साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय गफाडी सम्मेलन

यो एकदम रौरव भन्दा पनि महान गौरवशाली सङ्गठन भएकाले यसको स्वर्गमा पनि प्रचार प्रसार गर्न नारद ऋषिलाई त्यस भेगको प्रतिनिधि बनाइ पठाउने निर्णय पनि भयो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

यो पृथ्वीमा रहेका सम्पूर्ण चर अचरका एकमात्र अन्तिम सहारा अन्तिम शरण दाता सूर्यपुत्र तथा सबैलाई अढैया र साँढेसातिद्वारा महाकष्ट प्रदानकर्ता शनिदेवका साख्खै भाइ यमराजको दिशातिरबाट हाम्रोदेशमा स्याउँस्याउँती नालिका कीरासरी आएका मारवाडीदेखि कवाडीसम्मले अत्यधिक सताइरहेको अवस्था छ । यस पृष्ठभूमिमा एकदिन कति मारवाडीहरूको मात्र धोतीको टालो लगौंटीको खालो हेरिरहनु कहिलेकाहीँ त हाम्रो पालो पनि हुनुपर्छ, अब पनि केही गरेर नदेखाए जिन्दगी गन्दगी नै हुन्छ, हामीलाई सम्झेर इतिहास रून्छ भन्दै केही व्यक्तिहरू मिलेर राष्ट्रिय गफाडी सम्मेलनको आयोजना गरेछन् ।

देशभरका देशखाई शेष भएका विदेशीलाई दण्डवत गर्न गएका इज्जत माटोमा पुरेका पाएको मौका नछोड ए लौका भन्दै निर्लज्ज पाराले हसुर्नसम्म हसुरेका, कहिले नेताका लगौंटी समाउँदै र कहिले रखौटीसँग रमाउँदै अनेक थरी नाम बनाएका, कोहि साँच्चिकै बास आएका त कोहि बुङ्बुङ्ती धूलो भन्दा पनि डुङ्डुङ्ती गन्हाएका अनेक रूप रङ्गका ढङ्ग बेढङ्गका गफाडीहरूलाई एकै थलोमा उभ्याई एउटा बृहत् कार्यक्रम गरेछन् ।

एकातिर गफाडी वर्गको एउटा अलग पहिचान स्थापित गर्ने र अर्कोतिर गफकै माध्यमबाट राष्ट्रिय विकाशमा योगदान पुर्‍याउने उपायको खोजि पनि हुने, त्यस्तै गफाडीहरूद्वारा हालसम्म देशका लागि दिइएका रोगदानका बारेमा बेस्सरी गफ चुट्न पनि पाइने भएकोले एउटा गफाडी सम्मेलन आयोजना गर्नु यो महान वैज्ञानिक युगको टड्कारो आवस्यकता पनि हो । किनकि वैज्ञानिकहरूले नै गफाडीहरूको अमूल्य समयको ख्याल गरि गफाडीहरूले एक आपसमा देखभेट नगरी पनि मज्जाले गफ चुट्न सक्ने वातावरण सिर्जना गरिदिएका छन् सञ्चारका माध्यम मार्फत ।

कानून सम्मत होस् कि हानून सम्मत जानून् सम्मत होस् कि नजानुन सम्मत, मानुन सङ्गत होस् कि नमानुन सम्मत आखिर गफाडी भैसकेपछि गफ त लाउँनै पर्‍यो । नत्र पेशा पनि धरापमा पहिचान खराबमा भनेर नआएको साल नभएको मैना नगनियको गते काँडेतारको वा सिउँडिको बारमा राष्ट्रिय महादशाको ठिक बाह्रबजे राष्ट्रिय गफाडी सम्मेलन राजनीतिक महादुर्गन्धे चौरमा आयोजना गरियो ।

हाम्रो देशमा पुरानो उखान छ भुक्ने कुकुरले टोक्दैन गर्जने मेघले पानी बोक्दैन । अर्थात् आकाशदेखि धर्तिसम्म सुन्नेलाई जर्ती भएर पारा तातेर आए पनि गफाडीको काम भुक्नु र खोक्नु, दुष्टलाई बोक्नु सज्जनलाई सके टोक्नु नसके ठोक्नु यहिमात्र हो । यस्तो राम्रो न राम्रो चाम्रो न चाम्रो, दाम्रो न दाम्रो जस्तो विशेषता पनि जो कोहिमा हुँदैन । त्यस्कारणले पनि गफाडी हुनु एक महानता हो भलै यसमा मानवता हुँदै नहोस् ।

सम्मेलनै गफाडीहरूको भएपछि अन्य आमको भन्दा पृथक क्षमता उनीहरूमा रहेपछि सबै कुरा त्यही अनुसारको हुनै पर्‍यो । त्यसैले त्यस सम्मेलनमा परमुख अतिथि, दुर्मुख अतिथि, कुरौटे अतिथि, भरौटे अतिथि, दोचारे अतिथि, लाचारे अतिथि, नकच्चरे अतिथि, लम्पसारे अतिथि, दुच्छर अतिथि, पुच्छर अतिथि, मन्थरे अतिथि, जन्तरे अतिथि आदिलाई पनि मञ्चासिन गराइयो ।

फेरि कुरोको कुटुरोले मात्र जठरले मान्दैन । थुतुनोले जे फलाकोस् त्यसले उसलाई कत्ति पनि चित्त त के चित्तको पित्त पनि बुझ्दैन । त्यसैले मञ्चासिन र बेन्चासिनलगायत सबैका लागि खाञ्चासिनको पनि व्यवस्था गरियो । परमुख, दुर्मुख, दुच्छर अतिथिको आसनमा चोथाले भासन र शून्य रासनको भरमा देशमा दुशासन गरिरहेका राष्ट्रिय स्तरका राजनीतिका केही शीर्ष व्यक्तित्वहरू बसे । पुच !अतिथिहतूका आसनमा तिनै नेताका मलद्वारलाई पवित्र हरिद्वार मान्ने झोले झाम्टे कौडे मुन्द्रे गुन्द्रुके स्वानभुत्ले टाटेपाटे आदि बसे । तिमध्ये केहिले अरौटे भरौटे अतिथिको सदाबहार भूमिका निभाए ।

देशभरबाट आएका अनेक गफाडिहरू देख्दा लाग्थ्यो यो जमानामा आएपछि त गफाडीहरूका पनि आफ्नै नागा जोगी, अघोरी, श्मशान प्रेमी, ज्योतिषी , माता, झाँक्री, वैज्ञानिक, इशाई, विकसित देशका प्रतिनिधि, सिमाना क्षेत्रफलका हिसाबले ठूला भनिएका देशका उच्छ पदस्थ हस्तिहरूआदि इत्यादि सबै हुँदारहेछन् ।

पराइको बोली बोल्ने नेता, तिनकै गुणगान गाउने कार्यकर्ता, नमिल्दो भविष्यवाणी गर्ने र जथाभावी फलादेश गर्ने ज्योतिष माता झाँक्री, निर्लज्ज शासन र शासकको नग्नता लुकाउन मरिहत्ते गर्ने लगौंटी कर्मचारी, साना देशका सिमानामा सदाकाल घिनलाग्दो बेइमानी गर्ने तर असल मित्रताका भाइचाराका गफ दिने कथित ठूला देशका शासक, एक हातमा बम र क्रश तथा अर्को हातमा प्रजातन्त्र र मानव अधिकारको गफ चुट्दै विश्व सभ्यतामाथि असभ्य नृत्य गर्ने विकसित देशका शासक, पशुपन्क्षीलाई समेत एक हातले दानापानी र अर्को हातले खुकुरी दिँदैँ असल पालक भएको गफ दिने किसान कसाही, प्यालेस्टाइनी मुसलमानको महाबिजोगप्रति चुँ गर्न नसक्ने तर अरूलाई के के न मानव अधिकारको गफ लडाउने विश्वका मानव अधिकारवादीहरू लगायत अनेक खालका विशेषताले सुसज्जित राष्ट्रिय गफाडी सम्मेलन सातदिनसम्म चल्याे ।

केन्द्रिय क्षेत्रीय ग्रामीण आदि समितिहरू गठन गरि गफाडीहरूकै निजि संविधान राष्ट्रिय थुतुने संहिता निर्माण गरि सप्पन्न भयो । यो एकदम रौरव भन्दा पनि महान गौरवशाली सङ्गठन भएकाले यसको स्वर्गमा पनि प्रचार प्रसार गर्न नारद ऋषिलाई त्यस भेगको प्रतिनिधि बनाइ पठाउने निर्णय पनि भयो ।

लाखौं जनता सडकमा आएर देश बचाउन कोहि आउ भन्दा देशमा के भएको छ र बचाउनुपर्ने भन्दै आफ्नो आँखाको दृष्टिको सहि परिचय दिएकोमा त्यस गफाडीलाई महाहावादारी नकच्चरो पदकबाट विभूषित गर्दै, गणतन्त्र, सङ्घियता, सुशासन, लोकतन्त्र, धर्म निरपेक्षता आदिका बारेमा हालसम्म सुनिएका गफहरूलाई हाप्सिलोको बोलीको उपमा प्रदान गर्दै सम्मेलन बिसर्जन हुँदाे भयो ।

०००
२०८१ फागुन २७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x