लक्ष्मी रिजालभागबण्डाको दलदलमा बचेखुचेका जनता
नेपालमा सत्ता साझा गर्ने होइन, किच्किच गरेर तानातान गर्ने चीज हो । भागबन्डा हाम्रो राजनीतिमा रोग होइन, संस्कार बनिसकेको छ । अनि हामी जनता ? त्यो संस्कार भोग्ने अनिवार्य पात्र, जसको मतले सरकार बन्छ, तर भागबन्डा गर्दा बिर्सिन्छ ।

लक्ष्मी रिजाल :
नेपालको राजनीति हेर्दा यस्तो लाग्छ, मानौँ कुनै ठूला–ठूला व्यापारीहरू बजारमा सामान बाँड्न बसेका हुन् । तर यो “सामान” होइन, सत्ता हो । “ग्राहक” जनता होइन, आफन्त, कार्यकर्ता र बिचौलिया हुन् । सत्ता बाँडफाँडको यस्तो चुरोटको पसलजस्तो हालत छ । जहाँ हरेक दलको नेता आफ्नो भागको मन्त्री, सचिव, बोर्ड अध्यक्ष माग्दै चिच्याइरहेका हुन्छन् ।
हाम्रो लोकतन्त्रको रङ्गमञ्चमा भागबन्डाको यस्तो त्रासदीपूर्ण नाटक चल्छ, जसमा चरित्रहरू त बदलिन्छन्, तर कथा उस्तै ! एकछिन काङ्ग्रेसको गृह मन्त्रालय, अर्कोछिन एमालेको अर्थ मन्त्रालय, अनि माओवादीको भौतिक पूर्वाधार । बिचरा जनता भने न गृहमा सुरक्षाको आभास, न अर्थमा खर्चको हिसाब, न पूर्वाधारमा पर्खालबाहेक केही देख्दैनन् ।
यस भागबन्डा नाउँको खेलमा भाग्यशाली त्यो हुन्छ, जो “सम्झौतापत्र” लेख्न जान्दछ । हाम्रा नेताहरू सम्झौता गर्न त सक्दछन्, तर काम गर्न सम्झना गर्दैनन् । भागबन्डा यस्तो हुन्छ कि एउटै मन्त्रालय पाँचपटक मन्त्री फेरेर “यसपालि त पक्कै राम्ररी चलाउँछु” भन्ने मनोविज्ञानको परीक्षण हुन्छ । अनि, जनताले हेर्छन्- टीभीमा मन्त्रीले सपथ लिँदै गरेको, सपथ लिँदा हाँस्दै गरेको, अनि काम नगरेको ।
साँचो भन्नुपर्दा, नेपालको भागबन्डा भन्नाले मलाई त गाउँको पिङ्गेगोलो खेल झैँ लाग्छ- जहाँ सबै घुमिरहन्छन् तर कुनै गन्तव्य पुग्दैनन् । एकाध नेताले त किचन क्याबिनेट चलाएर आफ्ना घरका सदस्यहरूलाई मन्त्री बनाउन बेर लगाउँदैनन् । यस्तो लाग्छ कि सरकार होइन, कुनै संयुक्त परिवारको सन्धि हो । जहाँ कसले कुन कोठा ओगट्ने भनेर बैठक बस्छ ।
अझ रमाइलो त तब हुन्छ, जब मन्त्रालय बाँडफाँडको क्रममा नेताहरू “देशको हित” भन्दै झगडा गर्छन् । कसैलाई आन्तरिक सुरक्षा चाहिन्छ, कसैलाई राजस्वको ढोका । जनतालाई चाहिएको चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी । तर यी कुरा त भागबन्डाको लिस्टमा परेकै छैनन् ! किनकि त्यहाँ लाभ छैन, किकब्याक छैन, नियुक्ति बेचबिखन छैन ।
अर्को चोटि चुनाव हुँदा नेताहरू ठूलो–ठूलो भाषण गर्छन्- “हामी विकासको गति दोब्बर बनाउँछौं ।” विकास त दोब्बर होइन, हाम्रा सन्तानको ऋणचाहिँ दोब्बर हुँदैछ । अनि नेताहरूको सम्पत्ति त चौगुना हुन्छ । भागबन्डा गर्ने तरिका हेर्दा लाग्छ- मानौँ, देश चलाउने होइन, लुटपाटको कम्पनी चलाउने हो ।
जनतालाई भने हरेक पटक आशा हुन्छ- “यो सरकार अलिक भिन्न होला ।” तर सरकार बन्ने बित्तिकै उनीहरू आफ्नै भाग खोज्न थाल्छन् । अनि जनता ? उनीहरू लाइनमा बसिरहन्छन्- कहिले ग्यासको लागि, कहिले उपचारको लागि, कहिले न्यायको लागि ।
अन्त्यमा भन्नुपर्दा, नेपालमा सत्ता साझा गर्ने होइन, किच्किच गरेर तानातान गर्ने चीज हो । भागबन्डा हाम्रो राजनीतिमा रोग होइन, संस्कार बनिसकेको छ । अनि हामी जनता ? त्यो संस्कार भोग्ने अनिवार्य पात्र, जसको मतले सरकार बन्छ, तर भागबन्डा गर्दा बिर्सिन्छ ।
०००
२०८२ वैशाख ३ गते ।
कञ्चनरूप- १२, रूपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest







































