साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकैछिनकाे टेम्पाे यात्रा

सबै यात्रीहरू - ओर्लिए । म पनि ओर्लिएँ । तर ओर्लदा अरूलाई कस्तो- लाग्यो कुन्नि, मैले आफूलाई चैं एउटा युद्ध जितेर फर्केको - सिपाही जस्तो बहादुर ठानिरहेको थिएँ ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

“भाइ, टेम्पो कहाँ जाने हो ?” हेर्दा खलाँसी जस्तो देखिने सानो भाइलाई मैले सोधें । “चिसापानी” उनले भनेपछि म टेम्पोमा बसें । टेम्पो खाली थियो । केही बेर बसिसकेपछि मैले खलाँसी भाइलाई फेरि सोधे, “भाइ, टेम्पो कति खेर हिँड्छ ?”

“अब हिंडिहाल्छ ।” उनले सहज जवाफ दिए ।

बसेको १५/२० मिनेट भैसक्यो । यात्रु म एक्लै । टेम्पो चल्ने सुरसार नदेखेपछि मैले अधैर्य हुँदै फेरि सोधें, “हैन भाइ, टेम्पो कति खेर छुट्छ ?” उनले झोक्किदै जवाफ फर्काए, “भरिएपछि हिंडिहाल्छ नि ! खै मान्छेहरू त आ छैनन् । तपाई एक्लैलाई लिएर जाने हो कि क्या हो ?”

मुखभरिको जवाफ पाएर म खिसिक्क परेर बसें । मसँग त्यसको अर्को कुनै विकल्प पनि त थिएन । एक्लै बस्दा मनमा अनेक कुराहरू चल्छन् । के गरूँ के गरूँ भैरहन्छ । मलाई पनि त्यस्तै भयो । पछाडि बस्नुभन्दा त अगाडि केबिनमा बस्न पो सुविधा हुने हो कि भन्ने ठानेर खलाँसी भाइसँग धक मानीमानी सोधे, “अगाडि पनि खाली देखिन्छ नि, बस्दा हुन्छ ?”

“हुँदैन प्याक भैसक्या छ ।” कहाँबाट गुरुजी टुप्लुक्क आइपुगेर जवाफ दिए । (स्मरण रहोस्, यातायातको क्षेत्रमा ड्राइभरलाई गुरुजी भनिने गर्छ । यसो भन्दा ड्राइभरहरू फुरुङ्ग पर्छन् र गाडी जथाभावी खोला, खोल्साहरूमा खसालिदिएर भाग्ने सम्भावना कम रहन्छ) । म एकपटक फेरि खिसिक्क परें । सोचें, “होलान् आफन्त कोही, यही त हो नि टेम्पो ड्राइभर आफ्नो मान्छे हुँदाको मजा !”

यात्रुहरू आउने क्रम सुरु भयो । १,२,३,४ गर्दै टेम्पो भरिदै गयो । यही बिचमा दुई जना केटीहरू आए । अझ यसो भनौं, एक जना केटी र एक जना उसकै दिदीजस्तो लाग्ने अधबैंसे महिला काखमा बच्चा बोकेर दौड्दै आए । पछाडि करिब करिब भरिएको जस्तो देखेर
पनि होला, “अगाडि खाली जस्तो छ नि बस्दा हुन्छ ?” भनेर गुरुजीलाई सोधे । गुरुजीले एकपटक दुबै दिदी बहिनीलाई तलदेखि माथिसम्म नियाले र भने, “तपाईको बच्चा रहेछ, यहाँ असजिलो हुन्छ, पछाडि जानुस् । बैनी चाहिँ बस्दा हुन्छ ।” गुरुजीले ढुक्कसँग जवाफ दिए। बहिनी केबिनमा ड्राइभरसँग बसिन्, दिदी चाहिँ बच्चा । बोकेर पछाडि आइन् । गुरुजी पनि खुसी देखिए । तर मेरो मनमा चाहिँ एउटा द्विविधा र कौतूहल पैदा भयो, “गुरुजीले बैनी त भने, के साँच्चै उनी त्यत्तिको ज्ञानी र नैतिकवान् होलान्, या बैनी शब्दको उपहास मात्रै !” जेहोस् महिलाले – बस्ने सिट पाए भैगो ।

टेम्पो भरियो, तैपनि यात्रुहरू थपिँदै छन् । १२ – जनाको सिट भएको टेम्पोमा २२ जना जति भैसके । बल्ल – खलाँसीले गुरुजीलाई हिँड्ने सङ्केत दियो । हिँड्नै के आँटेको थियो, एक जना महिला काखमा बच्चा च्यापेर दौड्दै आइपुगिन् । टेम्पोमा बस्ने ठाउँ छैन । जबर्जस्ती खलाँसीले भित्र कोच्यो र टेम्पो हिँड्यो । एउटा हातले बच्चा र एउटा हातले टेम्पोको डन्डी समातेर कति बेर अडिनु ! ती महिलालाई साह्रै गाह्रो परिरहेको थियो । तर बसेका सबैले एकअर्कालाई हेरेर, नभए बाहिर हेरेर आफ्नो औकात प्रदर्शन गरिरहेका थिए । र, सके आफूले चैं सिट पाएकोमा मनमनै गर्व महसुस गरिरहेका थिए ।

मलाई चैं असह्य भयो र भनें, “बैनी बस्नुस्, म उभिन्छु ।” बैनी त बसिन् तर मलाई पर्यो साहो । ४ फिटको टेम्पोमा ६ फिटको मान्छे, पूरा उभिन नमिल्ने । बसे समाउने ठाउँ छैन । बाटोको ताल त्यही हो, खाल्डै खाल्डा ! टेम्पो गुड्ने कम, उफ्रने ज्यादा गर्छ । त्यसपछि मैले ६६% उभिने, ३३% तेर्सिने र बाँकी निहुरिने गरी जसोतसो आफूलाई एडजस्ट गरें। मेरै जस्तो हविगत त्यहाँ २/४ जना अरूको पनि थियो । टाठाबाठाहरू बाहिर झुन्डिएका थिए । मैले पनि खलाँसीसँग झुन्डिने प्रस्ताव राखें । खलासीले ठाडै अस्वीकार गर्दै भन्यो, “कहाँ झुन्डिने ? ठाउँ भरी सक्या छ ।” एकपटक फेरि खिस्रिक्क परेँ र मनमनै सोचें, “ए, झुन्डिने पनि निश्चित ठाउँ हुँदो रै छ र त्यो पनि भरिँदो रै छ ।” झुन्डिन पाउनुको पनि कत्रो महत्त्व हुँदो रहेछ, मैले यतिखेर बुझै ।

टेम्पो एच.आइ.डि. पुग्यो र रोकियो । १/२ जना झर्ने र १/२ जना चढ्ने काम त्यहाँ पनि भयो । एक जना हेर्दा भलादमी जस्ता लाग्ने अधबैँसे पुरुष पनि दौड्दै टेम्पो चढ्न आइपुगे । यहाँ भलादमीको अर्थ केवल पहिरन हो भनेर बुझ्नुपर्छ । टाई सुटमा सजिएका उनले पनि झुन्डिने रहर त गरेका हुन् तर बिचराले पाएनन् र म जस्तै उनी पनि ६६% उभिने, ३३% तेर्सिने र बाँकी निहुरिनेमा परे । टेम्पो गुड्यो । टेम्पोको धुँवा र बाटोको धुलोले उसै त निसास्सिएको बेला टेम्पोभित्र अर्को एउटा आपत् आइलाग्यो । कसैले या त हिजो कुहिएको बासी सडेगलेको अखाद्य चिज खाएको हुनुपर्छ, या त २/४ छाक अघिदेखि केही नखाएको हुनुपर्छ । तथ्य सार्वजनिक भयो । सबैले बुझे, तर सबै निरीह । एक अर्काको मुख क्वारक्वार्ती हेर्नु र कुहिएको मेवाको जस्तो मुख बनाउनुबाहेक उपाय केही थिएन । नाक थुन्नेसम्मको सुविधा उपलब्ध छैन र मुखमा जम्मा भएको थुक थुक्ने ठाउँ नपाएर निल्नु पऱ्या छ।

अब टेम्पो कमाने गएर रोकियो । थुप्रै यात्रुहरू त्यहाँ ओर्लने रहेछन् । केही चढ्ने तम्तयारीमा पनि थिए । अरू सँगै ती तथाकथित भलादमी पनि ओर्लिए । उनको यतिखेरको अवस्था हेर्न लायकको थियो । टाईको एउटा फुर्को पछाडि ढाडतिर लत्रेको थियो र अर्को फुर्को कता पर्यो भनेर उनले पनि निकै बेर खोजे । टेम्पोमा चढ्दाको उनको भरखरै पालिस गरेको चम्किलो कालो जुत्ता अहिले पूरै खैरो भएको थियो । अझ सुटको त झन् के कुरा गर्नु ? तर उनलाई यस कुराले खासै फरक परेको जस्तो लाग्दैनथ्यो ।

त्यसैले त होला भाडामा ५ रुपियाँ कि १० – रुपियाँ भनेर १५ मिनेट जति किचकिच गरे, सबै यात्रुले अनुरोध गरेपछि बल्ल भाडा दिएर टेम्पोको बाटो खोलिदिए । – टेम्पो अगाडि बढ्यो । बाटामा पनि यस्तै यस्तै अरू थुप्रै – झाँकीहरू पार गर्दै टेम्पो चिसापानी पुग्यो । सबै यात्रीहरू – ओर्लिए । म पनि ओर्लिएँ । तर ओर्लदा अरूलाई कस्तो- लाग्यो कुन्नि, मैले आफूलाई चैं एउटा युद्ध जितेर फर्केको – सिपाही जस्तो बहादुर ठानिरहेको थिएँ । र, खुल्ला हावामा गर्वले आङ तनक्क तन्काएर आफ्नो बाटो लागें । अहिले पनि जब यात्रुले खचाखच टेम्पो बाटोमा देख्छु, मलाई त्यो दिनको याद आइहाल्छ ।

०००
हेटाैंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x