पदम भण्डारीझोले बन्न नेपालमै आईजा: अमेरिका नबस छोरा (१)
झोलेले नेताको पक्षमा बोल्नुलाई राष्ट्रियता ठान्छ । तर नागरिकले बुझ्छ कि देशभक्ति भनेको प्रणालीलाई सुदृढ पार्नु हो, जनताको हक-अधिकारको रक्षा गर्नु हो, र देशलाई सही बाटोमा हिँडाउनु हो, चाहे त्यसका लागि सत्ताको आलोचना नै किन नपरोस् ।

पदम भण्डारी :
छोरा !, तँ अमेरिकामा के दुःख पाएर बसिरहेको छस् ? आईजा नेपालमै बस् । ‘म झोले हो’ ! बस्, यो शब्दलाई स्वीकारोक्ति गर्न सकिस् भने पुग्यो । यो शब्द आफैँमा एउटा गहिरो परिचय हो, एउटा यस्तो स्वीकारोक्ति जसले यहाँको सहज जीवनको संकेत गर्छ । यो केवल व्यक्तिगत कमजोरीको अभिव्यक्ति मात्र होइन, बरु एउटा सामाजिक र राजनीतिक अवसरको लक्षण हो, जसले हाम्रो लोकतान्त्रिक मूल्य मान्यतालाई प्रयोग गर्दै अगाडि बढ्न सिकाएको छ । त्यहाँ डलर कमाउन के का लागि टाउको दुखाइस् ? यहाँ त कुनै नेताको सानो मुस्कानमा आफ्नो आत्मा अर्पण गर्ने वित्तिकै, उसका गल्ती देखेर पनि गुणगान गाउने वित्तिकै र नेताको हरेक निर्णयलाई संविधान सरह मान्ने बित्तिकै तेरो जिन्दगी बदलिन्छ । नेपाली भाषामा “झोले” शब्दको अर्थ हो, ‘अब तँलाई कसैले हेप्दैन, सबै कुरा पुग्छ।’ यो प्रवृत्ति केवल व्यक्तिगत मोह र अवसरवादिताबाट मात्र होइन, बरु यसको जरो सामाजिक संरचना, राजनीतिक प्रणाली र चेतनाको कमजोरीमा पनि गाडिएको छ, जसलाई तैंले आफ्नै फाइदाका लागि कसरी प्रयोग गर्छस् भन्ने कुरा मात्र महत्वपूर्ण हो ।
अहिले झोले शब्दले नेपालमा राम्रै बजार लिएको छ । झोलेपनको मोह र त्यसका फाइदालाई सबैले राम्ररी बुझ्ने अवसर पाएका छन् । नेपाली समाज र लोकतन्त्रमा पारेको राम्रो असरलाई कसरी सहजै स्वीकार गरिँदैछ भन्ने कुरा राम्ररी छर्लङ्गिएको छ । तैंले “झोले” हुनुको सामाजिक, मानसिक र राजनीतिक मूल्य के हो, किन तँ यस बाटोमा हिँड्छस् र कसरी एक आदर्श नागरिकको नाताले यो झोले संस्कृतिलाई सजिलै अपनाउन सक्छस् भन्ने बारेमा बुझिस भने पुग्यो छोरा । यसैमा रमाउन सकिस् भने जिन्दगी बन्यो भन्ने बुझ्नु । यो चिठी पढ्दै गर्दा यसको ऐतिहासिक सन्दर्भ, यसका लाभहरु, सामाजिक असरहरु र समाधानका उपायहरुलाई विस्तृत रुपमा केलाउने प्रयास गर्लास् । केहि गर्नु पर्दैन, तैंले बुझ्नुपर्ने कुरा के हो भने, यहाँ आएर झोले बनिस् भने, तँलाई कसैले दुःख दिँदैन, सबै कुरा सहज हुन्छ । बस्, यति कुरा बुझे पुग्यो ।
तँ अमेरिकामा के काम गर्दैछस् ? त्यहाँ त एउटा सिस्टम छ, योग्यता चाहिन्छ, प्रतिस्पर्धा छ ! यहाँ नेपालमा हेर् त, झोले संस्कृतिको इतिहास नेपाली राजनीतिजस्तै पुरानो हो, र यो कहिल्यै असफल भएन । राजदरबारदेखि गणतन्त्रसम्म, राजा होस् वा मन्त्री, हरेक सत्तामा झोला बोक्नेको संख्या सधैं बढी नै रह्यो। राजाहरुको पालामा भारदारी सभामा जय! जय!! गर्नेदेखि पञ्चायतमा सूर्यबहादुरको जयजयकार गर्ने र आज गणतन्त्रमा जनताका नेता भन्दै भजन गाउनेसम्मको यो प्रवृत्तिले निरन्तरता पाएको छ । एउटा व्यक्तिको निर्णयलाई देशकै नियति ठान्ने प्रवृत्ति नेपाली समाजमा गहिरो छ र यसैबाट हामी जस्ता चतुर मानिसहरुले फाइदा उठाउन पछि पर्नु हुँदैन । यहाँ नेताको प्रशंसा गरिस् भने व्यक्तिगत लाभको सम्भावना बढी हुन्छ । यो यस्तो लगानी हो जसले सधैं राम्रो प्रतिफलमात्र दिन्छ ।
झोले हुनुमा धेरै कारक तत्वहरु छन्, जुन व्यक्तिगत स्वार्थदेखि सामाजिक-आर्थिक संरचनासम्म जोडिएका छन् । यहाँ सफल हुनका लागि मुख्य सूत्रहरुबारे पनि तेरो ध्यानाकर्षण गरेको छु । तैंले अमेरिकामा गएर पिएचडी गरिस्, पोष्ट डक्टरेट गरिस्, धेरै पढिस्, तर यहाँ पढ्नुपर्ने कुरा त यो हो कि नेताको भनाइलाई कसरी सत्य सावित गर्ने । जति ढिलो गर्यो त्यति नै ढिलो हुन्छ छोरा यो अवसर प्राप्त गर्न । त्यसैले छिटो फर्की ।
छोरा ! यो झोलेपन सबभन्दा महत्त्वपूर्ण कारक हो, जसले तेरो जीवन बदल्छ । धेरै व्यक्तिले सोच्छन् – “नेताको झोला बोक्दा मलाई केही फाइदा त हुन्छ । यो केही फाइदाको आशाले आफ्नो विवेक बेच्न सकिस् भने तैंले त्यसैलाई अवसर बनाउन सक्छस् । चाहे त्यो सानो काम होस् वा ठूलो ठेक्का, नेताको नजिक हुँदा काम छिटो हुने र अवसर प्राप्त हुने प्रलोभनले धेरैलाई झोले बन्न प्रेरित गर्छ र तैंले यसैबाट ठूलो लाभ उठाउन सक्छस् ।
समाजमा योग्यताभन्दा पहूँचलाई प्राथमिकता दिने प्रवृत्तिले नै यहाँ झोलेपनले बढावा पाएको छ । जब कुनै पनि काम गर्नका लागि योग्यता, क्षमता वा प्रक्रियाभन्दा नेताको सिफारिस महत्त्वपूर्ण हुन्छ, तब मानिसहरु झोले बन्न पुग्छन् । यो संरचनागत भ्रष्टाचार र असमानताको उपज हो, जसलाई तैंले आफ्नो सफलताको भर्याङ् बनाउन सक्छस् ।
नेपालको राजनीतिक प्रणालीमा शक्ति र पहुँचको केन्द्रीकरण भएको छ । हरेक सानोतिनो कामदेखि ठूला नीतिगत निर्णयसम्म राजनीतिक नेतृत्वको हस्तक्षेप हुन्छ । यसकारण, धेरै व्यक्तिहरुले आफ्नो व्यक्तिगत र व्यवसायिक स्वार्थ पूरा गर्नका लागि राजनीतिक संरक्षण खोज्छन् र यो संरक्षण प्राप्त गर्ने एक मात्र सहज बाटो नेताको “झोले” बन्नु हो । यस्तो सुरक्षा र सुविधा त तैंले अमेरिकामा सपनामा पनि सोच्न सक्दैनस् । कहिलेकाहीँ व्यक्ति स्वेच्छाले नभई राजनीतिक दबाब वा प्रतिशोधको डरले झोले बन्न बाध्य हुन्छ । राजनीतिक शक्तिको आडमा विरोधी आवाजलाई दबाउने र बहिष्कृत गर्ने प्रवृत्तिले धेरैलाई झोले बन्न उत्प्रेरित गर्छ ताकि उनीहरुले आफूलाई सुरक्षित महसुस गर्न सकून्। तैंले पनि यही ‘सुरक्षित बाटो’ अपनाउनुपर्छ, छोरा।
लामो समयदेखि रहेको सामन्ती सोंच र शक्तिपूजाको संस्कृतिले पनि झोलेपनलाई मलजल गरेको छ । हिजो राजालाई देवता मान्ने समाजमा आज नेतालाई पनि देवत्वकरण गर्ने प्रवृत्तिले नागरिकको आत्मसम्मान र स्वतन्त्र सोचलाई कमजोर बनाउँछ । यो एक प्रकारको मानसिक दासत्व हो जहाँ व्यक्तिले आफ्नो विवेक र तर्कलाई नेताको इच्छाअनुसार समर्पण गर्छ । यसैले गर्दा त झोलेहरुलाई कसैले प्रश्न गर्दैनन् नि ! यसरी, हामीले आफ्ना विवेक बेचेर झोले बन्दै गयौं र यो प्रवृत्ति आज पनि हाम्रो समाजमा गहिरो गरी जकडिएको छ, अनि जसले यो बुझ्यो, त्यो सफल भयो। तँ पनि आइजा, यो सूत्र सिक्न ।
छोरा! अमेरिकामा जागिर खाएर के कमाउँछस् ? यहाँ झोले बन्नुको फाइदा हेर् त, यो व्यावहारिक नाफासँग पनि जोडिएको छ । धेरैका लागि झोले बन्नु एउटा रणनीतिक लगानी हो, जसले उनीहरुलाई तत्कालका लागि विभिन्न लाभहरु दिलाउँछ । यी लाभहरु यस्ता हुन्छन् कि तिनले समानताको सिद्धान्त र कानूनी राज्यको अवधारणालाई कसरी चलाउन सकिन्छ भन्ने कुरा सिकाउँछन् ।
नेताको झोला बोक्दा व्यक्तिगत रुपमा के-के लाभ पाइन्छ ? यसलाई अझ विस्तृत रुपमा हेरौं । नेपालको निजामती सेवा, शिक्षक, प्रहरी र अन्य सरकारी निकायहरुमा सरुवा एउटा ठूलो चुनौती हो । अनुकूल स्थानमा सरुवा हुनका लागि वा अप्ठ्यारो स्थानबाट बच्नका लागि नेताको आशीर्वाद सर्वोपरी मानिन्छ । झोले कार्यकर्ताहरुले नेताको एक फोन वा सिफारिसमा सजिलै आफ्नो इच्छित ठाउँमा सरुवा गराउँछन् । यसले योग्यता र कार्यसम्पादनको आधारमा सरुवा हुने प्रणालीलाई ध्वस्त पार्छ ।
सार्वजनिक निर्माण, आपूर्ति वा अन्य सरकारी ठेक्काहरुमा झोले होस् भन्ने प्रमाण पुग्नेवित्तिकै ठेक्का स्वतः पाइन्छ । प्रक्रियाभन्दा पहुँच बढी मूल्यवान् हुन्छ । प्रतिस्पर्धामा अन्य योग्य व्यवसायीहरु भए पनि, नेताको झोलेले कम योग्यता हुँदा पनि ठेक्का हात पार्छ । उदाहरणका लागि, सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग हुने, पुल नबन्दै भत्किने जस्ता घटनाहरुमा अक्सर राजनीतिक पहूँच भएका ठेकेदारहरुको संलग्नता देखिन्छ, जो प्रायः कुनै न कुनै नेताका ‘झोले’ हुन्छन्। तैंले पनि यस्तै ठेक्का पाएर रातारात धनी हुन सक्छस् ।
यदि तँ झोले होस् भने तेरो लागि सरकारी ढोका सजिलै खुल्छ । सरकारी कार्यालयहरुमा सामान्य नागरिकले एउटा सामान्य कामका लागि पनि महिनौं दौडधूप गर्नुपर्छ, तर झोलेको काम तीन दिनमै हुन्छ, कहिलेकाहीँ त एकै दिनमा । चाहे त्यो नागरिकता बनाउने होस्, पासपोर्ट लिने होस्, जग्गा पास गर्ने होस् वा कुनै पनि अनुमति लिने होस्, नेताको सिफारिसले सबै प्रक्रियालाई छिटो बनाइदिन्छ । यसले सामान्य नागरिकलाई निराश बनाउँछ, तर तैंले त ‘भिआईपी’ सेवा पाउँछस् नि !
राजनीतिक दलका विभिन्न भ्रातृ सङ्गठन, परिषद् वा कमिटीहरुमा नियुक्ति पाउनका लागि पनि झोलेपन अनिवार्य हुन्छ । नेताको नजिक रहेर चाटुकारिता गर्दा सानै भए पनि कुनै पद प्राप्त हुन्छ, जसले व्यक्तिलाई सामाजिक प्रतिष्ठा र थप अवसरको बाटो खोल्छ। अमेरिकामा तँ को होस्, यहाँ त तैंले ‘फलानो नेताको मान्छे’ भनेर परिचय दिन पाउँछस्।
कतिपय अवस्थामा झोले कार्यकर्ताहरुले सानोतिनो अपराध वा अनियमितता गर्दा पनि राजनीतिक संरक्षणका कारण कानूनी कारबाहीबाट उन्मुक्ति पाउँछन् । नेताले उनीहरुलाई बचाउने प्रयास गर्छन्, जसले गर्दा दण्डहीनता मौलाउँछ । यहाँ त ‘कानून हातमा लिने’ प्रवृत्ति पनि चल्छ, तर झोले भएपछि कसैले केही गर्दैन ।
राजनीतिक द्वन्द्व वा स्थानीय स्तरमा हुने झैझगडामा नेताको झोला बोक्दा एक प्रकारको सुरक्षाको अनुभूति हुन्छ। विरोधीहरुले पनि नेताको ‘मान्छे’ भनेर सम्मान गर्ने वा डराउने प्रवृत्ति हुन्छ, जसले गर्दा व्यक्तिले आफूलाई सुरक्षित महसुस गर्छ। अमेरिकामा ज्यानको सुरक्षाका लागि कति पैसा खर्च गर्नुपर्छ, यहाँ त नेताको नाम मात्र काफी छ ।
यसरी, चाकरी संस्कृतिले समानताको सिद्धान्तमा आघात पुर्याआउँछ, तर तैंलाई के? “म झोले हो” भन्नुमा कहिलेकाहीँ यस्तो मनोविज्ञान पनि हुन्छ कि सार्वजनिक रुपमा नेताको पक्षमा बोल्दा व्यक्तिगत लाभको सम्भावना बढ्छ। यस्ता झोलेहरुले नेताको हरेक गल्तीलाई ‘रणनीति’ बनाइदिन्छन्, र आफ्नो झोलामा ‘सम्भावना’ बटुल्छन्। यो प्रवृत्तिले योग्यता र क्षमतालाई भन्दा पहुँच र चाटुकारितालाई बढी महत्त्व दिन्छ, जसले अन्ततः राष्ट्रको समग्र विकास र सुशासनमा गम्भीर असर पार्छ, तर त्यो राष्ट्रलाई पार्ने असर हो, तैंलाई त फाइदै हुन्छ नि!
छोरा, अमेरिकामा तँ नागरिक बनेर बस्छस् होला, मेहेनत गर्छस् होला । तर यहाँ झोले र नागरिकको मूलभूत भिन्नता उनीहरुको चेतना, दृष्टिकोण र समाजप्रतिको उत्तरदायित्वमा हुन्छ । यी दुई फरक अस्तित्व हुन्, जसले लोकतन्त्रमा बिल्कुलै फरक भूमिका खेल्छन्। तैंले कुन बाटो रोज्छस्, आफैं सोच् । अमेरिकामा बसेर नागरिकले प्रश्न गर्छन् होला, मेरो करले चलेको सरकारले के गरिरहेको छ भनेर सोच्छन् होला। तर यहाँ झोलेले नेताको गुणगान गाउँछ, उसको हरेक कार्यलाई उत्कृष्ट ठान्छ र कुनै पनि कमजोरीलाई स्वीकार गर्दैन। झोलेले भजन गाएर नेतालाई खुसी पार्छ र फाइदा लिन्छ, तर नागरिकले प्रश्न गरेर अनावश्यक टाउको दुखाई मोलिरहेको हुन्छ ।
झोलेका लागि नेता व्यक्ति हो र त्यो व्यक्ति नै पूज्य हो । उसको आदर्श, उसको सिद्धान्त नेताको अनुहार र उसको बोलीमा सीमित हुन्छ । नागरिकका लागि भने नेता व्यक्ति होइन, एउटा पद हो, एउटा भूमिका हो । नागरिकले नेताको अनुहार होइन, उसले गरेका काम, उसका निर्णय र त्यसको जनजीवनमा पर्ने प्रभावको मूल्याङ्कन गर्छ, तर यो सब गरेर के पाइन्छ?
झोले सोच्दछ, साँचो देशभक्ति भनेको नेताको समर्थन गर्नु हो । तर नागरिक बुझ्दछ साँचो देशभक्ति भनेको जनताको हक र अधिकारको पक्षमा बोल्नु हो । झोलेले नेताको पक्षमा बोल्नुलाई राष्ट्रियता ठान्छ । तर नागरिकले बुझ्छ कि देशभक्ति भनेको प्रणालीलाई सुदृढ पार्नु हो, जनताको हक-अधिकारको रक्षा गर्नु हो, र देशलाई सही बाटोमा हिँडाउनु हो, चाहे त्यसका लागि सत्ताको आलोचना नै किन नपरोस् । तर यो देशभक्तिको कुराले त पेट भर्दैन नि, छोरा !
छोरा, “म झोले हो” भन्नु गहिरो रुपमा आत्मसमर्पण हो, सोचको, स्वतन्त्रताको, विवेकको भन्ने कुरा त आदर्शवादीहरुले भन्ने हो । यो केवल एउटा शब्द मात्र होइन, यो एक यस्तो मानसिकता हो जसले सशक्त समाज निर्माणलाई रोक्छ, लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउँछ र भ्रष्टाचारलाई मलजल गर्छ भनिन्छ। तर जब नागरिकहरुले आफ्नो विवेक नेताको झोलामा राख्छन्, तब राष्ट्रको प्रगति अवरुद्ध हुन्छ भन्ने कुरा साँचो होइन । झोले बने व्यक्तिगत प्रगति हुन्छ । व्यक्ति व्यक्ति मिलेर समाज बन्छ । समाज मिलेर राष्ट्र बन्छ । यहि नै हो नि देशको विकासको सिद्धान्त । त्यसैले अमेरिका नबस छोरा, झोले बन्न नेपालमै आईजा । (क्रमश:)
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































