साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागबण्डाको दलदलमा बचेखुचेका जनता

नेपालमा सत्ता साझा गर्ने होइन, किच्किच गरेर तानातान गर्ने चीज हो । भागबन्डा हाम्रो राजनीतिमा रोग होइन, संस्कार बनिसकेको छ । अनि हामी जनता ? त्यो संस्कार भोग्ने अनिवार्य पात्र, जसको मतले सरकार बन्छ, तर भागबन्डा गर्दा बिर्सिन्छ ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

नेपालको राजनीति हेर्दा यस्तो लाग्छ, मानौँ कुनै ठूला–ठूला व्यापारीहरू बजारमा सामान बाँड्न बसेका हुन् । तर यो “सामान” होइन, सत्ता हो । “ग्राहक” जनता होइन, आफन्त, कार्यकर्ता र बिचौलिया हुन् । सत्ता बाँडफाँडको यस्तो चुरोटको पसलजस्तो हालत छ । जहाँ हरेक दलको नेता आफ्नो भागको मन्त्री, सचिव, बोर्ड अध्यक्ष माग्दै चिच्याइरहेका हुन्छन् ।

हाम्रो लोकतन्त्रको रङ्गमञ्चमा भागबन्डाको यस्तो त्रासदीपूर्ण नाटक चल्छ, जसमा चरित्रहरू त बदलिन्छन्, तर कथा उस्तै ! एकछिन काङ्ग्रेसको गृह मन्त्रालय, अर्कोछिन एमालेको अर्थ मन्त्रालय, अनि माओवादीको भौतिक पूर्वाधार । बिचरा जनता भने न गृहमा सुरक्षाको आभास, न अर्थमा खर्चको हिसाब, न पूर्वाधारमा पर्खालबाहेक केही देख्दैनन् ।

यस भागबन्डा नाउँको खेलमा भाग्यशाली त्यो हुन्छ, जो “सम्झौतापत्र” लेख्न जान्दछ । हाम्रा नेताहरू सम्झौता गर्न त सक्दछन्, तर काम गर्न सम्झना गर्दैनन् । भागबन्डा यस्तो हुन्छ कि एउटै मन्त्रालय पाँचपटक मन्त्री फेरेर “यसपालि त पक्कै राम्ररी चलाउँछु” भन्ने मनोविज्ञानको परीक्षण हुन्छ । अनि, जनताले हेर्छन्- टीभीमा मन्त्रीले सपथ लिँदै गरेको, सपथ लिँदा हाँस्दै गरेको, अनि काम नगरेको ।

साँचो भन्नुपर्दा, नेपालको भागबन्डा भन्नाले मलाई त गाउँको पिङ्गेगोलो खेल झैँ लाग्छ- जहाँ सबै घुमिरहन्छन् तर कुनै गन्तव्य पुग्दैनन् । एकाध नेताले त किचन क्याबिनेट चलाएर आफ्ना घरका सदस्यहरूलाई मन्त्री बनाउन बेर लगाउँदैनन् । यस्तो लाग्छ कि सरकार होइन, कुनै संयुक्त परिवारको सन्धि हो । जहाँ कसले कुन कोठा ओगट्ने भनेर बैठक बस्छ ।

अझ रमाइलो त तब हुन्छ, जब मन्त्रालय बाँडफाँडको क्रममा नेताहरू “देशको हित” भन्दै झगडा गर्छन् । कसैलाई आन्तरिक सुरक्षा चाहिन्छ, कसैलाई राजस्वको ढोका । जनतालाई चाहिएको चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी । तर यी कुरा त भागबन्डाको लिस्टमा परेकै छैनन् ! किनकि त्यहाँ लाभ छैन, किकब्याक छैन, नियुक्ति बेचबिखन छैन ।

अर्को चोटि चुनाव हुँदा नेताहरू ठूलो–ठूलो भाषण गर्छन्- “हामी विकासको गति दोब्बर बनाउँछौं ।” विकास त दोब्बर होइन, हाम्रा सन्तानको ऋणचाहिँ दोब्बर हुँदैछ । अनि नेताहरूको सम्पत्ति त चौगुना हुन्छ । भागबन्डा गर्ने तरिका हेर्दा लाग्छ- मानौँ, देश चलाउने होइन, लुटपाटको कम्पनी चलाउने हो ।

जनतालाई भने हरेक पटक आशा हुन्छ- “यो सरकार अलिक भिन्न होला ।” तर सरकार बन्ने बित्तिकै उनीहरू आफ्नै भाग खोज्न थाल्छन् । अनि जनता ? उनीहरू लाइनमा बसिरहन्छन्- कहिले ग्यासको लागि, कहिले उपचारको लागि, कहिले न्यायको लागि ।

अन्त्यमा भन्नुपर्दा, नेपालमा सत्ता साझा गर्ने होइन, किच्किच गरेर तानातान गर्ने चीज हो । भागबन्डा हाम्रो राजनीतिमा रोग होइन, संस्कार बनिसकेको छ । अनि हामी जनता ? त्यो संस्कार भोग्ने अनिवार्य पात्र, जसको मतले सरकार बन्छ, तर भागबन्डा गर्दा बिर्सिन्छ ।

०००
२०८२ वैशाख ३ गते ।
कञ्चनरूप- १२, रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
भाषण र भान्सा

भाषण र भान्सा

लक्ष्मी रिजाल
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
छायाको आवाज

छायाको आवाज

लक्ष्मी रिजाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x