नन्दलाल आचार्यनेपालकाे राजनीति र झाेले बा
नेपालको राजनीति झोले बाविनाको कल्पना असम्भव छ। अन्त्यमा भन्नैपर्छ- “देश बदलिन्छ कि बदलिन्न थाहा छैन, तर झोले बा बदलिँदैनन् । किनभने, उनी परिवर्तनको प्रमाणीकरण होइनन्, प्रमादीकरण हुन् !”

नन्दलाल आचार्य :
“बाबु, राजनीति भनेको राजनीति हो नि ! गोरु बेचेर कुर्ता किन्ने खेल होइन ! झोले बा, रत्नपार्कको चियापसलमा ।”
प्रस्तावना : राजनीति भनेको के हो ?
राजनीति भनेको जनताको सेवा गर्ने साधन हो भन्ने पढेका थियौं । तर व्यवहारमा हेर्दा लाग्छ, राजनीति भनेको “पञ्चायतकालमा खाइयो, प्रजातन्त्रमा झन खाइयो, गणतन्त्रमा त बाँकी केही रहेन” भन्ने सत्तो गान हो । नेपालमा राजनीति अहिले कुनै सिद्धान्तको बगैँचा होइन, झोला बोकेर र नेताको पन्जा समाएर सत्ताको फूलबारीतिर दौडने ‘भिआइपी दौड’ भएको छ । यही दौडका वरिष्ठ धावक हुन्- झोले बा ।
भाग १ : झोले बाको उदय
झोले बा भन्नासाथ तपाईंको दिमागमा कस्तो चित्र आउँछ ? हाँडीजत्रो झोला बोकेको, अर्धदृश्य पछिल्ला दाँतले मुस्काएको, टिसर्टमा पार्टीको झन्डा, मुखमा जनताको मुक्ति र हातमा बालेन विरोधी ब्यानर । उमेर ७५, तर आँखा यस्तो चम्किलो कि मानौं संसद प्रवेशद्वारमा घुस्न खोज्दै छन् ।
झोले बा पार्टीको झन्डासँगै जन्मेका होइनन्, तर प्रजातन्त्रसँगै हुर्केका हुन् । २०४६ सालको जनआन्दोलनदेखि जनयुद्ध, गणतन्त्र, समावेशिता, समायोजन, सशक्तीकरण, संघीयता हुँदै आजसम्म आइपुग्दा उनी जहाँ जहाँ ‘नेता’ थिए, त्यही त्यही पुगे ।
भाग २: संसदको सिडी र चोकको चिया
रत्नपार्कको कुनामा एउटा चिया पसल छ- “लोकतान्त्रिक चिया घर”। त्यहाँ झोले बा दिनहुँ ४ वटा चिया पिउँछन्: एउटा माओवादी क्रान्तिका नाममा, दोस्रो कांग्रेसको लोकतन्त्रका लागि, तेस्रो एमालेको स्थिरताको लागि र अन्तिम कप, “अहिलेको सत्तारूढ जो सुकै भए पनि, जिन्दाबाद” भनेर ।
उनी चिया पसलमा बस्थे र भन्थे-
“बाबु, राजनीति भनेको उधारो विचार होइन, नगद अवसर हो । नेताले झुक्किए भने देश डुब्छ, हामी झुक्किएनौं भने झोलामा केही पर्दैन !”
एक दिन सोधियो- “बा, तपाईं त सधैं नेतासँगै हुनुहुन्छ, तपाईंको विचार कुन पार्टीतिर हो त ?” उहाँको उत्तर- “बिचार ? छँदैछ त ! बिहान कांग्रेस, दिउँसो एमाले, राति माओवादी । तीन शिफ्टमा काम गर्छु, राजनीति त्यही हो !”
भाग ३: झोला र आदर्श
झोले बाको झोलामा के हुन्छ ? त्यो पनि गज्जबको कथा छ ।
३ वटा दलका टोपी
२ वटा झन्डा
५ वटा नेता बखान गर्ने प्रेस विज्ञप्ति
केही पुराना पोष्टर र, सधैं “जनताका लागि तयार” लेखिएको नोटप्याड (जहाँ कहिल्यै केही लेखिँदैन)
झोले बा आदर्शका कुरा धेरै गर्छन् । एकपटक एकजना युवाले भने- “बा, तपाईं आदर्शका कुरा गर्नुहुन्छ, तर भ्रष्ट नेतालाई साथ दिनुहुन्छ !”
झोले बाको उत्तर- “बाबु, आदर्श पेटभरि खान मिल्दैन । नेता भ्रष्ट छन् भन्ने जान्दा जान्दै साथ दिनु भनेको हो नि राजनीतिमा व्यावहारिकता !”
भाग ४: झोले बा भर्सेस् बालेन
बालेनले चोक सफा गरे, सडक विस्तार गरे, अनधिकृत संरचना भत्काए । झोले बा चुपचाप बसे । तर जब चिया पसलमा बहस चर्कियो- “झोले बा, बालेन त राम्रो काम गर्दै छन् !”
झोले बाको जवाफ- “ऊ राम्रो काम गर्दैछ, तर हाम्रो सल्लाह नलिईकन ! त्यसैले ऊ अलोकतान्त्रिक हो !”
झोले बाको नजरमा, काम गर्नेभन्दा कुरा मान्ने नेता चाहिन्छ । “श्रमभन्दा सम्बन्ध ठूलो” भन्ने उनको राजनैतिक सिद्दान्त हो ।
भाग ५ : चनचट्टी चियापसलको संसद
झोले बा र उनका समर्थकहरूका लागि संसद र चिया पसल उस्तै हुन् । भिन्नता के भने संसदमा भत्ता पाउने हो, चिया पसलमा भाँडाकुटी मात्र । एक दिन संसद चलिरहेको बेला झोले बा टेलिभिजन हेरिरहेका थिए, अनि मन्थन गर्न थाले:
सांसद उठेर चिच्याए: “जनताले माटो खाइरहेका छन् !”
झोले बा फिस्स हाँसे: “नेता भने घिउमा चपक्क परेको !”
उनलाई राजनीति भनेको अभिनय लाग्छ- कसैले संसदमा रोएर भाषण दिन्छ, कसैले जेल बसेको महिमा गाउँछ । झोले बा त गज्जब ठिटो ! एउटा पार्टीको ब्यानर झुन्ड्याएर अर्को पार्टीको कार्यक्रममा स्वागताध्यक्ष ।
भाग ६: निर्वाचनको बेला- झोले बाको पर्व
निर्वाचन भनेको झोले बाको तीज हो । जनताको नजरमा नेताले भाषण दिन्छ, तर झोले बाका लागि त्यो चामल, बिर्खा, मादल र मोटरसाइकलको मौसम हो ।
पछिल्लो निर्वाचनको दिन- झोले बाको मोबाइलमा ५ वटा पार्टीको फोन आयो-
पहिलोले भन्यो: “बुथ कब्जा गरिदेऊ ।”
दोस्रोले भन्यो: “माइक्रो झिकेर मान्छे ल्याइदे ।”
तेस्रोले भन्यो: “भोट किन्ने पैसा लैजाऊ ।”
चौथोले भन्यो: “लौ हामीले सरकार बनाउँछाैँ भन ।”
पाँचौंले भन्यो: “हामीले बनाउँछौं सरकार !”
झोले बाको अन्तिम फैसला थियो-
“पाँचवटैलाई समर्थन गर्छु, लोकतन्त्रमा सबैको सम्मान जरुरी छ !”
भाग ७: राजतन्त्रदेखि गणतन्त्रसम्म
झोले बाको इतिहास हेर्दा लाग्छ- नेपालमा शासन बदलिँदा नेताहरू साटिन्छन्, तर झोलेहरू स्थायी हुन्छन् ।
राजतन्त्रको बेलामा उनी राजाको नाममा रट्थे:
“जय नेपाल ! राजा राष्ट्र र जनताको प्रतीक !” २०४६ पछि भने- “राजा हटे, अब हामी जनता स्वतन्त्र भयौं !” २०६२/६३ पछि- “सत्ता जनताकै हो, अब माओवादी जिन्दावाद !” २०७२ को संविधानपछि- “संघीयता आयो, झोला नयाँ बनाउनु पर्छ ।”
त्यसपछि उनले “मधेस प्रदेश” लेखिएको टीसर्ट लाएर त्यसैको वकालत गर्न थाले ।
भाग ८: झोले बाको घरमा संविधान
एकदिन एक पत्रकार झोले बाको घर गयो । कुराकानीमा पत्रकारले सोध्यो: “बा, तपाईं संविधान पढ्नुहुन्छ ?” झोले बाले झल्याँस्स हाँस्दै भने:
“बाबु, पढ्ने मान्छेले बनाएको संविधान हामीले बुझेर के गर्नु ? हामी त संविधान लेख्ने मान्छे कहाँ हुन्छौं र, संविधान बोक्ने मान्छे मात्र !”
उनको लागि संविधान भनेको अँध्यारो कुनामा थुपारिएको पुस्तक जस्तै हो- छ, तर प्रयोग हुँदैन ।
भाग ९: नवयुवक र झोले बा
नयाँ पुस्ता डिजिटल क्रान्तिमा रमाइरहेछ । ट्वीटर, फेसबुक, टिकटकमा राजनैतिक चेतना फैलिरहेको छ । तर झोले बा भन्नुहुन्छ:
“स्मार्टफोनले क्रान्ति ल्याउँछ भने हामीले क्रान्ति नगरेको हैन, हामीले त बट्टा मोबाइलमै परिवर्तन ल्याएको !”
उहाँका लागि ट्वीटर भनेको “पंक्तिबद्ध विरोध गर्ने भित्ते लेख” हो ।
भाग १०: निष्कर्ष- झोले बा अमर हुन् !
झोले बा बदलिँदैनन् । सरकार बद्लिन्छ, प्रधानमन्त्री बद्लिन्छ, नीति बद्लिन्छ, तर झोले बा जस्ताको तस्तै रहन्छन् – झोलासँगै । यस्ता झोले बा देशैभरि छन्-
चिया पसलमा बहस गर्दै
पत्रकार सम्मेलनमा ताली बजाउँदै
सभामा कुर्सी ओगट्दै
अनि चुनावमा सबै पार्टीको समर्थन गर्दै
नेपालको राजनीति झोले बाविनाको कल्पना असम्भव छ।
अन्त्यमा भन्नैपर्छ- “देश बदलिन्छ कि बदलिन्न थाहा छैन, तर झोले बा बदलिँदैनन् । किनभने, उनी परिवर्तनको प्रमाणीकरण होइनन्, प्रमादीकरण हुन् !”
०००
२०८२ जेठ २१ गते ।
बेलका-२, उदयपुर ।











































पठनीय विश्लेषण। लेखकलाई धन्यवाद।