कृष्ण प्रधानपैह्रो
विद्यार्थी अनुहारभरि हर्ष बोकेर एकै श्वासमा बोल्यो, सर...सर...यसपाली गाउँमा पैह्रो गएर मेरी प्रेमिकाको घर माथ्लो डाँड़ादेखि सोहोरेर ल्याएर मेरै घरको छेउमा ल्याइदिएको छ सर।

कृष्ण प्रधान :
मुसधारे भनौं वा हात्तीसूँढ़े भनौं वा हाँड़ीघोप्टे पानी भनों। यसपाली पानी परेर बिल्लीबाँठ पाऱ्यो। कति गाउँ-घर नै सोहोरेर लगियो। कतिको गाई-गोठ सोहोरेर लाग्यो। माथि भीड़बाट पैह्रो खसेर बाटा-घाटा बन्द भए। खोला-नाला बढ़ेर कति ठाउँको बड़े बड़े साँघु गार्लाम गुर्लुम पाऱ्यो। धनजनको हानी भयो। कतिको ज्यान गुम्यो। चारैतिर भयावह परिस्थिति। पानी रोकिने नामोनिशान छैन । गाउँ बस्तीका साना-साना स्वास्थ्य केन्द्र, पाठशालाको नामनिशान राखेन पानीले। पानी परेको पऱ्यै छ। मानिसहरू आतङ्कित छन्। चारैतिर हाहाकार छ। कहिले कुन ठाउँ पैह्रोले सोहोरेर लान्छ केही ठेगान छैन।
अविराम वर्षा पछि, पैह्रो र बाढ़ीले तछनछ् पारेपछि बल्ल बल्ल पानी रोकियो। जनजीवन शान्त भए। सरकार एवम् स्वयमसेवी संस्थाका युद्धकालिन सहयोगमा गाउँ-बस्ती फेरि पुरानै स्थितिमा आउन थाल्यो। पैह्रोले सोहोरेका स्वास्थ्य केन्द्र, पाठशाला नयाँ रुपमा निर्माण भए। गाउँवासी, विरामी, विद्यार्थीहरू खुशी भए।
बल्ल बल्ल चार महिनापछि पाठशाला खोलिए। भूगोल हराइसकेका, आफन्त जन गुमाइसकेको विद्यार्थीहरू पाठशाला आउन थाले।
पाठशाला साबिक रुपमा सञ्चानल भएपछि पाठशाला निरीक्षक पाठशालामा आएर विद्यार्थीहरूलाई उनीहरूको अवस्थाबारे सोध्न थाले।
निरीक्षकले पहिलो बञ्चका विद्यार्थीलाई यसपालीको पैह्रोले तिमीलाई के कतिको असर पऱ्यो ?
रुञ्चे मुख लाएर विद्यार्थी बोल्यो, सर…यसपालीको पैह्रोले हामीलाई बिजोक पाऱ्यो सर। हाम्री बज्यूलाई सोहोरेर लग्यो। बज्यूलाई भेटन सकिएन। विद्यार्थी ग्वाँ-ग्वाँती रुन थाल्यो।
निरीक्षकले उनलाई अँगालोमा राखे।
त्यसरी नै प्रत्येक विद्यार्थीले यसपालीको पैह्रोले कन्तबिजोग पारेका कथा सुनाए। कति रुनुसम्म रोए।
श्रेणी कोठाका जम्मै विद्यार्थीहरू शोकग्रस्त थिए। चिन्ति थिए, आतङ्कित थिए। तर अन्तिम बेञ्चका एकजना विद्यार्थी निकै खुसी देखिन्थ्यो। उसको अनुहारमा विशाद शोकको कुनै मानचित्र देखिएन।
पाठशाला निरीक्षकले त्यो अन्तिम बेञ्चका विद्यार्थीको अनुहारको हर्षित भूगोल देखे पछि सोधे, अच्छा सबै तिम्रा सहपाठीहरू चिन्तित छन्, शोकग्रस्त छन्। तर तिमीलाई भने पैह्रोले कुनै असर परेको देखिनँ तिम्रो अनुहारमा मैले। लु तिमी भने, यसपालीको यो पैह्रोले तिमीलाई केही भएन ?
खुसी उफ्रिँदै विद्यार्थी बोल्यो- सर यसपाली हाम्रो गाउँमा पैह्रो गएर अरुलाई चाहिँ कुनि मलाई चाहिँ नाफै नाफा भएको छ।
उपस्थित प्रधान अध्यापक, शिक्षक अनि पाठशाला निरीक्षक छक्क परे अन्तिम बेञ्चको विद्यार्थीको कुरा सुनेर।
गम्भीर मुद्रामा पाठशाला निरीक्षक बोले, तिम्रा सहपाठीहरूको यसपालीको पैह्रोले बिल्लीबाँठ पारेको कुरा सुनेर म दुःखित छु। तर तिमीलाई चाहिँ यसपालीको गाउँमा आएको पैह्रोले चाहिँ के नाफा गऱ्यो? लु सविस्तार बताऊ ता बाबु।
खुसी हुँदै विद्यार्थी बोल्यो, सर…सर…मलाई चाहिँ यसपाली गाउँमा गएको पैह्रो सबभन्दा फायदा भएको छ।
विद्यार्थीको कुरा सुने सबै बिलखबन्द परे। प्रधान अध्यापकले तुरुन्तै सोधे, लु भन् भन् तँलाई यसपाली गाउँमा गएको पैह्रोले के चाहिँ त्यस्तो नाफै नाफा गऱ्यो र तँ खुसी छस् ?
विद्यार्थी अनुहारभरि हर्ष बोकेर एकै श्वासमा बोल्यो, सर…सर…यसपाली गाउँमा पैह्रो गएर मेरी प्रेमिकाको घर माथ्लो डाँड़ादेखि सोहोरेर ल्याएर मेरै घरको छेउमा ल्याइदिएको छ सर। अब उसको उसलाई म्यासेज गर्नु पनि पर्दैन, कल गरिरहनु पनि पर्दैन, रातभरि च्याटिङ गर्नु पनि पर्दैन, अनि सर…सर…डेटिङमा जानु पनि पर्दैन।
झ्यालबाट टाउको निकाल्यो कि उसको बेड रुम देखिहाल्ने भएको छ।
विद्यार्थीको कुरा सुनेर सबै बिलखबन्द परे।
विद्यार्थीको अनुहारको भूगोलभरि खुसी तैँछाड़्-मैँछाड़ गरिरहेको थियो।
०००
सिलगढी, भारत
Subscribe
Login
0 Comments
Oldest








































