रामकृष्ण ढकालअद्भुत प्रदर्शनी
लुइँ मास्टर र, फुइँ डाक्टरसहित भएर हेरिएको यो प्रदर्शनीका सबै कक्षमा पुग्न सकेनौँ हामी शोक विव्हल भयौँ । पाइला चाल्न कठिन भयो । यहाँ भनिएका जस्ता अरू पनि केहि सय कक्षहरू त्यहाँ थिए ।

रामकृष्ण ढकाल :
घरबाहिर चर्को घाम एकदिन दिउँसो थिएन काम । फोहा (फोन हातको ) चलाउँदा चलाउँदै कतिखेर निदाइएछ पत्तैभएन । हुन त निदाउन शुरु गर्दा घडी हेर्ने बानी लागेको भए पो हेर्नू । लागिएछ स्वप्नलोकको दुनियाँमा । साथमा रहेछन् लुइँ मास्टर र फुइँ डाक्टर । तीन जना मिलेर कताकता घुम्ने क्रममा एउटा विशाल चौरमा पुगिएछ । चौरका ठाउँ ठाउँमा थिए केही रूखहरू केही हरियाली, अनि एकछेउमा राखेको रहेछ पण्डाल हाली । कौतुहलको कोदालोले मन खोतल्न थालिहाल्यो । सल्लाह गरेर तिनैजना पण्डालतिर गैयो । त्यहाँ नजिकै गएपछि थाहा भयो कि एउटा अद्भुत खालको प्रदर्शनी आयोजना गरिएको रहेछ । हामिले पनी भित्र पस्ने अनुमति किन्यौँ र पस्यौँ । त्यहाँ संसारमा कहिँ कहिल्यै नदेखिएको नसुनिएको कथा जस्तो लाग्ने वातावरण रहेछ । सहायता कक्षमा सोद्धा थाहा भयो झन्डै पाँच सय कोष्ठहरूमा प्रदर्शनी फैलिएको छ । त्यससँगै मनोरञ्जन खण्ड, खानोरञ्जन खण्ड, बाहन बिसाउने आँगन आदि पनि रहेछन् ।
मित्रद्वय लुइँ मास्टर र फुइँ डाक्टर सहित भएर शुरु भयो कोष्ठगत अवलोकन कार्यक्रम । पहिलो कोष्ठमा घुस प्रदर्शन गरिएको थियो र त्यो खानलाई बस्त्रै खुस्किउञ्जेल मरिहत्ते गर्दैथिए देशका सरकारी पोशाकधारीहरू । उनीहरूको त्यहीँ बाझाबाझ नै परेको देखियो । अर्को कोष्ठमा रहेछ कमिसन प्रदर्शन । त्यहाँ ठेकेदार, दलाल, आपूर्तिकर्ताहरूको लुछाचुँडी देखियो । अर्को कोष्ठमा देखाइएको थियो कुशासन दुशासनलाई । यो कोष्ठमा गणतन्त्र, सङ्घीयता र तिनका मसिहाहरूले आफूतिर तानातान गरिरहेका भेटिए । अबको पालोमा ढिलासुस्ती भोलिवाद अल्याङ्ट्ल्याङ, यो मिलेन त्यो भएन आदि राखिएको थियो र यसका जिम्मावाल थिए सरकारी अड्डा र तिनका नोकरहरू । त्यसपछि आयो जनदमन खोक्रा भाषण हेलाँहोचो अन्याय महाझुठ कुकर्म प्रभु आज्ञा आदिको कक्ष । यसमा हर्ताकर्ता स्वयं सरकार र त्यसका इमान्दार भतुवा दाह्रा नङ्ग्राहरू ।
हाम्रो फन्को जारी थियो । अद्भुत प्रदर्शनी साँच्चिकै अद्भुत नै थियो अनि यसपछि के देख्न पाइएला भन्ने कौतुहल चर्को थियो । त्यस्तै क्रममा आयो देशको सिमाना प्रदर्शन कक्षको पालो । यहाँ कुर्ता र धोती लाएका केही मानावजस्तै आकारका कीराहरूले सिमानालाई कोपर्दै रहेछन् र सरकारको कुनै प्रतिनिधि मुसुक्क हाँसेर हेरिरहेको थियो । यसले मनमा नराम्ररी बिझायो । अब अर्को कोष्ठमा पुगियो । त्यहाँ विदेशी राजदूत, दूतावासका तल्लो दर्जाका कर्मचारी र देशका मन्त्रीहरूको गोप्य बैठक चल्दै रहेछ । विषवस्तु रहेछ अझै यो देश कसरी रहिरह्यो भन्ने चिन्ता । अबको पालो थियो देशका अनेक कानून निर्माण खण्डको जहाँ देशका उच्च पदस्थहरू र केही पश्चिमी देशका जासूसहरू थिए । यहाँ विदेशिहरू शिक्षक र स्वदेशीहरू विद्यार्थीका रूपमा देखिए ।
घुम्ने क्रम निरन्तर चलिरहेको छ । त्यसैले त्यसपछि पुगियो अर्को एउटा कक्षमा जहाँ केही ठूल्ठूला निर्माण कम्पनीक साहूहरू र सरकारी मन्त्रालयका प्रतिनिधिहरू कसरी झारा टार्ने काम देखाएर बजेट सिध्याई जेट चढेर विदेश सयरमा जाने भनेर गरमागरम बहस गर्दैथिए । यस्तै यस्तै अन्य एक दर्जनजति कक्ष पार गरेपछि अलिकति खाली ठाउँआयो र त्यो पनि कटेपछि प्रहिलो कक्षमा भगवान बुद्ध रोइरहेका भेटियो । आफ्नो उपदेशलाई आफ्नै जन्मदेशका कुकर्मीहरूले बेस्सरी लत्याएको पीडा उनमा भएको बुझियो । अर्को कक्षमा देशका होनहार युवाहरू थिए जसलाई बिषालु मिठाइ जस्तो कुनै चिज देखाएर खत्तम परचक्रीहरूले आफ्नो गोठमा जुठेल्नामा नोकर हरूवा हलि भकारे गोबरे बनाउन लैजाँदै थिए भने सरकार नामको जन्तुले वैदेशिक रोजगानामको सिस्नो लगाएर यताबाट अपमानपूर्वक लखेट्दै धपाउँदै थियो ।
मनै रुवाउने यो दृश्य हेर्न गाह्रो भएपछि तिनैजना अर्को कक्षतिर जसमा देशको नक्शा भित्रका गाउँबस्तीहरू थिए । ती बस्तीका घरमा झारपातहरू बाक्लै उम्रिएका थिए । गोठमा गाईवस्तु दाम्लोमै मरेका थिए अनि पातलो सङ्ख्यामा बृद्धबृद्धाहरू केही बालबालिकाहरू अनि उठाउने मलामी नभएकाले आँगनमै कुहिएका कङ्कालहरू देखिन्थे । विद्यालयहरू रित्तै थिए । काग गिद्ध बाँदर बाघ भालू आदिको बस्तीमा रजाइँ चलेको थियो । यो पनि हेर्न अत्यधिक गाह्रो भयो । आँखा रसाए । अनि अर्को कक्षतिर बढियो । त्यहाँ भएको कक्षमा विश्व शान्तिलाई प्रदर्शनीमा राखिएको थियो । त्यहाँ त्यो शान्तिमाथि हतियार र मतियारका बलमा मैमत्त भएका ठूला देशहरूले हिलो धूलो फोहोरमैला थुप्र्याउँदै थिए भने राष्ट्रसंघ आँखा छोपेर उभिएको थियो । त्यसपछिको पालोमा रहेछ विश्व पर्यावरण जसमा विकसित देशहरूले नाली सोझ्याएको देखियो ।
यसपछिको पालोमा एउटा कक्ष आइपुग्यो जसमा देशले विदेशीसँग ऋण अनुदान लिँदा गरिएका सम्झौता पत्रहरू थिए, जसलाई देखेर एक कुनामा बसेर धर्ती रोइरहेकी थिइन् । यहाँ पनि गाह्रै भयो । मन थाम्न साह्रै सकस हुँदै आएपछि अब एउटा मात्र कक्ष हेर्ने भनेर अल्लि परको कक्षमा गइयो । त्यहाँ देशका सनातन संस्कार, जात्रा मठमन्दिर गुम्बा छ्योर्तेन माङ्हिम तीर्थ चाडपर्वहरू रहेछन् अनि ती सबैमाथि एउटा पश्चिमा कुइरेले गणितको जोड चिन्हजस्तो देखिने बारुद भरिएको औजारले तोडफोड गर्दैरहेछ । लुइँ मास्टर र, फुइँ डाक्टरसहित भएर हेरिएको यो प्रदर्शनीका सबै कक्षमा पुग्न सकेनौँ हामी शोक विव्हल भयौँ । पाइला चाल्न कठिन भयो । यहाँ भनिएका जस्ता अरू पनि केहि सय कक्षहरू त्यहाँ थिए । सबैको बयान गरिसाध्यै थिएन ।
यी सबै दृष्यको पीडाले जब तिनैजनाको एकैचोटि डाँको छुट्यो तब झल्याँस्स भइयो । भर्खरैको सपना सम्झेर भगवानको नाम जप्न थालियो । हरिॐ नारायण ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































