रमेश समर्थनजिब्रो
मृत्युको भयलाई त्यागेर जिब्रो र भुँडीविरुद्ध विद्रोह गरे भने जिब्रो पानीविनाको माछो हुन्छ भने भुँडीले पनि ‘कुइँ कुइँ’ गर्दै हातखुट्टालाई गुहार्नुपर्ने हुन्छ । तर यी हातखुट्टा ती हात्ती वा साँढे हुन् जसलाई आत्मशक्तिको अनुमानै छैन ।

रमेश समर्थन :
‘मिठो जिब्रे अल्छी तिघ्रे’ भन्ने उखानको गर्भबाट नै सामन्तवादको जन्म भएको हुनुपर्छ । कामको नाममा वरको सिन्को पर नसार्ने अनि खोपीभित्र बसीबसी सुस्वादु भोजन ज्युनार गर्ने कोठे रानी बनेको हाम्रो जिब्रो पनि एउटा सामन्त हो । हाम्रा परिश्रमी हातखुट्टाले कडा श्रमद्वारा उब्जाउँदै आएको वस्तुमा लप्लपाउँदै असल र स्वादिष्ट वस्तुलाई महासामन्त भुँडीकहाँ पठाउने जिब्रो महासामन्तको दलाल हो भने हाम्रा हातखुट्टा श्रमिक वर्ग हुन् ।
यो जिब्रो नभएको भए के हुन्थ्यो ? मान्छे बोल्न सक्दैनथ्यो, लाटो हुन्थ्यो । तर जिब्रो हुनेहरू पनि त लाटा भएकाले यस छुसी जिब्रालाई भुँडीले हाम्रा हातगोडाको श्रमको शोषण गर्न राखेको दलाल नै भन्नुपर्छ । यस्तै दलाली गर्ने भएर नै त यसमा हाड हुँदैन नि ! घरी यता लप्रक्क, घरी उता लप्रक्क !
हुन पनि हाम्रा श्रमिक हातगोडाहरूले कमाएर, बनाएर र उठाएर मुखरूपी आन्तरिक राजस्व कार्यालयमार्फत भुँडीरूपी राज्यको ढुकुटीमा पठाएको वस्तुलाई यस भ्रष्ट जिब्राले बिचमै चाटिदिन्छ जसरी विदेशी राष्ट्रले हामी मानवीय स्तरहीन जनताको जीवनस्तरलाई अलिकति भए पनि उकास्न भनेर उपलब्ध गराएको ऋण तथा अनुदान सहयोगको रकम हाम्रा सचिवदेखि मन्त्रीसम्मका सामन्तहरूले बिचमै चाटिदिन्छन् र हाम्रो हातमा लाग्छ केवल ऋण ! भुँडी महाप्रभुलाई खुसी पार्न भनी भक्तहरूले चढाएको नैवेद्य यस जैरे जिब्राले मन्दिरको पुजारीले झैँ जुठ्याएर मात्र पठाउँछ । वाह ! क्या मज्जा ! ‘कुरो न काम बसी बसी माम !’ अझ प्रस्ट्याउने हो भने ‘हिङ्ग लगे न फिटकरी रङ्ग आए चोखा !’ यहाँ आलोचक बाजेहरूलाई लाग्नेछ नेपाली उखान दिइसकेपछि फेरि हिन्दी किन ? म उहाँहरूको थोते राष्ट्रवादको सम्मान गर्दै के निवेदन गर्छु भने हामी हाम्रो भाषा पनि अरूको भाषाको सहायताले सजिलै बुझ्छौँ के ! जसरी हाम्रा कतिपय गाउँहरूलाई आफ्नै जिल्लाको सदरमुकाम पुग्न विदेशको भूमि भएर जानुपर्ने हुन्छ ।
यसको यही दलाली चरित्रलाई बुुझेर नै भुँडीदेवीले यसमा पहरा लगाइदिएकी हुनुपर्छ बत्तीसवटा दाँतहरूको । तर दलाल त दलाल न हो । दाँतलाई पनि चपाउने काममा लगाएर आफूले जिब्रो पड्काउँदै स्वाद लिन थाल्छ । फेरि खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? आखिर पैठारी गर्ने बाटो त भन्सार नै हो । अब भन्सार अधिकृतले स्वाद नलुटोस् पनि किन ? माहुरीको टोकाइ सहेर मह काट्नेले हात त चाट्ने नै भयो । भन्सारको हाकिम भएपछि नखाए पनि कसैले पत्याउने होइन क्यारे ! ‘बाघको मुख खाए पनि रातै नखाए पनि रात’ै भन्ने त उखानै छ । चाहे दाँते प्रहरी होऊन्, चाहे जिब्रे अधिकारी होस् पैठारी गरिने वस्तुको स्वादिलो कमिसन त खान्छन्, खान्छन् । यसै स्वादमा पल्केर होला लोकसेवा आयोग पास गर्नासाथ साथीहरू भन्सारमा भर्ती हुन अर्को प्रभुको मन्दिरको परिक्रमा लगाउन र नैवेद्यको प्रलोभन दिन थालिहाल्छन् र कर्म कुकर्म, धर्म अधर्म सबैथोक गर्न तम्तयार रहन्छन् ।
बुझ्नेहरू भन्छन्, ‘एक छटाकको जिब्रो चलाउनुभन्दा एक धार्नीको टाउको हल्लाउनु सजिलो हुन्छ र फलदायी पनि हुन्छ । मलाई लाग्थ्यो, के भनेको होला यस्तो ? अब पो थाहा पाउँदै छु, यो नकच्चरो जिब्रो त ज्यादै मापाको पो हुँदो रहेछ त ! हुँदोखाँदोको सुविधा खोसिदिने पनि यही जिब्रो, हुँदै नभएको आरोपमा झोँसिदिने पनि यही जिब्रो र दिनै नमिल्ने पद, प्रतिष्ठा र पैसाले पोसिदिने पनि यही जिब्रो रहेछ । एक पटक हेडमास्टर साहेबको चरित्रको पोल खुल्ने गरी यो जिब्रो के चल्न भ्याएथ्यो मेरो त अपायक सरुवाको पत्र पो मेरो हातमा थमाइयो त । अचेल भने यो धार्नीको टाउको उनको होमा हो मिलाउँदै जति पनि हल्लाउँछु तर यो छटाकको जिब्रो मरिगए चलाउन्नँ । नोकरी बँचे सन्तान बँचे ।
‘बढ्ता नबोल् है ! जिब्रो थुतिदिउँला ।’ मानौँ कर्मचारीलाई भन्सारबाट हटाएर हुलाकमा पजनी गरिदिउँला भनेर हाकिम साहेबको चेतावनी हो यो । दुःख त दुःखै छ बिचरालाई पनि । दलाल हुन पनि त्यति सजिलो कहाँ छ र ? बेइमानी पनि त इमानदारीपूर्वक गर्नुपर्यो नि ! कहिले भित्री धम्की कहिले बाहिरी धम्की । बाहिरकाहरू थुत्ने धम्की दिन्छन् भने भित्रका यी स्वाँठ दाँतहरू अलिकति उफ््रयो कि त ‘कच्याक्क !’ हाइ हाइ हाइ हाइ !!!! नमार नमार !! नियतिले दलाली गर्न लगाए पनि हो त यो पनि कर्मचारी नै ।
जिब्राहरू पनि थरी थरीका हुन्छन् । घाँसपात र भुसापरालको स्वाद लिने जिब्राहरू । निरीह पशुको तात्तातो रगतसहितको फड्किँदो मासुको स्वादमा पड्किने जिब्राहरू । दुधदही र घिउमा रमाउने जिब्राहरू । रसभरी, लालमोहन आदि मिठाइमा रसाउने जिब्राहरू र अमिलो पिरोमा ट्वाक्राक्क गर्ने जिब्राहरू । शुद्ध नेपाली जिब्राहरू अझै पनि कोदाको पिठा र सिस्नाको खोलेमै मक्ख पर्छन् । बढी स्वाद लिनुपर्यो भने मागेर ल्याएको महीको सेतो झोलमा सही थाप्छन् । बङ्गाली जिब्राहरूलाई माछा र भात भए अरू व्यञ्जन फिक्का । मद्रासीहरूलाई इडली भन्ने अमिलो झोल नै अमृततुल्य लाग्छ । चिनियाँ जिब्राहरूलाई छेपारा, भ्यागुता, माउसुली, सर्प र बाँदरभन्दा प्रिय प्रसाद अरू हुँदैन । नेपाली उखान ‘नखाऊँ त दिनभरिको सिकार, खाऊँ त कान्छा बाबुको अनुहार’ चिनियाँ जिब्राका लागि अफाप छ । कोरियालीहरूलाई त फट्याङ्ग्रा, गँड्यौला, बिच्छी आदि किराहरूमा जिरा मिसाएर खाँदा परम तृप्तिको अनुभव हुन्छ । उता भारतका नागाहरूले कुकुर पाए भने ढुकुर पनि हेर्दैनन् र सुँगुर पनि छुँदैनन् । यसरी देश देशका जिब्राहरू आफ्नै प्रकारको विशिष्ट स्वादमा रमाउँछन् । तर घिउ मन पराउनेले षड्रसमध्ये कुन रसको आस्वादन गरिरहेका हुन्छ ? मेरो मन्दबुद्धिले पत्ता लगाउन सकेको छैन ।
जिब्राको धुत्र्याइँ त्यति वेला अनौठोलाग्दो हुन्छ जब अरूले स्वाद लिँदा भित्रभित्रै छट्पटाउन र सल्बलाउन थाल्छ । अझ ती मिठाजिब्रेहरू त्यति वेला असाध्यै टिठलाग्दा हुन्छन् जब हातखुट्टाले विद्रोह गरेर अल्छी मानी खुम्चिने रुचि देखाउँछन् । अब त ती मिठे जिब्राहरू मिठोमसिनो त परै जाओस् काँचोकचिलो र टर्रो पर्पराउँदो वस्तु पाए पनि बुकाउन हत्ते हालेर अघि सर्छन् आफ्नो र आफ्ना महाप्रभु भुँडीमहाराजको तृप्तिका लागि ।
तर विडम्बनाको कुरो त के छ भने प्रकृतिले पनि सामन्तलाई नै कख्याएको छ, आरक्षण र संरक्षण दिएको छ । सर्वहारा वर्गका श्रमिक हातखुट्टाले सामन्त र महासामन्तका हजुरमा केही नटक््रयाउने हो भने र विद्रोह गर्ने हो भने भुँडीमहाराजको अतिरिक्त भार पनि उनीहरूले नै वहन गर्नुपर्ने हुन्छ । जसरी सरकारले बढाउने कर र व्यापारीले बढाउने महङ्गीको भार जनतामाथि पर्छ त्यसै गरी भुँडीको भार खुट्टामाथि पर्छ । अर्थात् भुँडीरूपी शासकको हण्डी रित्तिनासाथ श्रमजीवी हातखुट्टाहरू शिथिल हुन्छन्, लल्याकलुलुक पर्छन् र आफैँ चल्न सक्दैनन् । अनि त आफैलाई तन्दुरुस्त राख्न पनि बिचराहरू उही दलाल सामन्त जिब्रो र महासामन्त भुँडीको सेवामा तम्तयार हुन्छन् राणाकालीन चाकरहरू र गणतन्त्रकालीन हनुमानहरूझैँ । हेर त विवशता श्रमिकको !
कुरोको खास चुरो के हो भने मजदुर र किसानहरूले आफ्नै अस्तित्वरक्षाका लागि पनि दलालवाद र सामन्तवादको सेवा गर्नैपर्ने रहेछ । यस जिब्रालाई दक्षिणा (कमिसन वा घुस) दिँदै महाप्रभु भुँडीलाई रुचि र तृप्तिअनुसारको प्रसादको सम्प्रेषण नगर्ने हो भने यी हातखुट्टा आफैँ थङ्लिन्छन् । तर मृत्युको भयलाई त्यागेर जिब्रो र भुँडीविरुद्ध विद्रोह गरे भने जिब्रो पानीविनाको माछो हुन्छ भने भुँडीले पनि ‘कुइँ कुइँ’ गर्दै हातखुट्टालाई गुहार्नुपर्ने हुन्छ । तर यी हातखुट्टा ती हात्ती वा साँढे हुन् जसलाई आत्मशक्तिको अनुमानै छैन । त्यसैले त जोतिएका जोतियै छन् अनादिकालदेखि अनन्तकालसम्म । रह्यो जिब्राको कुरो । यसको त जातै जमदार भनेझैँ सधैको दलाल थियो, दलाल छ र दलाल नै रहने छ ।
०००
रूपन्देही









































हल्दी लगे न फिटकिरी रङ चोखा ही चोखा