साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँलाई धोएर गाई बनाउन सकिनँ जेठा !

रङ्गमञ्चमा भेडा हुन् कि बाख्रा, छुट्याउनु गाह्रो हुन्छ भेडो भेडासँगै बाख्रो बाख्रासँगै हुन्छ, च्याङ्ग्रामा राखे पनि । गधालाई गधा नै हुन दिनु बेस, गधा धोएर गाई बन्दैन सुध्रिएन दुई तिहाईको बोरामा राखे पनि, भाङ्ग्रामा राखे पनि ।

Nepal Telecom ad

पदम भण्डारी :

नेपालीमा एउटा उखान छ जेठा– “गधालाई धोएर गाई बनाउन सकिन्न ।”  अहिले त्यहि उक्ति सम्झिइरहेको छु जेठा । जेठा ! हुन त तँ गधासंग तुलना गर्न पनि लायक जनावर होइनस्, किनकि तँ न गधा जस्तै ईमान्दार छस्, न मेहनती छस्, न भारी बोक्न सक्ने क्षमताको छस्, तैपनि तेरो आफ्नो विशेषता र प्रतिभालाई अनुसार आफ्नै ढङ्गले चम्किरहेको छस् । त्यसैले तँलाई गधासँग तुलना गरेको ।

नेपाली समाजमा उखानहरुको विशेष स्थान छ । यी उखानहरुले समाजमा गहिरो प्रभाव पारेका छन् । त्यसले राजनीतिमा पनि आफनो स्थान ओगटेको छ । रानीतिज्ञहरु, तिनका झोलेझाम्टेहरुको मनोभाव र राजनीतिक नेतृत्वप्रतिको निराशालाई अभिव्यक्ति दिन्छन् ।

हुन त माइलो भाइले एक वर्षअघि झापाको बिर्तामोडमा सार्वजनिक रुपमै यो भनाइलाई जेठोमाथि लक्षित गरेकै थियो, तब त्यो केवल व्यक्तिगत टिप्पणी मात्र रहेन; यसले जेठाको मात्र नभई सम्पूर्ण आन्तरिक र बाह्य चरित्रमाथि नै गम्भीर प्रश्न उठाएक छ ।

माइलाले भनेको थियो – जेठालाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै हो । यस भनाइको अन्तर्य गहिरो छ। यसले स्पष्ट पार्छ कि केवल सत्ताको परिवर्तन, बाह्य सुधारको नाटक, वा नीतिगत घोषणापत्रको रंगले कुनै व्यक्ति वा पार्टीको मौलिक स्वभावलाई बदल्न सक्दैन । जेठो जुन राजनीतिमा छ त्यसको संरचनागत समस्या, जेठाको अडानवादी नेतृत्व शैली र कार्यकर्ताको दास मनोवृत्तिवीचको सम्बन्धलाई यो उखानले कसरी न्याय गर्छ ? यो लेखमा त्यसैको वृहत् विश्लेषण प्रस्तुत गरिएक छ ।

माइलाले बारम्बार जेठालाई विश्वासघात र अनैतिकताको आरोप लगाउँदै आएको थियो । माइलाले यो टिप्पणी गर्नुको पछाडि दुईवटा स्पष्ट पृष्ठभूमि थिए । पहिलो, संविधान च्यात्ने प्रयास: माईलाको मुख्य गुनासो थियो— दुईतिहाइको बलियो सरकारको नेतृत्व गर्दा पनि जेठाले संविधान च्यात्न खोज्यो । उसले पटकपटक गरेको संसद विघटनको प्रयासलाई माइलाले लोकतान्त्रिक मूल्य र संस्थागत इमानदारी विरुद्धको अपराध मान्यो । उसको नजरमा, संविधानमाथिको यो प्रहार जेठाको आधारभूत अनैतिक र गैरजिम्मेवार चरित्रको उपज थियो, जुन कुनै पनि सत्ता, समर्थन वा गठबन्धनले सुधार गर्न सक्दैनथ्यो ।

माइलाले जेठालाई एक वर्ष अघि नै बेइमान र भ्रष्टहरुको संरक्षकको उपमा दिएका थियो । ठूला भ्रष्टाचार काण्डहरु जस्तै: यती होल्डिङ्स, ओम्नी, आदि माथि उठेका प्रश्न र सरकारले त्यसलाई दिएको संरक्षणले यो भनाइलाई बल पुर्याएको थियो । माइलाको विश्लेषण थियो – “जसरी गधालाई जति धोए पनि त्यसको मूल स्वभाव वा उपयोगिता गाईको जस्तो हुन सक्दैन, त्यसरी नै जेठालाई जति पटक सत्ताको ‘पानी’ले धोए पनि उसको व्यक्तिवादी सत्तामोह र भ्रष्ट मानसिकता परिवर्तन हुन सक्दैन ।

यो भनाइले जेठाको नेतृत्वको वैचारिक स्खलन र राजनीतिक अवसरवादलाई मात्र होइन, पार्टीको सामूहिक विवेकमाथि पनि प्रश्न उठाएको थियो । के जेठो साँच्चै सुध्रिएको हो, वा केवल सत्ताको बाह्य आवरण बदलेको मात्र हो ? जेठालाई सधैं यो प्रश्नले पछ्याईरहेको थियो ।

जेठाको राजनीतिक शैलीमा उच्च अहंकार र असंयमित अभिव्यक्ति को मिश्रण पाइन्छ। उसले सत्ता सञ्चालनलाई ‘ख्यालठट्टा’ (जोक) र उखानबाजीको प्रदर्शनी बनाएको थियो । उसले प्रयोग गरेका ‘छुद्र टिप्पणीहरु’ ले सार्वजनिक विमर्शलाई पटक-पटक निम्न स्तरमा झारेको देखिन्छ । जेठाले जनमतद्वारा स्थापित संसदलाई पटक-पटक खेलौना ठान्यो । ‘हामी सरकार चलाउने भयौँ, हामी यस्तै त हो नि ब्रो’ भन्नेजस्ता भनाइहरु र फागुन २१ (२०८२) सम्म कुर्ने हिम्मत नभएको घोषणाले उसलाई मुठभेडको राजनीतिमा रमाउने नेताको रुपमा चित्रित गर्यो । लोकतन्त्रमा विश्वास गर्ने नेताले ‘मुठभेड’ लाई समाधानको बाटो देख्दैन, तर जेठाले सत्ता गुमेपछि डेराबाट आफ्ना झोलेहरुलाई “यो सरकारसँग लड्नुपर्छ” भन्ने उसको अभि व्यक्तिले उसको आधारभूत चरित्रलाई उजागर गर्छ ।

‘पहिरोले यहाँ आउँछु भनेर आएको होइन’ भन्नेजस्ता टिप्पणी, जनतालाई ‘बोटबाट झरेको आँप’ भन्ने अभिव्यक्ति, र कोरोना महामारी का बेला लसुन टिमुर र तुलसीको पात खानु, सीं गरेर कोरोना भाइरस उडाइदिनु भन्ने हलुका टिप्पणीले जेठाको संवेदनहीनतालाई सतहमा ल्यायो । एक जिम्मेवार अभिभावकको सट्टा उसले आफूलाई व्यङ्ग्यकार र हास्य कलाकार को रुपमा प्रस्तुत गर्यो, जसले गर्दा जनताका जनजीविकाका सवालहरु ओझेलमा परे ।

जेठाले यो हा हुमा बनेको सरकार म मान्छु र ! प्रधानमन्त्रीसँग ‘म डराउँछु र ?’ भन्नेजस्ता भनाइ र सरकारले बनाएको आयोगलाई अस्वीकार गर्ने घोषणाले जेठाको नेतृत्वमा राज्यका संस्थाहरुको सम्मान गर्ने संस्कार छैन भन्ने सन्देश दिएको छ उसको लागि राजनीति भनेको संस्थागत नियम र मूल्यहरुको पालना भन्दा पनि व्यक्तिगत शक्ति प्रदर्शनको माध्यम हो ।

यी सबै अभिव्यक्ति र व्यवहारहरुले यो निष्कर्षलाई पुष्टि गर्छन् कि जेठाले आफ्नो गधाको जस्तो मौलिक स्वभाव परिवर्तन नगरि केवल बाह्य सत्ता वा शक्ति (गाईको आवरण) धारण गर्न खोजेको देखिएको छ यसले जेठाको रुप झन् विद्रुप देखिएको छ ।

जेठाको नेतृत्व शैलीलाई पार्टीभित्र संगठनात्मक संरचना र आन्तरिक संस्कृतिले मलजल गरेको छ । पार्टीभित्र विचार बर्जित र आत्मसमीक्षा शून्य हुनुले ‘गधालाई गाई बनाउन नसक्नु’ को संगठनात्मक पक्षलाई प्रष्ट पार्छ । जेठाले विधान महाधिवेशनको नाममा आफ्ना झोले झाम्टेहरुलाई बटुल्यो, मासु भात खुवायो र आफूलाई पार्टीको ‘अजम्बरी कार्यकारी’ बनाउने प्रस्ताव पास गरायो । यसको तरिका विगतको नारायणी किनारको पदाधिकारी घोषणाभन्दा फरक थिएन, गोजीबाट निकालेर सुनाउने, छलफल नगर्ने । यो कार्यले जेठाको लोकतान्त्रिक विमर्शको ठाउँ दास मनोवृत्तिले लिएको देखाउँछ । विधान महाधिवेशन, जुन पार्टीको वैचारिक आत्मालाई बलियो बनाउने थलो हुनुपर्थ्यो, त्यो जेठाको व्यक्तिगत शक्ति पुष्टि गर्ने मञ्च बन्यो।

जेठाले आफूपछिको पुस्ता नेता होइन, सेक्युरिटी फोर्सका दस्ता बनायो । जेठाले आफ्नो वरिपरि नेता जन्माउन सकेन । उसले सिर्जना गरेको वातावरणमा अँध्यारोमा गस्ती गर्ने, घरको गोलचक्कर लाउने र गुण्डा शैलीमा बोल्ने मानिसहरुको जमात हुर्कियो, जसलाई नेता भन्दा बढी ‘सेक्युरिटी फोर्सका दस्ता’ वा ‘गुलामी गर्ने’ झोलेहरुको संज्ञा दिन सकिन्छ । यस्ता कार्यकर्ताले जेठालाई दशरथ रङ्गशालामा ‘जेठा बा ! आई लभ यु !’ भन्दै हाई-हाई गरे पनि, उनीहरुको वास्तविक योगदान पार्टीको वैचारिक र संगठनात्मक मजबुतीकरणमा नभई व्यक्तिगत चाकडी र दलालीमा मात्र सीमित रह्यो ।

जबसम्म जेठाले आफूबाहेक अरु कसैलाई स्वीकार्न सक्दैन, तबसम्म पार्टीमा विचार र सिद्धान्तमा आधारित नेतृत्वको विकास हुन सक्दैन । जेठाले आफ्ना वीचारहरुलाई फरक मत राख्ने सहपाठीहरुलाई घुमाउरो भाषामा ‘धम्की’ दिएर कोपभाजनमा पार्यो, व्यक्तिगत विरोधको ठाउँ नै मेटाई दियो । यो संस्कार बढ्दै गयाे र समस्या विचारको नभई नेतृत्व स्वीकार गर्ने संस्कृतिको बन्यो । यो ‘गधा’ को स्वभाव हो— आफ्नो बाटो वा अडानबाहेक अन्य विचारलाई निषेध गर्ने ।

जेठाको राजनीतिक ग्राफको सबैभन्दा ठूलो विरोधाभास वि.सं. २०७७ सालको चैत्र महिना (दशरथ रङ्गशाला) र २०८२ भाद्र महिना (जेन-जी आन्दोलन) वीचको दूरी हो । वि.सं. २०७७ चैत्रमा दशरथ रङ्गशालामा खेलाडी र दर्शकले ‘जेठा बा !, वी लभ यु’ को नारा लगाउँदा जेठाको क्रेज उत्कर्षमा थियो । त्यो बेलाको हाई-हाई, युवाहरुको उत्साह र समर्थनले जेठालाई शक्तिको शिखरमा पुर्याएको थियो । वि.सं. २०८२ भाद्रमा जेन-जी आन्दोलनको क्रममा देश बालुवाटार र सिंहदरबार हल्लाउँदै गर्दा, जेठा भने शक्तिशाली प्रधानमन्त्री क्वार्टरबाट हेलिकप्टरमा चढेर सुरक्षित ठाउँमा लखेटिनु पर्यो। हप्ता दिन सेनाको सुरक्षा घेरामा लुक्नुपर्यो । यो नै ‘आई लभ यु’ भन्ने युवा पुस्ताले ‘अब अति भयो, मार्गप्रशस्त गर्दिनुस्’ भनेको जनताको फैसला थियो ।

जग हल्लियो, तर जेठा हल्लिएनन्, जेन-जी आन्दोलनले भ्रष्टाचार, बेथिति र राजनीतिक अस्थिरताको जग हल्लाइदियो। तर, जेठाले डेराबाट पनि ‘यो सरकारसँग लड्नुपर्छ’ भन्ने सन्देश दिनुले उसमा आत्मसमीक्षा वा गल्ती स्वीकार गर्ने विनम्रताको अभाव देखायो । यसले उखानलाई दोहोर्यायो— बाह्य परिस्थिति जतिसुकै परिवर्तन भए पनि (सत्ता गुमे पनि), मौलिक चरित्र (अडान र मुठभेडको मनोविज्ञान) परिवर्तन भएन । जेठाको नेतृत्वमा आउने उतारचढावले स्वाभाविक रुपमा नेताको लोकप्रियता घटाउँछ, तर जेठाको हकमा, उ सत्ताको अंकगणितले भन्दा पनि आफ्नै असंवैधानिक र संवेदनहीन कामकारबाहीले पछारिएकाे हो ।

स्थायी परिवर्तनको लागि ‘आवरण’ होइन, ‘आत्मा’ परिवर्तन आवश्यक छ । “गधालाई धोएर गाई बनाउन सकिन्न” भन्ने उखान जेठाको सन्दर्भमा यो निष्कर्षलाई बल दिन्छ:
जेठाले जतिसुकै राष्ट्रियताको नारा, विकासको भाषण वा महाधिवेशनको आकर्षक नारा दिए पनि, आन्तरिक निर्णय प्रक्रियामा पारदर्शिता, आन्तरिक लोकतन्त्र र वैचारिक विमर्शलाई ठाउँ नदिँदासम्म पार्टीको मूल चरित्र व्यक्तिगत शक्ति र चाकडीमा आधारित नै रहन्छ । बाह्य ‘सुधार’ केवल ‘धोएको गधा’ जस्तै हो, जसको मौलिक स्वभाव परिवर्तन भएको छैन ।

मैले आजभन्दा दुई वर्षअघि नै गधालाई गधा नै हुन दिनु बेस भनेको थिएँ । मैले भनेको थिएँ-

कुकुरको पुच्छर सिधा हुन्न, बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि
सजाय कमै हुन्छ भ्रष्टाचारीलाई, आगोको भुङ्ग्रामा राखे पनि ।१।

बज्रिएका लाठी मुङ्ग्रा झिरहरू, बर्साएका गालीहरू
अपुरै हुन्छ शूलीमा चढाए पनि, मुङ्ग्रामा राखे पनि ।२।

गाली गरेरै भूत पिचाश जगाउँछु, भनेर लागिरहेछ ऊ
झाँक्रीलाई फरक पर्दैन ढोलमा वा, ढ्याङ्ग्रामा राखे पनि ।३।

रङ्गमञ्चमा भेडा हुन् कि बाख्रा, छुट्याउनु गाह्रो हुन्छ
भेडो भेडासँगै बाख्रो बाख्रासँगै हुन्छ, च्याङ्ग्रामा राखे पनि ।४।

गधालाई गधा नै हुन दिनु बेस, गधा धोएर गाई बन्दैन
सुध्रिएन दुई तिहाईको बोरामा राखे पनि, भाङ्ग्रामा राखे पनि ।५।

जेठा ! जनता र इमान्दार कार्यकर्ताले निषेध गर्न खोजेको जेठा र उसको दस्तालाई हो । जेन-जी आन्दोलनले देखाएको बाटो यही हो, लोकतन्त्र, संविधान र पार्टीको भलो चाहने हो भने, जेठाले अब सम्मानजनक बहिर्गमन रोज्नुपर्छ र पार्टीलाई जनताको मुद्दा र आन्तरिक लोकतन्त्र मा फर्काउनुपर्छ । जेठाले राजनीति र सत्ता सञ्चालनलाई ‘ख्यालठट्टा’ ठानेको आरोपको जवाफ अब उसले अभिभावक बनेर दिनुपर्छ । थप मुठभेड र अस्थिरतालाई लल्कार्नुको सट्टा, सहकार्य र शान्तिमा जोड दिँदै नयाँ पुस्ताको तयारीका लागि छोडिदिनुपर्छ । यदि जेठाले साँच्चिकै जनताको भरोसा जित्ने हो भने, उसले आफ्नो बाह्य आवरण (सत्ताको लोभ) मा होइन, संगठनात्मक आत्मा र नेतृत्वको मूल्यमा स्थायी परिवर्तन ल्याउनै पर्छ । अन्यथा, यो उखान नेपालको राजनीतिक इतिहासमा जेठाको स्थायी चरित्रको प्रतीक बनिरहनेछ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x