साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुभवीलाई प्राथमिकता

नाइँ मलाई त्यहीँ केटी चाहिन्छ भन्ने गीत तपाईंले सुन्नुभएकै हाेला ! केही मान्छेहरू, "नाइँ हाम्लाई त्यही राजा चाहिन्छ ।" भनिरहेका छन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पढ्दा स्वदेशे पुज्यते राजा विद्वान सर्वत्र पुज्यते पढियाे । शस्त्र बलभन्दा शास्त्र बल बलियाे भनेर घाेकियाे । धनभन्दा बुद्धि ठूलाे भन्ने वादविवाद प्रतियागितामा पुरस्कार थापियाे । तरबार भन्दा कलम बलियाे भनेर बहस गरियाे । पढेकाहरूलाई आदर गरियाे । विद्वानहरूलाई कदर गरियाे । कतिपय अबस्थामा अपठित गवारहरूकाे जमात देख्दा टिठ लागेर आउथ्याे । एक किसिमले हेर्दा अपठितहरू भेंडाकाे बथान लाग्दथे ।

एकदिन पढेकाले भन्दा परेकाले जान्दछ भनेर एकजना बुढा मान्छेले मलाई घुर्की लगाए । स्कुलकाे मुखै नदेखेका बुढा मान्छेका घुर्की सुन्दा मलाई उदेक लाग्याे । मनमनै भनें जसले स्कुलकाे मुखै देखेन उसैका यस्ता फूर्ति ? रिसले कन्सिरीका राैं ठाडा भए । काला अक्षर भैंसी बराबर भएका बुढाले के चाहिँ परेर जाने ? हामी किताबका अक्षर निलेकाले के जानेनाैं ? जाे चाेर उसैकाे ठूलाे स्वर भनेझैं हेप्नुकाे पनि एउटा सीमा हुन्छ ! बुढाकाे झेंकाे झार्न मन लागेकाे थियाे । आफ्नै बा समानकाे मान्छेकाे मुख लाग्न सकिएन । चुपचाप लागियाे ।

ठूलो जागिर खाएर ठूलो मान्छे बन्न कसलाई मन लाग्दैन हाेला ? त्यसमाथि आफू परियाे पढेकाे मान्छे । जागिरे बन्नका लागि के मात्रै गरिएन ? विज्ञापन खुल्ने हरेक पत्रिका हेरिन्थ्याे । अफिसहरू धाइन्थ्याे । सूचना पाटीमा आँखा लाइन्थ्याे । विज्ञापनमा लेखे अनुसारकाे ठाउँमा गइन्थ्याे । प्राय : विज्ञापनमा अनुभवीलाई प्राथमिकता लेखिएकाे हुन्थ्याे । आफूसँग काम गरेकाे अनुभव थिएन । केवल थियोे विश्वविद्यालयले प्रदान गरेकाे सर्टिफिकेट । जुन सर्टिफिकेटले वेराेजगारीकाे बिल्ला भिराएकाे थियाे । जागिरका लागि कुँदाएकाे थियाे । जुत्ता फटाएकाे थियाे । कुकुर खटाएकाे थियाे । भुकाइकाे डरले डाँडाे कटाएकाे थियाे । तैपनि जाँच लिने अड्डाले राजश्व ठटाएकाे थियाे । परीक्षाका नामा धेरै ठाउँमा बसियाे। कहिले लिखितमा नाम निस्कियाे । कहिले निस्किएन । अन्तर्वातामा सफल हुन कहिल्यै सकिएन ।

धेरैजसाे ठाउँमा जागिरले अनुभव खाेज्दाे रहेछ । आफू परियाे अनुभवविहीन । कहिल्यै कुनै क्षेत्रकाे अनुभव भएन । जन्मियाे एकैपटक । पटकपटक जन्मिएको अनुभव छैन । स्कुलहरूमा सधै पहिलाे भइयाे । दाेस्राे, तेस्राेकाे अनुभव भएन । फेल हुने र कक्षा दाेहाेर्याउने अनुभव फिटिक्कै भएन । पढेर अब पुग्याे भनेपछि जागिर खाेज्न भाैंतारियाे । कति वर्षकाे अनुभव भनेर साेधियाे ? आफ्नो एउटै रेडिमेट उत्तर थियाे ; माैका नै पाएकाे छैन हजुर ! कहाँकाे अनुभव हुनु ?

जागिर खाेज्दै हिड्दा उमेर छिप्पिदै गयाे । जाेरीपारीले छिप्पड प्रसाद भन्न थाले । कतिपयले बुढाे बाेकाे गनायाे पनि भन्न भ्याए । कतिले काठ पसेकाे मुला । यस्तै यस्तै उपमा धेरै आए । याे हिसाबले वास्तविक नाम नै धरापमा लाग्ने देखियाे । जागिर नखाई बिहे नगर्ने अडानलाई थाती राख्न बाध्य भइयाे ।हितैषीहरूले पढेकाे केटाे भनेर ढाेल पिटाए । केटी खाेज्न दस गाउँ डुलियाे । लमी लिएर हिड्दा प्रश्न मलाई हुन्थ्यो – भनेपछि उहाँ हजुरकाे छाेरा ! त्याेबेला कस्ताे भए हाेला तपाईं आफै अनुमान गर्नुहाेस् । हुन नसकेको ससुरा माेराले बिहे गर्न खाेजेकाे केटालाई नै हजुरकाे छाेरा ? भनेपछि कहाँसम्मकाे हैरानी भए हाेला ! कुरा यत्तिमै सिमित छैन ।

कहिंकतै उमरेवाला कुमारी केटी नपाएपछि मजस्तै छिप्पिएका वा घरबार बिग्रिएर खिपिएका केटी खाेज्ने काम भयाे । एकठाउँ कुरा मिल्ला मिल्ला जस्ताे भयाे । केटा र केटीकाे एक्ला एक्लै वार्ताका लागि एकान्त कुनामा पठाइयाे । हुनेवाला दुलहीले मुसुक्क हाँसेर भनिन्- ” हजुर पनि अनुभवी हाे ? ” आफू त निशब्द भइयाे । याे अनुभव र अनुभवी सन्दर्भ मेरा लागि टाउकाे दुखाइकै विषय भयाे । केही बाेल्न सकिएकाे थिएन । केटीले प्रसङ्ग जाेडिन्

“अब हजुर एउटै मनमुटु गाँसिने कुरा भएपछि कुरा लुकाउनु हुँदैन । मेराे पहिलाे घरबार बिग्रिएर अहिले माइतीमा बसेकी हुँ । उता छाेडपत्र भैसक्याे । ”
मैले जिज्ञासा राखे -” छाेडपत्रकाे कारण ?”
उनले भनिन् , ” मेरा दुईचार जना केटा साथी थिए । सबैसँग राम्रै सम्बन्ध थियाे । त्यहीँ भएर । तपाईंले पनि पछि धाेका दिने हाे कि ? तपाईंका पनि केटी साथी छन् कि ? ”

ऊ बेला पढ्नेतिर बाहेक अन्त ध्यान गएन । केटी साथीकाे कुरा नै भएन । जीवनसाथीकाे खाेजी गर्दा यहाँ पनि अनुभवकाे कुरा आयाे । मैले प्रसङ्ग काेट्याएँ, ” यहाँलाई सन्तानकाे पनि अनुभव थियाे कि ? ”
उनले जवाफ दिइन्” जन्माएकाे त छैन जन्मन नदिएकाे भने छ ।”
मैले भने, ” उसाे भए मेराे त्यस्ताे केही अनुभव छैन । अनुभवी मान्छेसँग विवाह गर्नुहाेला । यहाँलाई शुभकामना ।”

जागिरे जीवनका लागि त अनुभवी भनियाे । बिहेका लागि पनि अनुभवकाे खाेजी भयाे । आफूसँग जन्मिएकाे अनुभव भएन । जन्माएकाे पनि भएन । लाग्छ मर्ने पनि एकैपटक हाे । यसकाे पनि अनुभव हुने छैन ।

केटी माग्न जाँदाकाे रातभर निद्रा लागेन । राजनीतितिर लागू कि झैँ लाग्याे । रातभर साेंचे केटाकेटी छँदा मन्त्री , प्रधानमन्त्री भएका अनुहार आज पनि उनै छन् । भनेकाे सुनिन्छ “राजनीतिमा जति पाकाे उमेरकाे भयाे उति अनुभवी । काँचो उमेरका काउ युवाले कुनै कुराकाे भाउ पाउदैनन् । त्यसैले बुढाहरूकै रजगज चलेकाे हाे रे !

पढी गुनी के काम हलाे जाेती खायाे माम भन्ने केही दमालीहरू आज सम्झिन्छु । हरेक वर्ष कक्षा दाेहाेर्याएर दस वर्षमा पाँच कक्षा सम्म पुगेका साथीहरू पनि बिर्सन कहाँ सकिन्छ र ? राजनीतिमा पनि यस्तै मानिसहरू चाहिदा रहेछन् । एउटै कक्षामा पटकपटक पढेका र उपद्राे गरेर जेलनेल भाेगेका अनुभवी नभएसम्म राजनीतिकाे दाउपेचमा सफल नभइने कुरा जानकारहरू भन्छन् ।

शासन गर्नका लागि भासनकाे अनुभव चाहिदाे रहेछ । भासनबाट रासनकाे आश्वासन दिएपछि राजनीतिक मिसन पूरा हुँदाे रहेछ । शासक बन्न सासक बन्ने सामर्थ्य राख्नुपर्ने कुरा एकजना नासकले बताएकाे कुरा यहाँनेर सम्झिन चाहन्छु ।

अरू देशमा राष्ट्रपति बनिसकेका मानिसहरू सर्वसाधारणको रूपमा फर्किएर विभिन्न पेशा वा व्यवसायमा फर्किएको सुनिन्छ । हामीकहाँ त्यस्ताे अनुभव गरिएकाे छैन । सकेसम्म आफ्नो घर भाडामा लगाएर सरकारी सुविधा कुम्ल्याउने र आफू सुम्ल्याउने अनुभव आम नागरिकले गरेका छन् ।

आजभोलि सडक तातेकाे छ ।सडक तातेसँगै मान्छे मातेकाे छ । मात चढेकाहरूले अरूलाई लात लगाएर भात पचाएका छन् । सडक तताउनेहरूमा काेही राजावादी छन् । काेही गाँजावादी । नसाले लठ्ठिएका हरिलठ्ठकहरू एकले अर्कालाई खुइलाउने दाउमा छन् । सडकमा बाजा बजाएर राजा नआउने तर्क एकाथरिकाे छ । जसरी भए पनि राजालाई गद्दीमा राखेर गद्दारी गर्ने ताउमा अर्काथरि छन् । मजस्ता केही बज्रस्वाँठ कता लाग्ने अन्याैलमा छन् ? यस्ताे अवस्था “पशुपतिनाथले सबैकाे कल्याण गरून् ।” भन्ने निरीहता बाहेक अरू केही नभएकाे निवेदन गर्न चाहन्छु ।

संघीयताले सिंहदरबार गाउँ गाउँमा पुगेकाे छ । दरबारसँगै बिना श्रीपेचका बाइसे चाैबिसे कालीन राजाहरूका शासकीय स्वरूपकाे अनुभव जनताले गरिरहेका छन् । नाइँ मलाई त्यहीँ केटी चाहिन्छ भन्ने गीत तपाईंले सुन्नुभएकै हाेला ! केही मान्छेहरू, “नाइँ हाम्लाई त्यही राजा चाहिन्छ ।” भनिरहेका छन् । पूर्वराजाकाे भूमिकामा रहेकाले आफू आफ्नो वंशकाे विरासतलाई जाेगाउन कम्मर कँसेर लागेकाे कुरा विश्वस्त सुत्रबाट आएकाे छ । पटक पटक मन्त्री र प्रधानमन्त्रीकाे चटक देखाउने देशमा दुईपटक राजाकाे अनुभव लिएकालाई तेस्राे पटक राजा बन्ने रहर लाग्नुलाई अनाैठाे मान्ने कुरा भएन ।

अनुभवीलाई प्राथमिकता दिनै पर्छ । यसाे भनिरहँदा मजस्तै कहिल्यै कुनै कुराकाे अनुभव नभएका बबुराहरूले कहिले अनुभवीकाे प्रमाणपत्र पाउने ? अनुभवीकाे लाइसेन्स वितरण गर्ने निकायकाे खाेजीमा छु । कसैले फेला पारेमा खुसुक्क बताइदिएमा आभारी हुनेछु ।

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१।१२।१२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x