शिवप्रसाद जैशीघुसले खायो
“घुस शब्द लेखिएको शब्दकोश पनि चिहानितर हुत्याइयो, सबैजना एकैठाउँ अटाइयो घुस खाएको पैरवीमा उत्रेकालाई घुसको मलामीबाटै भगाइयो। घुसले खायो एकता जिन्दावादका नाराहरु घन्किएको सुनियो।

शिवप्रसाद जैशी :
घुस खायो भन्छन् भन्नेहरु। देख्नजति र सुन्नेजति सबै आँखा र कानको दसी पेश गर्छन्- हाकाहाकी र अगाडि अनि डङ्का पिटेर पछाडि। दसीको रुपमा वाक ध्वनिको पनि फेहरिस्त लामो छ। स्वर आदानप्रदान गर्न बनाएको अत्याधुनिक बिजुलीको शक्तिद्वारा प्रचारित हुने अन्तरजालका औजारहरु र फोन मार्फत प्रयुक्त ध्वनि परीक्षण प्रतियोगिताका लागि प्रयोगशालाको अभावमा बन्चित छ परीक्षण।
परीक्षणको विधिले धोती लगाउँदा घुस हराउछ झण्डा फहराउदै। टालटुले र मिलिभगतको परीक्षणले जनमुखी कार्यान्वयन कोमामा सुबिस्तासँग चिर निद्रामा छ।ध्वनि परीक्षण, हो, होइन को दोहोरी भने वैधानिक सभामा चलेको पाइन्छ।कलमका निभहरु सोझै वा बाङ्गिएर छापामा उपस्थित हुन्छन् पक्ष विपक्षमा- घुसको नालिबेलीका लागि। नालिबेलीलाई उल्टोपाल्टोपार्दा घुस पनि खाने कुरा हो र भन्ने बेला आउछ। घुस मानिसले खान्छ। मान्छे बिना घुस र घुस बिनाको मानिस हुदैन। यिनीहरु बिच पानी र माछाको जस्तै अन्योन्याश्रित सम्बन्ध छ। त्यसमा पनि चुरो कुरो के भने दुईपक्षीय मानिसको संलग्नता हुनु पर्छ कम्तिमा पनि। दुई भन्दा बढी जति पनि हुन सक्ने भएकाले कोटा सिमित छैन। कोटा असिमित भएकोले लहरो र पहरो सँगसँगै तानिन्छ। कोटा भित्र लुकेका खोटा कोटाहरु हुन सक्छन्।
दुई वा बहुपक्षीय सिमित र असिमित सम्बन्धका माझमा हो घुसको बिरुवा उम्रिने, फष्टाउने , र झाङ्गिने हुन्छ।घुसको बिरुवा सिमितमा राख्न अनेक प्रयास नभएका पनि होइनन्। यो उखेल्नै भने सकिदैन भन्ने गर्जन त वैधानिक सभामै श्रवण गर्न पाइएकै हो। तर्क बडो गजबले पेश हुन्छ- घुसको बिरुवा र जरा हुँदैन। होइन, यो विरुवा भएपनि अर्को रुख प्राणीको सहायताले लहरिन्छ-आकाशबेलीको लहरा जस्तै। तसर्थ यसलाई बिरुवा भन्न मिल्दैन। मिल्ने भए जरा देखाऊ ? जरा देखाउन नसकिने भयले मेरो मथिङ्ल हल्लियो तार्किक प्रश्नका अगाडि।यो औषधीय गुण भएको लहरा हो बुझिस्। यसको बेफाइदा के छ? आदेशात्मक प्रश्न थपिन्छ। औषधीय गुणयुक्त घुस प्रशंसाले असिनपसिन बनाएर छौड्यो।
कसले खान्छ घुस भनेर नन्तारेदेखि तारे पाहुना गृहसम्म आतिथ्य सत्कार सहितको बहसमा उत्रिएको कुरा श्रव्यदृष्य मार्फत सार्जनिकिकरण भएको देखियो। गल्लीदेखि गस्तिसम्म ठुलै छलफल चलेको छ। घुस खाएको हल्लाले चल्ला समाते पनि, ताराले सारा देखे पनि, जुनेली रातले रङ्गेहात समाते पनि, सूर्यको किरणले टलक्क घुसको हिरा टल्काए पनि- यो खसोमखास झुटो हो। प्रेममा तृप्तिका लागि व्यासले बादलले सूर्यलाई छोप्न लगाए जस्तै आधुनिक वैधानिक व्यासहरु जुनलाई र बेल (सूर्य)लाई विधानको सप्कोले छोप्न आफ्ना दूतहरु नाकनाकामा नियुक्त गरेको कसलाई थाहा छैन र ? विधानलाई बादल मानेर सप्को मार्न लगाएपछि प्रमाणले राडी ओडेर खाडीको टिकट काट्छ। प्रमाण छैन घुस हुँदै होइन को लिखितम चल्छ। खासमा घुस खाएकै होइन। घुसले खाएको हो भन्ने प्रमाणित हुन्छ।
के के खान्छ घुसले भनेर चिन्नु पर्छ अनि मात्र गुह्य कुरा खुल्छ। घुसले भुस चिन्दैन। भुस क्वाप्ल्यक्क पार्छ। घुसको मीत हुँदैन। मीत नभएकोले धित मार्ने गरी भोकमरीमा हिसाब र पिसाब छुट्याउन नसकेर हिसाबको बोत्तलमा … राखेर चननऽऽ पिउँछ घुसले। बन्चरे डाँडालाई पुछारमा पार्ने गरी घुसले कप्काएको दूरगन्धले नाकले भेउ पाउन नसकेकोले साँच्चै घुसले नै खाएको कुराको बयान पिपल चौतारीमा राख्दा छिनोफानो सभाले घुसखाने भए गन्ध थाहा नपाउदो हो ? भन्ने तर्क अघिसारेको हो।चेतना भएको समाजिक बथानमा बस्न योग्य कुनै मूर्त प्राणीले खानु पर्ने भए पिसाबको हिसाब थाहा पाउदैन भनेर बडो गजबको वैज्ञानिक तर्क सारेपछि, म, मुखाले, भिजेको बिरालो जस्तै आफ्नो बाटो तताउन हिँडेको हो। हाम्रा अगाडि सार्थक जवाफको सवाल हुन्थ्यो भने लुतर्किन्थ्यो भन्ने सामूहिक हाँसोको फोहरा छुट्दा पछि फर्कन नसक्ने लुते कुकुर झै टाँङको भ्वाँङमा पुच्छर छिराएर ओझेल परेको हो।
घुस खाएको होइन, घुसले खाएको हो। भारदारी सभामा राणाकालमा जस्तो विपद् का बेला कालो बजारीलाई पाँच मिलेर गर्धन छिनाल्नेले बक्सिस पाउँछ भन्ने सूचना ऐलान अहिले भएको भए के हुन्थ्यो कुन्नि ? उबेलाका बुझक्कडहरुलाई पाकृतिक मृत्युको धुवाँले उडाएको शतक बितिसक्ता पनि बेलाबेला अन्तेर, जन्तेर र पानी मन्तरे पुस्ताले कान पवित्र पार्न पाउछन् राणाका हजारौं थप्पडले कुप्रिएकाहरुका रैथाने र झड्केला सन्तानहरु। जङ्गिएर घुसखाने भए कुत र मुत छ्ट्याउन सक्दैनन् भन्छन् ? कुत खाएर मुत बिसर्जन गर्दा हुन् तर घुसले खाएकोले दुईवटै सर्लक्कै गलामा छिरे भन्ने एडभोकेसीले नाजवाफ भएको म सुतुरमुर्गजस्तै भगौडामा नदर्जिएर हुन्छ त ? ज्यान जोखिम भन्दा पनि तर्कहरु कमजोर भएर भाग्नु परेको हो। घुस खाएको भन्ने मरो तर्क घुसले खाएको भन्ने तर्कका अगाडि अति नै निम्छरो भएर निहुरिएकै हो।
म पनि कम त होइन नि ! घुस खाएको र घुसले खाएको दुईधारमा विभाजित भएर मनमत थाहा पाउन जनमत संग्रह गराउन कम्मरमा मतदान पेटी बाँधेर हिँडेकै हो। प्रचारप्रसारमा तिब्रता ल्याउने सामूहिक सभामा घुस खाएको नभै घुसले खाएको भन्ने वक्ताहरुका गहकिला तर्क सुन्दा बज्ने गडगडाहट तालीले मेरो कन्पुप्डा (कन्पड ) फुट्ला जस्तो भएकै हो। सयौं तर्क बटुलेर पोको पारेर गएको म तर्क गाएब भएपछि रिङ्गाटा लागेर रन्थनिएर धर्तीलाई आकास र आकाशलाई धर्ती देखेर कुलेलम ठोक्नु परेको कसरी बिर्सन सक्छु? घुसले खाएको भन्ने गठबन्धनका तर्फबाट निकालिएको अँधेरी रातको राँके जुलुस देखेर तिर्मिराएका मेरा आँखाका ढकनी बन्द भएकै हुन् ।
घुस अमुर्त हो। यसको भौतिक स्वरुप हुँदैन। यसको आकार पनि हुँदैन। अमूर्तलाई कसरी खाने ? खानलाई मुर्त हुनु पर्छ। खानेकुरा देख्न, छुन सक्ने हुनु पर्छ। एक ठाउँबाट अर्को ठाउँमा सजिलै स्थानान्तरण गर्न सक्ने हुनु पर्छ। परेन ? हातले समातेर होस् वा काटा चम्चा घोचेर होस् बाहिरबाट मुख हुँदै पेटतिर स्थानान्तरण हुन सक्ने, खान मिल्ने अन्नअनाज, पाको वा काचो, पोलेर वा पकाएर, चवाएर वा त्यत्तिकै निल्न सकिने भौतिक बस्तु भए पो खान सकिन्छ।अहँ, घुस त्यस्तो होइन। यो खान सकिदैन बरु घुसले चाहिँ खान सक्छ। अस्तित्व विहीनलाई कसरी खाने बरु अस्तित्वमा रहेकालाई अदृष्यरुपी सुलुत्त निल्न सक्छ। तसर्थ घुसखाने भनेको सरासर झुटो हो। ब्लाक एण्ड ह्वाइट झुटो हो। साँचो कुरा घुसले चाहिँ खाएको हो भन्ने वक्ताको विश्लेक्षणले प्रशिक्षित जनमनले घुसले खाएको पक्षमा भारी मतदान गरेको देखियो।
घुस खाने पक्षमा जम्मा एक मत। त्यो पनि बाकस भित्र बडो सकसमा प्रचण्ड बहुमतको चेपुमा परेको। गणनामा बसेका चस्मा नलगाएका अद्भुत दृष्य शक्ति भएका गणकले भेटाए। डब्बा खालि भएन।रित्तो भएन।एक मतले प्रतिस्पर्धाको नाक जोगायो। जित कसको घुसले खाएको। हार कसको घुस खाएको जस्ता नाराहरु अविर र फूलमाला जुलुसमा सामेल भए। म बाहेकका सबै मतदाताले नगर, शहर र देश परिक्रमा गरेको श्रव्यदृष्यहरु सार्वजनिक भए। मलाई पनि बडो उत्सुकतापूर्वक त्यो जुलुसमा सहभागी भएर जित कसको घुसले खाएको नारा लगाउन मन लाग्यो। म हौसिएँ। अन्तमा मेरो एक मत पनि भूल बस समावेश भएको अब उपरान्त घुसखानेको विपक्षमा भएको आत्मस्वीकृति पत्र पेश गरेँ। शतप्रतिस मत घुसले खायो भन्ने पक्षमा उभियो। घुसखाने भन्ने पक्ष जिरो यानेकि शुन्य।
विजय जुलुस मार्मिक रुपले धार्मिक क्षेत्रको परिकारात्क अवलोकन गर्न पाशुपत क्षेत्रतिर अघि बढ्यो। नारा एकनासले घन्किए। जुलुसलाई पाशुपत क्षेत्रमै सेलाएमा पुन्य कमाइने शास्त्रीय मान्यता अनुरुप काँस र कुशको घुसरुपी प्रतिमा बनाएर जयजयगान गरी घुसले खाएकोले घुसरुपी प्रतिमा जलाउने भइयो। वल्लो पल्लोमा मानिसहरुका लास जलिरहेको राप र तापले घुसको लासको अन्त्यष्टी। अन्त्यष्टी सभामा मन्तव्य राख्दै घुसले खाएको भन्ने गठबन्धनका तर्फबाट ओजनदार भाषण गर्दै नेतृत्वकर्ताहरुले घुसले खाएकोले घुसको अन्त्यष्टी गर्नु परेको जिकीर गरे। सम्पर्ण मानव जातिमा घुसले अत्याचार गरेको, मानिसहरुलाई दुःख दिएको, यो घुसबाट मानिस पीडित भएकोले घुसबाट मुक्ति पाउन घुस अन्त्यष्टी गर्नु परेको जनाउ दिइयो।
मानिसको घुसमा कुनै दोष नभएको। घुसले नै मानिसलाई लपेटन खोजेको। घुस बिना जानकारी मानिसहरुका घर, डेरा, कोठा र बासमा राज गर्न आइ मानिसलाई नै बेघरबार बनाउन आँटेपछि मानिस केही लोभिनुलाई अन्यथा मान्न नमिल्ने।सबै दोस घुसको भएकोले घुसखाने भन्ने पक्ष घुसले खानेपक्षबाट नराम्री परिजित भएको कुरा अन्त्यष्टी सभामा उपस्थित मानिसहरुको ध्वनि गर्जियो।आगोको लप्काले काँसकुसको घुसरुपी मुर्दालाई खरानी बनाउनु अगाडि घुस खाएको बात लागेका बापतीहरुको हाँसोको फोहरा छुट्यो। चिहानमा आगो हाँस्यो। जल्दै गरेका वास्तविक मुर्दाहरु ब्युँझे र भने हामी पनि घुसले खाएका हौं।
हामीलाई घुसले मारेको हो। घुसको अत्याचार सहन नसिक हामीमध्येका कसैले आत्महत्या समेत गर्नु परेको हो। अब घुसकै अन्त्यष्टी भएकोले हामी जीउँदा फर्किएको साँचो हो भन्दै जुरुक्क उठे। बापतिहरुले आफ्नो जितको खित्का छोडे। पुलुक्क मतिर हेरर भने “हर्नुहोस् घुसको दसा”। म भने रापिलो आगोको ज्वाला देखेर परपर सर्दै सुट्क्क भागेर कुलेलम ठोकेँ।
ध्वाँङको आवाजले गोशालासम्म पछ्याइ रह्यो “घुस शब्द लेखिएको शब्दकोश पनि चिहानितर हुत्याइयो, सबैजना एकैठाउँ अटाइयो घुस खाएको पैरवीमा उत्रेकालाई घुसको मलामीबाटै भगाइयो। घुसले खायो एकता जिन्दावादका नाराहरु घन्किएको सुनियो।
साँझपखम मुलधारका मिडियाहरुमा घुस अन्त्यष्टि स्टोरी प्रशारित भयो। उता डिजिटल प्लेटफार्ममा भने केही चालक, सहचालक, किसान र भरियाहरु सुन, चरेस, अफिम, खैरो हिरोइन र ब्राउनसुगर सहित समातिएका समाचार प्रेशित भैरहे। अर्को इन्स्ट्यान्ट न्युज पनि भिउज बडाउने गरी स्क्रोल भै रहेको थियो बहावालाको घरमा पैसाको आहाल ! आजै अन्त्यष्टी गरिएको घुसको मसानले पुर्याएको हुन सक्ने आशङ्का ! प्रहरीद्वारा अनुसन्धान जारी ! जीउँदै मानिस जलाउने विधायकले अदालतबाट पाए इन्साप ! सरकाद्वारा पूर्ण घुस अन्मुलन राज्य घोषणा !
०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं








































गोरखापत्रमा उद्यमी शीर्षकको कविता छपाएका शिवप्रसाद जैसी रही लेखक एउटै हुन्?
हालै गोरखापत्रमा उद्यमी शीर्षकको कथा छपाउने शिवप्रसाद जैसी रही लेखक एउटै हुन्??
एउटै हुन। गोरखापत्रमा सम्पदकले मोटो शीलाई पातलो सी बनाएका हुन