माधव पोखरेल गोज्याङ्ग्रेजय जोकतन्त्र
जुन सिस्टम हिजो पनि थियो त्यसैका विरुद्धमा उहाँहरू दस वर्षसम्म लडनु भयो र हजारौ नेपालीको ज्यान गयो । आज त्यही सिस्टममा आफै हिँड्नुलाई जोकतन्त्र नभनेर अरु के भन्नु त ।

माधव पाेखरेल गाेज्याङ्ग्रे :
नेपालमा लोकतन्त्र आएको भन्ने कि वा ल्याइएको भन्ने वा व्याइते कि त्याइते केहो । यो नेपालको राजनीतिक इतिहासमा पनि लेखिन भ्याइएको छैन जस्तो छ। लेख्नेहरूलाई देख्नेहरूले लखेटने र कलमको दंडो भाच्ने, उनीहरूका विरुद्धमा नाँच्ने संस्कारले नमस्कार गरिरहेको समयमा आन्दोलनबाट जन्मिएको लोकतन्त्रलाई कस्ले हुर्काउने र यसको विकास होला त ? विचरा ! लोकतन्त्रे बबुरोको खाने चुच्चो समेत बुच्चो भएको बेलामा राजनीति गर्नेहरूले लाज पचाएर लाजनीति गर्दै नेपाललाई त जोकतान्त्रिक लाजनीतिमा पो पुऱ्याएछन् गाँठे। यस्तो अवस्थामा नेपालको हितका लागि पनि विदेशी प्रभुहरूका अगाडि उभिएर हामीले जय जोकतन्त्र भन्न सकेनौं भने त लाजै मर्दो पो हुन्छ नि गठि।
जनताका नाममा राजनीति गर्दा जनताबाटै खर्च असुल्ने संस्कारको नौलो चलनलाई जनताले नै बुझ्न नसक्नु नेपाली जोकतन्त्रको विडम्बना वाहेक अरु केही होइन । जनतालाई, जनताका नाममा, जनताद्वारा, जनताले शासन गर्ने पद्धतिको विकास गर्दा नेताहरूको भूमिकामा दाग नलाग्दा कागको नामाकरण नहुने हो भने वास्तविक राजनीति नै गर्न नसकिने रहेछ भन्ने कुराको भेउ लेउ लागेका मुखले पाइसकेको छ । जनताका अगाडि उभिएर जय जनतन्त्र ! भन्नु पर्ने ठाउँमा जय जोकतन्त्र ! भन्ने यथार्थवादी र नयाँ तन्त्रात्मक व्यवस्थाले ठाउँ पाएको छ ।
हिजो र आजमा शब्दको फरक छ तात्विक रूपमा व्यवहारिक भिन्नताले भनौं वा केले हो यथार्थ रूपले भिन्नता पाउन सकेको देखिदैन। चाहे त्यो संविधान बनाउने विषयमा होस वा संसदको बैठकमा होस् वा जहां त्यहीं जोकमात्रै छ। यो अवस्था हेर्दा मलाई के लाग्दछ भने नेपाली कांग्रेस, एमाले र माओवादीले गरेको आन्दोलन राजा हटाएर लोकतन्त्र ल्याउन होइन रहेछ जनतामा जोकतन्त्र लाद्न पो रहेछ भन्ने स्पष्ट भएको छ। किनभने जनताका प्रतिनिधिहरूले लोकतन्त्र र गणतन्त्रका लागिभन्दा बढी जनतामात्र होइन कि विश्व समुदायलाई नै नेपाली राजनीतिमा भएको जोक सुनाउने र प्रस्तुति गर्ने काममा समय खर्चेको देखिन्छ । नेपाली माटोमा संविधान नामक कानुनी धान रोप्ने रोपाहार बन्न गएकाहरू जोक गर्नमै बढी समय खेर फालेर अहिलेसम्म पनि जनतालाई भोकै राखेका छन् । उनीहरूले कहिले सो धान उत्पादन गर्ने हुन् र नेपाली जनताले खान पाउने हुन् त्यो अहिलेसम्म पनि अनिश्चित नै छ ।
हुन त उनीहरूले खान पाएकै छन्, भोकै बस्नु परेको भए जोकतान्त्रिक पद्धतिलाई त्यागेर लोकतान्त्रिक बाटो नै लाग्थे होलान् । तर जागिरको म्याद थपेकै छन् त्यति भएपछि किन चाहियो धान र विनासित्तीमा समय खेर फालेर जनताका लागि केही गर्न त । आखिरीमा जोक गरेर जनतालाई हँसाउन पाइएकै छ यस्तो आनन्दको जागिर फेरि कहाँ पाइन्छ र त्यो जावो धान उत्पादनमा लाग्नु त । हामीलाई भोक लागे तलव पाइहाल्छौ, जनतालाई भोकलागेमा हाम्रो जोक सुन्ने अघाउने, किन चाहियो जनतालाई सविधान ! हामीलाई जनताले नै खेलेरै खाओ, जोक गरेरै समय विताओ भनेरै पठाएका त हुन् नि ! कि कसो छौसे एके जोकतन्त्रे झोक्की हो ।
अरु को त’ के कुरा गर्नु र आफूलाई शब्दले सधैं दूधले नुहाएको ठान्ने पर्ररर धानमन्त्री समेतले एउटा कुरा बोलेर अर्को कुरा गर्ने, बोलेको कुरा तगरेर नबोलेको गोप्य कुरा खोल्ने र खेल्ने अनि त्यही गर्ने नयाँ सिस्टमको विकास गर्नु भएको छ । जुन सिस्टम हिजो पनि थियो त्यसैका विरुद्धमा उहाँहरू दस वर्षसम्म लडनु भयो र हजारौ नेपालीको ज्यान गयो । आज त्यही सिस्टममा आफै हिँड्नुलाई जोकतन्त्र नभनेर अरु के भन्नु त । सायद कानोको देशमा जाँदा कानै बन्नु पर्ने र लङ्गडोको देशमा जाँदा लङ्गडो नै बन्नु पर्ने संस्कार भनौ वा बिरालो बाँधेर श्राद्ध गर्ने संस्कार कै पक्षमा प्रगतिशील विचार राख्ने नेताको कार्य शैलीले जनतालाई नव्याउने वैली भैंसी बेकार पालेझै भएको छ। वैली भैंसीले न दूध दिन्छ न त्यसले राँगो नै खोज्छ। पाल्दा कुनै उपलब्धी नहुने वस्तुका लागि घाँस, दाना, पानी गरेर स्याहार सुसार गरी समय खेर फाल्नु र खर्च गर्नु नै बेकार हुन्छ । तसर्थ लोकतन्त्रको उपहास हुने गरी मुलुकको प्रमुख जिम्मेवारी लिएर बसेका पदीय व्यक्तिको भनाई र काम गराइलाई जय जोकतन्त्र भनेर सबैले जय जयकार नगरे के गर्ने त !
हिजो मुलुकमा प्रजातन्त्र छंदा संसदलाई बोकाको टाउको देखाएर बूढी वाखीको मासु बेच्ने थलोको रूपमा लिनेले आज किन संविधानसभामा अनावश्यक खिचलो निकालेर दुई वर्षमा बनिने संविधानलाई चार वर्षमा पनि बनाउन आनाकानी गरेको त ! लोकतान्त्रिक गणतन्त्रको नारा दिनेले किन राजनीतिका नाममा लाजनीति र लोकतान्त्रिक गणतन्त्रका नाममा जोकतान्त्रिक गनतन्त्रको प्रादुर्भाव गरेको हो जनतालाई स्पष्टीकरण दिनै पर्छ होला नि त ! कि जनताबाट अधिकार लिएर आएपछि मनतन्त्रतिर लाग्ने हो कि त्यो पनि बुझ्न पाएमा हामी अभागी नेपालीहरूको भाग्योदय हुनेथ्यो कि भन्ने आशा पलाएको छ ।
र, अब यो मुलुकमा धान फल्न खेत नचाहिने भएको छ । कागजमा कलमले जोतेर, खनेर, धानको विउ रोप्ने काम त भएकै छ क्यारे । अव धानखेत भित्रको झार पात उखेलेर समय समयमा मल र पानी लगाउने काम गर्न जनताले पठाएका खेतालाहरूको जिम्मेवारी छँदैछ । त्यो काम पनि ति खेतालाहरूले निर्धारित समयमा गर्न सकेनन् भने जनताले दिएको तलव भत्ता अर्थात् २०६४ साल चैत्र २८ गतेको निर्वाचनबाट निर्वाचित भएर र समानुपातिकबाट गएका सबैको फिर्ता गर्नु पर्दछ । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नामक धानको बाला कागजमा झुल्न लागेको छ भन्ने अपुष्ट खबर त सबैले पाएकै हुन् तर यो कुन रूपले फल्छ त्यो हेर्न भने बाकि नै छ । जोकतान्त्रिक नेपालको गनतन्त्रात्मक संविधान हुन्छ वा गनगनेहरूको मनतन्त्रे हुन्छ वा सबैको मनतन्त्रे, झोकतन्त्रे के हुन्छ। जे जे भए पनि आखिरी नेपालीले जय जोकतान्त्रिक नेपाल भन्दा कुनै फरक नपर्ने भएकै छ क्यारे !
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































