साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँको पिरलो

चाहिने जति मासु पसलबाट किनेर खाऔँ भन्दा छोराको बेइज्जति हुने भयो, मासु कुहाएर फालेपछि चाहिं छोराको इज्जत रह्यो ।

Nepal Telecom ad

पदम भण्डारी :

असत्यमाथि सत्यको विजय भएको उत्सवको रूपमा मनाइने महान चाड दशैँ फेरि हाम्रो घर आँगनमा आइपुगेको छ, समाजमा जहिले पनि सत्य र असत्यको वीच द्वन्द भइरहने हुनाले विजयादशमी हाम्रो घरआँगनमा दोहरिने गर्छ, खै कसरी टार्ने हो यो दशैँको खर्च ?

चाड भनेपछि खसी काट्नै पर्यो, नयाँ लुगा फेर्नै पर्यो, मीठो खानै पर्यो, घर छोडेर हिंडेको पनि धेरै भइसक्यो, दशैँ भनेर घर गएको बेलामा पनि छोराछोरीको रहरमा कति बन्देज लगाउने, मनलाई धेरै बाँध्यो भने लोभी पापी ठहर्छ, खै कसरी टार्ने हो यो दशैँको खर्च ? नेता बनेर भुसुक्कै कमाउन पनि सकिएन, यथार्थतालाई सिंगारेर वास्तविकता प्रति बेइमान बन्नु पनि भएन । कहिलेकहिं आफ्नो अवस्था सोंच्दा गाँसमा ढुङ्गा लागे जस्तै हुन्छ । प्रतियोगिता नभए पनि प्रतियोगिता गर्न वाध्य हुनुपर्छ, खै कसरी टार्ने हो यो दशैंको खर्च ? अरूले कुरा काट्छन् कि भन्ने डरले घरमा आगो लगाए खरानीको के दु:ख भने जस्तै गर्ने विचार छैन । आफ्नो क्षमता अनुसार खुसी मनले कम खर्चमै दशैँ मान्ने विचार छ, खै कसरी टार्ने हो यो दशैंको खर्च ?

हुन त दशैँ भन्ने कुरा सिनेमा जस्तो चल्ने वा फ्लप हुने विषय हैन, तापनि अन्तिम घडीमा आएर यसपल्टको दशैँ साह्रै फ्लप भयो । चालिस वर्ष अघि छोडेको गाउँ धम्पुसकी तन्खरे भाउजु यस वर्षको दशैँकी चरित्र अभिनेत्री बनिन् । स्वर्ग जाने टिकट काटेकिले उनको बाटो खोलियो । यसपालीको दशैँको टिको रोकियो ।

बुढापाकाहरूको डायलग सन्तानले डाँडाकाँडा ढाकुन्, अहिलेको पर्सो आघौंको निम्तो, ‘आयु द्रोणसुते श्रीयं दशरथे शत्रु क्षयं राघवे, ऐश्वर्य नहुषे गतिश्च पवने मानंच दुर्योधने’ कुनै पनि डायलग सुन्न पाईएन । तन्खरे भाउजुले स्वर्ग जाने टिकट काटेकिले टीका लगाउन र डायलग सुन्न नपाईएको हो । टीका लगाउन र डायलग सुन्न पाइएन भन्ने मात्र त हो नि । आफूलाई त बिजुली पानी नभई नहुने, त्यो कहिल्यै रोकिएन । बिजुली पानी त रोकिएन भने अरू चिज रोकिने कुरै भएन । दशैँका पात्रहरू खसी, बोका, कुखुरा र रकमको रिहर्सल पनि रोकिएन । उता तन्खरे भाउजुको जिभ्रो टोकियो, यता हाम्रो दशैं रोकियो । हुन त दशैं भन्ने कुरा सबैको एकैनाशको हुँदैन । एकै व्यक्तिको दशैँ पनि वर्षै पिच्छे फरक फरक हुन्छ । कसैको दशैँ जंगलमा सकियो, कसैको दशैँ ठीकै ठीकै भयो, कसैको दशैँ भव्य भयो । चिन्नु न जान्नु, कहाँ हो धम्पुस, को हुन् तन्खरे भाउजु, हामीलाई के को मतलव ? एकातिर श्रीमती झोंक्किई, अर्कातिर छोरो झोंक्कियो, यसपालीको दशैँको टिको रोकियो ।

दुई चार पैसा बँच्छ कि भनेर जागीर गर्ने निहुँमा दु:ख कष्ट दुर्गम केहि नभनि नेपालको अति विकट जिल्लाहरू पनि चाहारियो । पोहोर सालको दशैँपछि त घरमा त्यति ठूलो रकम खर्चिनु पर्ने अवस्था पनि आएन, रोटो, पिठो, ढिंडो त दुर्गमको जागीरले भरथेग गरिहाल्यो, दुर्गममा जाँड रक्सीमा अलिअलि खर्च हुने बाहेक अरू चिजमा त्यति खर्च पनि नहुने, त्यसैले महिनाको बँचेको तलब, दशैं खर्च, बिदाको रकम र अरू काट्टकुट्ट गरि दुई चार पैसा अफिसबाट झारियो, त्यस माथि थप तन्खरे भाउजुका कारणले यस पालीको दशैं त गजबले टारियो । चिन्नु न जान्नु, कहाँ हो धम्पुस, को हुन् तन्खरे भाउजू, हामीलाई के को मतलव भनेर केटाकेटी साह्रै निराश हुन थाले । चाडबाडको रमाइलो हामीलाई भन्दा पनि केटाकेटीहरूलाई हुन्छ, त्यसैले चाडको निहुँ पारेर छोराहरूलाई साइकल किनिदिएँ । छोरीलाई त छोरी भएर उत्ताउलो बनेको सुहाउँदैन भनेर थर्काई हालेँ ।

त्यति गरेर छोराछोरीहरूलाई पिंजडाको सुगा जस्तै पारियो, यस पालीको दशैं त गजवले टारियो । पहाडकी तन्खरे भाउजू मरेकीले जुठो पर्यो । बहानाहरू पनि यो साल थुप्रै बनाइयो । पाहुनाहरूलाई आफूलाई त अल्सर छ, जाउलो बाहेक केहि खान हुन्न, कुन्नी किन हो घरका जहानले पनि माछा, मासु त्यति रूचाउँदैनन् भनेर ढाँटियो । जुठो परेको बेला माछा मासु खान हुँदैन भन्ने बहाना पनि थपियो । घरमा आउने पाहुनाहरूलाई पनि यसपाली त मुर्खै बनाइयो । दशैँ भन्यो, कच्याङ्कुचुङ् खायो, बिसन्चो मात्रै हुने, यसपाली त दाल भात मात्रै पो बनाएका छन् त जहानले पनि, अलिअलि भने पनि यसो खाए झैं गर्नुपर्ला भन्दा खेरी कच्याङ्कुचुङ्ले नै पेट भरिएको छ, भो भै हाल्यो भनि हाल्छन्, यसरी पाहुनाहरूका लागि हुने खर्च पर सारियो, यस पालीको दशैँ त गजवले टारियो ।

नचाहिंदो खर्च गरेर ठूलो मान्छे भईन्न । सादा जीवन बिताउनु नै ठूलो कुरा हो, अरूले के भन्लान भन्नेतिर लागिएन, अरूसँग तुलना पनि गरिएन । मनाउनै परेको भए पनि आफ्नो गच्छे अनुसार खुसी मनले दशैँ मनाइन्थ्यो त्यो पनि परेन । आफ्नो कमाई अनुसार घाँटी हेरी हाड निलियो । सबैभन्दा ठूलो कुरा चाडबाडका नाममा ऋण लाएन, जितिए पनि जितियो, हारिए पनि हारियो, यस पालीको दशैँ त गजवले टारियो ।

यसपाली वर्षौं अघिको दशैँको झझल्को आयो । दशैं मुखमा आइपुगेको बेला मैले बुढीसँग सरसल्लाह गरेको थिएँ- ‘घरमा खसी ससीको झन्झट नगर्ने है बसन्ती । आखिर गाउँमा बा आमा भएको ठाउँमा टीका लगाउन जान परिहाल्छ । यहाँ मासु पसल नजिकै छ, जति चाहियो, त्यति ल्याउँदै खाँदै गर्ने नि हुँदैन र ? मासु पनि ताजा खान पाइने, पैसा पनि एकमुष्ट लगानी गर्नु नपर्ने ।’

हाम्रो सरसल्लाह नटुङ्गिदै छोरो आएर बीचैमा बोल्यो – ‘बुबाले कस्तो नमिल्ने कुरा गर्नु हुन्छ । हाम्रो स्कुलमा साथीहरूले तेरो घरमा खसी काटे भनेर सोध्छन्, काटेनौं भन्दा साथीहरूको अगाडि हाम्रो बेइज्जत हुँदैन ? हेर्नु है बुबा ! खसी त जसरी पनि काट्नुपर्छ । मम्मी ! हजुरले पनि सम्झाउनु है बुबालाई, खसी त नकाटि हुँदैन ।’

बसन्तीले भनिन् – ‘वर्ष दिनमा एकपटक आउने दशैँ, केटाकेटीको रहर पनि त पुरा गरि दिनु पर्यो नि । जे भए पनि एउटा सानो तिनो खसी घरैमा काटौं न त !’

छोरो फेरि कस्सियो- ‘मम्मी पनि नचाहिंदो कुरा गर्नु हुन्छ । सानो खसी काटेर हुन्छ कि क्या हो ? ठूलै खसी ढाल्नु पर्यो नि ।’

श्रीमतीको पनि त्यहि आग्रह भयो । शहर बजारमा बसेको हाम्रो चारजनाको परिवारमा एउटा ठूलै खसी ढालियो । हामी दुईजना बुढाबुढी र दुईजना सानासाना बच्चाहरुले कति पो मासु खान सक्थे र ? नवमीको दिन बाँकी रहेको मासु फ्रिजमा राखेर हामीहरू स-परिवारै गाउँतिर लाग्यौँ । दशमीको दिन गाउँमै बित्यो । भोलिपल्ट एकादशी भयो, मासु खाने कुरै भएन । द्वादशीको दिन सम्ममा फ्रिजमा बिजुली सप्लाई काटिएर राखेको मासु गन्हाई सकेको हुनाले सबै कुकुरलाई दिइयो ।

छोराले स्कुलमा गएर आफ्ना साथीहरूसंग गफ चुटेछ- ‘हाम्रो घरमा त दशैँमा मासु धेरै भएर कुहिएर कुकुरलाई दिइयो यार ।’ चाहिने जति मासु पसलबाट किनेर खाऔँ भन्दा छोराको बेइज्जति हुने भयो, मासु कुहाएर फालेपछि चाहिं छोराको इज्जत रह्यो ।

हामी बुढाबुढी दशैँको परिभाषा र महत्व बुझ्न खोज्दै थियौं, बुझिरहेका थिएनौं । यसपल्ट पैंतिस वर्ष अघि छोडेको गाउँ धम्पुसकी तन्खरे भाउजू धन्यवादकी पात्र भइन् । दशैँ त सरल भयो, तर दशैँको निहुँमा आफन्तहरूसँग भेटघाट भएन । दशैँको लगत्तै म आफ्नो काममा फर्किएँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x