शिवप्रसाद जैशीधनपतिहरूलाई शुभकामना !
जे होस् नयाँ वर्षले खान मिल्ने खानदेवस् नखान मिल्ने नखानदेवस् । आम नागरिककाे स्वास्थ्य बिगारेर आयु ध्वस्त पार्ने जङ्कफुड कम्पनीका धनीमानी धनपति मालिकहरूलाई- शुभकामना !

शिवप्रसाद जैशी :
अन्न र अन्नादीको नामोनिसाना गाउँमा नहुँदा पनि मानिस मक्खै छन्। खुसी छन्। सुखी छन्।अन्न अन्नादी गेडामेडा रोप्नु, गोडमेल गर्नु, सयार्नु, केलाउनु, स्याहार सम्हार गर्नु अनि सुकाउनु, कुट्नु, पिस्नु बडो झन्झटिलो कार्य। पिता पुर्खाहरूले पुस्तौँपुस्ताले गरेको काम गर्नु पुरातनपन्थी सोच। परम्परावादी हुनु हो। जडसुत्रवाद पछ्याउनु हो। आजको यो वैज्ञानिक जुगमा कसले गर्छ यस्तो मरिमेट्नु पर्ने काम। यस्तो अन्न अनाज फलाउने काम गरिबगुरुवाले गर्ने हो। उहिले हाम्रा बाज्यबराजुहरू गरिब थिए। कम्मरमा थोत्रा धडाको पटुको कसेर बाउसोले खन्थे। कोदालो चलाउँथे। हल गोरु जोतेर खेतबारीमा मौसम अनुसार मकै, कोदो, जौ, फापर अनि अरु केके हो केके छर्थे, उमार्थे, हुर्काउँथे, बढाउँथे। पटुकाको ताल वा शिरको टोपी उल्टो पारेर पसिना पुछ्थे। खेतमा धान रोप्थे स्याहार सम्हार गर्थे। कैयौं दिन खेतमै खाना पुर्याउँथे घरीनाहरूले। कान्लामाथि बसेर खान्थे अनि पानी घटघट पिउँथे। एक छिनपछि पुनः उही काम दोहोर्याउँथे। अन्न टन्न घरभित्र भित्र्याउँथे। छाक टार्थे । गोरस जुँगा सेता पर्ने गरी पिउँथे। गडम्म डकार्थे। खालिपेटको भित्री भाग टन्न भरिएपछि वायु बाहिर निस्कन्थ्यो। त्यस्ता पुरातनवादी थिए हाम्रा पुर्खाहरू। उनको दरसन्तान नव मानवहरू माटोको छेउमा जानेकुरा त छोडौँ माटो छेउमा आयो भने टिस्यू पेपेरले टड्क्याउन थाल्छन्।
भन्छन् अहँ हामी त्यस्ता हुँदै होइनौ। हामी हाम्रो जीउ र माटोको भेटघाट गर्दैनौ। हामी कतै फुलेको तोरी, लहलह लागेका धानका बाला । उज्कलोतिरका गहुँ, जौ वा अन्य खाद्यजन्यको बारी बगैचा देख्यो भने सेल्फि चाहिँ खिच्न बिर्सिदैनौ। सेल्फी पनि राँगो सेल्फी, सुँगुर सेल्फी, कुकुर सेल्फी, बोका सेल्फी विभिन्न नामका स्पाउट सेल्फी खिच्छौँ। मद्दत गर्ने हौसिन होस् वा नहौसिनेलाई हेल्पि खिच्न लगाउँछौँ। टाइमर मिलाएर दगुर्दै आफै आउनेगरी खिचिखिचाइमा तल्लिन हुन्छौँ- तस्बिरका लागि। यो तस्बिर भन्ने चिजलाई तक्दिर सरह मान्छौँ। अनि मुहार पुस्तिका, इन्स्टाग्राम, एक्स, युटुवमा पोष्ट्याउछौँ। तस्बिर नहुनु, नखिच्नु, नपोष्ट्याउनु भनेको तक्दिर नहुनु सरह हो हाम्रा लागि। तस्बिर प्रेमले कहिलेकाहीँ फुलेको फलेको तोरी बारी आफै गोरु बनेर दाइँ हालेर तौरीको बैंसालु जोवन लुटेर पनि पोष्टाएको सार्वजनकीकरण गर्न छुट थियो, छ र हुनेछ हामीलाई।
यी समस्त कामका लागि योग्य अति योग्य छौँ हामी। तर यो छर्ने, उमार्ने, स्याहार्ने, भित्र्याउने, तित्र्याउने, बुने, बताउँने, केलाउँने, कुट्ने, पिस्ने काम हामी किमार्थ गर्दैनौ। गर्ने छैनौ।किन गर्नु पर्यो। छ र त्यसमा मिठास। कस्तो झन्झटिलो काम।पालाष्टिकका पोकामा दलेको दाल फलेको चामल पाउन थालेको धेरै भैसक्यो। यसरी स्वनिर्मित दलेको र फलेको, भुटेको, कुटेको, पिसेको पोका भने जस्तो, भनेका बेला, जतिखेर मनलाग्यो, जतिखेर चाहियो त्यतिखेर प्राप्त हुने यो अत्याधुनिक जुगमा हामी लण्ठिएर, कोदालो बोकेर, गोरु नारेर छर्ने, बुने, बताउने हराभरा हेर्दै खाउँखाउँ लाग्दो खेतबारी बनाएर आफैलाई सताउने कार्य गर्दैनौ।किमार्थ गर्दैनौ। ज जसले गरे उनीहरू मुर्ख, महामुर्ख, पटमूर्ख अरु कुनै मुर्ख छ भने त्यो मुर्ख पनि हुन् र आफ्नो कपालमाथि आफै घैंटो बजारेर दुःखीया जीवन भोगे भोगाए।
हामी हात्तिछाप कागजका पत्ता फरर उडाउने हो चाउचाउ, चाउमिन, गुट्खा, पानपराग, लेस, कुर्कुरे, पपकर्न दाहिने हातको चोर र बुढी औलाको सहायताले मुखभरी पसाउने, पेटभित्र गुडाउने, ठेल्ने र भर्ने कर्म गर्ने हो। गैडा, बाघ, च्याङ्ग्रा छाप पत्ताले केही आउने भए पो कुरा गर्नु यी छापेहरूको काम छैन किनकि यी छापेले माम दिन्नन्। हात्तिछापको अझै अलिअलि काम छ। त्यही हात्तिछापको माध्यमबाट यो जुनि काट्ने हो। भुट्नु, तार्नु, पकाउनु, पस्काउनु जस्ता कार्यहरू गर्नु गराउनु छैन।
हामीलाई पानी त पटक्क मिठो लाग्न छोडेको धेरै भयो। पुराना महामुर्खहरूले जस्तो स्वआर्जित अन्न भरेर पानी पिएर, मोही घुटुक घुटुक पारेर निस्कने वायुरुपी डकार भन्दा हाम्रो कोक, फ्याण्टा, स्प्राइट, डिउ जस्ता अत्याधुनिक पेय पदार्थले निकाल्ने बासनादार वायुको स्वाद नै बेग्लै। त्यस्तो मुलबाट निस्के जस्तो हो र यो त हात्तिछाप पत्ताले मिलेको हो किनेर। स्वनिर्मित हो र स्वदेशनिर्मित पनि होइन। बिल्कुल ब्राण्डेड। परदेशीले कारखानामा बनाएको हो। यसको तुलना त्यो जाबो महीसँग कसरी होस्। आइस्क्रिमले दिने स्वाद त्यो जाबो दहीले कसरी दिन सक्छ। कति अव्यवहारिक के ? हात्तिछाप पत्ताले गाई भैंसी किन्यो। घाँसपात गर्याे। कुँडो पकायो, खुवायो। अनि दुध, दही, मही कति लामो प्रोसेस क्या! फोन गर्ने बित्तिकै टुप्लुक्क घरै आइ पुग्छ। चनन पियो डकार्यो ठुस्स नाकका दुलाबाट वायु फ्याँक्यो। सररर उकालोमा मोटर साइकल कुदायो। अफरोड पनि सजिलो बनाउने फ्याट्ट हिमालका टुप्पामा पुर्याउने महाशक्ति पो त यो परदेशी फर्मुलामा बनेको जिनिस त।
जिनिस अनुसारको मिनिङ् हुन्छ। पानीलाई सबैले कहाँ पानी भन्छन् र अंग्रेजीमा त वाटर कहीँकहीँ क्वाटर पनि भन्छन् कि। देशैपिच्छे फरकफरक नाम भएको यो पानीको महत्व त्यो कोल्ड ड्रिङ्कको सरह कहाँ हुन्छ र ? सबै देशमा कोक कोक नै हुन्छ। फ्यान्टा फ्यान्टा नै हुन्छ। पेप्सि पेप्सि नै हुन्छ। यो जिनिस किशोरकालमा मुखमा पसेपछि पानी सानी मही, दही, दुध सबथोक फिका वेस्वादका बनाइ बानीको खानी बढाइदियो भने यो संसारिक कारखाना नचलेर के भैंसीको गोरस चल्छ त ! अनि परेन गाईलाई टिपरमा कोचेर जङ्गलतिर दाहमट्टी गर्न। नदीमा बगाउँन। आमाको दुध खाँदाखाँदै अलिकति चिकेन फ्लेवरको कुरकुरे, आलु चिप्स, अनि करेण्ट, रम्भा, रारा, वाइवाइले जिब्रो जुठालवाइ गरेपछि राराको सुन्दारताको खानिबाट निस्केको पानी बेकाम। स्वादले जिब्रो तिखारिएपछि खान्छ त त्यसले नौथरी गेडागुडी पिसेर बनाएको थोरै घरपालुवा माहुरीले दिएको एक चमच मह अनि प्यूअर गाईको घ्युको मिश्रित लिटो। कहाँको लिटो कहाँको ल्याक्टोजिन तुलना हुन त उस्तै हुनु पर्यो नि !
“टकिन्ने भैंसीका दुध बासबसानो दही” भन्थे उहिले हाम्रा गाउँतिर। ब्यायको वर्ष लैनो। अर्को वर्ष बकिन्ने (बकेर्नो)। तेस्रो वर्षसम्म पनि नब्याइकन दुध दिइराख्यो भने त्यसलाई भनिन्छ टकिन्ने (टकेर्नो) भैंसीको दुध। यो अत्यन्तै पोषिलो मगमगाउने बास आउने भएकोले यो गीत बनेको हो उहिल्ये। अब त्यस्तो कहाँ होला र ? एकै वर्षमा दुई पटक लैनो बनाउने प्रविधिको खोजी हुँदै होला। राँगो चाहिने भए पो? सुई दिएर गर्भाधान बनाउने प्रयोगशाला बनिराखेका बेला कहाँको टकिन्ने भैंसीको दुध पाउनु। सम्झिने पानी अनुहारमा छर्किने। मुखबाट शीतल पेय पदार्थ पसाएर ढ्याउ गर्ने र नाकबाट ठुस्स अत्तरको बासना निकाल्ने। भोक मेटाउने अन्न खान मन नलाग्ने शक्ति बर्द्धक पेयपदार्थ सेवा गर्ने धनीलाई धनपति बनाउने।
धनीका नाममा फिलिम बनेर धनीले नै हेरको आक्कल झुक्कल कतै भए थाहा छैन तर गरिबको चरित्रमाथि बारुद ओकलेर वा दुर्दसाका पीडाहरू आकृतिमा ढालेर बनेका फिलिम यो दुनियाँमा कति बने बने, बन्छन र बन्दैछन्। कोही धनी मानिस गएको छ सिनेमा सभामा यी गरिबका नाउँमा बनेका फिलिम हेर्न। अहँ छैन । धनका धनपतिहरूले गरिबका नाममा फिलिम बनाएर गरिबलाई देखाएर ताली पिटाएर मनोरन्जन गराएर गरिबकै धन खैँचेको कति छ कति । उता धनीले धन पाएर मक्ख यता आफ्नै कथालाई फिलिममा हेर्न पाएर गरिब मक्ख । कस्तो गजब। नपत्याए हेर्नुहोस् पूर्ण बहादुरको सारङ्गी । त्यो फिलिम हेर्न हलमा जानेहरू धनपति थिए कि मनपति आफै बुझे भैगो नि !
गरिबका मकै, जौ, गहुँ, भटमास, आलु, खुर्सानी जस्ता मौलिक जिनिस धनीले कौडिका भाउमा किन्छन् र चाउचाउ, चाउमिन, लेस अरु केक जाति बनाएर गरिबलाई नै खुवाएर पैसाको कुन्यू बनाउने बुद्धिलाई सदबुद्ध नभनेर के भन्नु। आफ्नै जैविक जिनिसमा प्रविधिको प्रयोगका माध्यमबाट बनाइएको यस्ता जिब्रो फट्कार्न मिल्ने जिनिस खान पाएर हाइसुखको अनुभूति गर्ने यी तलतिरका मानिसको बुद्धिलाई के बुद्धि भन्ने धनीहरू नै जानून् मैले जान्दिन।
आफ्नै छेउछाउको खोलाबाट बगेको जसले पनि खान पाउने अर्थशास्त्रले भन्ने पब्लिक गुड्स पानीलाई पनि प्लाष्टिकका बोत्तल वा जारमा भेरेर उहीलेको जार मार्ने जमाना पनि बिर्साएर ज्यानमारा प्लाष्टिक गाउँगाउँमा भित्र्याइ ती पानी मालिकको गोजी रित्याउन, वातावरण प्रदुषणमा योगदान दिन सक्ने यी उपल्ला पति अर्थात धनपतिहरूको बुद्धि नमानि सुखै छैन। यिनका बुद्धिले सारा वातावरण प्रदुषित भएको पत्ता नपाउने आफ्नो भत्ता पनि त्यतैको प्रदुषण किनेर आयात गरी खोला, खोल्सा, नदी, पाखापखेरा, वनजङ्गल, यत्रतत्र सर्वत्र फोहरको डङ्गुर बनेको पत्तै नपाउने यी जैविक मनुष्यहरूको बासलाई धनीको द्रव्य रास बनाउन योगदान दिनुमा सानोतिनो हात छ जस्तो लाग्दैन ।
हात पक्कै पनि लामो अंकुशधारी नै होला। लामो हातमा दिमागको अंकुश लगाइ जैविक जिनिस खैंचने। प्रकृयाका माध्यमबाट अजैविक जिनिस उत्पादन गरी हातको मुठी फुकाएर दिलदार भएर बहुच्यानल निर्माण गरी वितिरण गर्ने। फेरि द्रव्य खैँचेर द्रव्यको रासमा अग्लो शिरानी बनाएर यी जैविक मनुख्यहरूलाई देखाएर हाँस्ने। जैविक मनुख्य अजैविक वस्तुको पासोमा अड्केर, भड्केर, तड्पेर रुनु न हाँस्नुमा बाँच्ने, नाच्ने। उता उपल्ला धनपतिहरू माथिबाट करेत र गोमनको फँणा फिजाएर यिनको नाचमा खित्का छोडेर हाँस्ने, कमाउने अनि रमाउने। जे होस् नयाँ वर्षले खान मिल्ने खानदेवस् नखान मिल्ने नखानदेवस् ।
आम नागरिककाे स्वास्थ्य बिगारेर आयु ध्वस्त पार्ने जङ्कफुड कम्पनीका धनीमानी धनपति मालिकहरूलाई- शुभकामना !
०००
कैलाली, हाल थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































