साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब उप्रान्त चकटीमा बस्नु

भोलिपल्टदेखि नै मेयर, उपमेयर, वार्ड अध्यक्षहरू र स्थानीय निकायका सबै कर्मचारीहरू एक एक वटा चकटी बोकेर पालिकामा जान थाले । कार्यालयका सबै कुर्सीहरू लिलामीमा राखियो ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

मुरलीधर काका गाउँमा छउन्जेल देउताको गाई जस्तै थिए । आफूले कहिल्यै छलछाम, बेइमानी, अत्याचार, अन्याय नगर्ने मात्र होइन यस्तो सोच राख्नेहरूको समेत उनी सातो लिन्थे । उनी भ्रष्टाचार र अनैतिक कार्य गर्नेहरूलाई खोजी खोजी नाङ्गेझार बनाउन माहिर थिए । त्यसैले मुरलीधर काका गाउँमा निकै लोकप्रिय थिए । कसैलाई पनि अपशब्द प्रयोग नगर्ने मुरलीधर काका राजस्व, देवस्व र ब्रह्मस्वदेखि सात कोष परै रहन्थे । उनी भन्थे “राजस्व, देवस्व र ब्रह्मस्व पेटमा पर्यो भने सात पुस्तासम्मलाई पिर्छ । सन्तान खिइँदै जान्छन् । व्यक्तिको दुखद अवसान हुन्छ ।”

गाउँका अधिकांश मान्छेहरू विभिन्न राजनीतिक दलका झोले बनिसक्दा पनि यिनले भने कुनै दलको पनि झोला बोक्ने रहर गरेनन् । गाउँलेहरू भन्थे, कसैको पनि झोला नबोकेको भएर उनी यतिविधि इमान्दार हुनसकेका हुन् ! यिनलाई असली झोले बनाउन केन्द्रीय स्तरदेखि गाउँ तहसम्मका बडे र छोटे नेताहरूले निकै कसरत गरेका थिए तर ती असफल हुँदै आएका थिए ।

सायद मुरलीधर काकालाई सपनामा कुनै दैवीय शक्तिबाट गोप्य निर्देशन आयो अथवा यिनले स्वयं ब्रह्मज्ञान प्राप्त प्राप्त गरे, कारण जेसुकै होस्, समयको गतिसँगै एक दिन मुरलीधर काका पनि चुनावको मुखैमा एउटा ठूलै मानिएको राजनीतिक दलको दलदलमा प्रवेश गरेर उनी जान झोले बने । उनी राजनीतिमा प्रवेश गरे लगत्तै चुनाव भयो । उनले आफ्नै क्षेत्रबाट टिकट पनि पाए । गाउँमा अत्यन्त लोकप्रिय भएकोले मुरलीधर काकाले निकै लोकप्रिय मत सहित चुनावमा बाजी मारे । कमसेकम एकजना भएपनि असल र इमान्दार मान्छेलाई केन्द्रमा पठाउन पाएकोमा गाउँलेहरू निकै सन्तुष्ट देखिन्थे । जेहोस् इतिहासमा एकजना असल व्यक्तित्व राजनीतिमा छिरे ।

समय बित्दै गयो मुरलीधर काकाको चर्चा गाउँमा जस्तै केन्द्रमा पनि व्यापक रूपमा हुँदै थियो । अचानक एकदिन उनी मानव वेचविखन, सहकारी ठगी, जहाज खरिद , चोरबाटोबाट सुन ओसारपसार, सरकारी जग्गा वेचविखन, बैंक मार्फत रकम अपलन गरेको र विदेशी बैंकमा ठूलो रकम जम्मा गरेको अभियोगमा समातिएको खबर डँढेलो फैलिए जस्तै फैलियो । इमान्दार मानिएका मुरलीधर काका एकैपटक अनगिन्ती काण्डमा मुछिएर नामी बेइमान ठहर हुँदै न्यायलयमा मुद्दा खेप्दै थिए । त्यति इमान्दार मान्छे बेइमान बनाउने सुत्र के हो ? कसैले पनि बुझ्न सकेनन् । एकदिन मुरलीधर काकाको गाउँका सबै भद्रभलादमीहरूको भेला डाकियो । त्यति इमान्दार र असल मान्छे त्यति विधि काण्डमा किन मुछिए गाउँलेहरू त्यसको विस्तृत अनुसन्धान गर्ने निर्णयमा पुगे ।

गाउँकै गन्यमान्य र मुरलीधर जस्तै इमान्दार मानिएका बाँसुरी प्रसाद शर्माको नेतृत्वमा गठन गरिएको सात सदस्यीय अनुसन्धान टोली गाउँबाट पूर्ण तयारीकासाथ छानबिनका लागि गाउँबाट निस्कियो । मुरलीधर काका राजधानी जाँदा बाटोमा रोकिएका स्थानहरू बाट अनुसन्धान सुरु गरियो र स्थानीय व्यक्ति र पसलेहरूसँग पनि सोधपुछ गरियो । चिया खाएको मुङ्लिन , खाना खाएको मलेखु , पिशाब गर्न रोकेको स्थान नौबिसेमा अत्यन्त मिहिन तरिकाले छानबिन भयो । तर उनी बेइमान बन्नु पर्ने कारण बाटोमा केही पनि फेला परेन । यसको मतलब उनी नागढुङ्गा पुग्दासम्म बेइमान बन्न सक्ने आधार कतै देखिएन ।

छानबिन टोली काठमाडौँ पुग्यो । मुरलीधरको डेरामा बिस्तुर नबिराइ छानबिन गरियो तर उनी बेइमान बन्ने कारण त्यहाँ पनि फेलापार्न सकिएन । विषयले निकै गम्भिर मोड लियो । त्यति इमान्दार मान्छे कसरी बेइमान बने ? सबैका मनमा यही प्रश्नले घर गरिरहेको थियो। रहस्यको गाँठो नफुस्किए पछि संसद भवन र उनको मन्त्रालय स्थित सचिवालयमा जाँचबुझ गर्ने निर्णय गरियो । छानबिनका लागि सबै निकायसँग अनुमति लिइयो । छानबिन समितिका संयोजक बाँसुरी प्रसाद जब मुरलीधरको कुर्सीमा बसेर कुर्सीको जाँच गर्दै थिए , उनको रूपरङ र बोलीचाली समेत अर्कै देखिन थाल्यो । उनले मुरलीधरको कानमा सुटुक्क भने “ आठ दश लाखमा कुरो मिलाऔँ, छानबिन नगरौँ । मुरलीधर इमान्दार नै रहेछन् यिनलाई त फसाइएको रहेछ भनेर म गाउँमा खबर पठाउँला । ”

छानबिन टोलीका अन्य सदस्य जिल्लाराम परे । टोलीकै सदस्य चतुरमान मास्केले सहजै कुरा बुझे । समस्या , मुरलीधरमा होइन रहेछ, उनी बस्ने कुर्सीमा देखियो । यहाँ राखिएका कुर्सीमा जति नै इमान्दार मान्छे राखे पनि ऊ बेइमान नै निस्कने रहेछ । बाँसुरी प्रसादलाई कुर्सीबाट झारेपछि उनी पनि साबिक मै फर्किए । अब भने रहस्यको गाँठो फुस्कियो । अन्ततः छानबिन समितिले प्रतिवेदन तयार गर्यो र समधान यसरी लेख्यो “अब उप्रान्त साँसद र मन्त्रि हुनेहरूलाई बस्नका लागि कुर्सी होइन एक एक वटा चकटीको व्यवस्था गरियोस् , सबै जनप्रतिनिधिहरू अब देखि पलेटी मारेर चकटीमा बस्नु पर्ने छ । संसदमा होस् अथवा मन्त्रालयमा किन नहोस् सबैले घरबाट एक एक वटा पराल वा खोस्टाको चकटी लिएर जाने, दिनभर पलेटी मारेर बस्ने र साँझपख चकटी बोकेर कोठामा फर्कने व्यवस्था मिलाउनु पर्ने छ ।”

गाउँलेहरूले तयार गरेको प्रतिवेदनको एक प्रति बोधार्थ सहित सरकारलाई बुझाइयो । साँच्चै छानविन समितिले दिएको सुझाव कार्यान्वयन हुने हो भने देशका इमान्दार मान्छेहरू एकजना पनि बेइमान निस्कने थिएनन् । यता टोली भने मूल प्रतिवेदन सहित गाउँ फर्कियो । गाउँलेहरूको भेलाले प्रतिवेदनलाई अक्षरस पालन गर्ने निर्णय गर्दै मेयर, उपमेयर, वार्ड अध्यक्ष लगायत वार्ड सदस्यहरू र स्थानीय निकायका सबै कर्मचारीलाई एक एक थान चकटी लिएर कार्यालय जानु पर्ने सूचना जारी गर्यो । भोलिपल्ट देखि नै मेयर, उपमेयर, वार्ड अध्यक्षहरू र स्थानीय निकायका सबै कर्मचारीहरू एक एक वटा चकटी बोकेर पालिकामा जान थाले । कार्यालयका सबै कुर्सीहरू लिलामीमा राखियो । अचेल गाउँको पालिकामा सरासर काम हुने गरेको छ । भ्रष्टाचार शून्यमा झरेको छ । यता मान्छे बेइमान नहुने औषधी आफैँसँग भएकोमा गाउँलेहरू मख्ख थिए भने गाउँमा चकटी उद्योगको स्थापना गर्नेमा सबै एक मत देखिन्थे ।

०००
चितवन । हाल, पोखरा ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
9 months ago

क्या बात कस्तो गजबको लेख्नु भएछ !

Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x