रामकृष्ण ढकालपाती साथी र घाती
यता न त्यताका नेता भनाउँदा र तिनका झोले झाम्टे जुम्रे जगल्टेहरू, टोकसेवा उत्तीर्ण गरेर जागिरमा गिर्नसम्म गिरेकाहरू, थुतुनोभित्र देशको बजेट छिरेकाहरू, सत्ताको दुर्गन्धले भिजेकाहरू त झन यो मामिलाका सारथि नै हुन्छन् ।

रामकृष्ण ढकाल :
खै कसले पो हो भनेको सुनेको जति पोले पनि घामै जात्ती, जति गाली गरेपनि आमै जात्ती । हाम्रो गाउँठाउँमा कान्लाकन्दरामा उमृने तितेपाती यस्सो एउटा पात टिपेर सुँघ्यो कस्तो नमिठो गन्ध आउँछ । धोइपखाली गरेर मुखमा हालिसकेपछी क्या गज्जबको तितो आउँछ । जादु नै गरेजस्तो गरि कतैबाट नचलाई हाम्रो अनुहारलाई कच्याककुचुक पारिदिन्छ । तैपनि गन्ध र स्वादलाई बेवास्ता गर्ने हो भने त्यसको औषधिय गुण त छँदैछ । दिमाग नै नभए पनि आफू तितो हुँदाहुँदै अरूलाई मीठो उपचार दिनसक्नु यसको राम्रो पक्ष हो ।
यो जमानामा मान्छे भनाउँदाहरू आफूलाई कत्ति न विद्वान बुद्धिमान भन्ने एकदम महान ठान्ने तर व्यवहार भने त्यो तितेपातीको जत्तिको पनि छैन । घाती छ । अर्थात भन्ने बेलामा साथी हुनेबेलामा घाती । उखानेको तानाशाही चलिरहेको बेलामा यो पनि एउटा उखानै बन्यो कि क्या हो ? के गर्नु मान्छेहरू आफूलाई दिमागधारक सम्झन्छन् । मन मष्तिष्कको बाहक सम्झन्छन् । अरूलाई थरीथरीका उपदेशका दृश्य अदृश्य ठेली भिडाउँछन् । तर यो अठ्ठाइसौं कलियुगमा बाघको मुख नदेखे बिरालोको मुख हेर्नू राक्षसको मुख हेर्न परे मनुवाको भन्नै पर्ने भएको छ सायद आफू पनि त्यही मनुवाभित्र पर्ने भएर होला ।
उदाहरण दिने बेला बुद्धजस्तो छोरा बनोस सीताजस्ती छोरी भन्ने तर बुद्धलाई बुइपटी पारेर सितालाई सितारा जत्ति पनि नगनेपछि मनमा पीर त पर्ने नै भयो यस्तो व्यङ्ग्य लेख्ने नै भयो । तितेपाती प्रशस्तै उम्रने देशमा त्यसबाट केही नसिकी छरछिमेकका ठूला देश अवतारका सर्पले जस्तो चाहिँ पक्कै गर्छन् । जसरी सर्पलाई पञ्चामृत खुवाए पनि त्यसले निकाल्ने बीस नै हो त्यसैगरी मनुवा पनि दुधा खान पाए साथी खाइसकेपछि वा खान नपाए हाम्रा कवि शिरोमणि लेखनाथ पौडेलले लेखे झैं — गुणको वैरी मानुस जाती, शुष्क पारी गुणीको छाती, प्राणपखेरु नलिएसम्म खुस हुँदैन हाय अचम्म नै बन्नमा रमाउँछ । जीवनभर यस्तै बाटो समाउँछ । सकेसम्म धेरै शत्रु जमाउँछ । आफ्नो मानसम्मान इज्जत मानवता कुहाउँछ । आसपासकालाई रुवाउनुसम्म रुवाउँछ । निर्धासोझाका सास उडाउँछ, बास उठाउँछ, अनि आफ्ना सन्तानले समेत पूर्खा भनेर सम्झन नमिल्नेगरी वातावरण जुटाउँछ । मानव भएपछि मानवै भएर बाँच्नु, बरू आफूलाई जे जस्तो होस अरूलाई राम्रो गर्मु त कता हो कता झन बोली बोलेको हो कि गोली छोडेको हो चिन्नै गाह्रो पर्ने पो हुन्छन् त ।
यता न त्यताका नेता भनाउँदा र तिनका झोले झाम्टे जुम्रे जगल्टेहरू, टोकसेवा उत्तीर्ण गरेर जागिरमा गिर्नसम्म गिरेकाहरू, थुतुनोभित्र देशको बजेट छिरेकाहरू, सत्ताको दुर्गन्धले भिजेकाहरू त झन यो मामिलाका सारथि नै हुन्छन् । चुनावको बेलाको चिप्लो, कार्यालय भित्रको हिलो, सभासम्मेलनका काँ काँ सबै सबै उस्तै । जुन डाँका आए पनि हतियारै भिरेको जुन गोजी आए पनि घुसै छिरेको भनेजस्तै ।
अन्तर्राष्ट्रिय सम्बन्धमा पनि कुरो त उहीँ पाइन्टको मोहोतामा बिझ्ने खाले नै हो । अद्वितीय सम्बन्ध भएको मित्रराष्ट्र हुँ भन्ने मान्छेलाई मान्छे नगन्ने , सिमालाई यसिमा भन्ने हेप्नु र चेप्नु बाहेक अरू कामलाई राम्रो नदेख्ने । अनि त्यसको व्यवहार पातिकोजस्तो उत्तमकारक नभएर साथीका नाममा घाती भएन त ? बिचरा जनावरको संसारमा पनि यस्तो हर्कत हुँदैन । नत्र त तिनको समाजमा पनि मनुवाको जस्तै प्रहरी न्यायाधीश न्यायालय , झेल गर्नेलाई थुन्ने जेल हुन्थ्यो होला । योकुरा नबुझ्ने नै आजकलका महान मनुष्य ।
अझ जुन कुकुरले भात खाँदैन उसकै नाम भाते । क्या गजब छ बा !! अमानवीयताको पराकाष्ठा बोकेर जिउनेहरू, सोझा सिधाको रगत पसिना पिउँनेहरू, आफ्नै जिउलाई सार्वजनिक शौचालय बनाउन रमाउनेहरू, घुस खाएर कमाउनेहरू, विदेशलाई विकसित बनाउनेहरू, राष्ट्रलाई रित्तो बनाउनेहरू, गरिब निमुखाको भित्तो भत्काउनेहरू, आफ्मो घर सल्काउनेहरू, महाखत्तमलाई पल्काउनेहरू, देउता जस्तोको घाँटी काट्नेहरू, क्रुर राक्षसको पाउ चाट्नेहरू, आफ्नालाई भन्दा डाम्नालाई बढी मान्नेहरू, यस्तै यस्तै हर्कत बेस्सरी जान्नेहरू समाजमा परिवारमा सभ्यतामा देशमा देखिएनन् कहिल्यै पातिहैं औषधिको भेषमा । बरू सदासर्वदा प्रस्तुत भए आवरणमा साथी वास्तविकतामा घातिको परिवेशमा । समाजको अधोगति युवाको कुमती विदेशका हलि गोठाला हामीहरूका सन्तती ।
हतियार र मतियारको बलमा पृथ्वीतलमा काल्पनिक सज्जले सजिएको राजा बच्चाले पनि नाङै देख्छ भन्ने चेतना पातिघारितिर उहिल्यै बिहान बिहान थुप्र्याइएको थुप्रोमा खेल्न गएपछि कसको के लाग्दो रछ र !! चन्द्र धरामा टेकेको हुइँया त त्यस्तै भाका मिल्ने अल्लि आवाजको सुइँयातिर पो पुगेजस्तो छ । तैपनि आफूलाई के क्केन सम्झेर गर्दभस्वरमा कराएको सुनेर नै हो कि जस्तो लाग्छ कुकुरले उनीहरूतिर पार्दा पुच्छर बाङ्गो बनाउने अभ्यास गरेको ?!
०००
२०८२ जेठ ८
चितवन
Subscribe
Login
0 Comments
Oldest







































