रामकृष्ण ढकालगड्याङगुडुङ र डड्याङ्डुडुङ
जसले जे भने पनि खोके पनि नेपाल र नेपालीको युगौं अघिदेखिको भोगाइ अनुसार सडकको डड्याङडुडुङ्ले हाम्रो इतिहासमा उज्यालो ल्याउन आजको दिनसम्म कुनैपटक पनि सकेको छैन ।

रामकृष्ण ढकाल :
सडकको डड्याङडुडुङ्ग र आकाशको गड्याङगुडुङ् कहिलेकाही उस्तै हुन्छन् । यी दुवै मध्ये आकाशे चाहिँले धेरैजसो फाइदा दिन्छ । मनुवालोकमा वर्षा गराई किसानहरूमा हर्ष पनि दिन्छ । तर यो मात्तियो भने र अति गर्न थाल्यो भने हामीलाई आत्तिने बनाउँदै खती पनि गराउँछ । त्यसैले यसलाई खासै मति भएको भनेर मानिदैन । फागुनले आधा मेलो सिध्याएर हिँडिसक्यो ।
अबको केही महिना यहि आकाशे गड्याङगुडुङ्को राज्य चल्ने बेला हो । यसको फूर्ती धेरै दिनसम्म दाम्लोमा बाँधिएर बसेको र भर्खरै दाम्लो चुँडाएर भागेको नन्दिका नातिको जस्तै हुन के बेर ? यसलाई मन लागे विद्यालयको छानोमा सिँगौरी खेल्छ, गरिबको झुपडी उधारेर बिजोक बमाउँछ, रुखविरुवालाई डरछेरुवा सम्झेर दुख दिन्छ । असिनालाई साथ लिन्छ र पसिनाको दोहोलो काड्छ । खेतभरिको खेती यत्तिपनी न आउनेगरी साँढे पसे झैं माडेर गरिबका आँखाको पानी निकाल्छ मानौं यो पनि विश्वका अधिकांश देशको सरकार वा सत्तापक्ष हो ।
कम त सडकको डड्याङडुडुङ पनि कहाँ हो र ? जहाँ पायो त्यहिँ नचाहिदो उछित्तो र उपद्रो गर्नमा यो पनि कम्ता मापाको हुम्छ र ! रत्नपार्कको रेलिङ्ग होस् कि गाडीका सिसा यसले केही भन्दैन । घरका झ्यालका सिसा फुटाएर दिउसै स्याल पसे पनि सक्ने बनाउन सक्ने तर त्यसो गरेबापत कुनै कानून नियम नलाग्ने यसको अचम्मको विशेषता छ ।
चलिरहेकोे सत्तालाई नाली बग्ने हद्दामा पुर्याउन होस् कि दुर्गन्धे बन्दको अन्धाधुन्ध चलाउन होस् यो सडकको डड्याङडुडुङ अति नै सिपालु हुन्छ । यसकै माध्यमबाट धरधरी रोइरहेका जनतालाई अनेक सास्ती दिँदै केही चप्पल घिसार्नेहरू महल मुसार्ने हुन्छन् । यो चाहिँ आकाशे गड्याङगडुङ्बाट बज्रने चट्याङ जस्तै हो । नेपाल त झन विश्वकै महाअभागी परेको छ- गड्याङगुडुङ र डड्याङडुडुङको मामिलामा । किनभने यी दुबैको चपेटामा परेर नेपाल र नेपालीले पाउनुसम्म दुख सास्ती पाएका छन् ।
दुष्टलाई मस्ती साधुलाई सास्ती भन्ने उखान कहिँ चरितार्थ हुन्छ भने त्यो नेपालमै हो । यिनै गड्याङगुडुङ र डड्याङडुडुङकै कारणले गर्दा कोहि बाढीमा र कोहि खाडीमा मरेका छन् । अझ भन्दा सुन्दा जस्तो लागे पनि यो आकाशको गड्याङगुडुङ कहिलेकाहीँ बाटो बिराएर मनुवाहरूको पेटसित भेट गर्न आयो भने त्यसको निकाशको र देशको राजनीतिको गन्ध उस्तै हुन्छ- दुइटै खपी नसक्नुको । यी दुवैमा फरक भनेको समयको अन्तराल हो ।
आकाशको गड्याङगुडुङ वर्षैपिच्छे आउँछ भने सडकको डड्याङडुडुङ चाहिँ दुई हजार सात साल, चावालिस साल, पचास साल, बैसठ्ठी साल गर्दै बेलाबखतमा मात्रै आउँछ । आकाशेले जनजीवनमा लात हान्छ भने सडककोले इतिहासमा असर गर्छ । जसले जे भने पनि खोके पनि नेपाल र नेपालीको युगौं अघिदेखिको भोगाइ अनुसार सडकको डड्याङडुडुङ्ले हाम्रो इतिहासमा उज्यालो ल्याउन आजको दिनसम्म कुनैपटक पनि सकेको छैन ।
बरू आकाशे गड्याङगुडुङ ले कहिलेकाहीँ खडेरीलाई हटाएर घडेरी र मझेरीहरूमा खुसी ल्याउँछ । बारीहरूमा बालीको लहर ल्याउँछ । तर सडकको डड्याङडुडुङले सदाकाला तालीको आशा देखाउँदै नालीको वातावरणमात्र भिरायो ।
०००
२०८१ फागुन १७
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































