साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (१)

औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘हास्यव्यङ्ग्य उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ ।  फित्काैली ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा प्रविष्ट गर्दैछ ।

Nepal Telecom ad
बी.डी. त्यागी :

समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्गहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गर्दैछौँ । – सम्पादक

(१)

“माथि को हुनुहुन्छ ? तल आउनु पर्‍यो ।”
“तल को हँ ?”
“म, डिल्ली बजार बाट आएको ।”
“कस्लाई खोज्न आउनु भएको ?”
“कप्तान शावलाई ।”
“किन हो कुन्नी ? उहाँ हुनुहुन्न !”
“कहाँ जानु भो ?”
“बाहिर जानु भएको छ ?”
“उहाँ आउनु भएपछि यो चिठ्ठी दिनु होला, म गएँ ।”
“हुन्छ, जानोस् ।”
त्यो मानिस हिँडेको आधा घण्टा पछि कप्तान शाब हातमा डण्डा हल्लाउँदै भित्र पसे । भवानी बाहिर निस्क्यो । पुरेत बाजे जुङ्गामा ताउ दिंदै, टाढैदेखि मुसुमुसु हाँस्दै मूलढोकाबाट भित्र घुसे । दिपु हतार गर्दै माथिल्लो कोठाबाट तल वर्ली । पुरेत बाजे कान्ते जुत्ता फुकालेर कप्तान शाबको बैठकमा पसे ।

कप्तान –“हैन पुरेत बाजे ! आज कताबाट ।”
पुरेत –“कहाँबाट हुन्थ्यो हजुर ; नर्कबाट ।”
कप्तान –“विशेष केही छ कि ?”
पुरेत –“भा भए किन आउँथे ? नभएर पो आएको छु ।”
कप्तान –“के भएन तपाईंको ?”
पुरेत –“छोरो भएन, स्वास्नी भैन ।”
कप्तान –“कोही नभएको भए मेरो नरेश र कप्तान्नी लिई जानोस्न त !”
पुरेत –“दुइ चारौटा टपरी सोरेर कहाँ पाल्न सक्छु र लिई जाऊँ ।”
कप्तान –“के गर्नु पर्‍यो त मैले ।”
पुरेत –“के गर्नु भनौ ? तिथी नजिक आएको भए श्राद्ध गर्नु पर्छ भनी हाल्थेँ, त्यो पनि टाढै छु । विवाह ब्रतवन्ध गर्नु भनौ भने सबै बच्चै छन्; आफू बुढो भैहालेँ । केहि पनि नगर्ने ; के गर्ने भनौ ।”
कप्तान –“हैन पुरेत बाजे जहान परिवारबाट विरक्त हुनु भएको जस्तो देखिनु भएको छ नि आज; कुनै रडाको त परेन ?”
पुरेत –“लोग्ने स्वास्नीको रडाको लडाको भिडन्तो नपरेको रात त कुन हुन्छ र ? आफै सोची बक्स्योस त । लडन्त भिडन्त नपरी बितेको रात कुनै होला ।”
कप्तान –“किन हुँदैन ? महीनाको चार दिन त मामुली हुन्छ ।”
पुरेत –“आ, हजुरको भनाई मात्रै हो ; स्वास्नी मान्छे लडन्त भिडन्त नगरी कहाँ बस्न सक्छन् र ?”
कप्तान –“पुरेतनी बजै बस्न नसके मात्रै हो ; मेरी कप्तान्नी त महीनौ दिनसम्म पनि बस्छे ।”
पुरेत –“हजुरको कप्तान्नी र मेरी टपरेनी पनि उस्तै हुन सक्छन् र ?”
कप्तान –“स्वास्नी मान्छे सबै उस्तै त हुन् नि, फरक के पो हुन्छ र ?”
पुरेत –“हैन, पुरेतेनीको पनि जाँची बक्स्यो कि कसो हो ?”
कप्तान –“जाँच्नै पर्छ र ? अनुमान पनि त लगाउन सकिन्छ नि ।”
पुरेत –“कहाँ अनुमान लगाएर लगाउन सकिन्छ र मेरो बुढियाको ?”
कप्तान –“स्वास्नी मान्छे हुनुहुन्न कि कसो हो पुरेत्नी बजै ।”
पुरेत –“एक मुरी धानको बोरा जुरुक्कै उचाल्छे, कसरी स्वास्नी मान्छे भन्नु ?”
कप्तान –“त्यस्तो भए झन राम्रो भो तनि ।”
पुरेत –“राम्रो त भो नाई भएर के गर्ने ? आफूलाई फिस्टु भनिहाल्छे ।”
कप्तान –“खाना पनि फिष्टुले खाने दिनुहुन्छ कि भन्ने मात्रै फिष्टु ?”
पुरेत –“अब हाम्रो वातचित बढ्दै गयो । कप्तान्नी शाव आइबक्स्यो भने आपत पर्छ । म काम सकेर गैपनि हाल्छु । अर्का जजमान कहाँ पनि भ्याउनु छ ।”
कप्तान –“आज के हो र ?”
पुरेत –“आज बाँदर शक्रान्ति होइन र ?”
कप्तान –“कस्तो बाँदर शक्रान्ति ?”
पुरेत –“मक्कर शक्रान्ति के ? माघे शक्रान्ति ।”
कप्तान –“ए ! आज माघे शक्रान्ति ? लौ त छिटो सुनाई हाल्नोस् महिना, मेरो पनि फेरि बाहिर निस्कनु पर्छ ।”
पुरेत –“हस, सुरु गरि हालेँ – ‘सर्बे श्रोताः साबुदाना भवन्तु : यो शक्रान्तिको नाम बाँदर हो । सत्य गएर कली लाग्यो । आजको शक्रान्ति साइकलमाथि चढेकी छिन् । सुँगुर बनेर भ्याट् ६९ पान गरेकी यी शक्रान्ति लूप कुमारीलाई कण्डम कुमार भिडाउन तत्पर छ । ६१ घडी उप्रान्त जर्ती गएर पर्ती आवाद हुन्छ । यो मास देवता सिस्नु हो । पूर्व गएर पश्चिमारायण लाग्यो । तीतो खानु । झुत्रो लगाउनु । कु भन्ने बाँदर नामको चारै दिशामा दुर्गन्ध फैलियोस् । तिथी बार नक्षत्र अनुसार । सूर्य फल : भैंसीलाई मान नास, साँडेलाई स्थान नास, मैथुनलाई – कण्डम प्राप्ती, कर्कटलाई नर्कट प्राप्ती, सिंघलाई स्त्री नास : कन्यालाई कुमार प्राप्ति, तुलालाई मुला प्राप्ति, बृष्चिकलाई स्त्री दुःखम् । चन्द्र फल : म म कृ नष्टे आ.पु.ति भ्रष्टे री.पु. स्वा कष्टे ।’

कप्तान –“मलाई कस्तो छ ।”
पुरेत –“हजुरलाई सूर्य फलबाट मुला प्राप्ति, चन्द्र फलबाट भ्रष्ट छ ।”
कप्तान –“हैन पुरेत बाजे. फल त दुवै मिल्यो नि ।”
पुरेत –“नमिल्ने त पात्रोमा लेख्दै लेख्दैन नि के भनिस्या ?”
कप्तान –“अब कति दक्षिणा टक्रयाउनु पर्‍यो त ?”
पुरेत –“हजुरको विचारले : मैले के भनौ ? पाँच रुपैयाँ भन्दा घटी कहिल्यै हात थापेको छैन त !”
कप्तान –“ए, कप्तान्नी ! कप्तान्नी !!”
कप्तान्नी –“हजुर !”
कप्तान –“त्यो सेफ खोलेर पाँच रुपैयाँ ल्याउत !”
कप्तान्नी –“किन चाहियो पाँच – पाँच रुपैयाँ ?”
कप्तान –“पुरेत बाजेलाई दिनु पर्‍यो के !”
कप्तान्नी –“एउटा महीना सुनाएकोलाई चार पैसा दिए पुगी हाल्छ नि ।”
कप्तान –“लौ त, त्यही भए पनि ल्याई देउन त !”
कप्तान्नी –“पाँच पैसे ढ्याक रेछ साट्न पठाएकी छु ! एक छिन बस्न लगाए त हुन्छ नि !”
कप्तान –“पुरेत बाजेलाई बेर हुन्छ कि !”
कप्तान्नी –“यत्रो बेरसम्म बसेर बेर भएन ; अब के को बेर ?”
कप्तान –“त्यसो नभनन !”
कप्तान्नी –“काठाहरुलाई के छ र ? जहिले पुगे पनि टपरो सोर्नु त हो नि !”
कप्तान –“चुप लाग कप्तान्नी !”
कप्तान्नी –“नकराइस्योस् हजुर ! यस्ता काठालाई अगुल्टाले हिर्काउनु पर्छ खप्परमा ।”
कप्तान –“आज के भो तिमीलाई ?”
कप्तान्नी –“के भो ? के भएन ?? हजुरलाई के को मुख–मुख लाग्नु पर्‍यो ?”
कप्तान –“नकराउन बेस्करी ; बाटोमा हिंड्नेले सुन्लान् !”
कप्तान्नी –“सुने सुनुन् ; मलाई के हुन्छ र ?”
कप्तान –“लौ, दिपु आई क्यारे पैसा मागेर तिमीलेनै दे र पठाई देऊ ।”
कप्तान्नी –“शक्रान्ति सुन्ने हजुर, मलाई के को वास्ता ?”
कप्तान –“हैन, थोरै पैसा दिन मेरो हात उठ्दैन के ?”
कप्तान्नी –“धेरै पैसा दिन त प्रसस्त कमाउन सक्नु पर्छ बुझिस्यो ।”
कप्तान –“कमाएकै त छु नि, ५/६ शय ल्याइहाल्छु, महीनै पिच्छे ।”
कप्तान्नी –“हजुरको कमाईले त बुझिस्यो, मलाई एउटा सारी पनि पुग्दैन ।”
कप्तान –“नकराऊ ! अति नगर ।”
कप्तान्नी –“हजुरले मलाई धम्की दिने ?”
कप्तान –“हैन धेरै नकराऊ पो भन्या त ।”
कप्तान्नी –“मुख भएपछि कराइन्छ ; सुन्न मन नलागे कान बन्द ।”
कप्तान –“तिमीसँग कुरा गर्न सकिन्न ; जे गर्छेऊ गर ।”
कप्तान्नी –“पहिले नै यसो भनिस्या भे कचिङ्गलै उठ्ने थिएन ।”
“खै काठा एक पैसा झिक ।”
पुरेत –“किन र हजुर ?”
कप्तान्नी –“मसँग पाँच पैसे ढ्याक मात्रै छ ; तिमीलाई चार पैसा दिनु पर्‍यो, एक पैसा फिर्ता दिएर ल्यू ढ्याक ।”
पुरेत –“किन यसो गर्नु ? म सँग पाँच रुपैयाँ छ लिई बक्स्योस् ; ब्याज उठेपछि पाँचै पैसा बक्से भैहाल्छ नि ।”
कप्तान्नी –“हुन्छ त छोडेर जाऊ ।”
पुरेत –“कप्तान शाव, म हिंडे ।”
कप्तान –“जानु हुन्छ पुरेत बाजे ।”
पुरेत –“दक्षिणा पाइहाले अब किन बसौं र ?”
कप्तान –“खुशी हुनु भो होइन त ?”
पुरेत –“जजमान कहाँ रुपैयाँ राखेर जान पाएँ किन खुशी नहुँ ?”
कप्तान –“कप्तान्नी, लौ भुजा पस्की हाल बेर भयो ।”
कप्तान्नी –“कहाँ भुजा तयार पारेकी छु र ? मलाई माइतिमा निम्ता हुँदैछ । हजुरले कहि जिनार गरिबक्से भइहाल्छ नि । यो त चाम्रे पकाएकी भाई आउँछ भन्याथ्यो नखुवाई कसरी पठाउछु ?”
कप्तान –“आधी – आधी गर न ।”
कप्तान्नी –“एक माना चामल पकाएकी छु ; त्यहि पनि आधी गरेर के खुवाउनु ? यत्तिले त पुग्ने हो कि नपुग्ने हो ?”
कप्तान –“किन थोरै बनाएको त ? चामल छैन र ?”
कप्तान्नी –“चामल हुँदैमा सबैलाई चाम्रे कहाँ कहाँ पाउनु ?”
कप्तान –“त्यसो नभनन, अलिकति चामल भुलुक्क पारी देउन ।”
कप्तान्नी –“बेर भैसक्यो, मलाई पकाएर बसिरहने फुर्सत छैन ।”
कप्तान –“अलिकति चामल झिकी देऊन त, म आफै बनाउछु ।”
कप्तान्नी –“आज एक दिन नखाएर मरिदैन के हत्ते हालिबक्स्या ?”
कप्तान –“भैगो त तिमी त्यसो भन्छौ भने ।”
कप्तान्नी –“दिपु, मामा आइस्यो जाऊ लिएर आऊ ।”
कप्तान –“म नै गएर ल्याऊँ कि ।”
कप्तान्नी –“हजुर पनि गैसे नहुने होइन ।”
कप्तान –“शालोको सवारी लिन भिना नगए को जान्छ ? बस दिपु म आफै जान्छु ।”
कप्तान्नी –“भैगो त मैया बस । बुबा आफै सवारी भैबक्सन्छ रे ।”
दिपु –“म पनि जान्छु ।”
कप्तान –“लौ हिँड्न त ।”
दिपु –“जुत्ता लाउने ।”
कप्तान –“कप्तान्नी, लगाई देऊन जुत्ता ।”
कप्तान्नी –“आफैले लगाई दिई बक्से पनि त हुन्छ नि ।”
कप्तान –“हैन, कहाँ छ भन्या पो त ?”
कप्तान्नी –“खोजिस्योस्न, त्यतै कतै होला ।”
कप्तान –“भैगो नजाऊ मैयाँ म एक्लै जान्छु ।”
कप्तान्नी –“बाबु छोरीको कत्ति गलफत हो ?”
कप्तान –“दश बज्न आँटीसकेछ म अफिस लागेँ । शालो आएपछि खुवाई – पीआई पठाऊ । आफै जान्छेऊ भने पनि जाऊ । साँचो भने छोडी जानू ।”
कप्तान्नी –“अफिस नगैसे पनि हुन्छ, कोही पनि लिन आएनन् भनी कत्ति दुःख मान्ला ?”
कप्तान –“त्यसो नभनन हेर ; आज नगै हुँदैन ।”
कप्तान्नी –“के काम छर ? हाई….हाई… गरि बिताउनु त हो नि ।”
कप्तान –“त्यसो भनेर हुन्छ र ? सरकारी माम्लो ।”
कप्तान्नी –“नकराईस्योस्, मैले पनि देखेकी छु ।”
कप्तान –“नजानै भन्छेऊ भने के लाग्यो ; तर नगै नहुने छ ।”
कप्तान्नी –“भाइलाई लेराइदि बक्सेपछि गैसे भैहाल्यो नि ; नगै नहुने भए ।”
कप्तान –“लौत त्यसै गर्छु । बरु खानेकुरो केहि भए झिकन ।”
कप्तान्नी –“के छ र ? अस्ति भुटेको मकै होला अलिकति हाँडीमा ।”
कप्तान –“त्यहि भए पनि देऊन ; टोक्दै जाऊँ ।”
कप्तान्नी –“झिकेर खाइस्योस्न ;कति उठौँ ?”
कप्तान –“कहाँ छ हाँडी ?”
कप्तान्नी –“मटानको खोपामा होला ।”
कप्तान शाब मकै टोक्दै बाटो लागिस्यो । कप्तान्नी शावको विहान भरीको परिकार बाहिर निस्के । मुख मिठ्याई बसेको चाउरेले लामो हात पसार्‍यो ।
चाउरे –“अलिकति बक्स्योस्न चाखौँ ।”
कप्तान्नी –“के खान्छस् ! पुलाउ दिउँ ।”
चाउरे –“त्यो गेडा बक्स्योस्न ।”
कप्तान्नी –“लालमोहन ?”
चाउरे –“अँ एउटा मात्रै ।”
कप्तान्नी –“दुइटै खान ।”
चाउरे –“पुलाउ, तर्कारी सबै खानु पर्छ ; एउटै भए पुग्छ ।”
कप्तान्नी –“चाउरे !”
चाउरे –“हजुर ।”
कप्तान्नी –“यो, त्यो खाएँ भनेर नभन्नुनि कप्तान शावलाई ।”
चाउरे –“किन भन्थेँ ।”
कप्तान्नी –“कस्तो लाग्यो चाउरे, तँलाई लाल मोहन ?”
चाउरे –“कुप्लुक्क हालेको थिएँ ; घुटुक्क निलेछु, केहि स्वादै पाइँन ।”
कप्तान्नी –“अर्को पनि खा न त ।”
चाउरे –“बक्स्योस्न त एउटा ।”
कप्तान्नी –“कस्तो रेछ ?”
चाउरे –“आहा ! मह जस्तो रे छ ।”
कप्तान्नी –“अर्को पनि खान्छस् ?”
चाउरे –“पाए त ।”
कप्तान्नी –“नपाउने के छ र ? तेरै त हो नि ।”
चाउरे –“हजुर पनि चाखीस्योस्न ।”
कप्तान्नी –“तैँले चाखेपछि मैल किन चाख्नु पर्‍यो र ?”
चाउरे –“तैपनि, मुख कहाँ सबैको एउटै हुन्छ र ?”
कप्तान्नी –“त्यसो नभन्न चाउरे । तँ र म मा के फरक ? तँलाई जे मिठो लाग्यो मलाई पनि त्यहि लागिहाल्छ नि ।”
चाउरे –“हजुर मलाई कत्ति मायाँ गरिसिन्छ ; मैले त्यस्तो के गुण लगाएको छु र ?”
कप्तान्नी –“लगाएकै त छ स् नि ।”
चाउरे –“कप्तान शाबको कत्तिको मायाँ लाग्छ हजुरलाई ?”
कप्तान्नी –“ती थपनाका कप्तान शावको के मायाँ लाग्नु र ?”
चाउरे –“कप्तान शाव कुरा त मीठो मीठो गरिसिन्छ नि ।”
कप्तान्नी –“खालि कुरै त हो नि काम के छ र ?”
चाउरे –“हैन हजुर दिपु कस्की ?”
कप्तान्नी –“त्यो पनि सोध्नु पर्छ र ? तँलाई थाहै छ नि । ती भुसतीघ्रे मेरी छोरी भनेर घोक्रे नाक लगाउँदैमा मस्त छन् ; तेरो भन्ने कसलाई पत्ता ?”
चाउरे –“हो, हजुर यस्तो कुरा त गुप, चुपमा राख्नु पर्छ ।”
कप्तान्नी –“यस्तो कुरामा भुक्त भोगी भैसकेकी छु बुझिस् ।”
चाउरे –“हजुरले नजानिस्या त के छ र ? तैपनि कुरा खुस्की हाल्ला भनेर नि ।”
कप्तान्नी –“चाउरे मलाई कतै लैजान । तँसँग हिँड्न मलाई सारै इच्छा लागेको छ । तेरो कुरा सुनी रहँु जस्तो लाग्छ । तँलाई देखेपछि मेरो मन नै चङ्गा हुन्छ । तेरो कपाल, चुस्स परेको जुङ्गा, चिउँडोमा तुर्लुङ्ग झुण्डेको बोके दाह्री, भित्र पसेको कैलो आँखा, चुच्चो नाक सबैमा एक एक देवता आएर बसेको छन् जस्तो लाग्छ । तेरो ठूटे टुप्पीनै पनि कत्ति राम्रो लागेर आउँछ ? साँच्चै चाउरे । मैले ढाँटेको होइन । एक दिन तँ र म मात्रै सिनेमा हेर्न जाउँ न ।”
चाउरे –“मलाई पनि हजुरको मुहार देखेपछि हेरीरहुँ जस्तो लाग्छ । राता गाला, सुलुक्क परेको नाक, मुन्द्रा परेको कपाल, सलक्क परेका आँखा, टम्म मिलेको दाँत । खिस्स हाँसिबक्सेको मुहार कत्ति मायालु देखिई बक्सिन्छ । हजुरलाई साथमा लिएर, हिँड्न पाएको दिन मेरो लागि कस्तो होला ? त्यस दिन त मैले हजुर बाहेक अरु कसैलाई हेर्ने छैन । बाटो भरि हेर्दै जान्छु , हेर्दै फर्कन्छु ।”

कप्तान्नी –“कत्ति मीठो कुरा गर्छस् चाउरे ? कुरैले मेरो दिल हरि सकिस् । लौन, त्यस दिन चाँडै ल्याईदेन । जुन दिन तँ सँग अङ्कमाल गर्दै, तेरो नाक समाउँदै ; जता ततै काउकुति लगाउँदै हिड्न मिलोस । हेर चाउरे ! त्यो दिन मीठो गफले वित्ने छ । लगेका सामान सबै फ्याँकिने छन् । तैले मलाई समेत ढाँट्ने छस ;म पत्याउने छु । दुवै एकले अर्कालाई समाति झगड्ने छौँ । तँ खिस्स हाँसी दारी मुसार्ने छस् । म कपाल टोकी मुस्कुराउने छु । रात यत्तिकैमा वित्नेछ ।

पूर्वतिर सूर्यको लाली चढेपछि चराचुरुङ्गी विउँतने छन् । उनीहरुको मीठो कालाङ्गकुलुङ्गको आवाज आउन लागेपछि हामी दुबै एक ठाउँमा पल्टी निन्द्रा देवीको काखमा शरण लिन पुग्ने छौँ । सूर्यको किरण आँखामा आएपछि हामी दुबै जुर्मुराउँदै उठ्ने छौ । बीच जङ्गलको एक चौरमा मेरो उडेको सारी फर्फराइरहेको हुनेछ । दुई–चार वटा मृगका बच्चा हाम्रो साथमा खेलिरहेका हुने छन् । परेवा परेवी ठुँङ ठुँङ गर्दै एक आपसमा प्रिती लगाई रहेका हुने छन् । मैले पनि तँलाई भन्ने छु –“हामी पनि थुतुनो जोरौंन ।”
क्रमश:
०००

चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x