सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेता

सर्टका टाँक चुँडाउनोस्, पजेरो कसैलाई भाडामा बुझाउनोस्, अनि दीनदयाल, दीनानाथ बनेर जनताका ढोका ढोका धाउनोस्, तपाईंसँग इमानदारिता नभए पनि ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

आज आमा त्रसित छिन् । वृद्ध बाबुका आँखा रसाउन थालेका छन्। के सोचें मैले, के भयो ऐले, भने झै भएकाहरू सि‌ङ्गो देशमा सन्नाय छाएको छ। जताततै उडेको बारुदको धुँवाले मानिसका मनहरू भाँच्चिएका छन्।

इच्छाहरू छताछुल्ल भएर पोखिएका छन्- वारीभरि अनि टारिभरि। खै ! यो समय नै निष्ठुर हो या मानिसले भोग्नुपर्ने नियति नै यस्तो हो, कसैले ठोकुवा गर्ने नसक्ने अवस्थामा मात्र हैन, अब त भरे के हुन्छ भनेर अनुमानसमेत लाउन कठिन पर्न थालेको छ । हामी सधैं अरूले बनाइदिएको महलमा त्यसैलाई गाली गर्दै बस्न अभ्यस्त भइसकेका छौं। आज हामीले अघाउँजी माछा खान पुगे भयो तर समुद्रमा लगेर छोडे पनि हामी आफैं माछा मारेर खान सक्दैनौँ। केवल लाटोले पापा हेरे झै टुलुटुलु हेछौँ, घुटुघुटु थुक निल्छौं तर हामी जस्ता अल्छेका मुखमा माछा आफैँ आएर पस्दैन। मारेर खाने सिप हामीमा छैन ।

आज एडदेखि एड्ससम्म विदेशबाट अनुदान आइरहेछ । बिचरा ! कति दानी होलान् विदेशीहरू । उनीहरूको कति ठुलो हृदय ! हामीलाई दिनानुदिन एड पठाउँदा छन्, हामी त्यही एडमाथि मस्ती मार्दै एड्स लागेर छटपटाइरहेका छौं । हामी इतिहासलाई दोष लगाउँदै वर्तमानमा मोज गरेर अर्को इतिहासको पात्र बन्दै छौं। हिजोकाले बगाएको पसिना चाटेर बाँचेका हामीमा आफैँ बाँच्न सक्ने सिप पनि छैन। जोस जाँगर पनि देखिँदैन भने भोलिका सन्तानले हामीलाई पिण्ड हैन, डन्डा नबजाई छोड्ने छैनन् ।

एकै घरका भाइ भाइबिचको काटमार हेरेर बस्न बाध्य छिन् आमा। यो लडाँइ केका लागि भनेर कसैलाई थाहा छैन। मस्त निद्रामा बर्बराए झै मनको लड्डु घिउसँग खाँदैमा कसैका सपना पुरा हुनेवाला छैनन् । सि‌ङ्गो देशमा आएको प्राकृक्तिक बाढी पहिरोले पृथ्वी उजाड उजाड बन्दै केवल अस्थिपञ्जर मात्रै बाँकी रहेको बेला कृत्रिम बाढी पहिरोले मानिसका बस्तीमा सिनो गन्हाउन थालेको छ। को मर्यो ? नेपाली, कसले मार्यो ? नेपालीले, कसले हार्यो ? नेपालीले, अनि कसले जित्यो ? नेपालीले । केवल आफैंसँग लडेर आफनै विनाश गर्ने बन्धुहरू । के यस्तो युद्ध विचारले जित्न सकिँदैनथ्यो ? विचारको बाढीले थुपारेको लेदोमा पुरिएका हलेदोको खोजी गर्दै पित्तसमेत कुहिएको चित्तलाई किन यसरी त्राहिमाम बनाउँदै छौ ?

वा, कुर्सी तेरो करामत ! तँ आफू सुरक्षित बन्न कति निर्दोषहरूको रगत पिउँछस् ? हुनत, संसारमा निर्जीव भएर पनि सजीवले झै हरेक कुरा पचाउने केवल कुर्सी त हो । यो कुर्सीले इतिहासदेखि वर्तमानसम्म के खाएन र ? यसले धेरैको स्वाभिमान खाएको छ अनि धेरैको अभिमान पचाएको छ। कहिले त्यो सानो कुर्सी तिर्खाएर नालापानी र कालापानी खान पुग्छ। कहिले लाउडा खाएर आकाशमा विचरण गर्छ। उस्तै परे वाग्मतीको पानी समेत पिउँछ यो कुर्सीले। त्यत्तिको खाएर पनि सधैं भोको, सधैं खोक्रो यो कुर्सीले अब सर्वसाधारणको खुसी चपाउन थालेको छ । कति खन्चुवा छ यो कुर्सी । तपाईंलाई के थाहा, कुन दिन काठमाडौँको फोहोरमा मुन्टो गाडेर वाग्मतीको पानी तनतनी पिउँदासमेत पनि यसलाई पखाला चल्दैन । जुस खाने बेलामा घुस खाँदै नीति र नियमलाई ल‌ङ्गडो बनाएर ताण्डव नृत्य गर्ने कुर्सीले अब करङ मात्र रहेकी आमालाई बन्धकी राखेर नखाला भन्न सकिंदैन ।

त्यही करामती कुर्सी हात पार्न हाम्रा आदरणीय नेताजीहरू रातदिन पौठेजोरी खेल्दै आफ्‌नो पुरुषार्थ देखाइरहेका छन्। कहिले कालेसँग मिलेर कुइरेको धज्जी उडाउँछन् अनि कहिले कुहिरेसँग मिलेर कालेको सातो बुकाउँछन् । कहिले नेप्टे र चेप्टेले घोप्टेको उछित्तो काढ्छन् । कहिले चुच्चे र बुच्चेले ध्याम्पेलाई पछार्छन्, केवल कुर्सीका लागि । हात्तीका देखाउने दाँत र चपाउने दाँत फरक भए झै देश विकास गर्ने खोक्रो नारा र फोस्रो आश्वासनले जनताका सपनाहरूको हत्या गर्छन् नेताहरू । बच्चा र वृद्धहरूको लिटो समेत पचाएर भदौको साँढे झै उग्राएर बसेका नेताजीहरूले अब घोषणा पत्रमा आश्वासन बाँड्‌दैमा जनताले भोट दिनेवाला छैनन् । अब मेलम्ची ल्याएर काठमाडौंका सडक धुने सपना देखाउँदै जनता ढाँट्न पाइँदैन है ।

फेरि अब रुख ढालेर काइँयोले कपाल कोर्दै डडेल्धुरे अङ्कलले दोहोरी खेल्नुसिबाय अरू उपाय पनि त देखिंदैन । कि गरेर जान्नु कि पढेर जान्नु तर दुवै ज्ञान नभए अर्काको हेरेर जान्नु। त्यति पनि बुद्धि नभएका तपाईंलाई कसरी नेता ठान्नु ? हुक्के, बैठके कसरी नेता ठान्नु ? हुक्के, बैठके, धतुरेहरूले नचाउने कठपुतली त हो नेता ! भन्ने एउटा, गर्ने अर्को । बिगार्ने एउटा सपार्ने अर्को, परदेशका सारा घरमा अर्कै यस्तै द्वैध चरित्रमा बाँचेर विदेशबाट ल्याएको दान विदेशमै पुऱ्याउने, सोझा ठिटालाई सुऱ्याउने, निरन्तर कुर्सीभक्त, पैसा भनेपछि हुरुक्क हुने, घुस हुँदै नछुने, सुनका पैसाले मुख धुने आदरणीय नेताजीहरू !

अब नेताज्यू बनेर गाउँ पस्ने बेला आएको छ । समयमै सोच्नोस् है ! यस पटक तपाईं केकस्ता प्रपञ्च लिएर जनता झुक्याउने योजना बनाउँदै हुनुहुन्छ ? अब जनतालाई झुक्याउन चप्पलको लोती चुँडाएर डोरी बाँध्नोस् । सर्टका टाँक चुँडाउनोस्, पजेरो कसैलाई भाडामा बुझाउनोस्, अनि दीनदयाल, दीनानाथ बनेर जनताका ढोका ढोका धाउनोस्, तपाईंसँग इमानदारिता नभए पनि ।

०००
थप्पड (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
औँलो

औँलो

देवीप्रसाद घिमिरे
ङिच्च

ङिच्च

देवीप्रसाद घिमिरे
आउनुहोस् भुँडीजाम गरौँ !

आउनुहोस् भुँडीजाम गरौँ !

देवीप्रसाद घिमिरे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
खोपडी

खोपडी

देवीप्रसाद घिमिरे
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x