सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सती जाने पति

हृदयले चुमेको, एकापसमा झुमेको, सँगै सधैं घुमेको दम्पती चुलामा आवश्यक दम दिन नसक्दा अकालमा अप्रत्यासित सेरिनु परेका घटना र डोरीमा बेरिनु परेका दुःखद क्षणहरू सती जाने पतिले हम्मेसी भुल्नु हुँदैन ।

Nepal Telecom ad

शेषराज भट्टराई :

श्रीमती सती गएको कुरा जगजाहेरै छ तथापि पति सती जाँदाको दुर्गति अनौठ मान्नुपर्छ । झट्ट हेर्दा पति सती नगए पनि आन्तरिक व्यवहारमा पति सती गइसके । पति नै सती जाने जमानाको प्रादुर्भाव आधुनिक कालबाट भएको देखिन्छ । मरेकै मान्छेको चितामा गएर ज्वालाले जलेर खरानी हुने हरामी पाखण्डी सतीप्रथा भने आमूल उन्मूलन भयो । प्रजातन्त्रपश्चात् श्रीमती भएका सभापति, लखपति, करोडपति, अरबपति होस् या खरवपति, भए जति सबै सती गएको देखेर प्रायः उदासमात्र हैन निराश र न्याम्रा देखिन्छन् । वास्तवमा मान्छे सती किन जान्छन् त भनेर विचार गर्दा आफ्‌नो स्वार्थसिद्ध गर्न जाँदा रहेछन् । आफ्‌नो स्वार्थ सिद्ध हुन्छ भने नैतिकतालाई तिलाञ्जली दिनै पर्ने रहेछ, भन्ने कुरा सती जाने पतिबाट छर्लङ्ग भएको छ ।

उहिल्यै पति मरेपछि श्रीमती डँडाको घाम, जून होस् या जवानीले आक्रान्त, कंगाल हुन् या हुनबार खानदानकी किन नहोस् मृत पतिका साथ सहज रूपले सती जान्थे । कस्तो राम्रो चलन ‘सँगै मर्ने सँगै बाँच्ने’ भनेको त त्यस्तो पो । आजभोलि सँगै बाँच्ने कसम खान्छन् र झुक्याएर एउटा मर्छन् बाँच्नेले बुच्चिङ गर्छन् । यस्तो स्वार्थ ग्रस्त जिन्दगी जिउँदा मात्र हैन, पिउँदा-सिउँदा जीवितै भए पनि बाँच्न कसलाई मन लाग्छ र ? तै पनि हाम्रो समाजमा लाज गालले पनि कतिपय तन्दुरुस्तीका साथ बाँचिराखेका छन् । गरीव राष्ट्रमा बाँच्ने रहर हैन, बाध्यता रहेछ जुन श्रीमती र सती जाने पतिले भोगिरहेछन्, चाहे त्यो राजनीतिको कारण होस् वा खाद्यनीतिको ।

यो संसारै श्रीमती र साथमा सती जाने पतिको रहेछ । यिनको जिन्दगीभरिको पौरख भनेको आफ्‌नो युगलपन र छोराछोरी हुन् । जुन उमेर अवस्थाले साथ दिएको खण्डमा दिन दहाडै बावुआमालाई छोडेर हिँड्छन्, घुर्याउछन् । जसको विकसित रूप नै श्रीमती र पति । उ वेलामा श्रीमती खसोखास व्यवहारका हुनाले जसको पति बस्छ, उसकै श्रीमती चितामा बस्छ भन्थे तर आज जमाना कलविष तीतोमात्र किन विब्ल्यॉटै छ । घुम्दो पृथ्वीमा सती जाने श्रीमतीलाई पतिको कुन चुरीफुरी रुचेन कुन्ति सती जानै छोडिदिए । अर्थात् कानूनले लपेटिएको वाहनामा छाेराछोरी हुर्काउँदै वा दोस्रो दाम्पत्यको जगेर्नार्थ कल्कलाउँदो वयलाई बहलाउदै सास्ती सदुवा कहलाउँदै जीवन धान्न ख्याल मजा त आउँदैन । यसरी जीवन बाँच्न र देहलाई साँच्न सबैलाई सिकाउन पर्छ । यसो गर्नाले सत्मार्ग समाउन सजिलो पर्छ अन्यथा स्वर्गको निकासामा प्रश्न चिन्ह लाग्छ ।

जमाना अति आध्निरकताले आक्रान्त छ । मरेका पति वा पत्नीमाथि छाँद हालेर डाँको छोडेर रुने फुर्सद कसैलाई छैन । कति काम बितिराखेको हुन्छ कसरी रुने ? हाँस्दै हिँड्न सुहाउँदैन रोएपछि बसेरै रुनु पर्यो । त्यसै देखावटी रुन्चे अनुहार लाउँछन् । आँसु झरिहाल्यो भने पनि पुछपाछ पार्छन् र पुनः नयाँ संसार को संरचनामा लीन हुन्छन् । यस कम्प्युटरको जमानामा मानव व्यवहार पो किन ढिलो हुन्थ्यो र ? सबै चलाख सबै बाठा भएपछि आइमाईबाट आफ्‌नै पतिलाई टेरपुच्छर लाउन आनेकाने गरेको लख काटी पति परमेश्वरले नै श्रीमतीसँग सगौरव सती जाने अठोट गरेको बुझिन्छ । यसरी जल्दीबल्दी श्रीमतीका साथ पति नै सती गएपछि बिग्रिएका व्यवहारहरू सुध्रिदै जाँदोरहेछ क्यार ! अधिकांश पतिहरू श्रीमतीसँग सती जान निकै उत्सुक, आतुर र आवश्यक ठान्छन् ।

अर्धाङ्गिनीसँग सती जाँदै जान्न भन्ने पतिको एकरति विश्वास गर्नुहुँदैन । जसरी राजनेताहरू आफ्‌ना सल्लाहकारसँग हुबहु सती जान्छन् । त्यसै गरी पतिपरायण सल्लाहाकार श्रीमतीसँग सती जानु सहज र सजिलो हुँदैन तथापि भन्न सकिन्छ :
दाँत हाँसे पनि आँत नहाँस्दा कसरी बाँच्ने
दोखुट्टा एक लघु एक दीर्घ कसरी नाच्ने ?
सके मिल्नु मिलेरै चिल्नु
सके बाँड्नु मिलेरै निल्नु

हृदयले चुमेको, एकापसमा झुमेको, सँगै सधैं घुमेको दम्पती चुलामा आवश्यक दम दिन नसक्दा अकालमा अप्रत्यासित सेरिनु परेका घटना र डोरीमा बेरिनु परेका दुःखद क्षणहरू सती जाने पतिले हम्मेसी भुल्नु हुँदैन । किनकि यस्ता क्रीडाले सती जाने उत्कट इच्छामा विर्को लाग्न सक्छ । नलाग्न सक्छ । नलाग्नु बिर्को लागिसकेपछि खोल्न वा एकअर्कामा बोल्न बोरमात्र हैन अनौठो र अघोर आपत्तिको रूपमा लिइन्छ । जसलाई हर्दम मनन गर्नसकै साढे सातका स‌ङ्कटाहरू आँसु बनेर झर्न र टर्न सक्छन् ।

जमाना फाइदा र बेफाइदाको चक्रब्यूहमा जकडिएको अवस्थामा सती जाने के कति सकल्प लिएर अघि बढेका हुन्छन् जान्न आवश्यक हुन्छ । राजनेताहरू कुर्सी नभए मुडा (बाँसको कप्टेराबाट बनाएको बस्ने चीज) हत्याउने दृढ विश्वासका साथ जनतासँगै सोझै सती जान्छन् । सती जान नराम्रो हैन, तर सुहाउनचाहि अवश्य पर्छ । मन्त्री प्रधानमन्त्रीहरू आफनो पद अटल, असल, अचल र अम्मर रास्न सत्लाहकारको सुसेलीमा नाच्छन् । यिनले ‘जा’ भने जाने, ‘आ’ भने आउने, खा भने खाने, ला’ भने लाउने, ‘हा’ भने हाल्ने, ‘झि’ भने झिक्ने अटुट आदत भएर के सती जान उद्दत हुन्छन् । वास्तवमा फाइदा पनि अगणित हुन्छ । जो माथि हुन्छ त्यो फाइदामा फसेको हुन्छ भने जो तल हुन्छ उसलाई घाटाले डसेको हुन्छ । जुन नेपाली जनता जस्ता अबोध, अकर्मण्य र अभिशप्त जीवन जिउन वाध्य हुन्छन् ।

मानव भाले होस् या पोथी दुवै वा सबै फाइदा होला जस्तो भयो भने पोथी करकराउने र पोथीलाई फाइदा होला जस्तो भयो भने भालेले भुतभुते खेल्नु अनौठो मानिदैन । यो तस्करले चलाएको संस्कार हो । संस्कार सवैको हुन्छ, कुरा राम्रो र बराम्रोको मात्रैले फरक हुन्छ । भूगोल रणभूमिमय छ । यस रणभूमिमा सहिद हुन सबै रुचाउँछन् तर निदों, सोझो, निरीह, निसाफ नजान्ने, अर्थाभावले आजित, असक्ततालाई शहीद हुन गाह्रो छ । शहीदको सीमामा पार्टीको दाहिने हात र नेताको नजिककालाई मात्रै चयन गरिएको पाइन्छ । बलीको बोको बनाउन सुहाउने नै सर त स्वभाव भएकालाई हो । जे होस् सती जानु विलासिता होइन बाध्यता हो रहर होइन कहर हो । बाध्यताले विलासिताको जंजिर छिनाइ दिन्छ । त्यसैको परिधिमा बाँचेको छ नेपालको सार्वजनिक सुरक्षा नियमावली ।

संसारमा श्रीमती जस्तो बाठो पति हुने भए नारीले चाहे एक दिन, पुरुषले चाहे वर्षदिन’ भन्ने उखानको जन्म हुन्थेन होला । पुरुषार्थले भरपूर सती जाने पति बारीको रूप शृ‌ङ्गार र नाडीमा काँचका कञ्चन चुरा छम् छम् बज्न थालेपछि जीवै छोडेर सती जान खोज्छन् । कोही पति श्रीमती नयाँ छँदा सती जान्छन् भने कोही पति जीवनको उत्तरार्दमा सती जाने गर्छन् । ढिलो चाँडो एकचोटि सती जान रुचाउने पतिको ओखतीचाहिँ तिनै श्रीमती हुन् भन्ने कुरामा दुई मत छैन ।

कारण कालान्तरमा श्रीमतीले सती जाने पतिलाई कुखुरे व्यायाम, कर्णकसरत, (कान समातेर … लगायत पारिवारिक जुवामा नारिदै, एकार्कामा टाढिदै, खसी पारिंदै, झाँको झारिँदै, फाँको मारिदै, नानी, बावुहरूको दानापानी, थाड्नो/भोगटा, टाल्दा टाल्दै मुखमा बुजो हाल्दा हाल्दै सती उर्फ दम्पतीको आरोह अवरोहका दुर्गम बगरहरू छिचोली नसक्नु खण्डहर हुन्छ । तैपनि अजर अमर हुँ झै पति परायण पत्नी रिंकल रौँरहित गालाको छालाखातिर आमरण अनसन बस्ने पतिको पत्यार लाम्ने पहल तथा श्रीमतीका साथ सती जाने अटुट आस्था अनि अथक उत्साह देख्दा लाग्छ पतिका लागि श्रीमती खुट्टै हाने पनि साँच्चै सुवानी नै हुँदा रहेछन् । के गर्नु ज्यान सबैको प्यारै हुँदोरहेछ त्यसमाथि पनि नेपालको परिवेशमा प्रजातान्त्रिक परिपाटीको कारण ज्यान जोगाउनु नै ठूलो कुरा नभएको कहाँ हो र ?

सती जाने पतिले भएभरका मध्ये कटक्क मन खाएर टपक्क टिपेर भित्र्याएकी श्रीमतीको सुसार जर्सी गाईलाई झै गर्नुपर्छ । शुभ शाममा मसाज मालिस गोडा, हात र कपालमा रङ्गीन पालिस, बत्ती गए गर्मी भए हम्किने, रिसले चुर भए पनि नबम्किने, भक्तवत्सल भएपछि नित्य अनुष्ठानबाट नै सती जान सजिलो पर्छ । अन्यथा काँ पतिलाई सती जान दिने नि ! छि । छि दूर दुरमै दिन बित्छ । छि !छि ! दूर दुरमै कालले कोलमा हालिसक्छ ।

सती जाने पति ब्रह्मचारी वा कर्मचारी वा कंगाल र श्रीमतीचाहिं दौलतमा टंगाल बौद्धिकतामा उँचो भएपछि पतिले कुचो लिएर वडार कुँडार नगरे श्रीमतीको घुचो रूपले गाँज्न वा नोकर सरह दाँज्न सक्छ । बिहान आँखा उघ्रिएपछि बेलुका ननिदाएसम्म पतिको जाङ वा टाङमा पसिना नदेख्ने हो भने श्रीमतीको देह भत्भती पोल्छ । यसरी पोलेको लक्षण देखिन थाले पछि सती जाने पति घाँडो भएको बझनुपर्छ । घाँडो जिन्दगी जिउनुभन्दा दाम्पत्यको भोगाइमा फाटेको मन टाल्नु सिउनु नै उत्तम होला कि कसो ?

०००
फूलबारी, पाेखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
मेरो अक्कल मेरै सक्कल

मेरो अक्कल मेरै सक्कल

शेषराज भट्टराई
मलामी

मलामी

शेषराज भट्टराई
तीन ठाेकान

तीन ठाेकान

शेषराज भट्टराई
तीन ठाेक्तक

तीन ठाेक्तक

शेषराज भट्टराई
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
चश्मा

चश्मा

सुरेन उप्रेती
माड्साप्

माड्साप्

श्याम गोतामे
दिक्कलाग्दो छिमेकी

दिक्कलाग्दो छिमेकी

नगिता लेप्चा राई
ठोक सरकार ठोक

ठोक सरकार ठोक

शेषराज भट्टराई
आधा सत्य आधा भ्रम- ८

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x