साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुप्पीबाजे

अनि कसरी म यसलाई फाल्न सक्थे ? तर निन्दा पनि कति सहनु । कलेज जानै हुन्न 'टुप्पी बाजे' को उपनाम छरिन्छ मेरा ओरिपरि । अनि के गर्नु ? मैले यो टुप्पीको टुप्पी थाम्न सक्ने स्थिति रहेन ।

Nepal Telecom ad

होम सुवेदी :

टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुप्पी थियो मेरो । कालो र बाक्लो कपाल पाल थियो । कपालका अरू विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुप्पी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम भने मैले छाडिसकेको थिएँ, देखावटीका रूपमा मात्र शिखा पार्दथे । अरू अरू साथीहरू आफ्नो खायोजियोको बाटो केकेबाट गर्छन् मेरो भने त्यही टुप्पीबाट खायोजियो र पढाइको मेलो भएको थियो बाहुन चरी भएको कारण । अरू अरूले आफ्ना उपनामहरू केकेबाट जोड्छन् मेरो भने त्यही टुप्पी नै उपनामको कारक बनेको थियो ।

बिहान बेलुका धोती फेरेर, टुप्पीको शिखा बाँधेर मन्दिरमा घन्टी बनाउँदै बडो लयालो स्वरमा आरती गाउनु मेरो दैनिकी थियो र यसैबाट मेरो गुजारा चलेको थियो, यो धोती चाहिँ नलाउनु परे पनि हुने भन्ने कुरा मनभरि थियो तापनि सकिरहेको थिइँन । एक दिन म भन्दा पनि माथिल्लो पण्डितले सुरुवाल र कमिज लगाएको देखेपछि मैले पनि नेपालीले इज्जत जमान फुकालेकै धोती फुकालेको थिएँ अनि सुरुवालको मेलो गरेको थिएँ। त्यसो गरेपछि अलिक आधुनिक भएको अनुभव भएको थियो । तर टुप्पी ता यथावत् नै थियो । यो नभएको भए मलाई कठोर पर्ने रहेछ पढ्न र पेट पाल्न । मेरो टुप्पी थिएन भने म एक पेट खान पनि पाउँथे कि पाउँदिनथे भन्न गाहारै छ। देखावटीका लागि भए पनि कुनैकुनै पर्वमा पछिसम्म पनि धोती फेरिन्थ्यो ।

मारवाडी समुदायका महिलाहरूले नुहायो के पण्डितजी ? भनेर कहिलेकाहीँ सोध्थे । नुहाएँ भनेर खुब ढॉटिन्थ्यो । माथिको कुर्ता र तलको धोती सफा गरिन्थ्यो, शुद्ध पारिन्थ्यो । नुहाएर दैनिक रूपमा नुहाउन सक्ने

ता कुरै थिएन, भलै जुम्राको खेती लुगामा भएको थिएन । सात आठ दिनमा मात्र नुहाइन्थ्यो । मुखसम्म भने सधैं धोइन्थ्यो । कालिम्पोङको जाडोमा कसरी नुहाउनु ? बर्खाको बेला ता खपिनसक्नु जाडो हुन्थ्यो अनि हिउँदमा भन् कसरी नुहाउनु । उनीहरू सम्झन्थे पणितले दैनिक नुहाउनै पर्छ । अहिले सम्झन्छु आफूलाई सारै नै ठगिएछ । पूजा गरेर भए पनि मेरो ध्यान भने पढ्नमा थियो । बिहान बेलुका घन्टी बजाइदिएर म तिन ठाउँमा पूजा गर्थे र पेटलाई चारो जुटाउँथें । यो घन्टी बजाउने कुरा अब छाडौं । धेरै घन्टी बजाउने कुरा गरियो भने अब पनि मलाई घन्टी बजाउने निम्तो आउन सक्छ।

यत्रो लर्दु भइसकियो, उस्तै भए छोराछोरीको बाबु हुने बेला पनि भइसक्यो । बेला भइसक्यो मात्र कहाँ अब ? उस्तै हो भने बेला बितिसक्न लाग्यो नि । यो बेलासम्म केके गरिसक्नु पर्ने। केही गर्न सक्या होइन । अरु अरू विषयको ता कुरै छाडौं एउटा जाबो उपनाम पनि राख्न सक्या होइन । कस्तो हुतिहारा नै भइएछ बा । उहाँ साथीहरूले उपनाम जति सबै हातपारिसके । मेरा लागि अब एउटा गतिलो उपनाम पनि बाँकी छैन । के भुत्राको उपनाम राख्ने ? मलाई मनमा चिन्ताको भुवरी मडारिन थालेको निकै भइसकेको थियो, कसैकसैले चार पाँच ओटा उपनाम राखिसकेका थिए भने आफ्नो चाहिँ एउटा पनि छैन। उपनाम नराख्नु भनेको लाछी नै वहरिने कुरा भइसकेको थियो । कालिम्पोङ्गतिर पढ्न बस्ताको यो मेरो मनको बहको कुरा आज खोल्दैछु धेरै वर्षपछि । नढाँटी भन्दैछु, अलिकति अतलबितल परिगयो भने अघिबाटै क्षमा मागिराख्छु । कुरा अलिकति तलबितल पर्ने खालका जस्तै जस्तै पनि छन् । छोराछोरी मात्र नभई छोरा बुहारी र नातिनातिनाको हजुरबाबु भएको यो मान्छे के लेखिरहेको यस्तो भनेर पर्न सक्छ केही तलबितल । यसैले तलबितल पर्न सक्ला भनेर फेदबाटै क्षमा मागिराखेको ।

आजका विद्यार्थीहरूको जस्तो एउटा कुनामा उभिएर मोबाइलमा जे पायो त्यही हेर्न पाउने र छानी छानी रोज्जालाई हातलाउने सुविधा हाम्रो पालामा कहाँ हुनु । मनोरञ्जन भनेको पनि प्रेमपत्र लेखन, सिनेमा घर गमन, बगैंचा भ्रमणहरू मात्र हुन्थे । आज केके छन् मलाई थाहा भएन तर हाम्रो बेलामा कलेज पढ्नुको मूल प्रयोजनहरू दुई ओटा हुन्थे । धेरै विद्यार्थीहरूको पहिलो गाँठी कुरा ता पढाइ नै हुन्थ्यो। यसका साथसाथै लम गर्ने कुरा दोस्रो प्राथमिकतामा आउँथ्यो । यसलाई अलि इत्रिएको भाषामा तरुनी फकाउनु भनिन्थ्यो, केटाहरू त्यसै भन्थे । मेरा एक जना साथी थिए बिराटनगर निवासी, उनको नाम नभनौं । उनले छ महिनामा छानी छानी छओटी तरुनी फकाइसकेको हल्ला थियो । यो कुरा साथीहरू जिस्काजिस्कीमा भन्थे म भने सुन्थें मात्र । हो वास्तवमा दोस्रो नम्बरमा पर्ने काम तरुनी फकाउने नै हुन्थ्यो । धेरै साथीहरू कलेजका बगैंचातिर बसेको र एकान्त कुनातिर पसेको देखिन्थ्यो । यसो फूलबारी, सिनेमा घर, कलेजका परिसरहरू यस कामका लागि शुभारम्भका क्षेत्र हुन्थे ।

कलेज पढ्दा तरुनी फकाउन चाहिने केही खास प्राविधिक तत्वहरू पनि हुन्थे । ती प्रविधिमा पछि परियो भने रोज्जा रोज्जा तरुनी ता के कसैले छाडेकाहरू पनि फकिन्नथे । यस कामका लागि आवश्यक प्राविधिक तत्वहरू निकै थिए । त्यस्ता तत्वहरूमध्ये सुरुको थियो उपनाम छान्ने । छडी चटक्क पारेर काट्ने वा बाल बनाउने काम अर्को हुन्थ्यो, त्यति बेला नेपाली सिनेमाको कुरा ता छदै थिएन, हिन्दी सिनेमाको उधुम थियो । सिनेमाका हिरोहरूमध्ये राजेश खन्नाको पनि उधुमै चल्ती थियो । उसैको जस्तो कपाल पार्नु, उसैको शैलीमा बोल्नु, उसैको शैलीमा गीत गाउनु, उसैको शैलीमा फकाउने विधि प्रयोग गर्नु जस्ता कुराले कामले उधुम मचाएको थियो । राजेश शैलीमा चटक्क पारेर छडी काटेको मान्छेको भाउ नै बेग्लै हुन्थ्यो । उसमाथि डाबर आँवला केस तैल लगायो भने अझ भाउ बढ्थ्यो । अरू तैलहरू पनि हुन्थे तर डाबर आँवला केस तैलको सुगन्धमा तरुनीहरू फूलमा भमरो जसरी आउँछन् भन्ने सुनिन्थ्यो । अझ यो बाटोको माथ्लो खु‌ड्किलो एउटा अर्को पनि थियो। छडी काटेर खुस्पाइ साबुनले नुहाउदै अत्तर छरेर तरुनीहरूका ओरिपरि भुन्भुनाउन सकियो भने मात्र कलेज पढेको सार भएको ठानिन्थ्यो । गाउँ भेकबाट पढ्न आएका छात्रा साथीहरू बाबरी फूलका पत्ताहरूबाट पनि यो काम काट्दथे । पत्ता वा फूलहरू जिउमा घुसारेर महकाउँथे ।

आज स्प्रे भने पनि उ बेला इत्र भनिन्थ्यो । त्यो सारै महँगो हुने हुनाले सर्वसुलभ थिएन । इत्र वा अत्तरको महक भनेको उघुमै आकर्षक हुन्थ्यो, यो तरुनी फकाउनका लागि अति नै महत्वपूर्ण सहायक वस्तु मानिन्थ्यो । त्यसका साथ अलिक सहजै फकाउनका लागि उपन्यासहरू पढ्‌ने बानी बसाउनु पनि एक सरल उपाय थियो । नेपालमा सुवास घिसिंगका र उनैको शैलीमा अरू अरूले पनि फकाउने फर्मुलालाई ध्यानमा राखी लेखेका नेपाली उपन्यास पनि बजारमा थिए । नीलोचोलीले उधुमै मचाएको थियो । एकै बसाइमा नबिसाई पडिसकिने त्यो उपन्यास हाम्रो वृत्तभरि हातहातमा सरिरहेको थियो । उता हिन्दी भाषाका राजपाकेट बुक्सबाट प्रकाशित कर्णेल रन्जितले लेखका अनि गुलशन नन्दाका उपन्यासको पनि भरमार थियो । अझ त्यस्ता लभैलभ गरेका उपन्यासहरू किनेरै पढ्न सकियो भने ता उपन्यास पढ्ने बानी परेका र कसैले फकाइदिए पनि हुन्थ्यो भन्ने भाउ खोज्नेहरू आफै आइपुग्थे फकाउनै पर्दैनथ्यो । त्यस भन्दा अर्को फर्मुला थियो सिनेमा हेर्न जानु । हप्ताको एक दुई ओटा सिनेमा हेरियो भने चाहे एउटैलाई दोहोरो तेहरो गरेर नै किन नहेरियोस् र यो कुरा तरुनी वृत्तमा फैलाउन सकियो भने यो पनि तरुनी फकाउने एक लाभदायी फर्मुला हुन सक्थ्यो । अझ सिनेमा हलमा आएको नयाँ सिनेमालाई लागेको दिनमै वा फस्ट सोमै हेरियो भने अनि वृत्तमा त्यसको कथा छर्न पाइयो भने तरुनी फकाउनमा काण्डै पुग्थ्यो ।

पहिलो सो नै हेरेको कुरा फिंजाउन सकियो भने ता सिनेमाको स्टोरी सुन्नेहरू कलेजका चौरमा अनि ‘लौ न हाउ भन न त्यो फिल्मको स्टोरी’ भन्दै भमरो झै भुन्भुनाउँदै आइपुग्थे । मेरा पुरुषमित्र वृत्तमा एक जना साथी थिए धनञ्जय उपनामका । उनी थिए नामी । उनलाई सिनेमाको पहिलो सो नै हेर्नु पर्ने । टिकट ब्ल्याकमा किनेरै भए पनि पहिलै सोमा हलमा लागेको नयाँ सिनेमा नहेरी नहुने उनलाई । ऊ बेला नोबेल्टी र कन्चन नामका दुई हल मात्र थिए । दुबै हलका टिकट बिक्रेताका साथ उनले मितेरी साइनो लाइसकेको कारण उनलाई ब्ल्याकमा उति किनिरहनु पर्दैनथ्यो । बिराटनगरमा पनि उनले यो जुक्तीले पहिलो सोमै सिनेमा हेर्ने कुरा वृत्तभित्र छरिसकेका थिए। उनको मूल नाम ता थाहा पनि छैन । कुनै परमेश, कुनै दिवाना, कुनै मस्ताना, कुनै प्रेमपुजक, कुनै सौदागर अनि कुनै के अनि कुनै के। मूल नाम नै थाहा नपाइने । ती धनञ्जय पनि यता नेपालकै थिए। एक पटक फकाइने पात्र दुबैजनाको एउटी नै परेको विषयमा ती दुईका माझमा भएको फाइट पनि राजेश खन्नाकै जस्तो थियो भन्ने कथा हाम्रो वृत्त भरि फैलेको थियो ।

धनञ्जयकै विजय भएको कुरा पनि सुनिएको हो । मलाई पनि नेपालतिरकै आफ्नै देशका हिरोले जितेकोमा निकै गर्वको अनुभव भएको थियो । उनको बाँकी परिचय पनि मलाई थाहा छ तर नभनौ । अलिक सम्पन्न परिवारका भएकोले र अहिले निकै उच्च खानदानी भएको कारणले उनको पुरानो सबै कैरन नलाउनु नै राम्रो पर्छ । सबै कैरन हालिया २२ ता फेरि पारिवारिक विघटन हुन बेर नलाग्ला । उनले ता एक सानो उपन्यास लेखेर छपाएका पनि थिए । उपन्यास लेखेर छपाएपछिलाई उनका पछि घुइरो नै भएर लागेको कुरा उनी सुनाउँथे । हो होइन उनै जानूलून। यतिसम्म चाहि सुनाइराखे फरक नपर्ला । यस भन्दा उताको कुरा नसुनाउँनु नै असल हो ।

साथीहरूले यसरी तरुनी फकाउनलाई छडी काट्नदेखि भएका नभएका गफहरू छाँट्नमा निकै सफलता पाइसकेका थिए । धनञ्जयको ता कुनै थिएन । उनले ता उपन्यास छपाइ समेत गरिसकेका थिए भने म चाहि लुते अझै टुप्पी काट्न पनि डराइरहेको थिएँ । उपन्यास छपाउन ता कता सकियोस् । बिचरा मेरा पिताजीले म पढ्न हिँड्ने बेलामा बाटो खर्चका रूपमा दसाना दिनु भएको थियो । पाठ्यपुस्तक किन्नु ता कता हो कता, उपन्यास किन्ने कुरा नै मेरा लागि आकाशको फल थियो भने छपाउने कुरा ता मेरो कल्पनाबाहिरको कुरा थियो ।

एक दिन उपनाम राख्न खप्पिस एक साथीलाई मेरो पनि एउटा राम्रो उपनाम राखी दिनुहोस् न भनेर आग्रह गरे। ‘हुन्छ भोलि सोचेर भनौला’ भने उनले । मलाई ढुक्क लाग्यो ।

भोलिपल्ट कलेजको गार्डेनमा बसिरहेका थियौ । उनले मेरो उपनान राम्रो छानिनसकेको कुरा गरे । यसै बेला कुर्बीले मतिर हेरेर भनिन् ‘उहाँको नाम ता टुप्पीबाजे राखे भैगो नि ।’ उनले भनेपछि वृत्तमा हाँसो गुन्जियो । मैले भने सारै ठुलो बेइज्जत भएको अनुभव गरे ।

भोलिपल्टदेखि मलाई कलेजमा देख्नासाथ धेरैले खिसीको भाकामा सार्वजनिक रूपमा ‘स्वस्ती है टुप्पीबाजे ।’ भनेर ह्याउन थाले । आफू परस्परमा ‘गुडमोर्निङ” भन्ने मलाई भने स्वस्ती है टुप्पीबाजे भन्ने । यसबाट ता मेरो झन् बढी खिसी गरेको मैले अनुभव गरे । अनि सोचे यस दुप्पीलाई नकाटी भएन ।

हो, त्यतिबेलासम्म मेरो लामो टुप्पी मैले छोट्याएको पनि थिइन, प्रतिशत कम पनि गरेको पनि थिइँन, मसिनो पनि पारेको थिइनँ। छडी काटेको पनि थिइनँ । मेरो ता पेट पाल्ने माध्यम नै त्यही दुप्पी थियो । लामो दुप्पी शिखा पारेर बाँधेर बिहान बेलुका मन्दिरमा घन्ट बजाएर आरती गर्नु नै मेरो दिनचर्या थियो । माथि नै भने नि खायोजियोको मेलो नै त्यही थियो ।

पिताको दसाना ता दुई दिनमै सकिसकेको थियो । कताबाट पुग्नु । मेरा लागि राम्रोसँग आरती गाउन जानेको कारणले र यही टुप्पीका कारणले गर्दा मारवाडीकी पुत्री पो मेरा छेउछाउतिर पर्न थालेकी थिइन् । उनले आमाका साथ कुरा गर्दा ‘पण्डितजीको शिखा न्यारो न्यारो हाय । न्यारो कोणी के ?’ भनेको सुनेको थिएँ। अनि कसरी म यसलाई फाल्न सक्थे ? तर निन्दा पनि कति सहनु । कलेज जानै हुन्न ‘टुप्पी बाजे’ को उपनाम छरिन्छ मेरा ओरिपरि । अनि के गर्नु ? मैले यो टुप्पीको टुप्पी थाम्न सक्ने स्थिति रहेन ।

यही मेरो टुप्पीलाई हेरेर साथीले मलाई अलिक होच्याएपछि मैले छडी बनाउने र टुप्पी पनि केही छोट्याउने विचार गरेको मात्र थिएँ फेरि पेटै अघि आयो । पहिले ता  आँट उति आएको थिएन तर सारै नै खसाएर भने यिनीहरूले । फैसला गरे पुरै नकाटे पनि यसको प्रतिशत घटाउँछु भन्नेमा पुगें। एक दिन म आँटै गरेर कपाल काट्‌ने निधो गरी हजामकोमा गएको थिएँ । हजामले २५ पैसामा कपाल काटिदियो । टुप्पी अलिक सानो पारेर जोगाइदेउ है भनेको उसले छाँटिदिएछ । टुप्पी र कपाल लगभग समान भएको कुरा थाहा पाएँ। म भुतुक्क भएँ। धर्म छोडिएको अनुभव भयो । अब भोलिदेखि पूजारीको जागिर पो जाने हो कि भन्ने लागेको थियो। धन्न मारवाडीकी छोरीले अझ यही नाप नक्सालाई पनि मन पराएकोले जागिर थामिएको थियो । टुप्पी घटेर हराए पनि मेरो नाम टुप्पी बाजे रहेको रहेकै भयो कलेज जीवनभरि ।

०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
होम सुवेदी
होम सुवेदी
9 months ago

धन्यवाद फित्कौली ।

Nepal Telecom ad
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x