीको पेटिकोट पछार्ने, बच्चा खेलाइदिने अनि उनले हिँड भनेका बखत नाइट शो सिनेमा लाने अनि बडो मान्छे कुनै सरकारी, गैरसरकारी काममा गएका बखत घरमा ती सबै कर्तव्य पालन गर्ने, जो बडा मानिस खुद गर्ने गर्थे। उसका यी सबै कामबाट अत्यन्तै रिझिएकी श्रीमतीले बडो मान्छेसँग झगडै जस्तो गरेर उसलाई कर कार्यालयमा खर्दार पोस्टमा घुसारी छाडिन् ।
अनि त के चाहियो, ऊ आफ्नो चमत्कार देखाउन थाल्यो । ऊ अड्डाको कारिन्दाभन्दा बढी हाकिमको ड्रिङ्क पार्टनर, पप्लु पार्टनर भयो। अनि त दुवे वर्षमा ऊ आफैँ बडो मान्छे भयो। उसको आफ्नै बङ्गला खडा भयो र बङ्गलाको बैठकमा हरेक बिदा पर्वका बेला ड्रिङ्क र पप्लु पार्टी जम्छ, अरू बडा मान्छेको भेला जम्छ र देशको कसरी कल्याण गर्ने, राजस्व दबाउन खोज्ने अपराधीको भुँडी कसरी खोतल्ने आदि कुरामा गम्भीर छलफल पनि हुन्छ ।
अनि अर्का एक जना बडा मान्छे छन् मेरा जानपैचानका । उनले पनि यस्तै बडा मान्छेको संगतले बडा गुणहरूको एकएक खुड्किलो चढेर ‘जनसेवा’ को माथिल्लो तहमा आफूलाई पुऱ्याएका थिए । यसरी जनता र राष्ट्रको सेवा गर्ने सुवर्ण अवसर पाएपछि आफ्नो त्यस ‘सेवा अधिकार’ को उनले खुबै सदुपयोग गरे । अवैध वस्तुको वैध निकासी पैठारीका अनेक गुप्त बाटाहरू खुलाएर देशभित्र विदेशी मुद्रा भित्र्याएर, देशका गल्लीगल्लीमा विना कदर मिल्किएर, मलमूत्रमा लटपटिएर, अँध्यारो कोठा (मन्दिर) मा एक्लै निस्सासिएर विना मोलका (अमूल्य) कलाकृति (मूर्ति आदि) लाई आफ्नो जादूको स्पर्शले मूल्यवान् तुल्याएर देश-विदेशमा तिनको उचित कदर गराएर नेपाली (आफ्ना र आफ्ना पार्टनरहरू) का ढुकुटी समृद्ध तुल्याए । अनि एक्कासि कुनै होडले आफ्ना प्रतिद्वन्द्वीको ‘षडयन्त्र’ मा परेर उनले ‘जन सेवा’ को मेचबाट त खस्नुपर्यो, तर उनले समृद्ध गराएको जनता (उनी आफैँ र उनका पार्टनर) को ढुकुटी भने झन्झन् समृद्धिको चुलीमा पुग्दैछ । किनभने ‘देश र जनताको सेवा’ गर्ने बानी लागिसकेका उनले कुर्सी खोसिँदैमा ‘सेवा’ गर्न किन छोड्थे । उनको अहिले आफ्नै ‘राष्ट्र सेवा’ को व्यापार छ, कार छन्, बङ्गलाहरू छन् जो सरकारमाथि दया गरेर (उच्च भाडामा) कार्यालयहरू चलाउन प्रदान गरेका छन् ।
अनि उनको बङ्गलामा पनि हरेक फुर्सतका समयमा सयौं रुपियाँ प्वाइन्टको पप्लुको मनोरञ्जन चल्छ । कहिले लोकल र कहिले एरपोर्ट भन्सारमा ‘सीज’ गरेको रेड लेबिल, व्हाइट लेबिल पोर्ट, स्कच, भोड्का र कहिले ‘लोकल’ चल्छ। त्यतिबेला उनको बैठक बडा मान्छेका ‘अल्ट्रामोडर्न’ पुतलीहरू (छोरी बुहारी, श्रीमतीहरू) का खनखनाउँदो (चाँदीका डलर र सुनका पाउन्ड खन्के जस्तो) हाँसो, हलिउडका सिनेमाका ‘स्टेन्डर्ड जोक्स’ हरूले विशिष्ट जीवन जगाउँछ । घरपट्टि बडो मान्छेकी, केटाकेटीमै बाबुआमाले बिहा गरेर घाँडो भिराइदिएको र धेरै ‘सभ्य’ हुन नसकेकी आफ्नी श्रीमती भने यी सब सभ्य क्रियाकलाप (उच्छृङ्खल भाँडभैलो) लाई पचाउन नसकेर कहिलेकहीँ त ज्यादै पीडा पनि खप्छे । (खास गरी त्यतिबेला जतिबेला कुनै अर्को बडो मान्छेको। कल्चर्ड’ ‘सोफिस्टिकेटेड’ लाइफ पार्टनर (श्रीमती) आफ्नो चाँदीको …रको मिठास भरिएको खनखनाउँदो हाँसो र हातमा ‘लाल’ परीको गिलास लिएर आफ्नो लोग्नेसँग टाँस्सिएर पप्लुको पत्ती मिलाइदिने मीठो आग्रह गरिरहेको हुन्छे । तर उसलाई थाहा छ, उसले यी कुरामा कुनै आग्लो हाल्नु हुन्न, किन भने उसको लोग्ने यसैले गर्दा त बडो मान्छे भनिएको छ ।
अब अरू बडा मान्छेको नमुना पनि हेर्न चाहनुहुन्छ कि पुग्यो ? … भला अब एक-दुई नमुना मेरै तर्फबाट हेरिहाल्नोस् । ऊ गाउँले र उसका आफ्ने बाबुआमाका आँखामा पनि सडेको काम नलाग्ने नालायक छोरो । सानामा पनि बाबुले पढ्न जा भनेर कति गरी स्कुल पठाउँदा पनि ऊ स्कुलका सट्टा छिमेकीका बगैंचामा फलेका फलफूल चोर्न जान्थ्यो ।
बालकबाट ऊ तन्नेरी भयो। अनि उसले गाउँका आफैँ जस्ता दश-आठ शठहरू जम्मा गरेर एउटा अनौपचारिक टीम बनायो-आफू नाइके बनेर । यस टोलीको आतङ्क गाउँमा फैलियो । संसाँझै चौबाटोमा कुनै सिधासाधा भद्र मानिसलाई कुटपिट गर्नु, बेइज्जत गर्नु, दिन उज्यालै गाउँ-छिमेकका तरुनी छोरी-बुहारीमाथि हातपात, बलजफ्ती गर्नु, गाउँका होटल-पसलहरूमा जवरजस्ती उधारो खानु (नदिए र विरोध गरे कसैको खप्पर फोर्नु, हातगोडा भाँच्नु) यी त्यस मण्डलीको खास दिनचर्या थियो । यसले गर्दा गाउँघर, छरछिमेक त्राहीत्राही थियो। तर विरोधमा बोल्ने कसको आँट ? के उनीहरूको कोपभाजन बन्नु छ र ?
यी सबै क्रियाकलाप उसको स्थानीय प्रशासनको ‘शान्ति सुरक्षा’ कायम राख्ने पवित्र उद्देश्यको प्रेरणामा हुन्थ्यो । त्यसैले उसको मण्डली लुट र उधारोको माल आफू मात्र खाँदैनथ्यो शान्ति सुरक्षा दलमा पनि बण्डाचुण्डा हुन्थ्यो, लुटका तरुनी उनीहरू आफैँ मात्र भोग्दैनथे, प्रशासनको उच्च तहमा पनि उसको स्वाद पुग्दथ्यो। त्यति मात्र होइन आफू अघाएपछि परम मित्र छिमेकी मुलुकका मित्रहरूका लागि कोसेलीस्वरूप बम्बै, कानपुर, दिल्ली, कलकत्ता आदि शहरको सेयर पनि गराइन्थ्यो ।
अनि यस मण्डलीले जिल्लामा उपद्रो गर्ने, गडबड र अशान्ति मचाउने पढेलेखेका बेकार विद्यार्थी, शिक्षक आदि असामाजिक तत्त्वलाई उनीहरूको उपद्रो शान्त पारेर सामाजिक र देशभक्त बनाउन देशका जिल्लाका सञ्चालकहरूला ठूलो सघाउ पुयाउँदथ्यो। त्यसैले ऊ वरिष्ठ समाजसेवी कार्यकर्ताका हैसियतले सबैजसो सरकारी जमघटमा परिचित हुन थाल्यो ।
अनि उसलाई स्थानीय पञ्चायतको प्रधानपञ्चमा लडाउने निधो त्यहाँका खास-खास वरिष्ठको भयो । ऊ लड्यो। उसले जित्यो । (नजितेको भए त्यस गाउँको कुन दुर्दशा हुने थियो त्यसको कल्पनाले नै जनताका रौँ ठाडा हुन्थे ।)
प्रधान भएपछि पनि उसले देशको धेरै किसिमबाट विकास गर्याे । खेत मासेर नचाहिने ठाउँमा पनि बाटो खोलेर गाउँका जग्गा जिमी (धनी ठालुका) लाई बहुमूल्य बनाइदियो । जिल्लाबाट स्थानीय विकाससम्बन्धी पैसा निकासा गराएर पचहत्तर प्रतिशतबाट जनताको (आफ्नो) बास-गाँसको विकास र पन्ध्र प्रतिशतले स्कुल भवन (पहिलेदेखि बनिराखेको अलिकति पूरा नभएको) को निर्माण र दश प्रतिशतले गाउँमा खाने पानीको प्रबन्ध (एक-दुइटा मूललाई ओपी कुवाको रूप दिएर) गरेर खाने पानी संकट निवारण गरायो अनि त्यसै स्कुल भवन र खाने पानी योजनाको उद्घाटन गराउन राजधानीदेखि पञ्चायत मन्त्रीको सवारी चलाउन जनताबाट तदारुखता (जबरजस्ती) चन्दा असुल गरायो । त्यसै चन्दाबाट पाँच प्रतिशतले भव्य ‘नेपाल गेट’ बनायो, दश प्रतिशतले मन्त्रीज्यूको स्वागतको समारोहमा बडा मानिसहरूलाई ‘भोज’ दियो। अनि बाँकी पचहत्तर प्रतिशत…
यसरी जिल्लामा विभिन्न ‘रचनात्मक सामाजिक’ काम गरेबापत गएको चुनाउमा उसको नाउँ ‘सर्वसम्मति’ बाट (प्रतिद्वन्द्वीको उठ्ने साहसै भएन) रा.पं.स. मा प्रस्तावित भएर सर्वसम्मतिबाटै अनुमोदन भयो । उनी (अब ऊ सम्बोधन गर्ने भएन नि !) सर्वसम्मतिबाट बडो मान्छेका पंक्तिमा आएर डटे । आज भी.आई.पी. हाइटमा उनको बडो मान्छेलाई सुहाउने बङ्गला छ, मोटर छ र बङ्गलाको … कमा अधिकतर बिदा पर्वमा बडो मान्छेको अनिवार्य प्रिय भित्र रेड लेबिल (अथपा लोकल) र सयौँ रुपियाँ प्वाइन्टको पप्लु खेल पनि आएर विराजमान ।
त, अब तपाईंले बडा मानिसको दुईचार ‘स्याम्पुल’ हेरेर बडा मानिस बन्ने मन्त्र दीक्षा लिइसक्नु नै भयो । अर्थात् बडो मान्छे बन्न पहिले बडो मान्छे चिन्नुपर्यो, बडो मान्छे चिन्न बडो मान्छेको खास-खास लक्षण पहिचान्नुपर्यो – उनीहरूको बोलाइ, चलाइ, लबाइ, हिंडाइ र खास खास रुचि चिन्नुपयो, अनि मात्र आफू पनि त्यही चरित्र, त्यही रुचि ओढेर बडो मान्छे बन्न तम्सनु पो-यही महामन्त्रको दीक्षा ।
तर एउटा कुरा के भने बडो मान्छे बन्नु भन्दा पनि त्यसको स्थायित्व अर्थात् बडो मानिस्याइँ कायम राख्न कठिन कुरा छ । कति मान्छे त केही दिनको मूतको न्यानोपछि फेरि पुनर्मूषिको भवः हुन्छन् । अर्थात् बडो मान्छेको बडो उत्तरदायित्व समाल्न नसकेर फेरि ‘जनता’ ‘सामान्यजन’ पञ्च-प्रजा हुन पुग्दछन्। त्यसैले यो बडोपनलाई जोगाइराख्न प्रयोग गरिने रामबाण औषधीमध्ये सबैभन्दा श्रेष्ठ औषधी हो रेड लेबिल र पप्लु । त्यसै माध्यमबाट अरू ‘साइड’ उपायहरू सबै हुन्छन्- चुक्ली, चाकडी, चाप्लुसी इत्यादि । जबसम्म तपाईको बैठकमा बडा मानिसको जमघटका बीच ‘रेड लेबिल’ र सय रुपियाँ (नभए दशै रुपियाँ सही) प्वाइन्ट पप्लुको पाउ स्थिर हुन्छ । तपाईंको बडोपनको पच्चीस आना ‘ग्यारेन्टी’ रहन्छ । त्यसैले :
– पप्लु-इ-अमर रहोस् ।
– बडो मानिस – टिकिरहोस् ।
– स्कच – लोकल- जिन्दावाद ।
०००
मिर्मिरे / असार २०३९
Subscribe
Login
0 Comments
Oldest






































