रमेश समर्थनसाइकलको सवारी
एक छिनपछि भने ती महिलाहरूका हातमा चप्पल, अर्का सज्जनको हातमा मेरो कुर्ताको कठालो अनि म यमदूत र दूतिकाहरूका बिचमा फँसेको निरीह प्राणी । ती सज्जन कुर्लिँदै थिए, ‘ए… यो त मेरो साइकल हो ।

रमेश समर्थन :
जब मलाई हुँदोखाँदो घरदैलाको स्कुलबाट दुई कोस परको स्कुलमा सरुवा गरियो तब एउटा सवारी साधन मेरा निम्ति नभई नहुने भयो । सधैँ घण्टी लागेपछि मात्र स्कुल जाने र कक्षामा पनि विद्यार्थीहरूलाई ‘पढ् रे पढ्’ भने खुट्टा विद्यार्थीले किताबकपी राख्ने डेस्कमाथि तेर्स्याएर शरीरलाई कुर्सीमा लमतन्न पारी सधैँ स्वप्नसमाधिमा लीन हुने अनि विद्यार्थीले ‘मास्टरसाहेब ! पाँच मिनेट ।’ भन्दा आँखा उघार्न समेत अल्छी मानी इसाराले ‘मुनिबाट जा ।’ भन्ने शाही बानी परेको मलाई सरुवा गरिएको थिएन कि कालापानीको सजाय तोकिएको थियो । एक त कुभिन्डे जिउ, उसमाथि बसुवा बानीले गर्दा गाग्रे पेट । म यस भकुन्डे शरीरलाई गुडाउँदै त्यति टाढाको स्कुलको गोलपोस्टसम्म पुर्याउन नसक्ने भएँ र विचार गरेँ, एउटा सवारी साधन त चाहिन्छ नै ।
चाहिन त चाहिन्छ, तर के चाहिँदैमा पाइन्छ र ? फेरि लिनु पनि के ? प्रश्नको तगारो ठुलै तेर्सियो । ज्यानलाई बल नपर्ने मोटरसाइकलै किनूँ न त भने म जाबो प्राइमरीको मास्टरले त्यो ताक्नु भनेको हुटिट्याउँले सगर थाम्न खोज्नुजस्तै हो । तलब हात नपर्दै तुरिन्छ । जहानका मुखमा माड लाउन फेरि महिनाभरि महाजनको उधारो खाता । एक्लो ज्यान मात्र भए त ऐरिन तैरिन बुढी भैँसी किन् भन्न हुन्थ्यो नाइँ ! तर आफू परियो अरू काममा अल्छी भए पनि सन्तानोत्पादन उद्योग सञ्चालन गर्ने काममा पुरुषार्थ देखाउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे । वेला वेलामा ढोग्दा बाजेबज्यैले सन्तानले डाँडाकाँडा ढाकून् भन्ने गर्नुहुन्थ्यो भने दशैँमा टीका लगाइदिँदा पनि अन्य कुराहरूसँगै ‘सन्तानवृद्धि सततम्’ पनि भन्नुहुन्थ्यो । देवीले अन्य कुरा त सुनिनन् तर यो कुरो भने पुर्याएकी छन् ।
त्यसो त नयाँ जमानामा चलाइएको परिवार नियोजनको सहयोगका लागि मैले धन्यवाद दिनैपर्छ किनभने अरू लाटासोझा जति लागे परिवार नियोजनका स्थायी अस्थायी साधन प्रयोग गरी थोरै सन्तान जन्माउने मूर्खतामा र मैले यो स्वर्णिम अवसरमा फुटबलको एउटा टिमै तयार गर्न सकेँ भने पनि प्रतिष्ठा रहला भनेर भगीरथ प्रयत्न गर्दै छु । फलस्वरूप दुई कम फुटबल टोली पुगेका छोरीहरूले घर मात्र हैन, टोल छिमेकलाई समेत रमाइलो मनोरञ्जन दिइरहेका छन् रोएर, कराएर र झगडा गरेर ।
त्यसैले सोचेँ, सस्ता सुविस्ता भएको साइकलै किन नकिनूँ ? जैरे एउटा मोटरको कमी त हो नि ! एक दिन बुढीसँग साउती गरेँ, ‘ए, सुन् त । तँ के भन्छेस् ? एउटा साइकल किनूँ कि ? स्कुल पुग्न निकै धौ भयो ।’ बुढीले जवाफ दिई, ‘उसो भए एक जना डराइभर पनि खोजिराख तिमीलाई इस्कुल पुर्याउने र ल्याउने पनि । तिमीलाई चलाउन आउँदैन ।’ मैले भनेँ, ‘सिकुँला नि चलाउन त !’ बुढीले केराको छोडाउँदै गरेको बोक्रोझैँ तल्लो ओठ लेप्य्राउँदै भनी, ‘सिक्न त सिक तर यो उमेरमा हातखुट्टा भाँचेर र दाँत फुकालेर घरमा थेच्चिन आयौ भने मैले पाल्न सक्ने छैनँ नि ! अनि यी खानका कालहरूलाई के तिम्रा जिबाले पालिदिन्छन् ?’
भगवान्ले उसलाई सोझो कुरो गर्ने मुखै दिएका छैनन् भन्ने विचार गरेर मनमनै पहिले साइकल चलाउन सिक्ने निधो गरेँ । तर ‘विन गुरु ज्ञान नहीँ जगमाहिँ’ । पृथ्वीनारायण शाह भन्ने गर्थे रे ‘जत्रो उद्देश्य राखेर काम गरिन्छ त्यसका लागि त्यत्तिकै विचार र समय लगाउनुपर्छ ।’ मैले पनि सोचेँ यत्रो दामी सिप सिकाउने गुरु पनि त दामी नै चाहियो । त्यसैले मैले गुरुका रूपमा वरण गरेँ गाउँकै धनेसर रामलाई । झोलीको देउता छाडेर खोलीतिर किन धाउनु ? ऊ साइकलका ओस्तादको पनि ओस्ताद । उससँग साइकलको ताल्चा खोल्ने साँचा मात्र हुँदा हुन् दर्जनौँ । साइकल पनि थरी थरीका राख्छ । आज जनाना छ त भोलि मर्दाना छ । किन्न नपरेपछि नहोऊन् पनि किन ? त्यसैले विचार गरेँ सिक्नै परेपछि थरी थरीका साइकलमा सिक्ने र पछि पनि उसैसँग एउटा साइकल थर्ड ह्यान्डमा किन्ने । गुरु नै भइसकेपछि चेलालाई सस्तै पनि देला ।
तर प्रश्न फेरि तेर्सियो जातको । कहाँ म भनेको बाहुनको पनि उपर बाहुन उपाध्ये बाहुन र कहाँ ऊ दलितको पनि दलित चमार ! मभित्रको जातीय अभिमान दिल्लीको हनुमानझैँ अगाडि ठडियो । तर कता कता आफू प्रगतिशील भएको भ्रम नै सही ममा जागेर आयो र मनले भन्यो, ‘बाबु, पहिलो त यो जात भन्ने केही होइन । दोस्रो केही हो भने पनि ज्ञान, सुकन्या र रत्न जहाँबाट र जसबाट पनि ग्रहण गर्न हुन्छ भने शास्त्रले पनि बाटो खोलिदिएको छ ।’ त्यसैले भोलिपल्ट एकाबिहानै म हाजिर भएँ धनेसर रामकहाँ उहिले राणाका र अहिले नेताका चाकडीबाजझैँ ।
मैले उसको आँगनतिर मुख के घुमाएको थिएँ, परैबाट सिनो गनाएको सङ्केत गर्यो नाकले । सधैँ डहरबाटै हकारेर बोलाउने भए पनि आज त म स्वयम् पुगेँ किनकि ऊ मेरो सङ्कल्पित गुरु थियो र म अनुशासित छात्र थिएँ । अर्थात् ऊ ओस्ताद र म शागिर्द । अहिलेको युगको शिष्य भए भनिदिन्थेँ, ‘ए धनेसर, तँ मलाई साइकल चलाउन सिकाउँछस् कि ? के छ विचार ?’ तर आफू परियो गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परबह्म ठान्ने नैष्ठिक । अनि आधुनिक विद्यार्थीले शिक्षकलाई तर्साउन प्रयोग गर्ने रामपुरी (छुरी)कै कुरो गरूँ भने पनि उससँग सधैँ मृत जीवको छाला काढ्ने हरामपुरी तम्तयार रहने हुनाले मन्त्रजलले आफ्नो मार्ग सिञ्चन गर्दै म पसेँ उसको आँगनमा ।
‘राम ! राम ! राम !’ खाँटी बाहुनको छोराले एकाबिहानै यो के देख्नु परेको ? ‘शान्तं पापम् ! शान्तं पापम् !’ धनेसरको आँगनाँ पाँचछ महिनाको पाडो डङ्रङ्ङ लडेको र धनेसर सिरकबाट खोल झिकेझैँ उसको छाला काढिरहेको अनि पाडाको रातो जिउ वरिपरि प्रसन्नताका किलकारीहरू भर्दै नाचिरहेका उसका छोराछोरी थिए । त्यो देख्नेबित्तिकै मेरो पेट बटार्यो, नाक खुम्चियो, निधारमा गाँठो पर्यो अनि भित्रैबाट निमोठिँदै र निचोरिँदै अमिलो पानी मुखसम्म आयो र थुकथुकी लाग्यो तर गुरुको अपमान हुने गरी त्यहाँ ‘थुः थुः’ गर्नु छात्रआचारसंहिताविपरीत हुने ठानेर मैले कहिल्यै मद्यपान नगर्ने कण्ठीधारीको मुखमा अमिलो जाँड र मुसलमानको मुखमा गउँत परेझैँ मुख बनाएँ र हास्यकलाकार नारायण त्रिपाठीले झैँ मुख पारेर त्यो अमिलो पानी घुटुक्क निलिदिएँ ।
उसले एकलव्यले झैँ एकचित्त भएर छाला काढिरह्यो र मैले पनि एकाग्रतापूर्वक त्राटकी मुद्रा बनाएर उसको हरेक क्रिया र हाउभाउमा आँखा गाडिरहेँ । एकछिनपछि टाइगर टप साबुनको विज्ञापनमा नायिका पूजा चन्दले कपडा झट्कारेझैँ पाडाको छाला झट्कार्दै त्यही पाडाका जस्ता दाँत मकै भुट्ने हाँडीको पिँधभन्दा पनि कालो अनुहारभित्रबाट देखाउँदै उसले भन्यो, ‘पाउलागी पन्डिजी ! केतना काम से अइनी हँ ?’ मैले उसले छाला झट्कार्दा उछिट्टिएर आफ्ना धवल धोतीकुर्तामा परेका रगतका छिटा र पाडाका रौँतर्फ वीभत्स दृष्टि फ्याँकेँ । अरू दिन हुन्थ्यो भने मैले त्यस चमारलाई दमारतिर धपाइदिन्थेँ होला तर त्यति वेला त ऊ मेरो परब्रह्मको रूपमा मेरो हृत्सिंहासनमा विराजमान भइसकेको थियो ।
अतः ट्युसन पढ्न आएको विद्यार्थीले झैँ अलि रोबिलो र आधिकारिक स्वरमा भनेँ, ‘धनेसरा ! मलाई साइकल चलाउन सिकाइदिन्छस् कि भनेर आएको । सिकाउँछस् ?’ उसले मप्रति र मेरोे भनाइप्रति रत्तीभर विश्वास नभएझैँ गरेर मलाई हेर्यो । विश्वास होस् पनि कसरी ? आफूलाई सर्वश्रेष्ठ जात र यिनीहरूलाई नीचतम जात मानी बाटामा पनि यिनीहरूको छायाँ नपरोस् भनेर तर्केर हिँड्ने र विद्यालयमा पनि अछुतहरू भनेर प्रवेश दिन नचाहने र भइहालेछ भने पनि कक्षाकोठाबाट निस्किनासाथ धारामा गएर जिउमा पानी छर्किँदै र ‘अपवित्रः पवित्रो वा…’ गर्दै आफ्नो शुद्धीकरण गर्ने तथाकथित भूदेव मनुवा म उसको आँगनमा अभ्यर्थी भएर गएको थिएँ । एक छिन गमेर उसले भन्यो, ‘सिखा त देहम, लेकिन बनिहारी देवेके परी । आ उपर से साइकलके भाडा अलग ।’ (सिकाइ त दिम्ला तर निमेक दिनुपर्छ नि ! माथिबाट साइकलको ज्याला छुट्टै ।)
उसले पनि मौकामा चौका हान्यो । धेरै अनुनय विनय गरेपछि उसले ममाथि निगाह राखी साइकलको ज्याला त छोड्यो तर त्यो ज्याला आफ्नो निमेकमा जोड्यो र माथिबाट साइकल बिग्रेमा बनाउन लाग्ने खर्च पनि मैले नै बेहोर्नुपर्ने कबोलनामा गरायो । मतलबका लागि कोरीको पाउ मल्नुपर्छ भने मैले पनि उसका सारा सर्त मन्जुर गरेँ र त्यहीँ गोजीबाट पात्रो झिकी शुभ साइत हेरेँ । पाना पल्टाउँदै मेरो हाडखोर र उसको फलाम सहीसलामत रहने दिनको खोजी गरेँ । नक्षत्र, राशि, तिथि, वार, योग र चन्द्रमा आदिको विचार गरेर भोलिपल्ट सूर्योदयपूर्वकै मङ्गलमुहूर्त निश्चित भयो । बैना थमाएर आई कपडा खरानीपानीमा पकाएर धुन लगाएँ अनि आफूले पनि खरानी, गाईको गोबर, गहुँत, तुलसीमठको माटो आदिले नुहाएर पछि गङ्गाजलसमेत छर्की आफूलाई पवित्र पारेँ । अब साइकल सिकेर नभ्याएसम्म यो क्रम चलिरहने थियो ।
हिजो जनै नफेरेकाले र अब केही दिन जनै नफेरिने हुँदा पाञ्चायन देवतालाई पनि अनिश्चितकालीन अनशनमा बस्न लगाएर नगरी नहुने नित्यकर्म सिध्याएपछि धोतीकुर्ताको साटो पल्लाघरे कान्छाले दरभङ्गामा दरबानी गर्दा जडौरी पाएको खाकी रङको जाँगे र कमेज ट्रेनिङ युनिफर्मका रूपमा धारण गरी आँगनको डिलमा उभिएर गुरुदेव धनेसर रामको प्रतीक्षा त्यसै गरी गरिरहेँ जसरी बोर्डिङ स्कुलका नानीहरू बिहानैदेखि बसअड्डामा उभिएर बसको प्रतीक्षा गर्छन् । हिजोअस्ति मैले बलिवसुदेव गरेको अन्न खान पल्केका कौवाहरू आज मलाई अनौठो पोसाकमा देखेर किसानले खेतमा ठड्याएको बुख्याँचा ठानेर हो कि किन हो, मेरो टाउको वरिपरि नाचिरहे ‘काउकाउ’ गर्दै । म ‘सुबोल् सुबोल् , शुभकर्ममा सुबोल् ।’ भन्दै गुरुको शुभागमन हुने मार्गलाई आफ्ना परेलाको कुचाले त्यसै गरी बढारिरहेँ जसरी डेटिङका लागि डेट पाएका कुरकुरे बैंसालु तन्नेरीहरूले कोर्ली नानीको बाटो बढार्छन् ।
उता टोलका भुस्याहा कुकुरहरू पनि मलाई कुनै चोर वा उचक्का ठानेर हो कि मलाई सँुघ्दै नसुँघी टाढैबाट ‘भोँ भा’ेँ गर्दै भुक्न थाले । यो सबै मैले लगाएको तालिमे पोसाकबाट निस्केको आभाको दिव्य प्रभाव थियो । यसरी कौवाको र कुकुरको एकोहोरो ‘काउँ काउँ र भौँ भौँ’ ले छिमेकीहरूलाई पनि झ्यालमा, ढोकामा र आँगनमा ल्याएर मलाई हेर्दै मुस्कुराउन र कुरा काट्न लगाए । मानौँ म ग्रामीण म्युजियममा राखिएको परापूर्वको अद्भुत प्राणी हुँ र उनीहरू उत्सुक दर्शक र अनुसन्धाता पनि हुन् । यस्तै दृश्य थियो त्यस दिन त्यहाँको । तर मैले स्वयम्लाई आश्वासन दिएँ, ‘हरेक नौलो काम गर्नेलाई परम्परावादी समाजले पहिले त सिल्ली नै ठान्छ तर जसले दुनियाँको टिप्पणीको परवाह नगरी आफ्नो लक्ष्य ताकेर अगाडि बढ्छ त्यसकै नाम अमर हुन्छ । राइट ब्रदर्सलाई, ग्यालिलियोलाई र डार्बिनलाई पनि समाजले पहिले यस्तै नजरले हेरेको थियो । म पनि आजको राइट, ग्यालिलियो र डार्बिन नै हुँ ।’ ँ
केही बेरमै धनेसर दुईवटा साइकल डोर्याउँदै आयो । ऊ तगारोभित्र नपसोस् भन्ने उद्देश्यले म नै तगाराबाट बाहिर निस्किँदै थिएँँ भर्खर बोली फुटेकी छोरीले सोधी, ‘बा….! काँ जाने ?’ साइतको वेलामा ‘काँ ?’ भन्यो भने साइत बिग्रिन्छ भन्ने मान्यता मभित्र मेरो संस्कारझैँ बसेको हुँदा मेरो साइत बिगार्ने त्यस अलच्छिनाहीलाई लुछ्ने र जगल्ट्याउने मन त भयो तर मङ्गलको वेलामा दङ्गल नहोस् भनेर उसलाई आरनका कोइलाजस्ता आँखा देखाई अर्को पाइलो के चालेको थिएँ अर्कीले ‘हा…च्..छिऊँ….!’ गरेर टोलै थर्काइदिई । ‘यी कुजातहरूलाई कुन वेला के नगर्ने भन्ने पनि थाहा छैन । ए…! तेरा बाहानहरूलाई खोरमा हुल् न !’ भन्दै म निस्केँ । धनेसरले दुवै साइकल देखाउँदै भन्यो, ‘ई जनाना बा, आ ई मर्दाना बा । कउन में सिखम ?’ मैले आफ्ना खुट्टाको ख्याल गरेर जनाना रोजेँ । मर्दाना अलिक अग्लो पनि थियो भने ह्यान्डिल र सिटबिचको डन्डा मेरो पहिरन धोती कुर्ताका लागि असहज थियो । उसले साइकल सोझ्याउँदै भन्यो, ‘पहिले हेन्डिल पकडू ।’
मैले दुवै हातले हेन्डिल अँठ्याएँ र गर्विला नजरले चारैतिर हेरेँ तेनजिङ र हिलारीले सगरमाथाशिखरबाट चारैतिर हेरेझँै तर साइकल थियो कि जति गुडाउन खोज्दा पनि गुडेन । घिसारियो तर गुडेन । मैले लद्दु विद्यार्थीले ङिच्च परेर शिक्षकलाई हेरेझैँ कातर दृष्टिले गुरुदेव धनेसरलाई हेरेँ । उसले भर्खर सल्काएको बिडीको धुवाँयुक्त सास मेरै मुखमा पर्ने गरी फेर्यो र ठाउँठाउँमा रगतका टाटा लागेका हातले मेरा हातलाई साइकलको ह्यान्डिलमा मात्र अड्याइदियो । भएको के रहेछ भने मैले ह्यान्डिलसँगै ब्रेक पनि अँठ्याएको रहेँछु त साइकल गुडोस् कसरी ? अनि साइकल यसो के गुडेको थियो प्याडल पनि घुम्यो र त्यसले मेरो खुट्टाको तली हाडमा हिर्कायो ठाइँ…! साह्रै दुखेकाले साइकल समातेको होसै नराखी चोट लागेको ठाउँमा मुसार्न हात के पुर्याएको थिएँ साइकल त ‘ए ए’ भन्दाभन्दै मैमाथि । अघि ठोकिएको ठाउँमा त निलडाम मात्र थियो हात चेनह्विलमा पर्न गई रगतपच्छे भयो । धनेसरले साइकल र मलाई उठाउँदै भन्यो, ‘आजुके जतरा ठीक न रहल..ख…। आब बिहान सिखम ।’ (आजको साइत राम्रो रहेनछ । अब भोलि सिक्नुहोला ।) र गयो । ंंंंंंंंंंं
‘कि गरिछाड्यो कि मरिछाड्यो मर्दको इरादा’ भनेझैँ मैले पनि साइकल सिकेरै छाड्ने पक्का इरादा बनाएको थिएँ । भलै साइकल जनाना थियो तर इरादा भने महाकविले भनेझैँ मर्दाना नै थियो । त्यसैले भोलिपल्ट पनि उही पोसाक लगाएर मोर्चामा जान तयार भएँ । आज कौवा र कुकुरहरू पनि त्यति कराएनन् भने घरमा पनि ‘हिँड्ने वेलामा अलच्छिन गर्न बाहिर नअन्भरिनू’ भन्ने मार्शल अर्डर सुनाएकाले कर्फ्यु लागेको सहरका जनताले झैँ सबैले घरको झ्याल र ढोकाका चरहरूबाट मेरो चर्तिकला हेरिरहेका थिए । मेरो प्रतीक्षाको पललाई समाप्त पार्दै मेरा गुरुदेव धनेसर रामको पदार्पण भयो अर्थात् उहाँ प्रकट हुनुभयो । उसलाई देख्नासाथ मैले सतर्क हुँदै एउटो खुट्टो तगारोबाहिर राख्न मात्र के भ्याएको थिएँ एउटो बिरालो पल्लो घरबाट निस्केर कुकुरले लखेटेको झैँ मेरै अगाडिबाट बाटो काटेर भाग्यो । म त्यस बिरालालाई सत्तोसराप गर्ने सुरमै थिएँ कि एउटो आग्लो फट्याङट्याङ गर्दै जिम्नास्टिकको खेलाडीे झैँ कलाबाजी खाँदै मेरो खुट्टैनिर आइपुग्यो । मैले वेलैमा खुट्टो नउचालेको भए त्यसले मेरो खुट्टाको गोलिगाँठो फुकालिदिने पक्का थियो । मेरा कन्सिरीका जरा ताते र रौँ ठाडा भए ।
रिसको झोँकमा मैले वेदपाठ गर्न थालेँ, ‘यस्ता असती छिमेकी भएपछि पनि कसैको राम्रो हुन्छ ? कतिखेर को बाहिर निस्कन्छ र छौँडालाई धपाऊँ भनेर बस्दा रहेछन् । मान्छे बाहिर निस्क्यो कि बाटो काट्न पठाइदिन्छन् बोक्सिनीहरू ।’ मेरा यी सुमधुर वचनहरूले छिमेक्नीका कर्णविवरमा प्रवेशको कलबेल के बजाएका थिए छिमेक्नी थालिन् धोतीको सप्को कम्मरमा घुसारेर धारे हात लगाउँदै मलाई सराप्न – ‘हे भगुमान ! के जुग आयो नि आउन पनि । न जातको चिन्ता छ न उमेरको ख्याल छ । छिमेकको धर्म र अधर्मले पनि घरमा सुखदुःख आउँछ भन्थे । हो र’छ । आज रातैभरि कुकुर रोएको छ र लाटोकासेरो कराएको छ । बाहुन भएर एकाबिहानै चमारसित गाँसिन पुग्ने गतिछाडाहरू ! हेर त त्यो पहिरन ! थुइक्क !! अझ अर्कालाई जथवा तथवा भन्दा रहेछन् है !’ यो स्वस्तिवाचन सुनेपछि आजको साइत पनि अवश्य राम्रो छैन भन्ने त लागेको थियो तर यसरी कति दिन चल्ने ? आग लागी झुपडी डेढ घडी भद्रा भन्ने त भनाइ नै छ । अब मैले यस्ता भद्रासद्रा हेर्नु हुन्न ।
फेरि गुरुदेवको ट्युसन फी त पाकेको पाक्यै छ । उसको बनिहारी सित्तैमा कति दिनसम्म दिइरहने भन्ने सोचेर आफ्नो मुखारविन्दबाट खुँखार शब्दहरूको शान्तिपाठ नगरी म अगाडि बढेँ । उता छिमेक्नीको ललकारपूर्ण चित्कार सुनेकी मेरी ‘लक्ष्मीबाई’ छोरीहरूरूपी सैन्यशक्तिका साथमा छिमेक्नीसित पहिले शीतयुक्त र परिआए ऊष्णयुद्ध गर्न दुवैको साँधरूपी कुरुक्षेत्रमा तैनाथ भइसकेकी थिई । अब यहाँ ठूलो अशान्तिपर्व प्रारम्भ हुने निश्चित थियो तर मेरी पत्नीको सशक्त ज्ञानभण्डारमा तल्लोभन्दा तल्लो स्तरको गालीका लागि चाहिने अश्लील शब्दबाणहरूको भरपुर स्टक रहेकाले र आवश्यकता परे छोरीहरू पनि मल्लयुद्ध गर्दै छिमेक्नीका रौँ उखेलेर चुङ्गी बनाई खेल्न सक्ने अवस्थामा रहेकाले मेरी श्रीमतीले यस युद्धमा विजयपताका फहराई वीराङ्गनाको उपाधि प्राप्त गर्ने कुरामा ढुक्क भई त्यो मोर्चा उसकै नेतृत्वमा छोडेर मैले साइकलमोर्चामा ध्यान केन्द्रित गरेँ ।
आज्ञाकारी छात्रले झैँ ‘गुरोर्वाक्यं वलीयसी’ मान्दै मैले धनेसरको आदेशलाई शिरोधार्य गरी खुट्टा पाइडलमा जमाएँ । धनेसरले साइकल घचेटिदियो । साइकल जँड्याहाको शरीर नियन्त्रणमा नरहेझैँ अनियन्त्रित रूपमा ढलपल ढलपल गर्दै अलिक पर पुगेर ढल्यो । परमपिता परमेश्वरका कृपाले मैले साइकल नढल्दै दासढुङ्गा काण्डमा अमर लामाले गाडी छाडेझैँ छोडिसकेको हुनाले केही पनि भएन । दोस्रो पटक उसले निर्देशन दियो, ‘पैडल न चलाएम त कइसे होई ? आँख से हैन्डिल आ साइकल मेँ न ताकू, अगाडि ताकू । जेम्हर जेम्हर ताकव ओम्हरे साइकिल जाई । पैर से पैडल घमाऊ ।’ (प्याडल नचलाई त कसरी हुन्छ र ? आँखाले ह्यान्डिल र साइकलमा नहेर्नू, अगाडि हेर्नू । जता जता हेर्नुहुन्छ उतै साइकल जान्छ । खुट्टाले प्याडल घुमाउनुस् ।)
मैले टाउको हल्लाएर स्वीकृति दिएँ र उसले फेरि साइकल घचेटिदियो । खुट्टाले प्याडल घुमाए कि घुमाएनन् भन्ने त मलाई ज्ञात भएन तर साइकलको ह्यान्डिल भने त्यतै सोझिएको थियो जता मेरा आँखा थिए । अनि मेरा आँखा भने परको रूखमा जमेका थिए कतै साइकल त्यतै जान्छ कि भन्ने डरले । अनि न ब्रेक लाग्यो, न रूखबाट आँखा हटे र न ह्यान्डिल कतै घुम्यो । परिणामस्वरूप मलाई पहेँलैे फुलेका तोरीका फूलहरूको सम्झना छ, अरू केही छैन । केही बेरपछि चेतना फर्केपछि थाहा पाएँ त्यस मोर्चामा मेरो एउटा दाँतसहित धनेसरको साइकल पनि सहिद भएको रहेछ ।
जे भए पनि र जसरी भए पनि मैले साइकल सिकेँ र उसैसित एउटा थर्ड ह्यान्ड साइकल पनि लिएँ । हालमा उसले जनाना साइकलमा हात सफा गर्न नपाएकाले मलाई पर्यो मर्दाना साइकल । म साइकल चढेर स्कुल जाने पहिलो दिन थियो । बिहानै पाञ्चायन देवताको पूजापछि विश्वकर्माको नाम लिएर साइकलको पूजा पनि गरेँ । हामी पनि गजबै गर्छौँ । वास्तविक विश्वकर्मालाई अछुत भन्छौँ र काल्पनिक विश्वकर्माको पूजा गर्छौँ । यो कति मिठो ढोँग गर्छौँ ! जे होस्, दैलामा भरिला कलशहरू राखिए । पत्नीले स्वतन्त्रतासंग्राममा निस्केको स्वतन्त्रतासेनानीलाई झैँ वा मातृभूमिको रक्षार्थ निस्केको सिपाहीलाई झैँ आफ्नो सिउँदोबाट सिँदुर लिएर रातो टिको पनि लगाइदिई र दही खुवाएर विदा पनि गरी । म धन्य भएँ ।
मलाई त्यसरी विदा गर्दा उसको मुखमण्डलमा कति कान्ति थियो र आँखामा कति शान्ति थियो ! म पनि त्यस्ती पत्नी पाएकामा आफैँलाई संसारकै भाग्यशाली पति ठानिरहेको थिएँ । मन चङ्गा भए आरीमा गङ्गा भनेको यही पो हो कि ? मेरो कद र साइकलको कदका हिसाबले सोझै चढ्न नसक्ने भएकाले मैले अग्लो ठाउँसम्म साइकललाई गुडाएरै लगेँ । प्रस्थानविन्दुमा पुगेर एउटा खुट्टाले ढिस्कामा टेकी मेरो भड्डुलाई सिटरूपी ओदानमा टेकाई अर्को खुट्टाको टुप्पाले मात्र प्याडल छोएपछि ज्यानलाई धक्का लगाएर साइकललाई अलिक अगाडि के बढाएको थिएँ अगाडिबाट दुईवटी अधबैँसे तर कदभैँसे महिलाहरूलाई सिङ्गै बाटो ओगटेर यतै आइरहेको देखेँ । टाउकामा एमानको जाँतो राखेझैँ भयो । आँखामा टर्चलाइटको प्रकाश परेझैँ भयो । जिउ फुलियो र चिटचिट पसिना आयो । हातखुट्टा लगलग काम्न थाले । अब म न साइड काटेर निस्किने अवस्थामा थिएँ, न साइकल रोकेर ओर्लिने अवस्थामा थिएँ र न साइकल छोडेर उफ्रिने अवस्थामा थिएँ । मैले आँखा चिम्लेँ । अनि उही भयो जे नहुनुपर्थ्यो तर हुनु नै थियो । जब आँखा खुले, भुइँमा महिला, महिलामाथि म र ममाथि साइकल….!
हाम्रो रामजात्रा देखेर एकजना सज्जनले हामीलाई उठ्न मद्दत गरे । साइकलमा फँसेको धोती च्यातेर मेरो अर्धलज्जा छोपे । मेरो सेतो कुर्ता धूलीधूसरित थियो । एक छिनपछि भने ती महिलाहरूका हातमा चप्पल, अर्का सज्जनको हातमा मेरो कुर्ताको कठालो अनि म यमदूत र दूतिकाहरूका बिचमा फँसेको निरीह प्राणी । ती सज्जन कुर्लिँदै थिए, ‘ए… यो त मेरो साइकल हो । तँलाई फटाहा ! चोर ! बडो मास्टर भइटोपल्दो रहेछ । काम भने साइकलचोरी ।’
म चेतबाबा काशी भएँ । म हिँडेरै स्कुल जाँदै छु ।
०००
रुपन्देही
प्रथम प्रकाशन : गुञ्जन वर्ष ५, अंक २, २०५८ असारमा (संशोधित)
Subscribe
Login
0 Comments
Oldest








































