साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालकाे राजनीति र झाेले बा

नेपालको राजनीति झोले बाविनाको कल्पना असम्भव छ। अन्त्यमा भन्नैपर्छ- “देश बदलिन्छ कि बदलिन्न थाहा छैन, तर झोले बा बदलिँदैनन् । किनभने, उनी परिवर्तनको प्रमाणीकरण होइनन्, प्रमादीकरण हुन् !”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“बाबु, राजनीति भनेको राजनीति हो नि ! गोरु बेचेर कुर्ता किन्ने खेल होइन ! झोले बा, रत्नपार्कको चियापसलमा ।”

प्रस्तावना : राजनीति भनेको के हो ?

राजनीति भनेको जनताको सेवा गर्ने साधन हो भन्ने पढेका थियौं । तर व्यवहारमा हेर्दा लाग्छ, राजनीति भनेको “पञ्चायतकालमा खाइयो, प्रजातन्त्रमा झन खाइयो, गणतन्त्रमा त बाँकी केही रहेन” भन्ने सत्तो गान हो । नेपालमा राजनीति अहिले कुनै सिद्धान्तको बगैँचा होइन, झोला बोकेर र नेताको पन्जा समाएर सत्ताको फूलबारीतिर दौडने ‘भिआइपी दौड’ भएको छ । यही दौडका वरिष्ठ धावक हुन्- झोले बा ।

भाग १ : झोले बाको उदय

झोले बा भन्नासाथ तपाईंको दिमागमा कस्तो चित्र आउँछ ? हाँडीजत्रो झोला बोकेको, अर्धदृश्य पछिल्ला दाँतले मुस्काएको, टिसर्टमा पार्टीको झन्डा, मुखमा जनताको मुक्ति र हातमा बालेन विरोधी ब्यानर । उमेर ७५, तर आँखा यस्तो चम्किलो कि मानौं संसद प्रवेशद्वारमा घुस्न खोज्दै छन् ।

झोले बा पार्टीको झन्डासँगै जन्मेका होइनन्, तर प्रजातन्त्रसँगै हुर्केका हुन् । २०४६ सालको जनआन्दोलनदेखि जनयुद्ध, गणतन्त्र, समावेशिता, समायोजन, सशक्तीकरण, संघीयता हुँदै आजसम्म आइपुग्दा उनी जहाँ जहाँ ‘नेता’ थिए, त्यही त्यही पुगे ।

भाग २: संसदको सिडी र चोकको चिया

रत्नपार्कको कुनामा एउटा चिया पसल छ- “लोकतान्त्रिक चिया घर”। त्यहाँ झोले बा दिनहुँ ४ वटा चिया पिउँछन्: एउटा माओवादी क्रान्तिका नाममा, दोस्रो कांग्रेसको लोकतन्त्रका लागि, तेस्रो एमालेको स्थिरताको लागि र अन्तिम कप, “अहिलेको सत्तारूढ जो सुकै भए पनि, जिन्दाबाद” भनेर ।

उनी चिया पसलमा बस्थे र भन्थे-
“बाबु, राजनीति भनेको उधारो विचार होइन, नगद अवसर हो । नेताले झुक्किए भने देश डुब्छ, हामी झुक्किएनौं भने झोलामा केही पर्दैन !”

एक दिन सोधियो- “बा, तपाईं त सधैं नेतासँगै हुनुहुन्छ, तपाईंको विचार कुन पार्टीतिर हो त ?” उहाँको उत्तर- “बिचार ? छँदैछ त ! बिहान कांग्रेस, दिउँसो एमाले, राति माओवादी । तीन शिफ्टमा काम गर्छु, राजनीति त्यही हो !”

भाग ३: झोला र आदर्श
झोले बाको झोलामा के हुन्छ ? त्यो पनि गज्जबको कथा छ ।

३ वटा दलका टोपी
२ वटा झन्डा
५ वटा नेता बखान गर्ने प्रेस विज्ञप्ति

केही पुराना पोष्टर र, सधैं “जनताका लागि तयार” लेखिएको नोटप्याड (जहाँ कहिल्यै केही लेखिँदैन)

झोले बा आदर्शका कुरा धेरै गर्छन् । एकपटक एकजना युवाले भने- “बा, तपाईं आदर्शका कुरा गर्नुहुन्छ, तर भ्रष्ट नेतालाई साथ दिनुहुन्छ !”

झोले बाको उत्तर- “बाबु, आदर्श पेटभरि खान मिल्दैन । नेता भ्रष्ट छन् भन्ने जान्दा जान्दै साथ दिनु भनेको हो नि राजनीतिमा व्यावहारिकता !”

भाग ४: झोले बा भर्सेस् बालेन
बालेनले चोक सफा गरे, सडक विस्तार गरे, अनधिकृत संरचना भत्काए । झोले बा चुपचाप बसे । तर जब चिया पसलमा बहस चर्कियो- “झोले बा, बालेन त राम्रो काम गर्दै छन् !”

झोले बाको जवाफ- “ऊ राम्रो काम गर्दैछ, तर हाम्रो सल्लाह नलिईकन ! त्यसैले ऊ अलोकतान्त्रिक हो !”

झोले बाको नजरमा, काम गर्नेभन्दा कुरा मान्ने नेता चाहिन्छ । “श्रमभन्दा सम्बन्ध ठूलो” भन्ने उनको राजनैतिक सिद्दान्त हो ।

भाग ५ : चनचट्टी चियापसलको संसद
झोले बा र उनका समर्थकहरूका लागि संसद र चिया पसल उस्तै हुन् । भिन्नता के भने संसदमा भत्ता पाउने हो, चिया पसलमा भाँडाकुटी मात्र । एक दिन संसद चलिरहेको बेला झोले बा टेलिभिजन हेरिरहेका थिए, अनि मन्थन गर्न थाले:

सांसद उठेर चिच्याए: “जनताले माटो खाइरहेका छन् !”

झोले बा फिस्स हाँसे: “नेता भने घिउमा चपक्क परेको !”

उनलाई राजनीति भनेको अभिनय लाग्छ- कसैले संसदमा रोएर भाषण दिन्छ, कसैले जेल बसेको महिमा गाउँछ । झोले बा त गज्जब ठिटो ! एउटा पार्टीको ब्यानर झुन्ड्याएर अर्को पार्टीको कार्यक्रममा स्वागताध्यक्ष ।

भाग ६: निर्वाचनको बेला- झोले बाको पर्व
निर्वाचन भनेको झोले बाको तीज हो । जनताको नजरमा नेताले भाषण दिन्छ, तर झोले बाका लागि त्यो चामल, बिर्खा, मादल र मोटरसाइकलको मौसम हो ।

पछिल्लो निर्वाचनको दिन- झोले बाको मोबाइलमा ५ वटा पार्टीको फोन आयो-

पहिलोले भन्यो: “बुथ कब्जा गरिदेऊ ।”
दोस्रोले भन्यो: “माइक्रो झिकेर मान्छे ल्याइदे ।”
तेस्रोले भन्यो: “भोट किन्ने पैसा लैजाऊ ।”
चौथोले भन्यो: “लौ हामीले सरकार बनाउँछाैँ भन ।”
पाँचौंले भन्यो: “हामीले बनाउँछौं सरकार !”

झोले बाको अन्तिम फैसला थियो-
“पाँचवटैलाई समर्थन गर्छु, लोकतन्त्रमा सबैको सम्मान जरुरी छ !”

भाग ७: राजतन्त्रदेखि गणतन्त्रसम्म
झोले बाको इतिहास हेर्दा लाग्छ- नेपालमा शासन बदलिँदा नेताहरू साटिन्छन्, तर झोलेहरू स्थायी हुन्छन् ।

राजतन्त्रको बेलामा उनी राजाको नाममा रट्थे:
“जय नेपाल ! राजा राष्ट्र र जनताको प्रतीक !” २०४६ पछि भने- “राजा हटे, अब हामी जनता स्वतन्त्र भयौं !” २०६२/६३ पछि- “सत्ता जनताकै हो, अब माओवादी जिन्दावाद !” २०७२ को संविधानपछि- “संघीयता आयो, झोला नयाँ बनाउनु पर्छ ।”

त्यसपछि उनले “मधेस प्रदेश” लेखिएको टीसर्ट लाएर त्यसैको वकालत गर्न थाले ।

भाग ८: झोले बाको घरमा संविधान
एकदिन एक पत्रकार झोले बाको घर गयो । कुराकानीमा पत्रकारले सोध्यो: “बा, तपाईं संविधान पढ्नुहुन्छ ?” झोले बाले झल्याँस्स हाँस्दै भने:

“बाबु, पढ्ने मान्छेले बनाएको संविधान हामीले बुझेर के गर्नु ? हामी त संविधान लेख्ने मान्छे कहाँ हुन्छौं र, संविधान बोक्ने मान्छे मात्र !”

उनको लागि संविधान भनेको अँध्यारो कुनामा थुपारिएको पुस्तक जस्तै हो- छ, तर प्रयोग हुँदैन ।

भाग ९: नवयुवक र झोले बा
नयाँ पुस्ता डिजिटल क्रान्तिमा रमाइरहेछ । ट्वीटर, फेसबुक, टिकटकमा राजनैतिक चेतना फैलिरहेको छ । तर झोले बा भन्नुहुन्छ:

“स्मार्टफोनले क्रान्ति ल्याउँछ भने हामीले क्रान्ति नगरेको हैन, हामीले त बट्टा मोबाइलमै परिवर्तन ल्याएको !”

उहाँका लागि ट्वीटर भनेको “पंक्तिबद्ध विरोध गर्ने भित्ते लेख” हो ।

भाग १०: निष्कर्ष- झोले बा अमर हुन् !
झोले बा बदलिँदैनन् । सरकार बद्लिन्छ, प्रधानमन्त्री बद्लिन्छ, नीति बद्लिन्छ, तर झोले बा जस्ताको तस्तै रहन्छन् – झोलासँगै । यस्ता झोले बा देशैभरि छन्-

चिया पसलमा बहस गर्दै
पत्रकार सम्मेलनमा ताली बजाउँदै
सभामा कुर्सी ओगट्दै
अनि चुनावमा सबै पार्टीको समर्थन गर्दै
नेपालको राजनीति झोले बाविनाको कल्पना असम्भव छ।

अन्त्यमा भन्नैपर्छ- “देश बदलिन्छ कि बदलिन्न थाहा छैन, तर झोले बा बदलिँदैनन् । किनभने, उनी परिवर्तनको प्रमाणीकरण होइनन्, प्रमादीकरण हुन् !”

०००
२०८२ जेठ २१ गते ।
बेलका-२, उदयपुर ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rajendra Prasad Adhikari
Rajendra Prasad Adhikari
1 year ago

पठनीय विश्लेषण। लेखकलाई धन्यवाद।

Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x