माधव पोखरेल गोज्याङ्ग्रेजय हनुमान गिरी
अब धेरै कुरा के भनौँ हामी पनि हनुमान गिरी गर्न सिकौँ र अरुलाई पनि सिकाऔँ किनभने हनुमान गिरी गर्ने मेलोमेसो सिक्दा कुनै समयमा आफैलाई पनि फाइदा हुन्छ । फाइदा हुने कुरा जे जे भए पनि गर्न पछि पर्नु हुँदेन ।

माधव पोखरेल गोज्याङ्ग्रे :
मालिक आफ्नो अगाडि देखेपछि कुुकुरले हनुमान गिरी गर्छ । जिब्रो निकालेर र्याल काढ्दै पुच्छर हल्लाउँछ र चुँई चँुई वा कुँईकुँई पनि गर्छ । यो हनुमान गिरी गर्नु पनि सहज छैन । दसतिरको दपेटीमा परेर मालिकलाई रिझाउनु पर्ने अनि मालिक खुसी भएमा आफू खुसी हुनु पर्ने र मालिक दुःखी हुँदा पनि आफू खुसी अवस्थामा रहेर हामी हनुमान गिरी गर्नेहरू बाँच्नु परेको छ ।
हनुमान गिरी गर्नु नेपालीको सामाजिक संस्कार नै बनेको छ । कसै कसैका लागि हनुमान गिरी गर्नु दैनिकी जस्तै भएको छ । जी हजुरी माथिको हनुमान गिरी नेपालमा आज चलेको चलन होइन । पुरानो जमानाको वा भनौँ जुँगा मुठे समयदेखिको प्रचलन हो । हनुमान गिरीका बारेमा गाउँ घरका बुढापाकाहरू धेरै नै जानकार रहेका छन भन्दा फरक पर्र्दैन । बुढापाकाहरूले जे जे भोगे त्यो आज पनि यदाकदा सुन्न पाइन्छ ।
घर पालुवा होस् वा गोठ पालुवा कुकुरले जुन रूपले हनुमान गिरी गर्छ त्यो रूपले मान्छेले गर्न सक्दैन । तर हिजो आज घर पालुवा भन्दा पनि गाउँ पालुवा, कोठामा पालुवा, लुकुवा हनुमान गिरी गर्नेहरूको जमात पनि बढेको छ । इमानको जाँतोमा पिसिन नमान्ने र स्वच्छताको ढिकीमा कुटिन नचाहने तर हनुमान गिरीमा अग्रपङ्ंतिmमा रहने छाडा प्रवृतिका बोकासयहरूले आफैँलाई टाउकोमा घनले हानिरहेका छन् ।
हनुमान गिरी कहाँ चल्दैन अहिले । राजनीति, भाजनीति, मातनीति, कुटनीति, फुटनीति, जुटनीति, सुतनीति लगायतका सबै नीतिमा चलेको छ । कुशासन, प्रशासन, भ्रष्टासन, प्रष्टासन, व्यशासन, घुशासन, उडासन, उठासन, बसासन,चुसाशन लगायतका सबै ठाउँतिर हनुमान गिरीले ठाउँ पाएका हुन्छन । नेताका पछि लाग्ने मात्र हनुमान गिरीमा पर्छन भन्ने होइन । व्यापारिक, ठेकेदारी वा अन्य जुनसुकै व्यवसायमा संलग्न भएकाहरूमा पनि हनुमान गिरी गर्ने परम्पराले जरो गाडेको अवस्था रहेको छ ।
नेता गिरी गरे झैँ हनुमान गिरी गर्नेहरू पनि मालिकका अगाडि र पछाडि फरक भाषा बोलेर व्यवहार पनि सोही प्रकारको देखाउँछन । भनौँ हनुमानाय नमः वा हनुमान माने पुच्छर र पुच्छर माने हनुमान भन्दा हुन्छ । हनुमान गिरी फिरी गर्न पाइन्छ भनेर मख्ख नपर्नु होला । नेपाली राजनीतिको प्रमुख विशेषताहरू मध्येका एउटा विशेषता हनुमान गिरी पनि हो । हनुमान गिरीले नेपाली राजनीतिलाई विश्व समुदायमा चिनाउने काम गरेको छ । सशुःल्क रूपमा गरिने हनुमान गिरीमा लाग्ने शुल्कका बारेमा हनुमान गिरी गर्नेलाई पनि एकिन रूपमा थाहा हुँदैन ।
नेपाली माटोमा र भारतीय माटोमा गरिने हनुमान गिरीको स्वरूप फरक प्रवृति र प्रकृतिका हुन्छन । हाम्रो सोच, कार्यशैली, बोल्ने, काम गर्ने फरक तरिका, एउटा कुरा बोलेर अर्को काम गर्ने छटुपना र शैलीले हाम्रो हनुमान गिरीतालाई चिनाएको छ । विश्व राजनीति, सामाजिक, शैक्षिक, आर्थिक तथा सांस्कृतिक मञ्चले नेपाली हनुमान गिरीताको बारेमा जरैदेखिको इतिहासको जानकारी छ । भ्रमकारी नीति र खामकारी विद्त र बौद्धिक नीतिलाई नजिकबाट नियालेको छ ।
नेपाली हनुमान कारिताका बारेमा धेरै प्रकारका लामा, छोटा कथा, कविता, नाटक, निबन्ध, संस्मरण लगायतका धेरै विषय र सन्दर्भका लेख रचनाहरू नआएका होइनन् । तर हनुमान गिरीताको सात्तो जाने गरी र झाँको झार्नेगरी झाक्री बोलाएर चिन्ता नबसी नहुने भएकोले त्यसको तयारीमा लाग्नु परेको छ । हनुमान गिरीले समाजमा केही विकृति, विसङ्ंगती ल्याएकोले त्यसलाई दोबाटोमा मन्छाएर विकृतिलाई सुकीर्तिमा र विसङ्गतिलाई सुसङ्गतिमा ल्याउन प्रयास गर्ने जमर्को गरिनु आजको आवश्यकता हो ।
हनुमान गिरी गर्नेहरू अरुको कुरा सुन्दैनन् र अरुका सही सत्य कुरालाई पनि फोस्रा गफ वा मिथ्या कुरा ठानेर बद्नाम गिरीतिर छिर्छन । आफू मात्र सज्जन अरु सबै दुर्जन ठान्ने हनुमान गिरी गर्नेहरू मालिक बाहेक अरु कोही होइनन् भन्ने काँचोे आशंकामा रुमलिएका हुन्छन् । हनुमान गिरीका नाइकेहरू आफैँ भेडो बनेर भ्या भ्या कारको उपमाले शुशोभित हुँदै भुँईमा नै लम्पसारेश्वर भएर विराजमान भएका हुन्छन् । हनुमान गिरी गर्नहरूकालागि यो महा अवसर भएकोले उनीहरूलाई दशै आए जस्तै अनुभव हुन्छ ।
हामीले गरेको अनुमान गिरी भन्दा हनुमान गिरी बिल्कुलै फरक हुन्छ । हाम्रो अनुमान गिरी प्रकृति प्रदत् हुन्छ भने हनुमान गिरी कृत्रिम रूपले तयार पारिएको पाउ मोल्ने मेसो हो । बनावटी नाटकको एउटा स्वरूप हो, मञ्चन गर्ने एक खण्ड हो हनुमान गिरी । भनौ आलु दममा आलु छ तर दम छैन भने त्यो आलुदम कस्तो होला ? हो त्यस्तै खाले हनुमान गिरीले अहिले समाजमा ठाउँ पाएको छ । हनुमान गिरीले कतिपयलाई माथि पनि लगेको छ भने कतिपयलाई निराकार बनाएर स्वर्गिय आनन्द पनि दिएका छ । माथि पुगेकाहरू पनि समाजमा आफ्नो अलग्गै पहिचान बनाएर माथि नै आनन्दले स्वर्गासनमा बसेर राजा इन्द्रसँग भलाकुसारी गर्दै होलान् । आखिरी हनुमान गिरी न हो जे मन छ गरुन् ।
सही सत्य र यथार्थपरक कुरा गर्ने हो भने नेपाल हनुमान गिरी र अनुमान गिरीका भरमा चलेको देश हो । चाहे त्यो संसदमा होस् वा मन्त्रीपरिषद्मा वा अन्य कुनै पनि संवैधानिक निकायमा होस् अनुमान गिरी र हनुमान गिरीलाई मुल सिद्धान्त मानेर धेरै विषयका छलफल हुन्छन् । देश बनाउन अनुमान गिरीले भन्दा हनुमान गिरी गर्नेहरूले बढी योगदान गरेका हुन्छन् ।
हिजो राणाका दरबारदेखि राजाका राजदरबारसम्म र आजका समयमा शितल निवासदेखि बालुवाटारसम्म मात्र होइन बार्दली, दलान, आँगन सबैतिर अनुमान गिरी भन्दा हनुमान गिरी कै पहुँच छ । अर्को कुरा के भने नेपालमा हनुमान गिरी र पहुँच गिरी छैन वा पुग्दैन भने सामाजिक क्षेत्रमा होस् वा राजनीतिक क्षेत्रका कामहरू अड्किन्छन् भन्ने कुरा सबैले बुझ्नु पर्दछ । जस्तै पानी खान वा कुनै पनि खाने कुरा खान खसी बाख्राले गाग्रो वा कुनै भाँडोमा टाउको पसाएर खान्छ तर खाएर डाउको निकाल्न खोज्दा त्यही अड्किन्छ निकाल्न सक्दैन । यो अवस्थाबाट हनुमान गिरी चलेको छ । भनौँ हनुमान गिरी गर्नेहरू पछि आइपर्ने कुरामा भन्दा अगाडि आएका लाभकारी विषयमा लागेका छन् । पछि व्यहोर्नु पर्ने कुरामा सोच विचार नगरी अन्धभक्त भएर लाभका अलाप विलापमा लागेर साढेको फल पनि झार्ने कुरा गर्छन् ।
नेपालका बहादुर अनुमान गिरी गर्नेहरूलाई मात खुवाउने तरिकाबाट संचालित हनुमान गिरी गर्नेहरू देशका किराहरू हुन भन्दा फरक पर्दैन । अर्को खाँटी कुरा गर्नु पर्दा हनुमाने अनुमानले भने ठुला ठुला कामहरू बन्ने गरेको तथ्य हामीलाई जानकारी नै छ । सीतालाई रावणले हरेर लैजाँदा सीतालाई फलानो ठाउँमा राखेको होला भन्ने अनुमानले खोजी गर्दा ठ्याक्कै सोही ठाउँमा फेला परेकी थिइन । जसरी यो अनुमाने हनुमान गिरीले सफलता पाको थियो त्यसरी सफलता पाउन आजको हनुमान गिरीले सकेको छैन र सक्दैन पनि । हनुमान गिरीका धेरै पाटाहरू छन् । नेपालमा चलाएको हनुमान गिरीले पाटाहरू बिर्सेर भाटा खाने काम गर्छन । बाठो तरिकाले हनुमान गिरी गर्नेहरूले खरायो दौडमा स्यालको स्वभाव देखाउँछन् ।
एउटा अर्को महत्वपूर्ण कुरा के हो भने अनुमान गिरी गर्न कुनै तालिम वा प्रशिक्षण लिनु पर्दैन । तर हनुमान गिरी गर्नकालागि दरबार, घरबार, रेष्टुराँ, दलान वा आँगनका मालिकबाट प्रशिक्षण लिनु आवश्यक हुन्छ । यो तालिम सेना प्रहरीको जस्तो कालोलाई सेतो बनाउने र सेतोलाई कालो बनाउने अनि निर्दोषलाई परिबन्धमा पार्ने प्रकृतिको हुन्छ । आकार, प्रकार विहीनलाई आकार दिने र प्रकारमा परिणत गर्ने काम पनि हनुमान गिरी गर्नेहरूबाट हुन्छ । तर एउटा कुरा के भने सेना प्रहरीले गर्ने हनुमान गिरी भनेको राज्यबाट र सरकारबाट स्वीकृत हुन्छ भने राजनीतिमा वा व्यक्तिगत रूपमा गरिने हनुमान गिरीले नष्टासनमा, रछ्यानेश्वर मन्दिरमा बस्नु पर्छ । यस्तो हनुमान गिरीले हनुमान गिरी गर्ने जो कोही लाई पनि स्वयम्कालागि घातक बनाउँछ ।
हनुमान गिरी गर्नेले मान सम्मान त कति पाउँछन कति । लवटे सम्मान, मुड्के सम्मान, झापटे सम्मान,लौरे सम्मान, मामा घरको मेजमानी सहितको सम्मानको कुरा गर्ने हो भने मान्छेहरू त्यसै पनि हनुमान गिरी गर्न अघि सर्छन । पुलिस प्रशासनले गरेको सम्मानको त कुरै छाडौ । सरकारी वकिल, अदालत सबैले अनि कारागारमा गरिने मान सम्मानले फुलेर हनुमान गिरी गर्नेहरूको बास घरमा हुँदैन । दादा गिरी गर्नेहरूलाई मात खुवाउने खालको हनुमान गिरीले नेपाली बजारमा हजार हजारको चर्चा र महत्व पाएको छ ।
हनुमान गिरी, चम्चा गिरी गर्नेभन्दा एक कदम अगाडि हुन्छन् । किनभने चम्चा गिरी गर्नेले भन्दा हनुमान गिरी गर्नेले भुसतिघ्रे मेसो बढी जानेका हुन्छन् । तिनतिघ्रे र भुसतिघ्रे मिलेपछि हनुमान गिरीको आधार भनौँ वा साधारण दस्तावेज तयार हुन्छ । हनुमान गिरी रामको दरबारमा होस् वा रावणको घरबारमा होस् जहाँ सुकै भए पनि आखिरी औला घुमाएर नै घिउ निकाल्ने गर्छन । हनुमान गिरी गर्नेले आँैलो बाङ्गो पार्न नियत पनि बाङ्गो पार्नु पर्छ । सोझो औलोले घिउ आउँदैन भन्ने चर्चित उखान त्यसै चलेको होइन ।
परम्परागत रूपमा चल्दै आएको हनुमान गिरी अहिलेको अवस्थामा आएर पनि पुरानो संस्कारका रूपमा कायम छ भने भोलिका दिनहरूमा पनि यसले परम्परा र संस्कार धान्ने छ भन्ने विश्वास गर्न सकिन्छ । नेपालबाट पुराना परम्परा र संस्कार लोप हुने क्रममा रहेको अवस्थामा हनुमान गिरी संस्कारलाई जोगाउन गरिएको प्रयासलाई निकै महत्वपूर्ण मानिएको छ । उहिलेका मान्छेले चलाएको संस्कारलाई आजका मान्छेले चलाउनु, बचाउनु, जोगाउनु भनेको सामाजिक संस्कारले निरन्तरता पाउनु हो ।
अब धेरै कुरा के भनौँ हामी पनि हनुमान गिरी गर्न सिकौँ र अरुलाई पनि सिकाऔँ किनभने हनुमान गिरी गर्ने मेलोमेसो सिक्दा कुनै समयमा आफैलाई पनि फाइदा हुन्छ । फाइदा हुने कुरा जे जे भए पनि गर्न पछि पर्नु हुँदेन । नेपाली समाजमा चलेको अनुमान गिरीले साना मान्छेहरू ठूला भएका छन् भने , ठूला मान्छेहरु भान्छे पनि भएका छन् । अर्कोतिर हनुमान गिरीले जीवनलाई फिरिरी बनाएको छ भने तिरीमिरी झ्याई पनि देखाएकोले मलाई यो हनुमान गिरी गर्ने नयाँ कामलाई जय हनुमान गिरी भन्न मन लाग्छ । जय साहित्य, जय व्यङ्ग्य ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































